Shikhar Insurance

युद्ध जितेको योद्धा झैं गभर्नर अधिकारी बालुवाटार पुग्दा जे देखियो

रोविन पौडेल
२०७९ बैशाख ७, बुधबार १७:५१
NIMB
Nabil Bank

काठमाडौं । उनी गेटबाट मुख्य बिल्डिङको प्रवेशद्वार पुगुञ्जेलसम्म तालीको अटुट गडगडाहट चलिरहेको थियो । कर्मचारीको एउटा जमात ‘स्वायत्त राष्ट्र बैंक – जिन्दावाद !’ भन्ने नारा घन्काइरहेका थिए ।

गलामा दर्जन बढी माला र खादा थिए । दुई डेपुटी गभर्नरसँगै कार्यकारी निर्देशकहरुले माला र खादा पहिराइदिएपछि चुर्लुम्मै पुरिएका थिए अधिकारी ।

Citizen Life
Kumar Bank
Nepal Life

गभर्नरको कार्यकक्ष रहेको मुल बुल्डिङ प्रवेशद्वारको आधा जति खुड्किला उक्लिएपछि सञ्चारकर्मी, सुरक्षाकर्मी र राष्ट्र बैंकका सिनियर कर्मचारीको भिडबाट पछाडि फर्केर हेरे ।

पुरै केन्द्रीय बैंक आफ्नो स्वागत गर्न आइपुगेको उनले देखे । मनमा आशाका उत्साह बोकेर खुड्किला उक्लिए । अधिकारीले नेतृत्व गर्ने संस्थाको स्वायत्त जोगिएकोमा सयौं कर्मचारीलाई उत्वसको अवसर थियो यो । त्यसैले त राष्ट्र बैंकको आँगन आज खाली थिएन ।

बालुवाटारस्थिति नेपाल राष्ट्र बैंकको गेटमा निलो कोट–पाइन्टमा सेतो सर्ट लगाएका कर्मचारी थुप्रै देखिन्थे । कसैको हातमा फूलगुच्छा थियो त कसैको हातमा खादा र माला । लाइन लागेरै बसेका थिए उनीहरु ।

आफ्नो नेतृत्व गभर्नर महाप्रसाद अधिकारीलाई छानबिनका लागि भन्दै निलम्बन गर्ने सरकारको निर्णयविरुद्ध हिजोमात्र सर्वोच्च अदालतले अल्पकालीन आदेश दिएपछि मन प्रफूल्ल थियो । तर, उनीहरुले उत्सव मनाउन पाएका थिएनन् ।

सञ्चारमाध्यममा गभर्नर अदालतको निर्णय बोकेर बुधबारै नियमित काममा फर्कने समाचार फैलिएपछि राष्ट्र बैंकमा बिनातयारी भव्य उत्सव मनाउने वातावरण पैदा भएको थियो ।

अधिकारीको प्रतीक्षामा पुरै बालुवाटार रहँदा खैरो रङको एउटा गाडी राष्ट्र बैंकको गेटबाहिर टक्क रोकियो । अरु बेला सो गाडी गेटमा रोकिँदैन थियो । सुरक्षाकर्मीको सलाम खाएर सीधै मुख्य भवन पुग्ने गाडी आज गेटैमा रोकिएको हो ।

गाडी रोकिनेवित्तिकै हर्षित मुद्रामा नियमित पोशाक सेतो दौरा सुरुवाल, हल्का निलो रङको कोठे बुट्टा भएको कोट र शिरमा ढाकाटोपी लगाएर अधिकारी ओर्लिए ।

त्यसपछि अधिकारीलाई फूलगुच्छा समात्ने, खादा र माला पहिरिने फुर्सदै भएन । कर्मचारीले आफ्नो साथमा जे छ, सोही दिएर अधिकारीलाई स्वागत गरे ।

उनी गाडिबाट ओर्लिएको केही सेकेन्डमै ताली बज्न थाल्यो ।

भीडबाट एकजनाले कराए, “स्वायत्त राष्ट्र बैंक !”

पुरै भिड करायो, “जिन्दावाद !!”

ताली बज्ने क्रम रोकिएन । न त अधिकारीको पाइला नै अडियो । बाटोमा कर्मचारीले पालैपालो फूलगुच्छा दिएर बधाइ ज्ञापन गरिरहे । उनले मन भित्रैबाट प्रफुल्ल हुँदै ग्रहण गरे ।

सबैलाई नमन गरे । सञ्चारकर्मीका सामु पोज दिने फुर्सद पनि थिएन उनीसँग । करिब १०० मिटर दुरी पैदल हिँडेपछि मुल भवन पुगिन्छ । कर्मचारीको जमात भवन बाहिर पुगिसकेको थियो । ताली रोकिएको थिएन । “स्वायत्त राष्ट्र बैंक – जिन्दावाद !” को नारा घन्किरहेकै थियो ।

दुई डेपुटी गभर्नरसँगै कार्यकारी निर्देशकहरु अधिकारीको प्रतिक्षामा थिए ।

अधिकारीलाई माला र खादा लगाइयो । डेपुटी गभर्नर बम बहादुर मिश्र ङिच्च हाँसे । सिनियर डेपुटी निलम ढुंगानाको मुहारमा खुसी देखिएन ।

बाँकी कार्यकारी निर्देशक, निर्देशक सबै खुसी थिए । केही वरिष्ठ कर्मचारी र कर्मचारी संगठनका नेताले उनलाई अंगालोसम्म हाल्न भ्याए । युद्ध जितेर आएको योद्धाको भन्दा साँच्चै कम थिएन अधिकारीको रिइन्ट्रि ।

अधिकारी राष्ट्र बैंकको स्वायत्तता र शाख जोगिएको प्रमाण स्वरुप प्रस्तुत भएका थिए ।

सर्वोच्च अदालतले सकारात्मक सन्देश दिएको थियो, अधिकारीका विषयमा अध्ययन गर्न छानबिन समिति गर्दै उनलाई निलम्बन गर्ने काम कम्तिमा वैशाख १३ गतेसम्म रोक्न अदालतले अल्पकालीन आदेश थियो ।

विशेष गरी अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर महाप्रसाद अधिकारीको टर्म नमिल्दाको घानमा राष्ट्र बैंकको स्वायत्तता परेको थियो ।

अदालतले राष्ट्र बैंकको स्वायत्तता जोगाएको सन्देश बोकेर अफिस पुगेर कुर्सीमा बसेपछि गभर्नरका आँखा रसाए । गहभरी आँशु पारे । आँखा चिमचिम पारेर आँशु सुकाउन खोजे । नडराइ बोल्ने स्वभावका अधिकारी बोल्दा शब्द तौलन थाले ।

मलिन स्वरमा सकारात्मक सन्देश देखिएको सरोकारवालालाई धन्यवाद व्यक्त गरे ।

अधिकारीको सन्देशः मेरो टसल जनार्दन शर्मासँग हो, अर्थमन्त्री र मन्त्रालयसँग होइन
गभर्नर अधिकारी अर्थमन्त्री जनार्दन शर्माको तारो चालु आवको सुरुदेखि नै बनेका थिए । एमाले सरकारले गभर्नर बनाएका अधिकारीसँग माओवादी नेता जनार्दनको सुरुदेखि नै टर्म मिलेन ।

मन्त्री शर्माले अर्थ हाँक्न थालेदेखि नै राष्ट्र बैंक र गभर्नर अधिकारीबाट सल्लाह माग्नुको सट्टा काम अह्राउने गरेको समाचार पहिलेदेखि नै सम्प्रेषण भएको थियो ।

विविध कारणवश देशको अर्थतन्त्र संकटमा तानिँदै गर्दा शर्माले गभर्नर अधिकारीलाई संकटमा पुग्दासम्म काम नगरेको आरोप लगाउन थालेका थिए । पछि सञ्चारमाध्यममा आए–नआएर विविध कारण गभर्नर देउवा सरकारको तारो बन्यो । विशेष गरी विदेशबाट आएको ठूलो परिमाणको रकमका विषयमा एक राष्ट्रिय दैनिकमा समाचार सम्प्रेषण भएपछि अर्थमन्त्रीले प्रधानमन्त्री शेरबहादुर देउवालाई फकाएर गभर्नर निलम्बन गरी उनीमाथि छानबिनको प्रक्रिया अघि बढाएका थिए ।

यो घटनालाई अर्थमन्त्री शर्मा र गभर्नर अधिकारी बीचको द्वन्द्व मान्ने धेरै छन् ।

तर, गभर्नर अधिकारीले काममा फर्किएपछि व्यक्तिगत क्लेश, पूर्वाग्रह नराखेर काम गर्ने जिकिर गरेका छन् । अधिकारीले सन्देश दिएका छन् कि उनी अब उप्रान्त आफू महाप्रसादको सट्टा गभर्नर बनेर तथा जनार्दन शर्माको नभएर अर्थमन्त्रालयको सल्लाहकारको रुपमा काम गर्नेछन् ।

अधिकारीको भनाइ छ, “गभर्नर वा अर्थमन्त्री व्यक्ति नभएर संस्था हो । विभिन्न घटना र परिघटनाले विशेष स्थिति ल्याउँछ । तर, हामीले आफ्नो जिम्मेवारी निर्वाह गरिरहँदा गर्नुपर्ने समन्वय, सम्पर्क नियमित रुपमा गर्छौं नै, त्यसमा कुनै किसिमको आग्रहरपूर्वाग्रह राखेर काम गर्ने भन्ने विषय हुँदैन । हामी त्यसमा सतर्क रहन्छौं ।”

गभर्नर स्पष्ट सन्देश दिन चाहन्छन् कि अबका दिनमा आफूले काम गर्ने अर्थ मन्त्रालय र अर्थमन्त्रीसँग रहेर हो, जनार्दन शर्मासँग होइन ।

काममा फर्किएपछि यसो भने गभर्नर अधिकारीले

 ‘सबैलाई धेरै धेरै धन्यवाद छ ।
यो छोटो अवधिमा नेपाल राष्ट्र बैंकको स्वायत्तता र देशको अर्थतन्त्रको सन्दर्भमा जे–जति संवेदनशील रुपमा समग्र सञ्चारमाध्यम, सोसाइटी, सामाजिक सञ्जाल, राजनीतिक नेतृत्वबाट जुन किसिमको संवेदनशीलता महसुस गरेर सरोकार जनाइएको छ, त्यो सबैका लागि, देशका लागि महत्वपूर्ण विषय हो ।
अर्थतन्त्र र केन्द्रीय बैंकको सन्दर्भमा यो संवेदनशीलता सबैले बुझिदिनु भएको छ ।
यी बीचमा घटेको घटनाक्रमका लागि मैले सम्मानित सर्वोच्च अदालतसमक्ष रिट निवेदन पेश गरेको थिएँ, त्यस सिलसिलामा हिजोमात्र अदालतबाट अल्पकालीन अन्तरिम आदेश प्राप्त भएको छ ।
मलाई आफ्नो पदीय जिम्मेवारी केन्द्रीय बैंकको गभर्नरको रुपमा काममा निरन्तरता दिनु भन्ने आदेश भएको हुँदा म आज यहाँ हाजिर भएको छु ।
सम्मानित सर्वोच्च अदालतसमक्ष पेस भएको निवेदन त्यहाँ विचाराधिन छ, अन्तिम आदेश आउन बाँकी छ । त्यसो हुनाले म धेरै कुराहरु म राख्न चाहन्नँ ।
जेजस्तो प्रतिक्रिया आयो, त्यसका लागि म समाजका प्रत्येक तप्का, सबैप्रति आभार व्यक्त गर्दछु । भोलिका दिनमा मैले पेश गरेको निवेदनमाथि थप सुनुवाई र कारबाही हुँदै जाँदा नेपाल राष्ट्र बैंकको स्वायत्तता, मौद्रिक नीति, मौद्रिक र आर्थिक स्थायित्व सम्बन्धमा यसरी नै सकारात्मक सन्देश आउने आशा राखेको छु ।
यहाँहरु सबैको सकारात्मक भाव सद्भाव सहानुभुतिका लागि व्यत्तिगत तर्फबाट पनि आधार व्यक्त गर्दछु । म एउटा माध्यममात्र हुँ, समग्र सिस्टमका लागि आएको आदेश हो जस्तो लाग्छ । यहाँहरुले पनि म व्यक्ति भन्दा पनि सिस्टमका लागि बोलिदिनु भएकामा धन्यवाद र आभार व्यक्त गरेर म आफ्नो जिम्मेवारीमा खट्न चाहन्छु ।
तर, एउटा विषयमा मैले बोल्नै पर्ने हुन्छ । गभर्नर, राष्ट्र बैंक, अर्थमन्त्री वा मन्त्रालय व्यक्ति नभएर संस्था नै हो । विभिन्न घटना र परिघटनाले यस्ता स्थिति ल्याउँछ । तर, हामीले आफ्नो जिम्मेवारी निर्वाह गरिरहँदा गर्नुपर्ने समन्वय, सम्पर्क नियमित रुपमा गर्छौं नै, त्यसमा कुनै किसिमको आग्रहरपूर्वाग्रह राखेर काम गर्ने भन्ने विषय हुँदैन । हामी त्यसमा सतर्क रहन्छौं ।’

राष्ट्र बैंकको स्वायत्तताको जितः कर्मचारी
राष्ट्र बैंकका कर्मचारीले गभर्नर अधिकारी काममा फर्कनुलाई राष्ट्र बैंकको स्वायत्तताको जित मानेका छन् ।

नेपाल वित्तीय संस्था कर्मचारी संघ, नेपाल राष्ट्र बैंकका अध्यक्ष राजिव रेग्मीका अनुसार राष्ट्र बैंक सधैं स्थिर रहनुपर्छ र गभर्नर फर्कनु भनेको कुनै व्यक्तिगत वा पार्टीगत जित भन्दा पनि सम्पूर्ण राष्ट्र बैंकको जित हो । “आजको दिनले राष्ट्र बैंकको स्वायत्ततालाई प्रवद्र्धन गरेको छ,” उनले प्रतिक्रिया दिए, “गभर्नर साबको पुनर्बहालीले राष्ट्र बैंकका कर्मचारी खुसी छन् ।”

GBIME

प्रतिक्रिया दिनुहोस्