Shikhar Insurance

दाङका खानेपानी आयोजनामा १२ अर्ब लगानी

सिंहदरबार संवाददाता
२०७९ असार २०, सोमबार ०६:३३
NIMB
Nabil Bank

दाङ । ‘एक घर, एक धारा’ अभियानलाई सार्थकता दिन स्थानीय तहसँग सहकार्य गरी दाङमा खानेपानी आयोजना विस्तारको काम धमाधम भइरहेको छ ।

लुम्बिनी प्रदेश सरकारअन्तर्गत खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङका अनुसार जिल्लामा चालु आर्थिक वर्षका लागि १० वटै पालिकामा विभिन्न शीर्षकमा गरी २५२ खानेपानी आयोजनाका लागि १२ अर्ब २२ करोड ३५ लाख ७२ हजार लगानी भएको छ । ती आयोजनामध्ये केही ठाउँमा कार्यान्वयनमा आइसकेको छ, भने धेरैजसो स्थानमा काम जारी छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख भोलाबहादुर थापाका अनुसार जिल्लाको ग्रामीण भेगमा अहिले खानेपानी आयोजनाको काम पूर्ण रुपमा सम्पन्न हुन नसकेको बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

जिल्लामा सघन खानेपानी विकास कार्यक्रम, जलवायु अनुकुलित वृहत खानेपानी आयोजनाअन्तर्गत सङ्घ शसर्त अनुदान, तराई–मधेश खानेपानी सुधार कार्यक्रम, खानेपानी तथा सरसफाइ सहलगानी कार्यक्रम तथा विभिन्न उपशीर्षकमा गरी लगानी भएको छ । जिल्लामा सघन खानेपानी आयोजनाका १७२ आयोजना, जलवायु अनुकूलित वृहत खानेपानी कार्यक्रम १९, तराई–मधेश खानेपानी सुधार कार्यक्रमको ५०, सहलगानी कार्यक्रमको एउटा तथा १० थप गरिएका खानेपानी आयोजना रहेको निमित्त प्रमुख थापाले बताए ।

घोराही उपमहानगरपालिकामा सघन खानेपानीका ४५, जलवायु अनुकूलित वृहत खानेपानीका पाँच र तराई–मधेश खानेपानी सुधार कार्यक्रमका १५ आयोजना गरी ६५ आयोजनामा रु ९७ करोड ३३ लाख १० हजार लगानी भएको छ । तुलसीपुर उपमहानगरपालिकामा सघन खानेपानीका ३४, जलवायु अनुकूलित वृहत खानेपानीका दुई र तराई–मधेश खानेपानी सुधार कार्यक्रमका ११ गरी ४७ खानेपानी आयोजनामा ७९ करोड ४० लाख चार हजार लगानी भएको छ ।

प्रमुख थापाका अनुसार लमही नगरपालिकामा सघन खानेपानीका ११ र तराई मधेश खानेपानी सुधार कार्यक्रमका सात गरी १८ खानेपानी आयोजनामा रु एक करोड ९६ लाख लगानी भएको छ । राप्ती गाउँपालिकामा सघन खानेपानीका चार, जलवायू अनुकूलित वृहत खानेपानीको एउटा र तराई–मधेश खानेपानी सुधार कार्यक्रमका चार गरी ९ खानेपानी आयोजनामा रु दुई करोड दुई लाख ६२ हजार लगानी भएको छ ।

यस्तै गढवा गाउँपालिकामा सघन खानेपानी विकास कार्यक्रमका १७, जलवायु अनुकूलित वृहत कार्यक्रमका दुई र तराई–मधेश खानेपानीका चार गरी २३ आयोजनाका लागि रु २० करोड ४२ लाख ७ हजार लगानी भएको छ । राजपुर गाउँपालिकामा सघन खानेपानी विकासका चार, तराई–मधेश खानेपानी सुधार कार्यक्रमका तीन गरी सात आयोजनामा रु १० करोड ६८ लाख लगानी भएको छ ।

यस्तै, बङ्गलाचुली गाउँपालिकामा सघन खानेपानीका २०, जलवायु अनुकूलित वृहत खानेपानीका चार गरी २४ खानेपानी आयोजनाका लागि रु तीन करोड ६ लाख ६० हजार लगानी भएको छ । दङ्गीशरण गाउँपालिकामा सघन खानेपानी विकास कार्यक्रमका ११, तराई–मधेश खानेपानी विकास कार्यक्रमका ६ गरी १७ खानेपानी आयोजनामा रु २१ करोड ३० लाख लगानी भएको छ ।

यसैगरी शान्तिनगर गाउँपालिकामा सघन खानेपानीका १२ आयोजनाका लागि रु १७ करोड ४ लाख लगानी भएको प्रमुख थापाले जानकारी दिनुुभयो । बबई गाउँपालिकामा सघन खानेपानीका १२, जलवायु अनुकूलित वृहत खानेपानीका ५ गरी १७ आयोजनाका लागि रु २७ करोड ७३ लाख लगानी भएको छ । सर्रा खानेपानी तथा सरसफाइ आयोजनाका लागि रु २० लाख तथा जिल्लाभरका विभिन्न उपशीर्षकअन्तर्गतका १० आयोजनाका लागि रु २३ लाख ८६ हजार लगानी भएको छ । आगामी वर्षसम्ममा धेरै ठाउँमा खानेपानी समस्या समाधान हुने उनको दाबी छ । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्