Shikhar Insurance

चैत १५ अगावै मन्त्रिपरिषद पुनर्गठन हुँदै, अर्थसहित महत्वपूर्ण मन्त्री फेरिने

सिंहदरबार संवाददाता
२०७८ चैत्र ९, बुधबार १७:५७
NIMB
Nabil Bank

काठमाडौं । चैत १५ गते अगावै मन्त्रिपरिषद पुनर्गठन हुने भएको छ । निर्वाचन आयोगले चैत १५ गतेदेखि निर्वाचन आचार संहिता लागु गर्ने तयारी गरेपछि सत्ता गठबन्धनमा सो अघि नै मन्त्रिपरिषद पुनर्गठन गर्ने समझदारी बनेको हो । सरकारले बैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको थियो । सोही अनुसार निर्वाचन आयोगले दल दर्तादेखि नमुना मतपत्र लगायतका काम अघि बढाईसकेको छ ।

आचार संहिता लागु भएपछि मन्त्रिमण्डल पुनर्गठनदेखि अन्य महत्वपूर्ण कामहरु गर्न पाइँदैन् । नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा(एकिकृत समाजवादी), जनता समाजवादी र राष्ट्रिय जनमोर्चा सहभागी गठबन्धनमा आचार संहिता लागु हुनु पूर्व नै मन्त्रिपरिषद पुनर्गठन गर्ने समझदारी बनेको हो । सरकारमा सहभागी चारै दलले केहि मन्त्रीहरुलाई फिर्ता बोलाउने तयारी गरेका छन् । काँग्रेस बाहेकका दलहरुका तर्फबाट सरकारमा सहभागी अधिकांश मन्त्रीहरु फेरिनेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

अर्थमन्त्री जनार्दन शर्मा पनि फेरिने मन्त्रीहरुको सूचिमा छन् । निर्वाचनका मुखमा मन्त्री शर्माका कारण सिंगो गठबन्धन र सरकार नै अलोकप्रिय बनेको, निजी क्षेत्रले सरकारमाथि अविश्वास गरेको अवस्थालाई मध्यनजर गर्दै मन्त्री शर्मालाई हटाउने मनस्थितिमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुगेको श्रोत बताउँछ । प्रचण्डले शर्मालाई हटाएर बर्षमान पुनलाई अर्थमन्त्री बनाउने तयारी गरेका बेला प्रधानमन्त्री देउवाले भने शर्मालाई हटाएपछि अर्थ मन्त्रालय काँग्रेसले लिने अडान कसेको श्रोत बताउँछ । प्रधानमन्त्री देउवाले शर्मालाई हटाउने हो भने परराष्ट्र मन्त्री डा. नारायण खड्कालाई अर्थमन्त्री बनाउने बताएका छन् । वर्षमान पुनलाई भने गृह वा परराष्ट्र मन्त्रालय दिन सकिने सन्देश देउवाले खुमलटार पठाएको श्रोत बताउँछ ।

अर्थमन्त्रालय काँग्रेसको पोल्टामा जाने अवस्था बनेको खण्डमा मात्रै जनार्दन शर्माले अर्थमन्त्रीको जिम्मेवारीमा निरन्तरता पाउनेछन् । त्यस्तो अवस्थामा पुनलाई उर्जा मन्त्री पम्फा भुषाललाई फिर्ता बोलाएर पुनलाई पुनः उर्जा मन्त्री बनाउने सम्भावना पनि छ । माओवादी केन्द्रले अधिकांश मन्त्रीहरु फेर्ने तयारी गरेको बुझिन्छ ।

उता, एकिकृत समाजवादीले पनि मन्त्री फेर्दैछ । शहरी विकास मन्त्री राम कुमारी झाक्री, स्वास्थ्य मन्त्री बिरोध खतिवडा, श्रम मन्त्री कृष्ण कुमार श्रेष्ठ नै फेरिन सक्नेछन् । जनता समाजवादीबाट मन्त्री बनेका राजेन्द्र श्रेष्ठ, रेणु यादव लगायतलाई फिर्ता बोलाएर नयाँ टिम पठाउनेबारे पार्टीमा छलफल सुरु भैसकेको श्रोत बताउँछ ।

नेपाली काँग्रेसमा देउवालाई सभापति बनाउन सहयोग गरेका प्रकाशमान सिंहसहितका केहि नेताहरुलाई मन्त्री बनाउनै पर्ने बाध्यता रहेको बताइन्छ । हालसम्म मन्त्री बिहिन बनेको उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले समेत यहि क्रममा नयाँ मन्त्री प्राप्त गर्नेछ ।

सरकारले महत्वपूर्ण निकायहरुको नियुक्ती तथा लाईसेन्स वितरणको काम समेत आचार संहिता लागु हुनुपर्व नै अघि बढाईसक्ने योजनासहित अघि बढाएको छ । ‘एक साता भित्रै मन्त्रिपरिषद पुनर्गठन हुन्छ, नियुक्ती, सरुवा र बढुवाका महत्वपूर्ण कामहरु पनि यहि बिचमा हुनेछन् ।’, सत्ता गठबन्धन उच्च श्रोतले भन्यो ।

GBIME

प्रतिक्रिया दिनुहोस्