Shikhar Insurance

सेयर ब्रोकर कम्पनीको चुक्ता पुँजी १० गुणाले वृद्धि गरिँदै, लाइसेन्स र सेवा शुल्क समेत थप हुँदै

सिंहदरबार संवाददाता
२०७९ असार १७, शुक्रबार १९:३१
NIMB
Nabil Bank

काठमाडौं । सेयर ब्रोकर कम्पनीहरुको चुक्ता पुँजी १० गुणाले वृद्धि गरिने भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सञ्चालनमा रहेका ५० वटा ब्रोकर कम्पनीहरुको चुक्ता पुँजी वृद्धि गर्ने तयारी गरेको हो ।

नेपाल धितोपत्र बोर्डले २०७४ सालमा धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता नियमावली, २०६४ को संशोधन गरेर ब्रोकर कम्पनीहरुको २० लाख रुपैयाँ चुक्ता पुँजीलाई २ करोड रुपैयाँ कायम गरेको थियो । अहिले सोही कायम रहेको २ करोड रुपैयाँ चुक्ता पुँजीलाई २० करोड रुपैयाँ पुर्याउने तयारी भइरहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

अहिले नेप्से नयाँ ब्रोकर कम्पनीहरुलाई लाइसेन्स वितरणको आवश्यक प्रक्रियामा छ । नयाँ कम्पनीहरु भित्र्याउने तयारीसँगै नेप्सेले पुराना ब्रोकर कम्पनीहरुको पनि पुँजी वृद्धि गवर्ने सुझाव अर्थ मन्त्रालय र धितोपत्र बोर्डलाई दिइसकेको छ ।

नेप्सेले नयाँ ब्रोकर कम्पनीहरुलाई लाइसेन्स वितरणको कार्यविधि बनाएर सोही अनुसार आह्वान गर्ने तयारी गरिरहेको छ । जसका लागि नेप्सेले ‘दलाल व्यवसाय इजाजतका लागि सिफारी छनौट कार्यविधि, २०७९’ को मस्यौदा समेत तयारी गरिसकेको छ । उक्त कार्यविधि अनुसार नेप्सेले नयाँ कम्पनीहरुको चुक्ता पुँजी २० करोड रुपैयाँ र लाइसेन्स शुल्क २५ लाख रुपैयाँ तोक्नेछ ।

पुराना ब्रोकर कम्पनीहरुको भन्दा नयाँ कम्पनीहरुको चुक्तापुँजी बढी हुने भएसँगै पुरानाको पनि बढाउन सिफारिस गरिएको नेप्सेका एक उच्च अधिकारीले बताए ।

‘नयाँ आउने कम्पनीहरुको लागि २० करोड रुपैयाँ पुँजी तोक्ने र लाइसेन्स शुल्क पनि २५ लाख रुपैयाँदेखि १ करोड रुपैयाँसम्म निर्धारण गर्ने तयारी छ, यही व्यवस्था पुराना ब्रोकर कम्पनीहरुको हकमा पनि लागू हुन्छ,’ नेप्से उच्च अधिकारीले सिंहदरबारसँग भने, ‘२ करोड रुपैयाँ पुँजी अत्यन्तै थोरै भयो, ब्रोकरको काम सबै प्रविधिमैत्री भएका हुँदा पुराना कम्पनीले प्रविधिमा थप खर्च गर्नुपर्ने देखिन्छ । प्रविधिमा व्यापक फेर बदल आएको छ भने बजारकाे कारोबार समेत बढेको छ । कम्पनीहरुले आइटी विज्ञहरुसँगै  थप दक्ष कर्मचारीहरु राख्नुपर्ने, पुराना कम्पनीहरुको व्यवस्थापनका कर्मचारीको दक्षतामा पनि प्रश्न उठिरहेको छ, समय सान्दर्भिक प्रविधि कम्पनीहरुले राख्नु पर्ने, जोखिम व्यवस्थापन लगायत पुराना ब्रोकरको क्षमता बढाउन पुँजी थप गर्न लगाउनु पर्ने देखिन्छ । ’

प्रविधि विस्तार, जोखिम व्यवस्थाप, तालिम खर्च, कार्यालयको भौतिक पुर्वाधार सुधारका लागि अहिले भइरहेको पुँजी अत्यन्तै न्यून भएको हुँदा नयाँ कम्पनी सो सरहको चुक्ता पुँजी पुरानालाई पनि निर्धारण गर्न अर्थ मन्त्रालय र बोर्ड समेत तयार भएको उनको भनाइ छ ।

‘नयाँ ब्रोकर कम्पनीहरुलाई लाइसेन्स दिनको लागि नेप्सेले एउटा मोडालिटी तयार गरेको थियो । जसमा पुराना कम्पनीहरुको हकमा के गर्ने भन्ने विषय पनि समेटेका थियौं’ उनले भने, ‘नेप्सेको अध्यक्षले सो मोडालिटी मन्त्रालय र बोर्ड सामु प्रस्तुत गरिसक्नु भएको छ । उहाँहरुले त्यसमा सहमति जनाइसक्नु भयो ।’

नयाँ कम्पनीहरुलाई लाइसेन्स वितरणको लागि तयार पारिएको कार्यविधिमा बोर्ड र अर्थ मन्त्रालयसँग नेप्सेको टिमले थप छलफल गरिरहेको छ । छलफलले अन्तिम टुंगो लगाएसँगै नेप्से सञ्चालक समितिले ‘दलाल व्यवसाय इजाजतका लागि सिफारी छनौट कार्यविधि, २०७९’ लागू गरी नयाँ ब्रोकर कम्पनीहरुको लाइसेन्स लिन आह्वान गर्नेछ । प्राप्त आवेदनमा नेप्सेले उक्त कार्यविधिमा उल्लेखित मापदण्ड पूरा गर्ने आवेदकलाई सर्ट लिस्ट गरी बोर्डमा पठाउनेछ । नेप्सेले पठाएकै सर्ट लिस्टबाट बोर्डले नयाँ ब्रोकर कम्पनीहरुलाई लाइसेन्स वितरण गर्ने स्रोतको भनाइ छ ।

अहिले ५० वटा ब्रोकर कम्पनीहरुले सेवा शुल्क वापत नेप्सेलाई वार्षिक १० हजार रुपैयाँ बुझाउनु पर्छ । नयाँ कम्पनीको हकमा सो शुल्क बढाइएको हुँदा पुराना कम्पनीको पनि बढाइने नेप्से स्रोतको भनाइ छ ।

‘नेप्सेले लाइसेन्स वितरणको लागि प्रक्रिया शुरु गरेपनि अन्य बोर्डले नै गर्छ, पुरानाको हकमा पनि यहाँबाट सिफारिस भएपछि बोर्डले नै नियमावली संशोधन गरी पुँजी वृद्धि गर्छ,’ उनले थपे, ‘नयाँ कम्पनीहरुलाई बार्षिक सेवा शुल्क पनि बढाइएको छ, अहिलेसम्म वार्षिक १० हजार रुपैयाँ बुझाउने पुरानाको हकमा पनि यस्ता शुल्क बढाइन्छ ।’

पुराना ब्रोकर कम्पनीहरुको चुक्ता पुँजी वृद्धि र शुल्क वृद्धि भने नयाँ कम्पनीहरुले लाइसेन्स प्राप्त गरी सञ्चालनमा आएपछि गरिने उनले बताए ।
‘यसका लागि अझै समय छ, नयाँ कम्पनी अप्रेशनमा आएपछि नै पुरानाको व्यवस्था परिवर्तन हुन्छ, पुँजी वृद्धिको लागि निश्चित समय दिइन्छ, दिइएको समयमा तोकिएको पुँजी वृद्धि गर्न मर्जर तथा प्राप्तिको बाटो र नसक्ने कम्पनीलाई खारेजीमा जान सक्ने बाटो खुलाइन्छ ।’

GBIME

प्रतिक्रिया दिनुहोस्