Shikhar Insurance

प्रतिबन्धित ‘वानएक्स बेट’ को लतमा युवापुस्ता, अबैध डलर कारोबारले वित्तीय अपराध बढ्दै

दिलु कार्की
२०७९ असार ५, आईतवार १८:१३
NIMB
Nabil Bank

काठमाडौं । ‘आज लाइभ गेममा बेटिङ गर्नु छ, मेरो ई–सेवामा पैसा हाल्देउन प्लिज, भोलि नै फिर्ता हुन्छ,’ आजकल फोन उठाएर सन्चो–बिसन्चो समेत नसोधि १६–३० वर्षे युवापुस्ता आफ्ना साथीभाइ वा आफन्तलाई आग्रह गरिरहेका सुनिन्छन् ।

‘फलानोले रातारात यति कमायो रे, यही एपबाट बेटिङ गरेर बसीबसी लाखौं करोडौं कमाउने मान्छे भेटेको छु, आइज बरु तँलाई पनि यो एपमा बेटिङ गर्न सिकाइदिन्छु,’

Citizen Life
Kumar Bank
Nepal Life

‘अस्ती त मैले एक घण्टा मै ५० हजार जितेको थिए, हिजोदेखि लक लागिरा छैन यार, हारेको पैसा जसरी भएपनि यहीँबाट उठाउने हो ।’

यस्तै यस्तै ।

चोक गल्लिका चिया पसल होस् या कलेज, कार्यालयका क्यान्टिन, आजभोलि एउटै उमेर समूहका युवा जमातमाझ सुनिने वार्तालाप हो यो ।

साथीभाइ आफन्तसाथमा हुँदा होस् वा बन्द कोठा/एकान्तमा हुँदा आजभोलिका युवा/युवती मोबाइलमै ध्यानमग्न हुनुलाई सामान्य मानिन्छ । सोच्ने गरिन्छः सामाजिक सञ्जालमा केही भिडियो वा साथीभाइसँग गफिएको हो । तर, आजभोलि त्यसरी मोबाइलमा ध्यानमग्न भएको युवापुस्ता क्रम अबैध मोबाइल एप्समार्फत बेटिङ(बाजी)को लतमा फसिरहेका छन् ।

उनीहरु क्रमशः नेपालमा प्रतिबन्धित अनलाइन बेटिङ (सट्टेबाजी/जुवा) एपमा लाखौं करोडौं रुपैयाँ बेट गरिरहेका हुनसक्छन् । त्यस्तैमध्येको एक सर्वाधिक चर्चित अनलाइन बेटिङ प्लेफर्म हो ‘वानएक्स बेट’ ।

नेपालमा जुनसुकै प्रकारको अनलाइन बेटिङलाई सरकारले प्रतिबन्ध लगाएको छ । साथै, यस प्रकारका बेटिङ गर्ने र गराउनेहरुलाई दैनिक प्रहरीले प्रक्राउ समेत गरिरहेको छ ।

तर, नेपालमै लाखौं प्रयोगकर्ता रही दैनिक अर्बौं रुपैयाँ डलर सटही भएर ‘वानएक्स बेट’ एपमार्फत विदेशीँदा नेपाल राष्ट्र बैंक, प्रहरी र राजस्व सम्वद्ध प्रशासनले गतिलो अध्ययन समेत गरेका छैनन् ।

के हो ‘वानएक्स बेट’ एप ?
‘वानएक्स कर्प एन.भी.’ रसियन कम्पनीले ‘वानएक्स बेट’ अनलाइन ग्याम्बलिङ कम्पनीका नाममा सन् २००७ मा साइप्रसबाट लाइसेन्स लिएको हो । उक्त समयदेखि नै यस कम्पनीले रसियन क्यासिनोको नाममा चर्चा कमाउँदै आएको छ ।

यद्यपि, रसियन अनलाइन जुवा घरले विश्वका विभिन्न देशमा सन् २०१९ मा माल्टा र नाइजेरियामा पनि कानुनी रुपमा अनलाइन बेटिङ गराउन अनुमति लिएको हो । यसको प्रधान कार्यालय साइप्रसको लिमासोलमा छ भने कम्पनीका संस्थापकहरु सेर्गे कार्स्कोभ, रोमन सेमिओखिन र डिमित्रि काजोरिन हुन् । यसबाहेक कम्पनीका सम्पर्क व्यक्तिका रुपमा एभ्गेनि, किरिउसिन र एलेक्जेन्डर थिकोनोभ छन् ।

२०२२ मा आइपुग्दा वानएक्स कर्प एन.भी. कम्पनीले युके, अमेरिका, स्पेन, फ्रान्स, इटाली, पोर्चुगल, पोल्याण्ड, बेल्जियम लगायत विश्वका १ सय ३४ देशमा विभिन्न नाममा यो बेटिङ एप कानुनी रुपमा सञ्चालन गरिरहेको छ । कम्पनीले अनलाइन ग्याम्बलिङमार्फत् नै प्रतिवर्ष २ अर्ब डलर आम्दानी गरिरहेको छ ।

यसबाहेक पनि कम्पनीले भारत, बंगलादेश लगायतका दक्षिण एशियाली मुलुकहरुका लक्षित गरी प्रयोगकर्ताहरुलाई आकर्षित गर्ने प्याकेजहरु अघि बढाइरहेको छ ।

नेपालजस्ता अन्य विकासशील मुलुकहरुले ‘वानएक्स बेट’ जस्ता अनलाइन बेटिङलाई प्रतिबन्ध लगाएको छ । तर, कम्पनीले भने यस्तै मुलुक लक्षित गर्दै अनलाइन एप डाउनलोड गरी वा वेव साइटमार्फत् बेटिङ गरी पैसा कमाउन वा गुमाउन सकिने गरी सजिलो व्यवस्था गरेको छ ।

नेपालमा ‘वानएक्स बेट’
सन् २०१४ यता नै नेपालमा ‘वानएक्स कर्प एन.भी.’ कम्पनीका एजेन्ट (प्रतिनिधि) हरुले अनलाइन बेटिङ सञ्चालन गरेका थिए । ब्राजिलमा भएको विश्वकप २०१४ मा ‘बुकी’ बेटिङमार्फत् कम्पनीले नेपालबाट पनि करोडौं रुपैयाँ आम्दानी गरेको थियो ।

सो समय एपमार्फत् नभएर भाइबर, विच्याट, टेलिग्राम लगायतमा जोडिएका साथी सर्करमा विश्व कपमा हुने गेममा ‘बुकी’ बेटिङ गरिन्थ्यो । त्यसको परिस्कृत रुप ‘वानएक्स बेट’ एप हो ।

यो एप गुगल प्ले स्टोर र एप्प स्टोरबाट सहजै डाउनलोड गर्न सकिन्छ भने नेपालमै करिब २ लाख सक्रिय प्रयोगकर्ता रहेको र दैनिक अर्ब रुपैयाँ बढीको कारोबार हुने जानकारहरु बताउँछन् ।

एपमा करिब ५ सय अनलाइन बेटिङ गेम छन् भने लाइभ गेममा समेत बेटिङ गर्न सकिन्छ । यही एपमार्फत् नेपालीहरू प्रिमियर लिग, च्याम्यिन्स लिग, ला लिगा, बुन्डेसलिगा, आईपीएल तथा फुटबल, क्रिकेट, बास्केटबल लगायत खेलका विश्वकप, युरोक्लब, कोपाअमेरिका, एनबीए लिग लगायत प्रख्यात खेल तथा प्रतियोगितामा अनलाइन बेटिङ गर्न सकिन्छ ।

यसरी बेट गर्दा बेटिङ नेपाली मुद्रामै बेटिङ गर्न सकिने व्यवस्था छ । भने बेट रकमको कयौं गुणासम्म फिर्ता हुन्छ ।

यो एपको प्रोमोसनका लागि केही समय अघिसम्म नेपालका प्रख्यात कलाकारहरुको समेत प्रयोग गरिएको थियो । यसरी प्रख्यात व्यक्तित्वहरुबाटै प्रोमोसन भएपछि नेपालमा युवामाझ यो एप लोकप्रिय बनेको हो । विषेशगरी ‘लकडाउन’ को समयमा नेपाली युवामाझ लोकप्रिय बनेको यो बेटिङ एपको विज्ञापन गैरकानुनी भन्दै गत जेठ २३ गते विज्ञापन बोर्डले प्रतिबन्ध लगाइसकेको छ ।

बोर्डले एपको नामै उल्लेख गर्दै सोसम्बन्धि भएका प्रोमोसन भिडियोहरु समेत हटाउन निर्देशन दिएको थियो ।

आधिकारीक वालेटबाट पैसा लोड
साइप्रसबाट लाइसेन्स प्राप्त रसियन कम्पनीको उक्त अनलाइन जुवाघर एपमा नेपाली रुपैयाँमै रकम लोड गरी बेटिङ गराउने व्यवस्था कसरी भयो ? भने प्रश्न गम्भिर रुपमा अहिले उठेको छ ।

नेपालमा मोबाइल बैंकिङ, वालेट लगायत डिजिटल कारोबार गर्ने कम्पनीहरुले नियामक निकायबाट सञ्चालनको अनुमति लिनुपर्छ । राष्ट्र बैंकबाट १० वटा भुक्तानी सेवा संचालक र २८ वटा भुक्तानी सेवा प्रदायक संस्थाहरुले सञ्चालनको अनुमति लिएर सञ्चालनमा छन् । जसमध्ये अधिकांश भुक्तानी कम्पनीहरुको प्रयोग गरेर नै ‘वानएक्स बेट’ मा कारोबार भइरहेको छ । यस्तै, भिजा, एसटीसी लगायतका डेबिट कार्डहरुको समेत प्रयोग गर्न मिल्ने व्यवस्था गरिएको छ ।

एपमा एक पटकमा न्यूनतम ५ सय रुपैयाँ मौज्दात हुनुपर्छ । अधिकतम भने एकै पटक १० लाख रुपैयाँसम्म ब्यालेन्स मौज्दात राखेर बेटिङ गर्न सकिन्छ । एक जना प्रयोगकर्ताले एक दिनमै करोडौं रकमको बेट लगाउन सक्छ किनकि न्युनतम र अधिकतमको सिमा भित्र रहेर जति पटक पनि बेटिङ गर्न सकिने सुविधा छ ।

एपमा पैसा डिपोजिटका लागि ७० वटा विकल्पहरु उपलब्ध छन् । जसमा १४ वटा ई–वालेट, २ वटा पेमेन्ट सिस्टम, एउटा बैंक ट्रान्सफर, ४१ वटा क्रिप्टोकरेन्सी र एउटा ई–भौचरको विकल्प छ ।

बेटिङबाट आर्जित वा गुमेको रकमका लागि नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त ईसेवा, खल्ती, आईएमई पे, सेलपे, डिजी पे, मोरु, वालेट ट्रान्सफर, कनेक्ट आईपिएस, पे टाइम, डिजिपे लगायतका भुक्तानी कम्पनीहरुलाई आवद्ध गरिएको छ ।

नियामक निकायबाट अनुमति प्राप्त वालेटको प्रयोग गर्नका लागि भने एपले एजेन्ट र व्यक्ति स्वयं गरी २ वटा विकल्प दिएको छ । जसमा एजेन्टमार्फत् एक पटकमा १० लाख रुपैयाँ र व्यक्ति स्वयंले सिस्टममा रहेर एक पटकमा २५ हजार रुपैयाँसम्म लोड गर्न सकिन्छ । यस्तो कामका लागि यीनै भुक्तानी कम्पनीहरुको प्रयोग भइरहेको छ ।

एपमा पैसा लोड गर्न वा गेमसम्बन्धि सहजीकरण गर्न ‘वानएक्स कर्प एन.भी.’ कम्पनीले नेपालमा सयौंको संख्यामा एजेन्टहरु समेत राखेको छ ।

नेपाली वानएक्स बेट प्रयोगकर्ताले एपमा पैसा लोड गर्दा केही समस्या आएमा सम्बन्धित भुक्तानी सेवा कम्पनीलाई सम्पर्क नगर्न सुचित गराइएको छ । जसले गर्दा एपमा भुक्तानी सेवा प्रदायक कम्पनीहरुको आधिकारिता के हो ? भन्ने प्रश्न त उठ्छ नै ।

पैसा ‘लोड’ गर्दा आउने समस्याको सहजिकरणको लागि एपमै नेपाली व्यक्ति कै नाम र नम्बर दिइएको हुन्छ । जसलाई वानएक्स बेटले नै आधिकारीक रुपमा एजेन्ट बनाएको हो । उनीहरुले नै प्रयोगकर्तासँग नेपाली मुद्रा सटही गरी एपमा पैसा लोड गरिदिन्छन् ।

वानएक्स बेट एपले नेपालमा करिब ३ सय बढी यस्ता एजेन्टहरु राखेको स्रोत बताउँछ । उनीहरुलाई प्रतिकारोबार कम्पनीले कमिसन दिने हुँदा एपको प्रयोगकर्ता बढाएर बेटिङको लागि उस्काउने गर्छन् ।

एजेन्टहरुले नै वानएक्स बेटमा गेम खेल्न र बेटिङका लागि आवश्यक पर्ने पैसा नेपालकै भुक्तानी सेवा कम्पनीहरुमार्फत् ‘डिपोजिट’ गरिदिन्छन् । साथै बेटिङमा जितेको पैसा समेत यी नै एजेन्टहरुले ‘विथ ड्र’ गरिदिने गर्छन् । एप प्रयोगकर्तालाई आफुले बेट गर्ने पैसा र बेटबाट जितेको पैसा कुन माध्यमबाट एपमा लोड हुन्छ वा विथड्र हुन्छ भन्ने थाहा हुँदैन ।

यसो भन्छ राष्ट्र बैंक
नेपालमा विदेशी मुद्रा सटहीको लागि नेपाल राष्ट्र बैंकको अनुमतिले मात्र गर्न मिल्छ । यस्ता एपका लागि मुद्रा सटहीको कुनै पनि व्यवस्था नगरिएको राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र बताउँछन् ।

तर, यस्ता एजेन्टहरुले भने कुन माध्यमबाट नेपाली मुद्रा विदेशी एपमा लोड गरिरहेका छन् त्यसको अनुसन्धान गर्ने उनले बताए ।

‘हामीले केही समय अघि नै क्रिप्टोकरेन्सी र नेटवर्क मार्केटिङमा गरिएको लगानीका कारण नेपालमा विदेशी मुद्राको सञ्चिती र रेमिट्यान्स आप्रवाह घटेको निर्क्यौल गरी यस्तो कारोबारमा संलग्न नहुन चेतावनी दिएका थियौ,’ डेपुटी गभर्नर मिश्रले सिंहदरबारसँग भने, ‘विदेशी मुद्रा सटहीमात्र नभएर भुक्तानी कम्पनीहरुको संलग्नतालाई समेत हामीले के हो तत्काल निक्र्योल गर्न सम्बन्धित विभागलाई निर्देशन दिन्छौं, जानेर वा नबुझेर भर्चुअल मनि तथा डिजिटल मार्केटिङ, अनलाइन बेटिङमा लाग्नु राम्रो होइन, यस्ता कार्य बन्द गराउन हाम्रो पक्षबाट जतिसक्दो छिटो पहल हुन्छ ।’

क्रिप्टोकरेन्सी र नेटवर्क मार्केटिङलाई औपचारिक रुपले प्रतिबन्ध लगाएपनि गैरकानूनी रुपमा सञ्चालित अनलाइन बेटिङ एपमा आफ्नो नियमनमा भएको भुक्तानी प्रदायक कम्पनीहरुको आवद्धतामा गम्भिर ध्यानाकर्षण भएको उनले बताए । कानुनी व्यवस्थाले मान्यता नदिएको र कानुनले प्रतिबन्ध गरेको विषयमा कारोबार नगर्न राष्ट्र बैंकको तर्फबाट मिश्रले सम्पूर्णमा अनुरोध गरेका छन् ।

अनलाइन बेटिङ एप कानुनी व्यवस्था के छ ?

‘वानएक्स बेट’ अनलाइन जुवा घर हो । नेपालमा यसरी जुवा खेल्ने र खेलाउनेलाई ३ वर्ष जेल र ३० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ ।

मुलुकी अपराध संहिता अनुसार पहिलोपटक जुवा खेल्ने र खेलाउनेलाई ३ महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना हुनेछ । दोस्रो पटकदेखि जुवा खेल्न वा खेलाउनेलाई एक वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना लाग्नेछ । त्यसपछि पनि जुवा खेल्न र खेलाउने गरेमा ३ वर्षसम्म कैद र १० हजार जरिवाना तोकिएको छ ।

जुवा खेल्नमात्र नभई अरुले खेलेको ठाउँमा च्याखे थाप्नेहरुलाई पनि जुवा खेलेकै सरह कारबाही हुने कानुनमा उल्लेख गरिएको छ ।

जुवा खेल्न कसैले घर, कोठा, कुनै सम्पत्ति र गाडीमा ठाउँ दिएमा त्यस्तालाई पनि जुवा खेल्ने सरह नै कारबाहीको व्यवस्था गरिएको छ । मुलुकी अपराध संहिता कार्यान्वयनमा आउनु अघि जुवा खेल्नेहरुलाई जुवा ऐन २०२० अन्तर्गत कारबाही हुँदै आएको थियो ।

यतिमात्र नभएर कानुनले कुनै पनि खेलमा हार जितको पक्ष लिएर बाजी राख्नेलाई १ वर्षसम्म कैद र १० हजार रुपैयाँ जरिवानाको व्यवस्था समेत गरेको छ । कुनै पक्षले जितेमा वा हारेमा कुनै चल अचल सम्पत्ति वा प्रतिफल गुमाउने गरी बाजी राखेमा बाजीको सबै रकम जफत हुनुका साथै संलग्नलाई १ वर्षसम्म कैद र १० हजार जरिवानाको व्यवस्था कानूनमा गरिएको छ ।

प्रतिबन्धित ‘वानएक्स बेट’ को लतमा युवापुस्ता, अबैध डलर कारोबारले वित्तीय अपराध बढ्दै

 

GBIME

प्रतिक्रिया दिनुहोस्