Shikhar Insurance

अबैध ‘वान एक्स बेट’सहित अनलाईन बेटिङ रोक्न तात्यो राष्ट्र बैंक

सीआइबी, सम्पति सुद्धिकरण र दुरसञ्चारसँग माग्यो सहयोग
सिंहदरबार संवाददाता
२०७९ असार ६, सोमबार २०:१६
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानी कारोबारमा आफु मातहतका संघ–संस्थाको संलग्नता बारे वृहत छलफलका साथै अध्ययन शुरु गरेको छ । केन्द्रीय बैंकले अनलाईन बेटिङ एप ‘वान एक्स बेट’मा नेपालका वालेटहरुको संलग्नताबारे चासो देखाउँदै सोमा हुने कारोबारबारे अध्ययन शुरु गरेको हो ।

पछिल्लो समय साइप्रसबाट लाइसेन्स प्राप्त रसियन अनलाईन जुवाघर ‘वान एक्स बेट’ को प्रयोग युवामाझ बढ्दै गएको छ । नेपालमा यस्ता अनलाइन बेटिङ प्रतिबन्धित भएपनि ‘वान एक्स बेट’ मा पैसाको कारोबारमा अनुमति प्राप्त भुक्तानी प्रदायक कम्पनीहरुको आवद्धताले राष्ट्र बैंकको ध्यानाकर्षण भएको हो । ‘वान एक्स बेट’ मा करिब २ लाख युवा पुस्ताले सक्रिय रुपले अर्ब बढी बेटिङ गर्ने सम्बन्धित व्यक्तिहरु बताउँछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

वान एक्स कर्प एन.भि कम्पनीले युके, अमेरिका, स्पेन, फ्रान्स, इटाली, पोर्चुगल, पोल्याण्ड, बेल्जियम लगायत विश्वका १ सय ३४ देशमा विभिन्न नाममा यो बेटिङ एप कानुनी रुपमा सञ्चालन गरेको छ । तर, नेपालमा यस्ता बेटिङलाई कानुनीले प्रतिबन्ध लगाएको हुँदा यसको कारोबारबारे सम्बन्धित सरोकारवाला निकाय, भुक्तानी सञ्चालक र भुक्तानी सेवा प्रदायकहरुसँग छलफल गरी अध्ययन शुरु गरिएको राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले जानकारी दिए ।

वान एक्स बेटमा ईसेवा, खल्ती, आइएमई पे, फोन पे, कनेन्ट आइपीएस जस्ता भुक्तानी कम्पनीहरुको संलग्नता प्रष्ट देखिएको छ । ‘वान एक्स बेट’ को वैधानिकता र यसमा हुने कारोबारमा राष्ट्र बैंकबाटै अनुमति प्राप्त वालेटहरुको आवद्धताबारे सिंहदरबारले यसअघि नै विस्तृत विवरण प्रस्तुत गरेको थियो । जसमा राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले तत्काल सबै सम्बन्धित निकाय र सरोकार पक्षसँग छलफल गरिने बताएका थिए ।

प्रतिबन्धित ‘वानएक्स बेट’ को लतमा युवापुस्ता, अबैध डलर कारोबारले वित्तीय अपराध बढ्दै

जसको कार्यान्वयनमा राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले अर्थ मन्त्रालयल, नेपाल दुर सञ्चार प्राधिकरण, केन्द्रीय अनुसन्धान विभाग (सीआइबी) बाट प्रहरी निरिक्षकहरु, राष्ट्र बैंकको वित्तीय जानकारी इकाइ, सम्पत्ती शुद्धिकरण विभाग, राजश्व अनुसन्धान विभाग, १० वटै भुक्तानी सञ्चालक र २८ वटै भुक्तानी सेवा प्रदायक कम्पनीसँग छलफल गरेको हो ।

बिहान १० बजेदेखि ३ बजेसम्म चलेको सो छलफलमा सम्पत्ती शुद्धीकरण तथा आतंकवादी कृयाकलाप वित्तीय लगानी÷जोखिम निवारण सम्बन्धि र केन्द्रीय बैंकको नीति निर्देशनहरुको बारेमा कार्यपत्र पस्तुत गरिएको थियो । केन्द्रीय बैंकले प्रविधिको विकाससँगै डिजिटल भुक्तानी कारोबारमा भित्रिएको जोखिम र विकृतिहरुको बारेमा छलफल गरेको राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले बताए ।

‘विभिन्न सञ्चार माध्यममा आएका समाचार र गुनासोको आधारमा अनलाईन बेटिङ एपमा राष्ट्र बैंकबाट अनुमति प्राप्त पिएसओ र पिएसपीहरुको आवद्धता बारे तथ्यको खोज गरेका छौं,’ पौडेलले सिंहदरबारसँग भने, ‘यही विषयलाई समेत समेट्ने गरी राष्ट्र बैंकले सम्बन्धित सबैसँग छलफल गरेको छ, पिएसओ र पिएसपीहरुबाट २/२ जना प्रतिनिधिहरु बोलाइएको थियो, यस्ता बेटिङ एपमा उनीहरु आधिकारीक आवद्धता भएका होइनन्, आफ्ना ग्राहकलाई सो सम्बन्धि जानकार गराइरहेका पनि छन् ।’

वालेटहरुको अनुमति बिनानै नाम प्रयोग भएको हुँदा सम्बन्धित वालेटले नै आफ्ना ग्राहकहरुलाई सचेत गराउन निर्देशन दिइएको उनले बताए । ‘ईसेवा, खल्ती, आइएमई पे जस्ता केही वालेटहरुले ग्राहकलाई सचेत गराउन सूचना जारी गरिसकेका छन्, बाँकी कम्पनीहरुलाई पनि सचेत गराउन भनिएको छ । यस्ता गैरकानुनी कृयाकलापबाट टाढा हुनु नागरिक स्वयंको पनि जिम्मेवारी हो,’ उनले भने, ‘अब सम्भव भएसम्म एनटीएलाई यस्ता एपहरुलाई हटाउन सुझाउने, सीआइबीलाई कारोबार गर्ने र गराउनेमाथि छानबिन प्रक्रिया शुरु गर्न, वालेटहरुले यस्ता एममा अनलोड हुन आवश्यक काम गर्ने र ग्राहकलाई सुचित गराउने गर्नेछौं ।’

यस्ता अनलाईन बेटिङ एपमा जुनसुकै माध्यमबाट सानो ठुलो जति नै परिमाणमा कारोबार गरेको भएपनि नेपाली मुद्राको अपचलन भएको हुँदा त्यसमा राष्ट्र बैंकको ध्यानाकर्षण भएको हुँदा त्यसमा सम्बन्धित पक्षलाई सूचित गराइएको उनले जानकारी दिए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्