Shikhar Insurance

अनसन बस्ने लगानीकर्ता खुट्टा कमाउँदै, बोर्ड अध्यक्ष हमाल अमेरिकामा छुट्टिमा रमाउँदै !

अर्थमन्त्रीको सुधार सुझाव समिति खै ?
दिलु कार्की
२०७९ असार १, बुधबार १५:१६
NIMB
Nabil Bank

काठमाडौं । पुँजी बजारको हक हितको लागि भन्दै अहिले सेयर लगानीकर्ता आन्दोलनमा छन् । पुँजी बजार संघर्ष समितिमार्फत् सुरु भएको उक्त आन्दोलनलाई पूर्णता दिन लगानीकर्ता तिलक कोइरालाले आमरण अनसन समेत सुरु गरेका छन् ।

उनी १० वटा लगानीकर्ता संघ संगठनको साथ लिएर नेपाल धितोपत्र बोर्ड अगाडि अर्थ मन्त्रालय, राष्ट्र बैंक र बोर्डले कार्यान्वयन गर्नुपर्ने १९ बुँदे माग लिएर अनसन बसेका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

अनसन बस्ने क्रममा कोइरलाले आफू मधुमेहको बिरामी र सोहीअनुसार दैनिक औषधि सेवन गरिरहेको जानकारी गराएका छन् । अनसनको क्रममा आफू बेहोस हुने वा मृत्युको मुखसम्म पुग्न सक्ने डर उनको छ ।

यिनै डरका माझ पनि ५२ लाख लगानीकर्ताको विश्वासलाई यथार्थमा बदल्न १९ बुँदे माग कार्यान्वयन नै गरिछाड्ने उनको अडान छ । यस अघि पनि उनी पुँजी विकास र सुधारका लागि २ पल्ट अनसन बसेका थिए । सोक्रममा स्वास्थ्यमा समस्या देखिएपछि उनी अनसन तोड्न बाध्य भएका थिए ।

उनले आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी गराउँदै मरेपनि अनसन नत्याग्ने प्रतिवद्धता गरेका छन् ।

तर, पुँजी बजारको नियामक निकाय धितोपत्रका अध्यक्ष भने अहिले यी सबै गतिविधिलाई वास्तै नगरी अमेरिका बिदा मनाउन गएका छन् । उनले आफैंले गरेको प्रतिवद्धता बेवास्ता गर्दै व्यक्तिगत कामको लागि भन्दै जेठ २८ गतेदेखि १ साताको बिदा लिएर अमेरिका गएका हुन् ।

विभिन्न लगानीकर्ता संघका साथ लिएर कोइरालाले पुँजी बजारको विकास र विस्तारको लागि ५२ लाख लगानीकर्ताको प्रतिनिधित्व गर्छु भन्दै असार १ गतेदेखि अनसन बस्ने घोषणा २ साता अघि नै गरेका थिए । जसको जानकारी लगानीकर्ता समूहले बोर्ड अध्यक्ष रमेश हमाललाई जेठ २३ गते बोर्डमै उपस्थित भएर गराएका थिए ।

उक्त समयमा बोर्ड अध्यक्ष हमालले एक साता भित्रै देखिने गरी पुँजी बजार र लगानीकर्ताको हितमा केही काम गर्ने प्रतिवद्धता जाहेर गरेका थिए । तिलक कोइरालाले अनसन बस्नु पर्ने अवस्था नै सिर्जना हुन नदिने बाचा उनको थियो ।

लगानीकर्ताको १९ बुँदे माग बुझ्दै जेठ २३ गते हमालले भनेका थिए, ‘३ महिना अघि बोर्डको नेतृत्व लिदै गर्दा धेरै समस्याहरुको समाधानको पाटो खोजिसकेको थिए, तपाईंहरुको माग अनुसारका धेरै कामहरु भइसकेका छन्, त्यसको खुलासा १ हप्ता पछि वा सोभन्दा अघि नै हुनसक्छ । बजार घट्दा होस् या बढ्दा बोर्ड सदैव संवेदनशील छ । भोलिको दिनमा यसरी आन्दोलन गर्नु पर्ने अनसन बस्नु पर्ने दिन आउन दिने छैन । एक साताभित्रै देखिने गरी केही हुन्छ । पुँजी बजार भनेको धेरै क्षेत्रका नीतिगत परिवर्तनमा प्रभावित हुने हुँदा हामीले सरकार र राष्ट्र बैंकसँग पनि पटक पटक छलफल गरिरहेका छौं, त्यसमा थप काम गर्न बोर्ड तप्तर छ ।’

बोर्डका अध्यक्ष हमालले दिएको प्रतिवद्धतालाई आधार मान्दै लगानीकर्ताहरुले पुँजी बजारमा बोर्डको तर्फबाट तत्काल परिवर्तनको अपेक्षामा थिए । तर, अध्यक्ष हमालले भने बोर्डका एक मात्र कार्यकारी निर्देशक निरज गिरीलाई अवकाश समयअघि नै बिदाइ गरेर अमेरिका प्रस्थानको बन्दोबस्ती मिलाए । जेठ ३१ गते अवकाश पाएर बोर्डबाट बिदाइ हुनु पर्ने गिरीलाई अध्यक्ष हमालले जेठ २७ गतेनै बिदाइ गरी आफू पनि बिदामा बसेका हुन् ।

अहिले बोर्डको कार्यालय अघि लगानीकर्ता आमरण अनसन बसेको भएपनि उनीहरुको मागको सुनुवाई गरी आफ्नो र सरकारको तर्फबाट गर्नु पर्ने काममा सहमति जुटाउन प्रयाससम्म गर्ने कोही छैन । बोर्डले २ जनाको कार्यकारी निर्देशकमा बढुवाको लागि कामु कार्यकारी निर्देशक विनयदेव आचार्य र उप कार्यकारी डा. नवराज अधिकारीलाई सिफारिस गरेको छ ।

अध्यक्ष हमालले कामु कार्यकारी निर्देशक विनयदेव आचार्यलाई अध्यक्षको कार्यभार सुम्पिएर बिदा बसेका हुँदा  आन्तरिक काममा समस्या नभएकाे बोर्डका प्रवक्ता रुपेश केसीले बताए ।

‘अध्यक्ष ज्यू व्यक्तिगत कामले भनेर बिदा बस्नु भएपछि लगानीकर्ताको अनसन सुरु भयो,’ प्रवक्ता केशीले सिंहदरबारसँग भने, ‘बोर्डका आन्तरिक काम त उहाँको बिदाले खासै प्रभावित छैन तर लगानीकर्ताको आन्दोलन र अनसनलाई सम्बोधन गर्नु पर्ने भए हामीबाट मात्र पर्याप्त नहुन सक्छ ।’

बोर्ड अध्यक्ष हमाल अर्थमन्त्रालयको स्वीकृतिमा बिदा बसेका हुन् । अर्थ मन्त्री जनार्दन शर्मा आफैंले दिएको जिम्मेवारीको समेत पुरा गर्न तदारुकता नदेखाइ बोर्ड अध्यक्ष हमाल बिदा बस्न हतारिएका हुन् ।

बोर्डको ३० औं वार्षिक उत्सवमा अर्थमन्त्री शर्माले पुँजी बजार सुधार सुझाव समिति गठन गरेको घोषणा गर्दै बोर्डलाई त्यसको नेतृत्वको जिम्मेवारी दिएका थिए । बोर्डकै कार्यकारी निर्देशकको संयोजकमा गठन हुने भनिएको सो समितिमा राष्ट्र बैंकको प्रतिनिधि र अर्थमन्त्रालयको प्रतिनिधिलाई सदस्य राखिने भनिएको थियो । साथै, बोर्डकै अर्का व्यक्तिलाई सदस्य सचिव राख्ने भनिएको हो ।

तर, हालसम्म समितिको वैधानिकतामाथि नै प्रश्न उठेको छ । जेठ २५ गते सम्पन्न बोर्डको वार्षिक उत्सवमा घोषित सो समिति हालसम्म गठन गरी काम सुरु गर्न तर्फ न अर्थ मन्त्रालय न बोर्ड अध्यक्ष हमालले नै चासो दिएका छन् ।

हमाल आफूले विषेश समय दिनु पर्ने अहिलेको समयलाई नै वास्ता नगरि बिदामा बस्नुले उनले पुँजी बजार र लगानीकर्ताको समस्याबाट पन्छिन खोजेको प्रष्ट भएको लगानीकर्ता दवाव समूहका अध्यक्ष हरि ढकाल बताउँछन् ।

‘अहिले पारिवारिक कामलाई थाति राखेर बोर्डको जिम्मेवारी पूरा गर्नलाई समय दिनु पर्ने बेलामा झनै गैरजिम्मेवार भएर अनसन बस्ने निश्चित हुँदा हुँदै बिदा बस्नु भएको हामीले यसलाई कसरी बुझ्ने ?’ लगानीकर्ता दवाव समूहका अध्यक्ष ढकालले सिंहदरबारसँग भने, ‘स्वास्थ्य समस्या भए हामीले बोल्नु मिल्दैन तर त्यस्तो रहेनछ, आफ्नो व्यक्तिगत काम भनेर अमेरिका जानु भनेको हाम्रो आन्दोलन र अनसनलाई बोर्डले सम्बोधन गर्नु पर्ला भनेर भाग्नु भएको हो ।’

धितोपत्र बोर्डले हामी लगानीकर्ताको समस्यालाई पहिलेदेखि नै वास्ता नगरेको भएपनि बोर्ड अध्यक्षमा हमाल आएपछि केही आशा लगानीकर्तामा पलाएको थियो । तर त्यो आशालाई पनि बोर्ड अध्यक्ष हमालको हर्कतले निराशामा बदलिदिएको ढकालको भनाइ छ । बोर्ड अध्यक्ष हमालको गैरजिम्मेवारीमा अर्थ मन्त्री जनार्दन शर्माले समेत साथ दिएको उनले बताए ।

‘पुँजी बजार सुधार सुझाव समितिको काम कहाँ पुग्यो ? त्यसको जवाफ कसले दिन्छ,’ उनले भने ‘अर्थ मन्त्रीले पनि भाषणमा मात्र सिमित राख्नु भएको हो कि बोर्डले नै काम गर्न नचाहेको हो ? यसको जवाफ बोर्ड अध्यक्ष हमाल र अर्थ मन्त्रीले नै दिनु पर्यो ।’

अर्थतन्त्रको ऐनाको रुपमा हेरिने पुँजी बजारका समस्यालाई सरकार र सम्बन्धित निकायले वास्ता नगरे लगानीकर्ताले आफ्नो सम्पतिको सुरक्षण खोज्दै थप आन्दोलन चर्काउने चेतावनी उनको छ ।

५२ लाख लगानीकताको प्रतिनिधित्व गर्दै तिलक कोइराला अनसन बसेका हुन् । राष्ट्र बैंकले सेयर धितो कर्जा लगाएको ४/१२ करोड रुपैयाँको सीमा खारेज गर्नु पर्ने, असार मसान्त सीमाभन्दा माथि सेयर कर्जा लिएका लगानीकर्ताले कर्जा नवीकरण गर्न पाउनु पर्ने, सेयर मार्जिनको व्यवस्था, मार्जिन ट्रेडिङ, पुँजीगत लाभकर, सरकारी कर्मचारीलाई बजारमा प्रवेश निषेध, ५८ बुँदेका बाँकी काम तत्काल पुरा गर्नु पर्ने, ब्रोकर लाइसेन्स लगायतका १९ बुँदे माग कोइरालासहित लगानीकर्ताहरुको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्