बिराटनगरबाट कटारी जाँदै गरेको बस सप्तरीमा दुर्घटना, एकको मृत्यु

सिंहदरबार संवाददाता
२०७९ असार ९, बिहीबार १३:४४

सप्तरी । सप्तरी जिल्लामा आज भएको बस दुर्घटनामा एकको मृत्यु हुनाका साथै अन्य ११ जना घाइते भएका छन् । हनुमाननगर कंकालिनी नगरपालिका–१ पूर्व–पश्चिम लोकमार्गस्थित कोसी ब्यारेज र कंकालिनी मन्दिरबीच ना५ख १८९८ नंको यात्रुवाहक बस दुर्घटना हुँदा बसमा सवार करिव ५५ वर्षीय एक व्यक्तिको मृत्यु भएको छ ।

मृतकको सनाखत हुन नसकेको उद्धार कार्यमा खटिएका सशस्त्र प्रहरी निरीक्षक किसमान तामाङले जानकारी दिए ।

विराटनगरबाट कटारी जाँदै गरेको बस अनियन्त्रित भई सडकबाट २० मिटर तल खस्दा दुर्घटना भएको थियो । घाइतेमध्ये उदयपुर कटारी–३ का ७० वर्षीय मानबहादुर तामाङ र उनकी श्रीमती ६९ वर्षीया विष्णुकुमारी तामाङको अवस्था जटिल भएकाले विराटनगर पठाइएको, अन्य चार घाइतेको भारदहस्थित जिल्ला अस्पतालमा र पाँच जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

बस चालक फरार भएकाले उनको खोजी भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्