Shikhar Insurance

चुनढुंगामा १ अर्ब २४ करोड भ्रष्टाचार गर्ने खानी विभागका महानिर्देशक घिमिरेविरूद्ध अख्तियारको मुद्दा

सिंहदरबार संवाददाता
२०७८ माघ १२, बुधबार १५:१८
NIMB
Nabil Bank

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेविरूद्ध विशेष अदालतमा मुद्दा हालेको छ । भष्टाचार गरेको अभियोगमा अख्तियारले घिमिरेविरूद्ध मुद्दा हालेको हो ।

आयोगका अनुसार आज विशेष अदालतमा २ वटा आरोपपत्र दायर भएका छन् । अर्को आरोपपत्र महोत्तरीमा पैसा लिएर जोनसन एन्ड जोनसन खोप बेचेर भ्रष्टाचार गर्नेको विरूद्ध छ ।

Citizen Life
Kumar Bank
Nepal Life

उपमहानिर्देशक रेहका बेला घिमिरेले ९ वटा सिमेन्ट उद्योगलाई खानी उत्खननको अनुमति भन्दा बढी चुनढुंगान उत्खननन् गर्दा १ अर्ब २६ करोड रूपैयाँ राजस्व उठाउनु पर्नेमा १८ लाख रूपैयाँमात्र जरिवाना लिएका थिए । अख्तियारले उनले राज्यलाई १ अर्ब २४ करोड ४५ लाख रूपैयाँ नोक्सानी पुर्‍याएको ठहर गरेको छ ।

यस्तै महोत्तरीका हेल्थ एसिस्टेन्ट अजय कुमार साहले सित्तैमा लगाउने जोनसन एन्ड जोनसन खोप लगाउँदा २० हजार रूपैयाँ घुस मागेको अख्तियारले ठहर गरेको छ ।

 

यस्तो छ घिमिरेविरूद्ध अख्तियारले तयार पारेकाे आरोप पत्रः

खानी तथा भूगर्भ विभागबाट मिति २०७६।०२।१४ गते तत्कालीन उपमहानिर्देशक (हाल महानिर्देशक) राम प्रसाद घिमिरेको नेतृत्वमा गठित ३ सदस्यीय समिति (पहिलो) ले विभिन्न ९ वटा सिमेन्ट उद्योगहरुले खानी दोहन गरी उत्खनन अनुमतिपत्रमा तोकिएको निर्धारित परिमाण भन्दा बढी चुनढुंगा निकालेको उल्लेख गरी मिति २०७६।०३।३१ मा पेश गरेको प्रतिवेदनमा रु.१ अर्ब २६ करोड १९ लाख ४८ हजार क्षतिपूर्ति (राजस्व) उठाउनु पर्ने गरी कारबाहीको सिफारिस गरेकोमा सिमेन्ट/चुनढुङ्गा कम्पनीहरुबाट लिनु पर्ने क्षतिपूर्ति नलिई मिति २०७७।०२।१५ गते सु.मा.ई. जयराज घिमिरेको संयोजकत्वमा गठित समिति (दोश्रो) को प्रतिवेदन बमोजिम जम्मा १८ लाख मात्र जरिवाना लिएर राज्यलाई अरबौंको राजस्व घाटा गराई भ्रष्टाचार गरेको भन्ने समेत व्यहोराको उजुरी सम्बन्धमा आयोगबाट अनुसन्धान हुँदा खानी तथा भूगर्भ विभागका महानिर्देशक राम प्रसाद घिमिरेले आफ्नै नेतृत्वमा गठित समिति (पहिलो) ले दिएको प्रतिवेदन अनुसार लिनुपर्ने क्षतिपूर्ति (राजस्व) नभराई सु.मा.ई. जयराज घिमिरेको नेतृत्वमा बदनियतपूर्वक दोश्रो समिति गठन गरी नेपाल सरकारलाई राजस्व हानि नोक्सानी हुने र निजी उद्योग/कम्पनीहरुलाई फाइदा पुग्ने गरी दोश्रो समितिले तयार गरेको गलत प्रतिवेदनले सिफारिस गरेबमोजिम माइनिङ्ग स्किममा आर्थिक वर्ष २०७४/०७५ र २०७५/०७६ को लागि तोकिएको वार्षिक स्वीकृत क्षमताभन्दा बढी (अधिक) चुनढुङ्गा उत्खनन/उत्पादन गर्ने सर्वोत्तम सिमेन्ट लिमिटेड, सिद्धार्थ मिनरल्स प्रा.लि., मारुती सिमेन्टस् लिमिटेड, अन्नपूर्ण क्वेरिज प्रा.लि., उदयपुर मिनरल्स टेक प्रा.लि., युनाइटेड सिमेन्ट प्रा.लि., सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड, कन्चन क्वेरिज प्रा.लि. र डोलोमाइट चुनढुंगा उद्योग प्रा.लि. समेतका ९ वटा कम्पनीहरुबाट वार्षिक प्रति आर्थिक वर्ष रू.१/१ लाख रूपैंयाका दरले जरिबाना लिने गरी विभागीय निर्णय गरी क्षतिपूर्ति (राजस्व) उठाउने कानूनी कर्तव्यबाट विमुख भई सामान्य जरिवाना मात्र लिई नेपाल सरकारलाई बिगो रु.१,२४,४५,२६,६४३।- (अक्षरूपी एक अर्ब चौबिस करोड पैंतालीस लाख छब्बिस हजार छ सय त्रिचालीस रुपैयाँ मात्र) हानि नोक्सानी पुग्ने गरी राजस्व चुहावट गरी भ्रष्टाचार गरेको स-प्रमाण पुष्टि हुन आएको देखिँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ र दफा ७ को देहाय (क) र देहाय (ख) बमोजिमको कसूरमा ऐ. ऐनको दफा ७ ले निर्धारण गरे बमोजिम ऐ. ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (झ) बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।

 

यस्तो छ महत्तोविरूद्ध अख्तियारले तयार पारेकाे आरोप पत्रः

जिल्ला महोत्तरी, महोत्तरी स्वास्थ्य चौकीमा हेल्थ असिस्टेन्ट पदमा कार्यरत अजय कुमार साहले नि:शुल्क रुपमा कोभिड-१९ बिरुद्धको खोप (Johnson & Johnson) लगाई दिनु पर्नेमा सो नगरी सेवाग्राहीसँग खोप लगाउन रु.२०,०००।– घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले हेल्थ असिस्टेन्ट अजय कुमार साहको निर्देशनमा कृष्णा कुमार यादवले कोभिड-१९ बिरुद्धको खोप (Johnson & Johnson) लगाई दिई सेवाग्राहीबाट रु. २०,०००।– (बीस हजार रुपैयाँ) घुस/रिसवत रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।

अनुसन्धानको सिलसिलामा महोत्तरी स्वास्थ्य चौकी, सनषुडामा कार्यरत हेल्थ असिस्टेन्ट अजय कुमार साहले सेवाग्राहीसँग खोप लगाईदिनका निम्ति घुस/रिसवत माग गरेको र निजले भनेबमोजिम नै कृष्णा कुमार यादवले सेवाग्राहीबाट रु.२०,०००।– घुस रिसवत लिएको पुष्टि हुन आएकोले निज हेल्थ असिस्टेन्ट अजय कुमार साहले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको हुँदा निज अजय कुमार साहलाई बिगो रू.२०,०००।-(बीस हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम सजाय हुन मागदावी लिने साथै कृष्णा कुमार यादवले घुस/रिसवतबापत रु.२०,०००।–(बीस हजार) अजय कुमार साहको निमित्त लिएको तथ्य समेतको आधारमा निज कृष्णा कुमार यादवको पनि घुस/रिसवत लिनेदिने कार्यमा प्रत्यक्ष संलग्नता रहेको देखिन आएको हुँदा निज कृष्णा कुमार यादवले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र ऐ.ऐ. दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिमको कसुरमा मतियार भई कार्य गरेकोले निजलाई बिगो रू.२०,०००।–(बीस हजार) कायम गरी ऐ.ऐ. दफा २२ को प्रतिवन्धात्मक वाक्यांश बमोजिम मुख्य कसुरदार सरह नै सजाय हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्