ग्लोबल आईएमई–प्राइम मिलनमा ज्वाई ससुराको पहल, प्राप्ति की मर्जर ?

सिंहदरबार संवाददाता
२०७९ असार १३, सोमबार ११:१३

काठमाडौं । ग्लोबल आइएमई बैंकले प्राइम कर्मर्सियल बैंकसँग मर्जरको नेगोशिएसन शुरु गरेको छ । ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकालले आफ्ना छोरी ज्वाईलाई अघि सारेर मर्जरको पहल थालेका छन् ।

एक साता अघिमात्र बैंक अफ काठमाण्डूसँग मर्जरको सम्झौता गरेको ग्लोबल आइएमइले असार मसान्त अगावै प्राइम बैंकलाई समेत प्राप्ति गर्ने प्रक्रिया शुरु गरेको हो । ग्लोबलका अध्यक्ष ढकालका छोरी ज्वाई मनोज पौडेल प्राइम बैंकमा सर्वसाधारणको तर्फबाट सञ्चालक छन् ।

उनको ५ वर्षे कार्यकाल यही वर्ष समाप्त हुँदैछ । प्राइम बैंकमा आफ्ना ज्वाइ सञ्चालक हुँदै मर्जरको नेगोशिएसनलाई पुर्णता दिने दाउमा ढकाल लागेका हुन् । उनले ज्वाइलाई मध्यस्तकर्ता बनाएर प्राइम बैंकलाई सकेसम्म खरिद गरी ग्लोबलमा समाहित गर्न खोजेको स्रोतको भनाइ छ ।

‘अहिले आधिकारीक रुपमा बोर्डमै एजेण्डा बनाएर मर्जरको विषय उठेको छैन, मनोज जीले आफ्ना ससुरा बा,ले राख्नु भएको प्रस्ताव हामी बीच चिया गफमा सुनाउनु भएको थियो,’ प्राइम बैंकका एक सञ्चालकले सिंहदरबारसँग भने, ‘ग्लोबल देशको सबैभन्दा ठुलो बैंकको ताज पहिरिएको बैंक, प्राइमलाई सकेसम्म एक्वायर नै गर्न पाए खुसी होला तर नेगोशिएसनमा मर्जरमा पनि तयार हुन सक्ने जस्तो देखिन्छ ।’

यद्यपि बैंकका अधिकांश सञ्चालक प्राइम बैंकको मर्जर तथा प्राप्तिको विषयमा पोजेटिभ नरहेको हुँदा ग्लोबलसँग मर्जरको नेगोशिएसनले आधिकारिकता नपाउने उनको बुझाई छ ।

प्राइम बैंकले केही समय अघि सेन्चुरी बैंकसँग मर्जरका लागि लामो समयसम्म नेगोशिएसन गरेकै हो । प्राइमले तत्कालिन ओम डेभलपमेन्ट बैंकसँग डिमर्जर गरेपछि विभिन्न बैंकहरुमा मर्जरको प्रस्ताव गर्ने क्रममा सेञ्चुरीलाई पनि गरेको थियो । उक्त नेगोशिएसन स्वाप रेसियोमा नमिले पछि टुंगिएको थियो । त्यसपछि प्राइमले कैलाश विकास बैंकलाई आफुमा गाभेर राष्ट्र बैंकको शर्त पुरा गरेको थियो ।

त्यसयता अर्गानिक ग्रोथ गरि रहेको प्राइमलाई राष्ट्र बैंकले समेत मर्जरमा जान नसुझाएको बैंकका सञ्चालक बताउँछन् ।

‘हामी हरेक कम्प्लाइन्स पालनामा राम्रो छौं, विजनेशसँगै प्रोफिटको ग्रोथमा पनि राम्रो छ, तत्काल मर्जरमा जाने कुनै प्लान छैन,’ उनले थपे, ‘ग्लोबलले प्रस्ताव गरेपनि त्यसमा छलफल गर्दा असार मसान्त अगावै कुनै निर्णय हुने सम्भावना देखिन्न ।’

ग्लोबल आइएमई बैंकलाई अन्य वाणिज्य बैंकले मर्जर गरी आफुभन्दा ठुलो बैंक बनेर जित्ला भन्ने डरमा आवश्यकताभन्दा बाहिर गएर मर्जर गरिरहेको उनको बुझाइ छ ।
जनता बैंक नेपाललाई मर्जर गरी ‘नेपालको सबैभन्दा ठुलो बैंक’ को ताज ग्लोबल आइएमई बैंकले पहिरिएको हो । तर, उक्त ताजलाई नेपाल इन्भेष्टमेन्ट बैंकले मेगा बैंकलाई मर्जर गर्ने सम्झौता गरेसँगै खोसिने पक्का भएपछि ग्लोबलले बैंक अफ काठमाण्डूलाई मर्जर गर्ने सम्झौता गरेको थियो ।

अहिले वाणिज्य बैंकहरुमा मर्जरको लहर चलेको हुँदा आफ्नो सो ताज खोसिने भयमा समेत ग्लोबलका अध्यक्ष ढकाल अन्य बैंकले उछिन्न नसक्ने गरिको ठुलो बन्ने होडका लागेको प्रष्ट हुन्छ ।

राष्ट्र बैंकको नीति
राष्ट्र बैंकको मर्जर तथा प्राप्ती विनियमाली, २०७३ को व्यवस्था अनुसार ग्लोबल आइएमई बैंकलाई अहिले अन्य बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्ती गर्न बाधक हुँदैन ।
ग्लोबलले बिओकेलाई मर्जरको प्रारम्भिक सम्झौता गरी राष्ट्र बैंकमा असार २ गते सैद्धान्तिक स्वीकृतिको लागि निवेदन दिएको हो ।

यी बैंकहरुलाई हामसम्म राष्ट्र बैंकले सैद्धान्तिक स्वीकृति दिएको छैन । राष्ट्र बैंकले सैद्धान्तिक स्वीकृति प्रदान नगर्दा सम्म ग्लोबल आइएमई बैंकले अन्य कुनै बैंकसँग मर्जर तथा प्राप्तीको सम्झौता गरी ३ बैंक एक हुन्छौं भनेर स्वीकृतिको लागि आवेदन दिनसक्ने ठाउँ रहन्छ ।

तर, राष्ट्र बैंकले सैद्धान्तिक स्वीकृति दिएपछि भने एकिकृत कारोबार नगर्दासम्म अर्को बैंकसँग मर्जरको प्रक्रिया सुरु गर्न राष्ट्र बैंकको नीति बाधक हुन्छ ।

प्राइमसँग मर्जर पछि ग्लोबल आइएमई  बिओके बैंकको आकार

ग्लोबल आइएमई बैंकले बिओकेसँग १ः१ को स्वाप रेसियोमा मर्जरको सम्झौता गरेको हो । ग्लोबल आइएमई बिओके बैंकको नामका एकिकृत कारोबार गर्दा कुल पुँजी ५२ अर्ब र ३४ अर्ब रुपैयाँ चुक्ता पुँजी भएको बैंक हुने छ । जसमा प्राइमको १८ अर्ब ६५ करोड ६३ लाख रुपैयाँ थप हुँदा ५२ अर्ब रुपैयाँ बढी चुक्ता पुँजी भएको बैंक बन्नेछ ।

चुक्ता पूँजी तथा व्यवसायको आकारका हिसाबले नेपालको सबैभन्दा ठूलो बैंकका रूपमा समेत स्थापित हुनमात्र नभएर बैंकलाई यी सुचांकमा कुनै पनि बैंकले जित्न असम्भव नै हुनेछ ।

ग्लोबल आइएमई र बिओकेले जेठ मसान्तसम्म कुल ६ अर्बभन्दा बढी खुद नाफा आर्जन गरिसकेका छन् भने प्राइमले सवाँ ३ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेरिसकेको छ । आगामी असार मसान्तसम्म यी बैंकहरुको कुल खुद नाफा नैं १० अर्ब रुपैयाँ बढी हुने सम्भवना छ ।

ग्लोबल आइएमइले हालसम्म २ खर्ब ७६ अर्ब रुपैयाँ, बिओकेले १ खर्ब ४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने प्राइमले १ खर्ब ५६ अर्ब रुपैयाँ संकलन गरेको छ । मर्जर भएमा कुल निक्षेप साढे ५ खर्ब रुपैयाँ बढी हुने देखिन्छ ।

यस्तै, हालसम्म ग्लोबल आइएमईले २ खर्ब ७२ अर्ब रुपैयाँ, बिओकेले १ खर्ब १० अर्ब रुपैयाँ र प्राइमले १ खर्ब ५७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । मर्जर भएमा यी बैंकहरुको कुल कर्जा ५ खर्ब ४५ अर्ब रुपैयाँ बढी पुग्ने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्