Shikhar Insurance

बैंकहरूले फिर्ता लिए १४ अर्बको सेयर धितो कर्जा, ४/१२ का कारण ठूलाबाट खोसेर सानालाई दिइँदै

सिंहदरबार संवाददाता
२०७९ बैशाख २९, बिहीबार ११:४९
NIMB
Nabil Bank

काठमाडौं । सेयर धितोमा लिएर बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने मार्जिन प्रकृतिको कर्जा ९ महिनामै करिब १२ अर्ब रूपैयाँले घटेको छ । नेपाल राष्ट्र गत साउन अन्तिममा आव २०७८/७९ को मौद्रिक नीति ल्याउँदै सेयर धितो कर्जामा ४/१२ करोडको सीमा लगाएपछि यस्तो प्रकृतिको कर्जा ह्वात्तै घटेको हो ।

राष्ट्र बैंकको निर्देशन र घट्दो सेयर मुल्यका कारण सेयर धितोमा राखेर दिइएको कर्जा बैंकहरूले धमाधम फिर्ता लिन थालेका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

केन्द्रीय बैंकले चालु आवका लागि मौद्रिक नीति ल्याउँदै एकाघरको एक जना वा एउटा कम्पनीले एउटा बैंक तथा वित्तीय संस्थाबाट अधिकतम ४ करोड र पुरै बैंकिङ इन्डष्ट्रिबाट १२ करोड रुपैयाँ सम्म मार्जिन प्रकृतिको कर्जा लिन पाउँने व्यवस्था गरेको थियो ।

वाणिज्य र विकास बैंकले घटाउँदा वित्त कम्पनी धमाधम सेयर धितोमा राखेर मार्जिन प्रकृतिको कर्जा थप्दै

केन्द्रीय बैंकका अनुसार साउन मसान्तसम्म बैंक तथा वित्त कम्पनीले १ खर्ब ८ अर्ब ५१ करोड रुपैयाँ मार्जिन प्रकृतिको कर्जा दिएकामा चैत मसान्तसम्म ९४ अर्ब ५९ करोड ५० लाख रुपैयाँमा ओर्लिएको छ ।

केन्द्रीय बैंकका अनुसार निरन्तर घटिरहेको सेयर धितो कर्जा तेस्रो त्रैमासिकमा मात्र ५ अर्ब ११ करोड ३५ लाख रुपैयाँले कम भएको छ । तेस्रो त्रैमासमा घटाएको समेत हिसाब गर्दा ८ महिना अर्थात् साउनदेखि चैतसम्म बैंकहरुले कुल १३ अर्ब ९२ करोड रुपैयाँ फिर्ता लिइसकेका छन् ।

असार मसान्तको तुलनामा यस्तो कर्जा ११ अर्ब ६८ करोडले घटेको हो ।

४/१२ को सीमा लगाएसँगै घटिरह्यो सेयर धितोमा राखेर दिइने कर्जा

बैंकहरुले आव २०७७/७८ मा मार्जिन प्रकृतिको सेयर धितो कर्जा दोब्बरले बढाएपछि केन्द्रीय बैंकले ४/१२ को नीति अंगिकार गरेको थियो । राष्ट्र बैंकका अनुसार आव २०७७/७८ मा यस्तो प्रकृतिको कर्जा ५५ अर्ब ८७ करोड रुपैयाँले बढेको थियो ।

सेयर बजार उकालो लागिरहने क्रममा लगानीकर्ता सोही सेयर धितोमा राखेर कर्जा लिइ पुनः सेयर बजारमा लगानी उत्साहित हुँदा बैंकहरुबाट प्रवाह हुने मार्जिन प्रकृतिको सेयर धितो कर्जा दोब्बरभन्दा बढी भएको थियो । २०७७ असार मसान्तसम्म ५० अर्ब ४१ करोड रुपैयाँको सेयर धितो कर्जा प्रवाह भएकामा २०७८ असार मसान्तसम्म १ अर्ब ६ करोड रुपैयाँ पुगेको थियो । साउनमा पनि बढिरहने संकेत पाएपछि राष्ट्र बैंकले यस्तो कर्जामा लगाम लगाएको थियो ।

केन्द्रीय बैंकको तथ्यांकअनुसार बैंकहरुले साउनमा यस्तो प्रकृतिको कर्जा २ अर्ब २३ करोडले बढाएका थिए ।

मार्जिन प्रकृतिको सेयर धितो कर्जामा सीमा तोकेपछि सेयर बजारको मनोवल घट्यो । त्यसयता ३२ सय अंकसम्म पुगेको नेप्से परिसूचक २४ सयको हाराहारीमा ओर्लियो । त्यसयता सामान्य बढेर पुनः २४ सयकै हाराहारीमा बजार छ ।

विशेष गरी ठूला लगानीकर्तालाई दिइएको कर्जा फिर्ता लिएर सानामा लगानी गर्न प्रोत्साहन हुने गरी ४/१२ को नीति ल्याइएको केन्द्रीय बैंकले बताउँदै आएको छ । तर, यसको चरम बिरोध भइरह्यो ।

मौद्रिक नीतिमा पहिलो त्रैमास समीक्षासम्म आइपुग्दा कर्जाको विस्तार असन्तुलित ढंगले बढेर बजारमा लगानीयोग्य रकमको अभाव भयो भने निक्षेपको ब्याजदर बढेर दोहोरो अंकमा पुग्यो ।

सेयर बजारमा अस्वभाविक दरमा विस्तार भएकाले सर्वसाधारणको सम्पत्ति बढ्यो, सवारी तथा सुनलगायत आयात हुने वस्तु खरिद गर्न लागे । यसको प्रभावस्वरूप विदेशी मुद्रा सञ्चिति रित्तिन थाल्यो । राष्ट्र बैंकले आयात कम गर्न नगद मार्जिनक व्यवस्था गरेको थियो । अहिले सरकारले वस्तु नै तोकेर आयात बन्द गरेको छ ।

बैंक तथा वित्त कम्पनीले २०७९ असार मसान्तसम्म ४/१२ को सीमा कायम गरिसक्नुपर्छ । साउन अन्तिमा सेयर धितो कर्जामा लगाम लगाइएसँगै बैंक तथा वित्त कम्पनीले मार्जिन प्रकृतिको कर्जा फिर्ता लिन थालेका छन् ।

पहिलो र दोस्रो त्रैमासिक समीक्षामा यो नीतिबाट फिर्ता हुने आम लगानीकर्ताको अनुमान सही भएन । केन्द्रीय बैंकले दीर्घकालमा लाभदायी हुने भन्दै ४/१२ को सीमा कायम गरिरह्यो ।

अहिले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाको संघारमा सार्वजनिक तथ्यांकले बैंकहरुले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा निरन्तर घटाइरहेको तथ्य सार्वजनिक भएको छ ।

केन्द्रीय बैंकका अनुसार वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीले कुल ९४ अर्ब ५९ करोड ५० लाख रुपैयाँ बराबरको मार्जिन प्रकृतिको कर्जा प्रवाह गरेका छन् ।

जुन अघिल्लो त्रैमाससम्म ९९ अर्ब ७० करोड ८५ लाख रुपैयाँ थियो ।

महिना दिनमै बैंकहरूले फिर्ता लिए ४ अर्ब बढी सेयर धितो कर्जा, सनराइज सबैभन्दा अघि

सेयर धितोमा १ खर्ब बढी कर्जा जाँदा राष्ट्र बैंकको निर्देशनले फिर्ता ल्यायो साढे ४ अर्ब

बैंकले लिए सेयर बजारबाट साढे ६ अर्ब कर्जा फिर्ता, सीमाभन्दा बढी ऋण लिने लगानीकर्तालाई सकस

केन्द्रीय बैंकका अनुसार साउन मसान्तसम्म १ खर्ब ८ अर्ब ५१ करोड रुपैयाँको सेयर धितो कर्जा प्रवाह भएकामा असोज मसान्तसम्म १ खर्ब ३ अर्ब ९१ करोडमा ओर्लिएको थियो ।

बैंकिङ इन्डिष्ट्रिबाट प्रवाह भएको मार्जिन प्रकृतिको (सेयर धितोमा राखेर सेयर किन्ने प्रयोजन) कुल कर्जाको ट्रेन्डलाई तथ्यांकमा यसरी हेरौंः

वि.सं. २०७७

असार मसान्तसम्मः ५० अर्ब ४० करोड रुपैयाँ

 

वि.सं. २०७८

असार मसान्तसम्मः १ खर्ब ६ अर्ब २८ करोड रुपैयाँ

साउन मसान्तसम्मः १ खर्ब ८ अर्ब ५१ करोड रुपैयाँ

असोज मसान्तसम्मः १ खर्ब ३ अर्ब ९१ करोड रुपैयाँ

पुस मसान्तसम्मः ९९ अर्ब ७० करोड रुपैयाँ

चैत मसान्तसम्मः ९४ अर्ब ५९ करोड रुपैयाँ

 

साउन मसान्तभन्दा पुस मसान्तमा घटेकोः ८ अर्ब ८१ करोड रुपैयाँ

साउन मसान्तभन्दा चैत मसान्तमा घटेकोः १३ अर्ब ९२ करोड रुपैयाँ

 

ठूलाबाट खोसेर सानालाई दिइँदै, मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाले के गर्ला ?

केन्द्रीय बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक स्थितिको प्रतिवेदन अनुसार मौद्रिक नीतिमार्फत् गरिएको ४/१२ को व्यवस्थाले साना ऋणीलाई लाभ मिलेको पाइएको छ । राष्ट्र बैंकको अनुसार सो व्यवस्थाले एकातिर ठूला ऋणीलाई दिइएको कर्जा घटिरहेको छ भने अर्कातर्फ साना कर्जा लिनेको संख्या ह्वात्तै बढेको छ ।

बैंक तथा वित्त कम्पनीबाट प्रवाह हुने १ करोड रुपैयाँभन्दा बढी सेयर धितो कर्जा गत असार मसान्तसम्म ७३ अर्ब ५३ करोड ५९ लाख रुपैयाँ बराबरको प्रवाह भएको थियो । चैत मसान्तसम्म सो घटेर ५८ अर्ब ५७ करोड ५७ लाख रुपैयाँमा खुम्चिएको छ ।

यी हुन् ठुला लगानीकर्ताः जसले बैंकबाट सेयर धितोमा अर्ब बढी ऋण लिएर बजारमा लगानी गरे

तर, २५ लाख रुपैयाँभन्दा साना दरका कर्जामा उल्लेख्य सुधार आएको छ । असार मसान्तसम्म ७ अर्ब ३७ करोड रुपैयाँको त्यस्तो कर्जा भएकामा मंसिर मसान्तसम्म बढेर ८ अर्ब ८१ करोड पुगेको छ ।

यस्तै, ५० लाखसम्मको कर्जा बढेको र १ करोड रुपैयाँसम्म दरका कर्जा घटेको केन्द्रीय बैंकको तथ्यांक छ ।

चालु आर्थिक वर्षको ९ महिना बितिसक्दा मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सम्मुखैमा छ । चैत मसान्तसम्मको समग्र आर्थिक तथा वित्तीय परिसूचक अध्ययन विश्लेषण गरेर नेपाल राष्ट्र बैंकले मौद्रिक नीति समीक्षा गर्ने गर्छ ।

तेस्रो त्रैमासिकको मौद्रिक नीति समीक्षामा पनि चासोको विषय सेयर धितो कर्जा हुनेछ । सेयर बजार र कर्जा विस्तारसँग जोडिएको यो विषयमा खुकुलो बनाइदिने अपेक्षा लगानीकर्ताको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्