‘वानएक्स बेट’ सहित १५६ वटा अवैध क्रिप्टोकरेन्सी, नेटवर्क र बेटिङ एप/वेबसाइट बन्द गराइँदै

दिलु कार्की
२०७९ असार ८, बुधबार १२:३२

काठमाडौं । नेपालमा गैर कानुनी रुपमा सञ्चालन भइरहेको एप तथा वेबसाइटहरु बन्द हुने भएका छन् । नेपाल दुरसञ्चार प्रधिकरण (एनटीए)ले ‘वानएक्स बेट’ सहित अवैध डेढ सय एप तथा वेबसाइटहरु बन्द गराउने भएको हो ।

नेपाल गैरकानुनी मानिएको क्रिप्टोकरेन्सी, नेटवर्किङ र बेटिङ एप तथा वेबसाइटहरुलाई तत्काल बन्द गराउन दुरसञ्चार सेवा प्रदायक कम्पनीहरुलाई निर्देशन दिइने दुरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बताए ।

‘यसका लागि हामीले राष्ट्र बैंक, सीआईबी र गृह मन्त्रालयका प्रतिनिधि राखेर अध्ययन समिति बनाएका छौं, समितिको प्रतिवेदनले देखाएका एप तथा वेबसाइटहरुलाई बन्द गर्ने निर्णय मैले गर्छु,’ प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले सिंहदरबारसँग भने, ‘एनटीएको सहायक निर्देशकको संयोजकमा गठित उक्त समितिले वानएक्स बेट सहित १ सय ५६ वटा वटा एप र वेबसाइट सिफारिस गरेको छ । तिनीहरुलाई तत्काल बन्द गराउन इन्टरनेट सेवा प्रदायक (आईएसपी) हरुलाई निर्देशन हुन्छ ।’

एनटीएको संयोजकत्वमा सीआईबी, गृह मन्त्रालय र राष्ट्र बैंकको प्रतिनिधिसहित ‘क्रिप्टोकरेन्सी कारोबार सम्बन्धी अध्ययन समिति’ गठन गरिएको गरेको हो । समितिको अध्ययन प्रतिवेदनले ९१ वटा क्रिप्टोकरेन्सी, ७ वटा नेटवर्किङ र ५६ वटा बेटिङ एप तथा वेबसाइटहरुलाई बन्द गराउनको लागि सिफारिस गरेको छ ।

एनटीएले क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाईपर नेटवर्किङ, अनलाइन जुवा (बेटिङ) लगायतका गैर कानुनी क्रियाकलाप तथा आर्थिक अपराधसँग सम्बन्धित वेबसाइट र एप, अनलाइन सञ्जाल लगायतका भर्चुअल माध्यमहरु नेपालभित्र प्रयोग, सञ्चालन र व्यवस्थापन गर्न नपाउने गरी निषेध, डिसेबल तथा कालोसूचीमा राख्न आईएसपीहरुलाई निर्देशन दिन लागेको हो ।

यस अघिपनि एनटीएले यस्ता केही एप तथा वेबसाइटहरु डिसेबल तथा कालोसूचीमा राख्न आईएसपीहरुलाई निर्देशन दिएको थियो । ती एप तथा वेबसाइट बन्द गर्ने निर्देशन कार्यान्वयनको अवस्थाबारे पनि सोही समितिले अनुगमन गरिरहेको छ ।

यसअघिसम्म राष्ट्र बैंक, सीआईबी/प्रहरी, सञ्चार माध्यममा आएका समचार र अन्य माध्यमबाट आएका गुनासो तथा उजुरीको आधारमा एनटी स्वयंले अध्ययन गरी अवैध ठहर भएका एप तथा वेबसाइटहरु बन्द गराइरहेको थियो । तर, एनटीएले बन्द गराएको एपलाई अदालतले पुनः सञ्चालन गराउने आदेश दिएपनि समिति गठन गरिएको अध्यक्ष खनालको भनाइ छ ।

प्रतिबन्धित ‘वानएक्स बेट’ को लतमा युवापुस्ता, अबैध डलर कारोबारले वित्तीय अपराध बढ्दै

‘यसअघि पब्जीलाई बन्द गराएका थियौँ तर अदालतले खुलाउने आदेश दियो, त्यसैले सोझै बन्द गराँउदा अदालतमा गएर खोलाउन सक्ने हुँदा कानुनी प्रक्रिया पुरा गर्न तथा बलियो प्रमाण तयार पार्न समिति गठन गरेका हौं,’ उनले भने, ‘अहिले राष्ट्र बैंकले सिफारिस गरेका बेटिङ एप र क्रिप्टोकरेन्सी सम्बन्धि एपहरु छन् ।’

नेपालमा सञ्चालित विदेशी एप तथा वेबसाइटहरुको अध्ययन उक्त समितिले गर्छ । अध्ययनमा कानुनी रुपमा अवैध प्रमाणित भएका एप तथा वेबसाइटहरु बन्द गराउने प्रक्रिया सुरु गरिएको उनले जानकारी दिए ।

अहिले भने राष्ट्र बैंकले अनलाईन क्रिप्टोकरेन्सी, नेटवर्किक र बेटिङ एप तथा वेबसाइटको माध्यमबाट नेपाल भित्रिने रेमिट्यान्स हुण्डीमार्फत् बाहिरै रोकिएको भन्दै यस्ता एप बन्द गराउन एनटीएलाई सिफारिस गरिरहेको छ । जसमा पछिल्लो समय ‘वानएक्स बेट’ केन्द्रीय बैंकको नजरमा परेको हो ।

अबैध ‘वान एक्स बेट’सहित अनलाईन बेटिङ रोक्न तात्यो राष्ट्र बैंक

उक्त एपमा हुण्डीमार्फत् मुद्राको कारोबारमात्र नभएर अनुमति लिएका भुक्तानी प्रदायक कम्पनीहरुको सो कारोबारमा संलग्नताले राष्ट्र बैंकको ध्यान केन्द्रित भएको हो । यस्ता एप तथा वेबसाइटमा हुने अनलाई जुवाघरमा डिजिटल माध्यमबाट पैसा जानुमात्र नभएर वालेटहरुको आवद्धताबारे राष्ट्र बैंकले सम्बन्धित पक्षसँग पटक पटक छलफल गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्