Shikhar Insurance

राष्ट्र बैंकले कारवाही गर्न ठिक्क पारेका कर्मचारी अर्थमन्त्रीका बैंकिङ विज्ञ !

दिलु कार्की
२०७९ बैशाख ४, आईतवार १२:२६
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले कारवाही गर्न ठिक्क पारेको व्यक्तिलाई अर्थमन्त्री जनार्दन शर्माले सल्लाहकारका रुपमा बैंकिङ विज्ञ नियुक्त गरेको पाइएको छ । राष्ट्र बैंकको सुर्खेत कार्यालय प्रमुख रहँदा व्यापक आर्थिक अनियमिततामा मुछिएका उप–निर्देशक डा. शालिकराम पोखरेललाई अर्थमन्त्री शर्माले बैंकिङ तथा वित्तीय क्षेत्र विज्ञ (सल्लाहकार) नियुक्त गरेर अर्थमन्त्रालय तानेका हुन् ।

उप–निर्देशक पोखरेलले प्रादेशिक कार्यालयमा बजेट परिचालनदेखि पेट्रोल, जेनेटर, फर्निचरका सामान लगायत खरिदमा दर्जनौं पटक घोटाला गरेको राष्ट्र बैंकको आन्तरिक लेखा परिक्षणले देखाएको थियो । उनले सुर्खेत बसाईका क्रममा १४१ लिटर डिजेल दुरुपयोग गरेको, अफिस चियर, अफिस टेबल सामान्य मूल्यमा भन्दा बढीमा खरिद गरेको र खरिद गरिएका सामान गुणस्तरहीन भएको आन्तरिक लेखा परिक्षण प्रतिवेदनले देखाएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

राष्ट्र बैंकले सुर्खेतको डेकोर हबमा स्थलगत अध्ययन गर्दा पोखरेलले गरेको आर्थिक अनियमितता छताछुल्ल भएको थियो ।

पोखरेलले २०७८ साल असार १ गते ११ हजार ५ सय रुपैयाँ पर्ने कुर्सी (घुम्ने कुर्सी, रिभोल्भिङ चियर) लाई १८ हजार ५ सय ८४ रुपैयाँमा र र १३ हजार ५ सय रुपैयाँ पर्ने टेबललाई २१ हजार २ सय २९ रुपैयाँ मूल्यमा भ्याट समेत जोडेर बिल बनाउन लगाएको तथ्य राष्ट्र बैंक आन्तरिक लेखा परिक्षणले उजागर गरेको छ । उनले उल्लेखित दरमा ३ वटा अफिस टेबल कुल ६३ हजार ७ सय १७ रुपैयाँ खरिद गरका हुन् । जसमा उनले २९ हजार २ सय १७ रुपैयाँ बढी पैसा लिएको पाइएको छ ।

पोखरेलले ३ वटा अफिस चियर कुल ५५ हजार ७ सय ५२ रुपैयाँमा खरिद गरेको बिल पेश गरेका थिए । जसमा उनले परेको मूल्यभन्दा १५ हजार २ सय ५२ रुपैयाँ बढीको बिल बनाएका छन् ।

सोही बिलमार्फत् खरिद गरिएका अन्य सामाग्रीहरुको मूल्यमा पनि अपारदर्शिता गरेको हुन सक्ने शंका लेखा परिक्षणको टिमले गरेको छ ।

पोखरेलले ६ हजार ६ सय ३६ रुपैयाँका दरले २ वटा भिजिटर चियर १३ हजार २ सय ६४ रुपैयाँमा, १ वटा गलैंचा १६ हजार ५ सय रुपैयाँमा प्रतिमिटर १ हजार ४ सय ६० रुपैयाँका दरले ९.५ मिटर कार्पेट १३ हजार ८ सय ६० रुपैयाँमा, १ लिटर सुलेशन ८ सय रुपैयाँमा र फिटिङ चार्ज ५ सय रुपैयाँ गरी भ्याट सहित जोडर कुल १ लाख ६४ हजार ७ सय ८६ रुपैयाँ ६९ पैसाको बिल पेस गरेका थिए । उक्त बिलमार्फत खरिद भएका सामाग्रीको तथ्य खोज्दै राष्ट्र बैंकले पोखरेललाई पटक/पटक लिखित जवाफ मागिसकेको छ । सिंहदरबारलाई प्राप्त कागजात अनुसार डा. पोखरेलले यी सबै समानहरु आफ्नो एकल निर्णयबाट खरिद गरेका हुन् ।

पोखरेलले जेनेरेटर सञ्चालनका लागि २०७७ साउन १ गतेदेखि २०७८ असार ३१ गतेसम्म ५ सय ५१ लिटर तेल खरिद गरेका छन् । तर, उक्त समयमा ४ सय १० लिटर तेलमात्र जेनेरेटर सञ्चालनमा खर्च भएको

राष्ट्र बैंकको आन्तरिक लेखा परिक्षणको रिर्पार्टले देखाएको छ ।

मौज्दात हुनुपर्ने १ सय ४१ लिटर तेल पोखरेलले राष्ट्र बैंक प्रादेशिक कार्यालयकै सवारी साधानमा हालेर सवारी साधानको समेत दुरुपयोग गरेको आशंका गरिएको छ ।

कार्यालयमा पहिलो पटक जेनेरेटर सञ्चालनमा आउँदा सुर्खेतकै उमा आयरल स्टोरबाट ६० लिटर तेल खरिद गरिएको थियो । तर, उक्त स्टोरले पोखरेललाई फाइदा नहुने गरी कारोबारमा पारदर्शिता देखाएरमात्र बिल बनाउने शर्त राखेपछि उनले तेल खरिद गर्ने ठाँउ नै फेरेको थिए । पहिलो पटक खरिद गरिएको ६० लिटर तेल खपत भएपछि हरेक पटक पोखरेलले नारायण आयल स्टोरबाट कुपनमार्फत् उधारोमा तेल खरिद गरेका हुन् । जसको एकमुष्ट बिल आफ्नो फाइदा अनुसार बनाउन लगाएर भुक्तानी गर्ने गरेका थिए ।

गत असोज महिनामा सुर्खेत प्रादेशिक कार्यालयबाट केन्द्रिय कार्यालय फर्किएका उनले चालु आर्थिक वर्षमा खरिदका लागि विनियोजन गरिएको सबै रकम सकेर आएको पनि राष्ट्र बैंक श्रोत बताउँछ । ‘उहाँ असोज तिरै सरुवा भएर काठमाडौं आउनु भएको हो, उहाँले तीन महिनामै खरिदको सबै बजेट सकेर आउनु भएछ,’ राष्ट्र बैंक उच्च श्रोतले सिंहदरबारसँग भन्यो ।

सुर्खेतमा हुँदा कर्णाली प्रदेशका तत्कालिन मुख्यमन्त्री महेन्द्र बहादुर शाहीसँग नजिकको सम्बन्ध बनाएका डा. पोखरेललाई कर्णाली प्रदेशकै माओवादी नेताहरुको अनुरोधमा अर्थमन्त्रीले विज्ञ नियुक्त गरेका हुन् ।

आफ्नो घर अर्घाखाँची बताउने डा. पोखरेल कपिलवस्तु जिल्ला निवासी हुन् । पोखरेलले लघुवित्तका बारेमा विद्यावारिधी गरेका छन् । तर, उनले विद्यावारिधी गरी प्राप्त गरेको दक्षतामाथि राष्ट्र बैंकभित्रै प्रश्न उठाउने धेरै छन् । उनलाई दिइएको जिम्मेवारी निभाउन नसकेकै कारणले उनलाई आर्थिक अनुसन्धान विभागमा राखिएको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्