Shikhar Insurance

राहतले बढाएको छ रामपुरका महिलाको आत्मबल

सिंहदरबार संवाददाता
२०७९ बैशाख २२, बिहीबार १२:१०
NIMB
Nabil Bank

पाल्पा । रामपुर नगरपालिका–८ एक्लेटारकी सीता अर्याल घरेलु हिंसाबाट पीडित छन् । उनका १५ र १७ वर्षका दुई छोरा छन् । यी छोराको शैक्षिक खर्च व्यवस्थापन कसरी गर्ने भन्ने चिन्तामा छिन् ।

श्रीमानको यातना भोग्दै आएकी अर्याललाई रामपुर नगरपालिकाले लैङ्गिक हिंसा निवारण कोषअन्तर्गत १० हजार सहयोग गरेको छ । खाद्यान्न व्यवस्थापन र कानुनी सहायताका लागि सो रकम बुझेपछि उनी खुसी छिन् । “केही भए पनि दुःखको अवस्थामा पाएको रकमले ठूलो राहत मिलेको छ, सो रकम छोराको पढाइमा खर्च गर्छु, हामीजस्ता घरेलु हिंसामा परेका महिलालाई यस्ता सहयोगले आत्मबल बढाएको छ, सीपमूलक कार्यक्रम पाएमा हामी आफैँ स्वावलम्बी बन्ने थियौँ”, उनले भने ।

Citizen Life
Kumar Bank
Nepal Life

दुई छोराको पालनपोषण, शैक्षिक खर्च जुटाउन अर्याललाई समस्या छ । दुई दशक अघि बिहे गरेकी उनले केही समयसम्म श्रीमानको यातना सहेर बसिन् । अहिले भने उनी न्यायका लागि रामपुर नगरपालिकाको न्यायिक समिति समक्ष गुहार मागिरहेकी छिन् । अर्याल भन्छिन, “जागिर केही पाइयो भने छोराहरु पढाउने खर्च जोहो हुन्थ्यो, श्रीमान्ले जहिल्यै यातना दिन्छ, गाउँमा केही रोजगार पाए गर्छु, नत्र विदेश नै भए पनि जानुपर्यो ।”

रामपुर–२ तिलिङ्डाँडाकी सरस्वती थापालाई नगरपालिकाले १२ हजार सहयोग गरेको छ । खाद्यान्न व्यवस्थापन, बालबालिकाको शिक्षा सहजता, कानुनी सहायताबापत सो रकम नगरले उनलाई प्रदान गरेको हो । जेठो छोराको कान नसुन्ने समस्या छ भने कान्छो छोरा अशक्त छन् ।

थापालाई दुई सन्तानको पालन पोषण कसरी गर्ने भन्ने चिन्ता छ । “परिवारमा कमाएर देला भन्ने कोही छैन, आफूलाई पालनपोषण गर्लान् भनेको त दुई छोरा शारीरिक अशक्त हुँदा आफैँ खट्नुपरेको छ, समस्यामा परेको बेला स्थानीय सरकारले गरेको सहयोगले ठूलो राहत मिलेको छ”, उनले भने ।

सोही ठाउँकै बेलिसरा थापाले ८ हजार बुझेपछि उनि औधी खुसी छिन् । दुई पैसा कमाएर दिने कोही नभएको बेला स्थानीय सरकारले दिएको रकमबाट उनि हर्षित छन् । सो रकम पाउँदा केही दिन भए पनि बिहान साँझ सजिलोसँग गुजारा चलाउन सजिलो पर्ने थापाले बताइन्।

आठ वर्ष अघि श्रीमानको मृत्यु भएपश्चात् उनी तीन छोराछोरीको साथमा छन् । परिवारमा कमाउने सदस्य नहुँदा बिहान साँझकै दैनिक गुजाराकै समस्याले उनलाई सताइरहेको हुन्छ । स्थानीय सरकारले गरेको सहयोगले दुःखमा परेका नागरिकलाई जीवन जिउन हौसला मिलेको उनले बताए।

रामपुर–६ तिलकपुरकी ३० वर्षीया सरिता कुमाललाई दैनिक छाँक टार्नै धौधौ पर्छ । श्रीमान् बेपत्ता भएपछि दुई छोराछोरीको अभिभावकत्व बहन गर्दै आएकी कुमाललाई नगरपालिकाले खाद्यान्न तथा बालबालिकालाई पोषण व्यवस्थापनका लागि ८ हजार उपलब्ध गराएको छ ।

उनी आफैँ पनि कान नसुन्ने र स्पष्टसँग आवाज निकालेर बोल्न नसक्ने छिन् । तै पनि दुई सन्तानको पालनपोषणको जिम्मेवारी उनको काँधमा छ । छोराको पनि आँखा नदेख्ने समस्या छ । नगरपालिकाबाट प्राप्त रकमले छोराको औषधि उपचार र खाद्यान्नमा खर्च गर्ने कुमालले बताए ।

रामपुर नगरपालिकाले अतिविपन्न लैङ्गिक हिंसा पिडित व्यक्तिको अवस्था हेरेर राहत उपलब्ध गराएको हो । खाद्यान्न तथा बालबालिकालाई पोषण व्यवस्थापन, शिक्षा सहजता, कानुनी सहायता, औषधि उपचार खर्चका लागि चालु आर्थिक वर्षमा २६ महिलालाई २ लाख १७ हजार उपलब्ध गराइएको महिला बालबालिका तथा सामाजिक विकास शाखाका सहायक महिला विकास निरीक्षक पुजा परियारले जानकारी दिए ।

गत आर्थिक वर्षमा पनि सोही शीर्षकमा सात महिलालाई १ लाख बराबरको राहत प्रदान गरिएको थियो । घरेलु हिंसाबाट पीडित, श्रीमान्ले दोस्रो विवाह गरेका, खाद्यान्न, औषधि उपचार, बालबालिकाको पठनपाठनमा दुःख भोगेका, आर्थिक अवस्था कमजोर भएकालाई नगरपालिकाले दशवटै वडाबाट सिफारिस गरिएको आधारमा महिलालाई सहयोग गरिएको सहायक महिला विकास निरीक्षक सिर्जना रेग्मीले बताइन् ।

घरेलु हिंसामा परेका, दुःख पाएका, बिहान साँझको जोहो गर्नै नसक्ने अवस्थामा रहेका महिलालाई लैङ्गिक हिंसा निवारण कोष खडा गरेर गत वर्षदेखि नै आर्थिक सहयोग गर्ने गरिएको कार्यवाहक नगर प्रमुख विष्णुदेवी घिमिरे आचार्यले बताइन् ।

रासस

GBIME

प्रतिक्रिया दिनुहोस्