Shikhar Insurance

पुँजीवृद्धि योजना असफल हुँदै, जीवन बीमा कम्पनीको संख्या घटाउन समितिलाई यस्तो चुनौती

दिलु कार्की
२०७९ जेष्ठ १९, बिहीबार १८:०१
NIMB
Nabil Bank

काठमाडौं । बीमा क्षेत्रमा हाल १९ वटा जीवन, २० वटा निर्जीवन बीमा र २ वटा पुनरबीमा गरी ४१ वटा बीमा कम्पनीहरु सञ्चालनमा छन् । ५ वर्ष अघि बीमा समितिमा चिरञ्जीवि चापागाईं अध्यक्ष भएर आएपछि उनले १० वटा जीवन र ३ वटा निर्जीवन बीमा कम्पनीलाई लाइसेन्स बाँडेका थिए ।

त्यसयता नयाँ जीवन बीमा कम्पनीलाई लाइसेन्स दिने हल्ला बारम्बार चलेपनि अहिले भने समिति बल्ल सञ्चालनमा रहेका कम्पनीहरु घटाउने नीतिमा छ । कम्पनीहरुको संख्या घटाउने मुख्य उद्देश्यले समितिले गत चैत १० गते १ वर्षभित्र चुक्ता पुँजी १५० प्रतिशतसम्मले वृद्धि गर्न निर्देशन दिइसकेको छ । समितिले आगामी आर्थिक वर्ष अन्त्य (२०८० असारमसान्त) सम्म जीवन बीमा कम्पनीलाई ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीलाई २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउन निर्देशन दिएको हो । सो अघिसम्म निर्जीवन बीमा कम्पनीको १ अर्ब रुपैयाँ र जिवन बीमा कम्पनीको २ अर्ब रुपैयाँ चुक्ता पुँजी तोकिएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

पुँजी वृद्धिको योजना संख्या घटाएरै कम्पनीको क्षमतामा वृद्धि गर्नका लागि ल्याइएको समितिका कार्यकारी निर्देशक तथा प्रवक्ता राजु रमण पौडेल बताउँछन् । समितिको पुँजी वृद्धिको योजनामा १९ को संख्यामा रहेको जीवन बीमा कम्पनीहरु १० को हाराहारी र २० वटाको संख्यामा रहेको निर्जीवन बीमा कम्पनीहरु १०÷११ को हाराहारीमा आउन सक्ने अपेक्षा उनको छ ।

‘समितिले पुँजी वृद्धि योजना कम्पनीको संख्या घटाउनै ल्याएको हो, आईपीओ जारी नगरेका कम्पनीबाहेक अन्यलाई पुँजी पुर्याउन हकप्रदको बाटो बन्द गरेका छौं,’ समितिका प्रवक्ता पौडेलले सिंहदरबारसँग भने, ‘विकल्प भनेको मर्जरकै बाटो हो, बोनस सेयर जारी गरेर कुनै पनि कम्पनीले तोकिएको पुँजी १ वर्ष भित्रमा थप्न सक्दैनन् ।’

राष्ट्र बैंकले पुँजीवृद्धिको योजना ल्याएर हकप्रदको बाटो खुला गर्दा उद्देश्य अनुरुप बैंकको संख्या घटाउन नसकेको हुँदा बीमा समितिले त्यो गल्ती नदोहोर्याउने उनको भनाइ छ ।

‘समितिले कम्पनीहरुको पुँजी वृद्धि गर्ने प्रारम्भिक अध्ययन गर्दा राष्ट्र बैंकले नै हकप्रद दिएर आफूले गरेको गल्ती नगर्न सुझाएको थियो,’ उनले थपे ‘त्यसैले हामीले अहिले स्वेच्छाले मर्जर गर्छु भन्ने बाहेकका कम्पनीलाई क्रस्र होल्डिङ केलाएर मर्जरमा जान सुझाइ रहेका छौं ।’

सोही अनुसार अहिले कम्पनीहरुको क्रस होल्डिङको तथ्यांक केलाएर क्रस होल्डिङ भएका कम्पनीका सीईओ र सञ्चालकहरुलाई एकै ठाँउमा एकै पटक बोलाएर पुँजी वृद्धिको प्रोगेस र आगामी कार्ययोजना सोध्दै आपसमा मर्जर हुन सुझाइरहेको हो ।

समितिको तथ्यांकमा मर्जरमा जानु पर्ने जीवन बीमा कम्पनीहरु
बीमा समितिको प्रारम्भिक तथ्यांकअनुसार १२ वटा जीवन बीमा कम्पनीहरुमा ४.७६ प्रतिशतदेखि २६.५८ प्रतिशतसम्म विभिन्न संघ संस्था, लगानीकर्ता ग्रुप र व्यक्तिको लगानी छ ।

विषेश गरी समितिले १५ प्रतिशतमाथि क्रस होल्डिङ भएका कम्पनीहरुलाई भने ‘फोर्स’ मर्जरकै नीति खोजिरहेको छ । यद्यपि १ प्रतिशतमाथि क्रस होल्डिङ भएका कम्पनीलाई समेत समितिले बोलाएरै मर्जरमा जान सुझाइ रहेको छ ।

क्रस होल्डिङ भएका जीवन बीमा कम्पनीहरुमा युनियन, नेपाल, गुराँस, प्राइम, महालक्ष्मी, सानिमा, आईएमई, ज्योती , रिलायन्स, रिलायबल, प्रभु र एशियन लाइफ इन्स्योरेन्स हुन् । यसबाहेक पनि व्यक्तिगत लगानी केलाउँदा समेत १ प्रतिशतमाथि १५ प्रतिशतसम्म क्रस होल्डिङ भएका बीमा कम्पनीहरु रहेको समिति स्रोतले जानकारी दिएको छ । यसरी प्रत्यक्ष क्रस होल्डिङ देखिएका जीवन बीमा कम्पनीहरुलाई समितिले आपसमा मर्जर गराएर संख्या १० वटाकोे हाराहारीमा झार्न खोजेको हो ।

जीवन बीमा कम्पनीको संख्या घटाउन समितिलाई यस्तो चुनौती
गत चैत ३१ गते समितिले कम्पनीहरुलाई पुँजी वृद्धिको निर्देशन दिएको हो । त्यसको एक महिना भित्र कम्पनीहरुले तोकिएको पुँजी पुर्याउन के गर्ने भनेर कार्ययोजना समेत समितिमा पेश गरी सकेका छन् । समितिले तोकेको चुक्ता पुँजी नेपाल लाइफको पुगिसकेको छ भने एशियन लाइफको पनि ५ अर्बको नजिक चुक्तापुँजी कायम छ ।

राष्ट्रिय बीमा संस्थानलाई तोकिएको पुँजी पुर्याउन मर्जरमा जानुको चटारो छैन । साथै, विदेशी जीवन बीमा कम्पनीहरु मेट लाइफ र लाइफ इन्स्योरेन्स कर्पोरेसनलाई समेत समिति तोकेको चुक्ता पुँजी पुर्याउन मर्जरको बाटो रोज्नु पर्ने बाध्यता छैन ।

यसबाहेक कतिपय कम्पनीले तोकिएको पुँजी पुर्याउन हकप्रदको बाटो खोलिदिन आग्रह गरेका थिए भने अधिकांशले मर्जरमै गएर पुँजीवृद्धि गर्ने भनेका छन् ।

तर, समितिमा मर्जरको बाटो रोजेर तोकिएको पुँजी कायम गर्छु भन्ने जीवन बीमा कम्पनीले पनि अहिले मर्जरमा नजाने प्रष्टता देखाउँदै गएको छ ।

समितिले पुँजी वृद्धिको निर्देशन दिए लगतै गुराँस लाइफ, प्राइम लाइफ र युनियन लाइफले बराबर स्वाप रेसियोमा मर्जर हुने सम्झौता गरिसेकका छन् । पुँजी वृद्धिले मर्जर गराइएको देखाइएपनि यी कम्पनीहरुको वित्तीय अवस्था कमजोर भएकै कारणले लगानीकर्ताले उद्धार गरेका हुन् ।

युनियन लाइफमा सुलभ एण्ड साहिल अग्रवालको २६.५८ प्रतिशत सेयर लगानी छ भने प्राइम लाइफमा राजेन्द्र खेतान र पुजा अग्रवालको लक्ष्मी बैंकको १५ प्रतिशत सहित ३० प्रतिशत सेयर लगानी छ । साथै, गुराँस लाइफमा दुगड परिवारको सनराइज बैंकको ४.१६ प्रतिशत गरी ५२ प्रतिशत बढी सेयर लगानी छ । व्यवसायिक तथा पारिवारिक सम्बन्धकै कारणले यी बीमा कम्पनीमा एक अर्काले गरेको लगानीलाई सुरक्षित गराउन मर्जरको सहमति सहजै गरेका हुन् ।

यी कम्पनीहरु मर्जर भएर एकीकृत कारोबार सुरु गरेसँगै बीमा क्षेत्रमा १७ वटा जीवन बीमा कम्पनी रहने छन् । तर, समितले सेयर लगानी र व्यवसायीक परिवेश मिल्ने जीवन बीमा कम्पनीलाई मर्जरमा जान सुझाइ रहेको छ ।

जसमा वीरगञ्जका व्यापारीहरुको लगानी रहेको सन नेपाल र रिलायन्स लाइफलाई मर्जरको लागि समितिले बोलाएरै सुझाएको हो । यी कम्पनीमा अग्नी होल्डिग, तारा चन्द्र केडिया एण्ड परिवार र सिद्धार्थ बैंकको सेयर स्वामित्व बढी छ ।

यस्तै, समितिले लगानीकर्ताको व्यापारी सम्बन्धकै कारण महालक्ष्मी लाइफ र एशियन लाईफलाई सम्भावना देखेर आपसमा मर्जर हुन सुझाइ सकेको छ । महालक्ष्मीमा सम्झाना र सुशील अर्यालको २५.७२ प्रतिशत सेयर लगानी छ भने, एशियन लाइफमा बासुदेव गोल्यान एण्ड परिवारको ७.३६ प्रतिशत सेयर लगानी छ ।

सुर्या लाइफ र ज्योती लाइफलाई अहिले समितिले क्रस होल्डिङ देखाएर आपसमा मर्जर हुन ताकेता लगाइ रहेको छ । तर, यी कम्पनीका सेयर होल्डरले भने आफ्नो स्वामित्वलाई नकार्दै आएको हुँदा मर्जर गराउन समस्या भएको बीमा समिति स्रोत बताउँछ ।

ज्योती लाइफमा विसाल ग्रुपको ३० प्रतिशत लगानी छ भने विशाल ग्रुपको परिवारिक सम्बन्ध जोडिएकी उशा अग्रवालको १८.१८ प्रतिशत सेयर लगानी छ । एकाघर परिवारक सम्बन्ध भन्दै समितिले क्रस होल्डिङ देखाएर यी कम्पनीलाई मर्जरमा जान सुझाव दिएको स्रोतको भनाइ छ ।

समितिले रिलायबल लाइफ र आईएमई लाइफलाई पनि क्रस होल्डिङ देखाएर मर्जर हुन भनिसकेको छ । गत सातामात्रै समितिले यी कम्पनीहरुलाई पत्रचार नै गरी बोलाएर आपसमा मर्जर हुन सुझाव दिएको हो । आइएमई लाइफमा हेमराज र चन्द्र ढकाल परिवारको प्रभु ग्रुप सहित १५ प्रतिशतमाथि सेयर लगानी छ भने, रिलायबल लाइफ इन्स्योरेन्समा ग्लोबल आइएमई बैंकले १४.२९ प्रतिशत सेयर लगानी गरेको छ । ग्लोबल आइएमई बैंकका ठूला संस्थागत लगानीकर्ताले रिलायबल लाइफमा पनि सेयर लगानी गरको हुँदा आपसमा मर्जर हुन सुझाइएको स्रोतको भनाइ छ ।

२ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याएर बसेका जीवन बीमा कम्पनीहरुलाई समितिले आगामी आवको असार मसान्तसम्म ५ अर्ब रुपैयाँ पुर्याउन भनिसकेको छ । सोही अनुसार समितिले व्यापारिक सम्बन्ध र कारोबारको मिल्दो लाइन हेरेर आपसमा मर्जर हुन सुझाइरहेको हो । तर, सन नेपाल लाइफ, सिटिजन लाईफ र रिलायबल लाइफले मर्जरको बाटो नरोजी आफै पुँजी पुर्याउने लिखित स्पष्टोक्ति समितिमा पेश गरिसकेका छन् ।

समितिले तोकिएको पुँजी पुर्याउन हकप्रदको बाटो रोकको भएपनि साधारण (आइपीओ) जारी गरेका अर्थात् पब्लिकमा नगएका ५ वटा जीवन बीमा कम्पनीलाई संस्थापकहरुको लागि हकप्रद दिने निर्णय गरिसकेको छ । यसले गर्दा यी ५ वटा कम्पनीहरुले ५ अर्ब रुपैयाँ पुजी पुर्याउन मर्जरको बाटो नरोज्ने प्रष्ट छ । भने, बाँकी अन्य धेरै जीवन बीमा कम्पनीहरुलाई पुँजी पुर्याउन मर्जरकै बाटो अपनाउनु पर्ने बाध्यता नदेखिएको हुँदा पुँजी वृद्धि मार्फत् समितिको कम्पनी घटाउने लक्ष्य पुरा नहुने देखिन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्