देशभर मतदान भइरहेका बेला देश थेग्न र आफन्त उडाउन विमानस्थलमा पुगेकाहरुको कथा

रमेश लम्साल, अशोक घिमिरे र कृष्णराज गौतम
२०७९ बैशाख ३०, शुक्रबार २०:२३

काठमाडौँ । उमेर साढे आठ दशक । शुक्रबार देशभर स्थानीय तह निर्वाचनको मतदान भइरहेका बेला छोराबुहारीलाई बिदाई गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्ष अगाडि टोलाइरहेका थिए काठमाडौँ बनस्थलिका मानसिंह विष्ट ।

यो उमेरका विष्टलाई बुढेसकालमा छोरालाई विदेश पठाउन फिटक्कै मन छैन तर उनले रोक्न पनि सकेनन् । निर्वाचनको दिन निजी तथा सार्वजनिक सवारीसाधन नचलेकाले अनेक प्रयास गरेर विमानस्थलसम्म आइपुगेको बताउने विष्टका आँखा एकाएक रसाए । छोरा किसन र बुहारी कमलालाई विदेश पठाउन आएको उनले बताए ।

“विमानस्थल आउने हतारोले निर्वाचनमा भाग लिन पाइएन । आफ्नो प्रतिनिधि चयन गर्ने अवसर गुमाउनु पर्‍यो,” किसनले सुनाए ।  आफ्नो टोलका सबै छिमेकी निर्वाचनमा सक्रिय सहभागी भइरहेको मानसिंहलाई थाहा छ । मत दिने मन त उनलाई पनि छ तर दक्षिण कोरिया उड्ने छोरालाई बिदाई नगरी उहाँ घरमै बस्न सकेननं ।

“ छोरा घर फर्केर आउँदा खुसी हुने मन विदेश उड्न लाग्दा भने साह्रै दुख्दोरहेछ ” मानसिंहले गहभरी आँशु पार्दै भने, “यो बाध्यतालाई देश बनाउँछु भन्नेहरुले बुझिदिए कत्ति राम्रो हुन्थ्यो होला ।” स्थानीय निर्वाचनका कारण सवारीसाधन नचलेकाले धेरै टाढा टाढादेखि अनेकन दुःख गरेर विमानस्थल आइपुगेको बताउनेहरु धेरै थिए । तर, अन्य दिन भन्दा विमानस्थलमा आज चाप अलिक कम थियो ।

हरेक दिन सपना बोकेर उड्नेहरु कोही सकुसल फर्किएका छन् भने कोही बाकसमा बन्द भएर । रोजगारीको खोजीमा भौतारिएकाहरु मलिन मुद्राका साथ प्रस्थान कक्ष अगाडि उभिइरहेको दृश्यले धेरैको मन बिथोलिन्छ ।

औपचारिक तथ्याङ्कका आधारमा हरेक दिनजसो दुई हजार नेपाली रोजगारीको खोजीमा विदेशिरहेका छन् । श्रम र पसिना बिक्री गर्न विदेशिएका नेपालीले नै पठाएका विप्रेषणले मुलुक चलेको छ । विप्रेषण कम हुँदा देशको अर्थतन्त्र धरमराउन लागेको तथ्य पनि हाम्रा सामु छ । तर, देशभित्र महत्वपूर्ण चाड चलिरहेको बेला विदेशिनुपर्ने बाध्यता आफैंमा हृदयविदारक दृश्य भन्दा फरक थिएन । धेरै मानसिंहले बुढेशकालका सहारालाई विदेश पठाएर प्रतिक्षाका दिनहरु भित्तेपात्रोमा गनेर बसेका छन् ।

निर्वाचनमा आफ्नै परिवारको सदस्य उम्मेदवार भए पनि आज राति १० बजे कतार उडन लागेका धनुषा मिथिला नगरपालिकाका तेजनारायण यादवको मुहारमा खुसी थिएन । उनको काका नै प्रमुखको उम्मेदवार छन् । “देशभित्र रोजगारी छैन, खानु पर्‍यो परिवार पाल्नु पर्‍यो, निर्वाचन भनेर बस्ने अवस्था पनि रहेन” यादवले भने “सामान्य झोला भिरेका यादवले भने “म र म जस्ताको दुःख सम्बोधन गर्ने गरी यस पटकको निर्वाचनले नेतृत्व छानिदिए अर्को पटक म पनि विदेश जान्न थिएँ ।”

धनुषादेखि बिरामी बोक्ने एम्बुलेन्समा कोचिएर सङ्घीय राजधानी उत्रनु भएका यादव रासससँगको कुराकानीकै क्रममा मलिन सुनिए । उनको गला अवरुद्ध भइरहेको थियो । “परिवार छाडेर विदेश जान त कहाँ मन छ र ? तर बाध्यता छ हजुर, बाध्यता ।” पाँच महिनाको छुट्टी लिएर आउनु भएका यादव कतारमा टाइम किपरको काम गर्छन् ।

उनको अपेक्षा छ, विदेश जानुपर्ने बाध्यताको अन्त्य हुने गरी निर्वाचित हुनेले काम गरिदिए आफूलाई असाध्यै खुसी लाग्ने बताए । कतार एयरबेजल यादवलाई राति १० बजे मात्रै बोकेर उड्छ । खाना न पानीका साथ विमानस्थलको प्रस्थान कक्ष अगाडिको घडीमा कहिले आँखा पुग्छ त कहिले आफू जस्तै विदेश जान आएकाको भीडमा ।

एउटै समूहमा भेटिए मोरङ उर्लाबारी अशोक राउत, झापा हल्दीबारीका गङ्गा कटुवाल र उदयपुरका नगेन्द्र मगर । बिहीबारलाई दुबईको जहाज नआएपछि होटलमा बस्नु परेको यर्थाथ सुनाउँदै राउतले भने “ निर्वाचन भनेर बसेर पनि भएन । यहाँ रोजगारी छैन, कमाई खाने बाटो छैन । यो बाध्यता छ हामीलाई ।”

बहराइनमा विगत पाँच वर्षदेखि चालकको रुपमा कार्यरत राउतले भने “निर्वाचनले हामी जस्ता परदेशीलाई स्वदेशमा नै बस्ने वातावरण बनाओस् भन्ने अपेक्षा छ ।” तीनै जनाको ‘लगेज’ एउटै ट्रलीमा घिसारिरहनु भएका नगेन्द्र मगरलाई राजनीतिक नेतृत्वले देश विकास भन्दा पनि आफ्नो व्यक्तिगत स्वार्थमा लागेको कुरा पटक्कै मन परेको रहेनछ । “निर्वाचनको दिन विदेश उड्न त मन थिएन नी । तर, राजनीतिक नेतृत्वले कहिल्यै हामीहरु जस्ताको चाहना र आवश्यकताको सम्बोधन गर्न सकेन ।”

“देशभित्रै रोजगारी होओस्, घरमै बसेर काम गरी खान पाइयोस् भन्ने मेरो पनि चाहना छ । तर, कहिल्यै त्यो अवसर आएन” मगरले भने । झापा हल्दीबारीका कटुवाललाई झापामा आज भइरहेको निर्वाचनको माहोल झल्झली आँखामा आइरहेको छ । ट्रली धकेल्दै उनले भने “निर्वाचन भनेर भएन । हाम्रो दुःख बुझिदिने कुनै नेता भएनन् । प्रभाव र पहुँच नहुनेले देशभित्र रोजगारीको अवसर पाउन मुस्किल भएको उनको गुनासो छ ।

सरकारले सबै नेपालीलाई देशभित्रै राख्न सकेको अवस्थामा विकासको शिखरमा पुग्न कुनै आइतबार कुर्नु नपर्ने उनको भनाइ छ । व्यवस्था परिवर्तन भयो । नागरिकले सङ्घर्ष गरेर ल्याएको राजनीतिक प्रणालीमा चरित्र भने पुरानै रहेको र नातावाद मौलाएकामा उनको आपत्ति छ ।

त्यस्तै, बुटवलका विष्णु पौडेल भने सुन्धाराको एक होटलमा नै राहदानी छाडेर विमानस्थल पुगेका रहेछन् । रासस टोलीलाई विमानस्थलमा देखेपछि उनले तपाईंहरु सरकारी कर्मचारी हो भन्ने प्रश्न गरे । हामीले हामी कर्मचारी होइनौँ, पत्रकार हौ भनेपछि आफ्नो अवस्था सुनाउन अगाडि सरे ।

आफ्नो झोला खोतल्दै एक अमूक पार्टीको स्टिकर निकाले । तर, राजनीतिक नेतृत्वप्रति गुनासो गर्न पनि छाडेनन् । राहदानी नै नभइ विदेश उड्न पाइएला त ? उनको जिज्ञासा थियो । हामीले राहदानी नभइ विदेश उड्न नपाइने बताएपछि हामीले नै होटलको नम्बर पत्ता लगाइदियौँ । होटल सञ्चालकले राहदानी ल्याइदिने बताएपछि ढुक्क देखिनु भएका पौडेल पनि निर्वाचनको दिन विदेश जानु बाध्यता भएको बताउँछन् । “खाडी जान्छु भन्दा पनि वातावरण भएन” उनले भने । गाँउको विकास निर्माणको काममा राजनीतिक नेतृत्वले गरेको बदमासी आँखा चिम्लेर बस्ने कार्यकर्ताप्रति समेत उनले गुनासो गरे ।

विमानस्थलमा कोही आफ्ना छोरा बिदाई गर्न आएका आमाहरु भेटिए । कोही श्रीमान् बिदाई गर्न लालाबाला बोकर आएकाहरु पनि भेटिए । देशमा लोकतन्त्रको अभ्यास भइरहेको  बेला विमानस्थलमा भेटिएका कोही कसैको मनमा पनि  खुसी देखिँदैनथ्यो । निराश, हतास अनि मलिन अनुहारमा भेटिएका अधिकांशले देश बनोस्, देशभित्रै रोजगारी पाइयोस् भन्ने अपेक्षा भने गरेका थिए । दुखित मन लिएर उड्नेहरु कति खुसी भएर फर्केलान् कति अझै दुःख भोगेर फर्केलान् त्यो भने अहिल्यै भन्न सकिने अवस्था छैन । तर, यसरी देशमा चुनाव भइरहेकै बेला विदेशीने रहर भने कसलाई पो होला र ?

प्रतिक्रिया दिनुहोस्