प्रा जोशीको सात दशकको अनुभव : ‘अमेरिकाले अकल्पनीय विकास गर्‍यो’

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ ८, आईतवार १८:४९

एजेन्सी । सुरुमा अध्ययन र पछि प्राध्यापन गरी उनले अमेरिकामा ५८ वर्ष बिताए । सन् १९६४ मा अमेरिका आएका डा तुलसीराम जोशीले यहाँ आउने नेपालीको पहिलो पुस्ताको प्रतिनिधित्व गर्छन् भन्दा फरक नपर्ला । अमेरिकामा अध्ययन अध्यापनमा उनका ५८ वर्ष बिते । यसबीचमा अमेरिकाले विकासमा मारेको फड्को कल्पनाबाहिरको रहेको उनको अनुभव छ । करिब सात दशकको आफ्नो अनुभव सुनाउँदै उनिले भने , “अहिलेको अमेरिकाको सूचना प्रविधिको फड्कोलाई हेर्दा मलाई अचम्म लाग्छ, निकै रोमाञ्चक यात्रामा अहिले पनि अमेरिका ।

कम रोमाञ्चक छैन आफ्नो जन्मस्थल बझाङ्गदेखि अमेरिकाको हवाई राज्यसम्मको उनको यात्रा । सात दशकअघिको बझाङ र काठमाडौँकै यात्रा पनि कति कठिन थियो भनेर अनुमान मात्र गर्न सकिन्छ । अनि काठमाडौँबाट अमेरिकाको त झन् कुरै भएन ।’’ बझाङबाट काठमाडौँका लागि चालेको पहिलो पाइलाले अमेरिकाको कल्पना सायदै गरेको थियो । तर सम्भव भयो र हवाइको होनोलुलुसम्मको यात्रा तय भयो । त्यो यात्रा यो युगको विज्ञान प्रविधिको विकासका कारण अहिलेको पुस्तालाई त सामान्य लाग्छ । तर उनले अहिले आफ्नो भोगाई सुनाउँदा भने यो पुस्तालाई कुनै दन्त्यकथा जस्तै लाग्न सक्छ ।

अघिल्लो हप्ता उनसँग भने मैले उनको अमेरिका बसाइका विगत र वर्तमानमा बढी केन्द्रित भएर कुराकानी गरेँ । विश्वलाई ग्लोबल भिलेज भनेर नामाकरण भएको समयावधिमा अमेरिकाले विश्वव्यापी रुपमा आफ्नो आर्थिक, कूटनीतिक र सामरिकरुपमा सदैव उच्च स्थानमा राख्दै महाशक्ति राष्ट्रका रुपमा यसलाई कायम राख्दै आजको अवस्थासम्मलाई प्राध्यापक जोशीले एक साँचो साक्षीका रुपमा नियालिरहेको छ । आफूले यहाँ प्रवेश गरेको सात दशकअघिको त्यो र यो अमेरिकामा के कति फरक आइसक्यो ? अनेकन देखाई र भोगाइका रोमाञ्चक क्षणहरु छन् उनसँग ।

बझाङ्गबाट अमेरिका जान सुरु भएको यहाँको यात्राले ११ दिनजति त पैदल नै थियो । यात्राका क्रममा रुखको फेदमुनि बस्नेदेखि भारतको रक्सौल, अमलेखगञ्ज हुँदै भीमफेदीबाट छिरे उनि काठमाडौँ । कुराकानीको क्रममा जोशीले भने- अहिलेको पुस्तालाई किंवदन्ती जस्तो लाग्ने यात्राका क्रममा अनेकन कष्ट झेल्नुपरेको थियो । काठमाडौँ आएपछि तत्कालीन ईष्ट वेष्ट सेन्टरले प्रदान गरेको छात्रवृत्तिमा उनसहित चार जनाको समूह काठमाडौँबाट कलकत्ता, हङ्गकङ्ग टोकियो हुँदै अमेरिकाको होनोलुलुमा आइपुगेको थियो ।

त्रिभुवन विश्वविद्यालयवाट प्रथम श्रेणीमा प्रथम भई तत्कालीन राजा महेन्द्रबाट स्वणर् पदक प्राप्त गरेका जोशीको जीवन यात्रामा अध्ययनले महत्वपूणर् फड्को मारेको छ । भूगोलमा स्नातकोत्तरको उपाधि युनिभर्सिटी अफ हवाईबाट प्राप्त गरेपछि उनले विद्यावारिधी भने पिटस्वर्गबाट गरे । तर विद्यावारिधी गर्नपनि त्यो बेलामा त्यति सहज थिएन । पिटस्बर्ग विश्वविद्यालयवाट विद्यावारिधी गरेपछि उनले वेष्ट भर्जिनियाको फेरमन्ट विश्वविद्यालयमा अध्यापन सुरु गरेका थियो ।

जोशीले आफ्ना विगतका अनुभव सुनाए- मेरो अमेरिका बसाइको प्रारम्भ र अहिलेको तुलना गर्न निकै कठिन छ । किनकि अहिले सर्वाधिक धनी भएका व्यक्तिहरुको नाम, कम्पनीहरु त्यो वेला जन्मिएका पनि थिएनन् । यसवाट तपाई सहजै अनुमान लगाउन सक्नु हुन्छ विगत २५ वर्षको अवधिमा अमेरिकामा सामाजिक, आर्थिक र सूचना प्रविधिको कसरी रुपान्तरण भयो ।

जोशीले अमेरिकामा आएको परिवर्तनका बारेमा भने – अमेरिकामा कडा मेहनत गर्ने मानिसहरुले सफलता हासिल गर्न सक्छन् । यसैले यसलाई अवसरको भूमिको रुपमा लिइन्छ । त्यो बेलाको समयमा नेपालको विकट ग्रामीण भेगमा जन्मिएर अमेरिकाको विश्वविद्यालयमा प्राध्यापक हुन पाउनुमा पनि मेहनत र भाग्यको फल हो भन्ने लाग्छ ।

विकासको नाममा भर्खर पहाडी चट्टानहरु खोस्रेर बाटो बनाउन वामे सर्दै गरेको नेपाल र त्यसको एउटा विकट जिल्लाको गाउँबाट झण्डै ६ दशक अगाडि अमेरिका आएका जोशीले अमेरिकाको पूर्वाधार निर्माण त्यो बेला पनि उस्तै भएको बताए । उनले विशाल अमेरिका भित्र निर्माण गरिएका फराकिला बाटाहरुको बारेमा टिप्पणी गर्दै भने- हामीले देख्दा पनि फराकिला सडकहरु देखेका थियौँ, अहिले पनि ती सडक र त्यहाँ दौडने गाडीहरु उस्तै गतिमा दौडिरहेका छन् तर सूचना र प्रविधिको फड्कोसँगै यात्रामा धेरै सुविधा आएको छ ।

अमेरिकामा स्थायी रुपमा बसोबास गर्न आउने पहिलो पुस्ताको प्रतिनिधित्व गर्ने जोशी अमेरिकामा स्थापित हुन यसरी सुझाउछन् । उनको पहिलो सुझाव हो- अमेरिकामा वस्ने भएपछि सानो भएपनि अध्ययनको डिग्री लिन आवश्यक छ । दोस्रो यहाँको सरकारी एकाई र तिनीहरुले प्रदान गर्ने सेवा सुविधाबारे जानकारी पाउँदा फाइदा पुग्छ । उनकै शब्दमा राम्रो ‘क्रेडिट’ को व्यवस्थापन गर्न सके यहाँ बस्ने नेपालीलाई सहज हुनेछ भने चौथो यहाँको मौसमवारे हर व्यक्ति अभ्यस्त हुनु जरुरी छ ।

जीवन यात्रामा अनेकन आरोह अवरोह भोगेका जोशीले सन् १९८८ मा नै एएनए छात्रवृत्ति कार्यक्रम मार्फत् ५० जना जेहेन्दार विद्यार्थीलाई फेरमन्ट विश्वविद्यालयमा ल्याएर पठनपाठनको व्यवस्था गरेका थियो । उनले भने – यो मेरो एउटा सानो प्रयास थियो, यस मार्फत् केही विद्यार्थी भाईवहिनीहरुले पढ्ने मौका पाउनु भयो । तपाई जहाँ वसेपनि तपाईसँग उपलब्ध स्रोत र साधनको परिचालन मार्फत् कसैको जीवन परिवर्तन गराउन सक्नुहुन्छ भने त्यो तपाईको जीवनका उत्तराद्र्धमा पनि सन्तोषपूर्वक जीवन व्यतित गर्न सक्नुहुन्छ । लामो समय प्राध्यापनमा विताएका जोशीलाई यही कुराले सदैव प्रेरित गरिरहयो । उनि अहिले यहाँ अवकाश जीवनमा छन् ।

जोशीले अमेरिकाको शिक्षा, पूर्वाधारको विकास र प्राविधिक सीपलाई अंगीकार गरेर त्यसमार्फत् नेपालको वहुआयमिक विकासमा टेवा दिनुपर्ने वताए। नेपाल अमेरिका सम्बन्धको ७५ वर्षको अवसरमा उनको धारणा छ- अमेरिकाले नेपाल र नेपालीलाई सदैव मित्रवत व्यवहार गरेको पाएको छु । एक प्राध्यापक भएको नाताले मलाई के लाग्छ भने अमेरिकाले शिक्षा क्षेत्रमा हजारौँ नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ति मार्फत अध्ययनको अवसर दिएको छ भने अर्कातर्फ नेपालको विकासमा पनि अमेरिकाको ठूलो योगदान रहेको छ ।

अमेरिकी नागरिक र नेपाली नागरिक वीच एक मजवुत सम्बन्ध स्थापित हुन सफल भएको छ । अमेरिकामा रहेका नेपाली संघसंस्थाहरु राम्रो भएपनि उनीहरुको कार्यशैली तलदेखि नै परिवर्तन गर्नुपर्ने उनको सुझाव छ । मपाईत्व र दम्भ देखाउनेहरु संस्थामा वसेर गैर नाफामुलक संस्थाको भावना र मर्ममाथि नै प्रहार गरेका छन् जस्तो लाग्छ । जोशीले भने- संगठीत हुनु साह्रै राम्रो काम हो तर त्यो सञ्चालन गर्ने फ्रेमवर्क संस्थागत छैन यो चिन्ताको विषय हो । हामी नेपालीहरुमा अझै पनि आफूले कमाएको सम्पत्ति भावी सन्ततिको लागि जम्मा गर्ने प्रवृत्ति छ, त्यो भन्दा मलाई के लाग्छ भने समाजको लागि योगदान गर्न सके त्यसले थप अवसर सिर्जना गर्नसक्छ ।

प्रवासी भूमिमा आफ्नो सम्पूणर् जीवन व्यतित गरेको भएपनि नेपालको गरिबी र अशिक्षाको लागि सदैव हातेमालो गरेको उनले वताए । मैले जीवनमा आफ्नो व्यावसायिक रुपमा प्राध्यापन पेशा अँगालेर जति कमाएँ त्यसको महत्वपूणर् हिस्सा समाजलाई नै समर्पित गरेको छु जोशीले भने ।

मैले प्रारम्भिक दिनहरुमा वार्षिक १० हजार डलरमा काम सुरु गरेको थिएँ, आफ्नो घरायशी खर्च कटाएर भए पनि मैले सामाजिक दायित्व पूरा गरेँ भन्ने लाग्छ । जोशीले आफ्नो विगत सम्झिदै भने- मैले केही गरे भन्दा पनि मेरो कामले प्रभावित हुनु भएकाहरुले मूल्याङ्कन गर्नुहुनेछ भन्ने लाग्छ ।

जीवनमा प्राप्त भएका वस्तु र साधनहरुलाई महत्वपूणर् मान्दै वास्तविक आवश्यकता भएका मानिसहरुलाई सहयोग गर्नु र उनीहरुलाई बाटो देखाउन सक्ने व्यक्ति बन्नु नै सार्थक जीवन हो उनले भने । आफ्नो जीवनमा गरेका कामहरुप्रति खुसी छन् प्राध्यापक जोशी । जोशीले भने- हामीले मानव चोला लिएर जन्मिएपछि एकपटक अनन्त यात्रामा जानु नै छ, तसर्थ कुनै कुरा आशक्त जीवन भन्दा समाजलाई केही दिन सकौँ भन्ने मेरो धारणा छ ।

जोशीले आफ्नो जीवनकालमा महत्वपूणर् अवार्ड प्राप्त छन् । उनले राष्ट्रपति डोनाल्ड ट्रम्पबाट सर्भिस अवार्ड, भर्जिनिया राज्यका तीन गभर्नरहरुबाट सम्मान प्राप्त गरेका छन् । जोशीसँग फेरमन्ट युनिभर्सिटीमा ४२ वर्षे प्राध्यापनको जिम्मेवारी पूरा गरेको अनुभव । गतवर्ष मात्र उनलाई सोही विश्वविद्यालयले विशेष सम्मान गरेको थियो ।

यसरी सम्मानित हुने उनि एक मात्र नेपाली हुन् । उनि र उनकी श्रीमती मर्लिनको सम्मानमा फेरमन्ट विश्वविद्यालयले उनिहरुकै नाममा कार्यालय स्थापना गरेर सम्मान दिएको छ । अमेरिकी विश्वविद्यालयहरुले आफ्ना प्रतिष्ठित प्राध्यापकहरुको नाममा विश्वविद्यालयको भवन र प्रशासनिक कक्षहरुको नामाकरण गरेर सम्मान दिने प्रचलनको सुरुआत गरेको छ ।

उनिहरुले अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई सघाउन महत्वपूणर् सहयोग गरेवापत उक्त सम्मान दिइएको विश्वविद्यालयले जनाएको छ । जोशीले भने- न्यून आम्दानी भएका मेहनती र जेहेन्दार विद्यार्थीहरुले विश्वव्यापी रुपमा आफूलाई प्रतिस्पर्धी बनाउन सकुन् भन्ने अभिप्रायले मैले सहयोग गरेको हुँ, मेरो यो भावनालाई विश्वविद्यालयले कदर गरेको छ, यसमा म खुसी छु ।

जीवनमा आफूले कमाएको रकम दान गर्दै आएका जोशीले धनगढीमा दुई वटा विद्यालयलाई ७० लाख र बझाङ्गमा रु ३६ लाख गरी एक करोड ४४ लाख भन्दाबढी दान दिईसकेका छन् । जोशीले हालसालै मात्र आफ्नो जन्मस्थल सुदूरपश्चिमका लागि छात्रवृत्ति स्थापनाको लागि रु १४ लाख भन्दा वढी दान दिने घोषणा गरेका छन् । यसैगरी अमेरिकामा आफनो जीवन जोडिएका विश्वविद्यालयहरु फेरमन्ट विश्वविद्यालय र पिटसवर्गलाई समेत गरी करिब ३ लाख ७६ हजार डलर उनले दान दिएका छन् ।

आफूले कमाएको रकमबाट ५ लाख डलर दान दिने नेपालीमध्ये थोरैमा उनि पर्छन् । विश्वको जुनसुकै देशमा रहेपनि नेपाल र नेपालीको स्मरण सदैव रहने भएकाले हरेकले आफू जन्मिएको गाउँठाउँका लागि सानो भए पनि सहयोग गरौँ भन्ने आह्वान छ उनको । सबै नेपालीलाई जो जहाँ रहे या भए पनि आगामी पुस्ताको मार्ग दर्शक बन्न सकौँ भन्ने सुझाव दिए । बझाङको छबिस पथिभेरा गाउँपालिका तामाखानीमा विसं १९९५ मा जन्मिनुभएका प्रा जोशीले त्रिभुवन विश्वविद्यालयबाट भूगोल विषयमा स्नातकोत्तर गरेको हो । उनले पछि अमेरिकाको युनिभर्सिटी अफ पिटस्बर्गबाट विद्यावारिधी गरे । हाल उनि अमेरिकाको वेस्ट भर्जिनियामा बस्छन् ।

रासस

प्रतिक्रिया दिनुहोस्