अजोडको सेयरमा इन्साइडर ट्र्रेडिङः अध्ययन प्रतिवेदन बोर्ड सञ्चालकसामु पुग्यो, भेटियो ‘कैफियत’

काठमाडौं । भित्रि सूचना चुहाएर अजोड इन्स्योरेन्स इन्साइडर ट्रेडिङ भएकोबारे अध्ययन गर्न नेपाल धितोपत्र बोर्डले गठन गरेको समितिले प्रतिवेदन तयार पारेको छ । गत चैतमा कारोबार समयमा सञ्चालक समितिको वैठक बसेर हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेकामा वैठक बस्नुअघिबाटै सूचना चुहाएर मूल्य बढाइएको आरोप लागेको थियो । यसबारे अध्ययन गर्न बनेको समितिले प्रतिवेदन तयार पारी बोर्ड सञ्चालकहाँ पुगेको र प्रतिवेदनले कारोबारमा कैफियत औंल्याएको बोर्ड स्रोतले जानकारी दियो । एक सातादेखि क्रमैसँग बढेको अजोडको सेयर मूल्यमा २०७८ चैत १६ गते पोजिटिभ सर्किट लागेको थियो । सोहीदिन साढे २ बजे सञ्चालक समितिको वैठक बसी हकप्रदको प्रस्ताव गरेको थियो । त्यसपछि पनि २ दिन कम्पनीको सेयर मुल्यमा सर्किट लागेको थियो । सोबारे अध्ययन गर्न तत्कालीन बोर्ड अध्यक्ष भिष्मराज ढुंगानाले अध्ययन समिति गठन गरेका थिए । त्यतिबेला कारोबार अवधिमा बैठक बसेर निर्णय सार्वजनिक नै नभइ कम्पनीको सेयर मुल्य अस्वभाविक रूपमा बढेकोबारे सबैले प्रश्न गरेका थिए । कारोबार अवधिमा सञ्चालक समितिको वैठक बस्ने काम कानुनले बर्जित गरेको छ । जानीजानी वैठक बसेर सूचना चुहाएपछि अजोड इन्स्योरेन्समा भएको इन्साइडर ट्रेडिङबारे कारोबार तथ्यांक मगाएर सूक्ष्म अध्ययन गरिएको हो ।