Shikhar Insurance

बेइमान भएर कि भुलचुकले विदेशी मुद्रा सञ्चिति घट्यो ? भन्ने अडिट पनि गरौं : अर्थमन्त्री (विचार)

जनार्दन शर्मा
२०७९ बैशाख २०, मंगलवार १३:५६
NIMB
Nabil Bank

मैले महालेखा परिक्षक ज्यूलाई सोधे, अडिट के हो ? भनेर । अडिट त परिक्षण पो रहेछ । सबै क्षेत्रमा लागु हुने कुरा रहेछ, लेखामा मात्र होइन ।

सबै क्षेत्रमा अडिटको आवश्यकता रहेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

देशमा गरिबी किन भयो ? त्रुटि पत्ता लगाउनुपर्छ । कहाँ प्लस हुनुपर्ने र माइनस भयो ? बिन्दु राख्नुपर्ने ठाउँमा कहाँ शून्य राखियो ?

ब्यालेन्स अफ पेमेन्टको पनि अडिट गर्नुपर्छ । विदेशी मुद्रा कसरी घट्यो ? व्यापार घाटाको अडिट गर्नुपर्ने बेला भएको छ । कहाँनेर मिस्टेक भयो ? इमानदारितामा कहाँनेर लुज भयो ? वा भुलचुकमा भयो ? त्यो कुराको अडिट गर्नुपर्ने भएको छ ।

हाम्रो उत्पादन, कृषि जमीनको अडिट गर्नुपर्ने बेला भएको छ । किन बाँझो छ ? श्रम गर्नेले प्रतिफल किन पाउन सकेका छैनन् ? किन कोही बेरोजगार छ ?

यति राम्रो हावापानी, उत्पादन गर्ने जमीन हुँदाहुँदै पनि ३ खर्बको खाद्यवस्तु कसरी आयो ? किन ल्याउँछौं ? यसको अडिट गर्नुपर्ने छ ।

आजको दिनमा अर्थमन्त्री भएका कारण मै जिम्मेवार छु ।

हिजो पनि अडिटमा कतै समस्या छ कि भनेर म खोज्दैछु । हेर्दै छु । तपाईंहरुलाई अपिल गर्दैछुु । तपाईंहरुको यहाँ आवश्यकता छ, सहयोग आवश्यकता छ ।

अडिटका विज्ञका अगाडि अडिटका कुरा गर्दा इन्द्रको अगाडि स्वर्गको बयान जस्तो होला । त्यसैले धेरै कुरा गर्ने दुस्साहस गर्दिनँ ।

राष्ट्रिय सम्पत्तिको अडिट गर्नुपर्ने भएकाले यहाँहरुको ध्यान त्यतातिर केन्द्रीत गर्न चाहन्छु । राष्ट्रको सम्पत्ति कति हो ? अडिट गर्नुपर्ने भयो । हाम्रा हिमालको कति हो मुल्य ? तराई र पहाडको मूल्य कति हो ? नदी झरनाहरुको मूल्य कति हो ? हाम्रो श्रमिकहरुको मूल्य कति हो ? यो मुल्य पहिचान गरेर अडिट गर्नुपर्ने बेला भएको छ ।

तपाईंहरुलाई मैले अनुरोध गर्न चाहन्छु कि त्यसो नगरीकन यो राष्ट्र निर्माणलाई नयाँ दिशा दिन सकिँदैन ।

कोभिड आयो । प्रारम्भिक रुपमा आउँदा दास्रो लहरको अनुुमान थिएन । सुरुमै आउँछ भन्ने पनि थाहा थिएन । संकटमा मानवजातीको संरक्षण गर्न विश्वका लागि चुनौती बनेर आयो ।

यसले हामीलाई गम्भीर शिक्षा दिएर गएको छ ।

रुस र युक्रेन युद्धमा होमिँदा २ देशको युद्धजस्तो देखिएपनि विश्वका शक्ति पक्ष र विपक्ष भएका छन् । यो युद्धले विश्व अर्थतन्त्रमा पारेको प्रभाव, मूल्य श्रृंखला, मानव सभ्यतमा पारेको प्रभाव, जीवनमा पार्ने प्रभाव, बेरोजगारी सिर्जना गरी गरिबीतर्फ धकेल्ने अवस्था सिर्जना हुँदैछ । त्यसबाट पनि पाठ सिक्नुपर्ने भएको छ ।

यी २ कुराबाट सिकेर हामी आत्मनिर्भरतर्फ अग्रसर होऔं । उपलब्ध पुँजी, स्रोत साधन तथा मानव संशाधन, प्रविधिलाई समेत जोडर एकीकृत परिचालन गरेर राष्ट्रलाई आत्मनिर्भरतर्फ अघि लैजानुको विकल्प छैन । त्यहाँभन्दा बाहिर सोच्ने कुरा हुँदैन ।

त्यसकारण हिजो गरिएका अडिटहरुमा भुलचुक कहाँ छ ? सच्याउने बेला आएको छ । हामी मिलेर सच्याउँ । कानुनलाई समयसापेक्ष बनाऔं ।

दुईवटा कुरा हाम्रो मुल नारा हुनुपर्छ । पहिलो, राष्ट्रिय स्वाधिनता र दोस्रो, आत्मनिर्भरता । यी एकअर्काका पुरक हुन्, अलग गर्न सकिँदैन । म आफैंलाई र सबैलाई आह्वान गर्न चाहन्छु कि हामी आ–आफ्नो अडिट गरौं, इमानदारिताको, कर्तव्य, जिम्मेवारीको अडिट गरौं ।

(नेपाल चार्टर एकाउन्टस् संस्थाले आइोजना गरेको प्रथम राष्ट्रिय लेखा व्यवसायी सम्मेलनमा अर्थमन्त्री शर्माले राखेको मन्तव्यको सम्पादित अंश ।)

GBIME

प्रतिक्रिया दिनुहोस्