Shikhar Insurance

नियम विपरित सदस्य बनाई ऋण दिँदै आधा दर्जन लघुवित्त, ऋणीलाई घरबाट निकाली ताल्चा लगाउँदै

एउटै व्यक्ति ७ वटा संस्थामा सदस्य
सिंहदरबार संवाददाता
२०७९ श्रावण १२, बिहीबार १६:००
NIMB
Nabil Bank

काठमाडौं । आधा दर्जन लघुवित्त वित्तीय संस्थाले राष्ट्र बैंकको निर्देशन विपरित सदस्य बनाउँदै अनावश्यक ऋणको भार बोकाएको खुलासा भएको छ । धादिङ जिल्लाको सदरमुकार धादिङबँसीमा लघुवित्तहरुले गरिबलाई घरबार विहिन नै गराउँदै कारोबार गरेका हुन् ।

ग्रामिण भेगका जनतामा वित्तीय पहुँच पुर्याउँदै ग्रामिण अर्थतन्त्रलाई सबल बनाउने नारा लिएका छिमेक, साधाना, डिप्रोस, निर्धन र गणपति लघुवित्त संस्थाले राष्ट्र बैंकको निर्देशन विपरित सदस्य बनाउँदै अनावश्यक ऋण दिएर असुलीमा ज्यादती गरेका हुन् । अमानविय व्यवहार गर्दै ऋण असुली गरेको भन्दै लघुवित्तकोे विरुद्ध पीडितहरुले आन्दोलन शुरु गरेका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

लघुवित्तले आवश्यकता र क्षमताको आधारमा ऋण दिनुपर्ने भन्दै पीडित लगायन अन्य स्थानीयवासीहरुले जिल्ला प्रशासन कार्यालयमा पाँच बुँदे मागपत्र बुझाएका छन् । जिल्ला सदरमुकाम धादिङबेँसीमा लघुवित्तका सदस्य पीडित महिलाहरुले विरोध प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारीलाई माग पत्र बुझाएका हुन् । ऋण तिर्न नसकेपछि लघुवित्तले घरमा बस्नसमेत नदिने गरेको सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद कोइराला बताउँछन् ।

राष्ट्र बैंकको नियमअनुसार एकजना व्यक्ति बढीमा दुई ओटा लघुवित्तमा मात्र बस्न पाउने भएपनि एक जना व्यक्तिलाई ७/८ ओटा संस्थामा राखेर विचल्ली बनाएको जिल्ला सङ्घर्ष समितिका सुशीला भट्टराई श्रेष्ठको भनाइ छ ।

जिल्लामा मात्र २० भन्दा बढी लघुवित्तले महिलामार्फत समूह बनाएर ऋण लगानीसमेत गर्दै आएको छ । हप्तै पिच्छे बैठक राखी बचतसमेत सङ्कलन गर्ने लघुवित्तले बचत पासबुकसमेत नदिएको उनीहरुको गुनासो थियो । ज्ञापनपत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाले कानुन विपरीत वित्तीय संस्थाले कुनै काम गरेको उजुरी परे तत्काल कारबाही गरिने बताएका छन् ।

लघुवित्तबाट ऋण लिएपछि कहिल्यै तिर्न नसकिने भएको र किस्ता तिर्नुपर्ने दिन पैसा दिन नसके आर्थिक तथा मानिसिकरुपमा यातना दिने गरेको गुनासो पीडितहरुको गुनासो छ । ऋण तिर्न नसक्ने महिलालाई आत्महत्या गर्नुपर्ने अवस्था समेत सिर्जना गराएको सङ्घर्ष समितिका अध्यक्ष नानीराम ज्ञावालीले बताइन् ।

‘लघुवित्तबाट ५० हजार ऋण लिएपछि कहिल्यै तिरेर नसकिने र आफूले गरेको बचतसमेत फिर्ता लघुवित्तहरुले फिर्ता दिदैनन् ।’ समितिका अध्यक्ष ज्ञावालीले भनिन् ।
आफ्नो र नेत्रावती डबजोङ कटुञ्जे सुनार गाउँका किसान विकको घरमा डिप्रोस वित्तीय संस्थाले ताला लगाएको अध्यक्ष ज्ञवालीले बताइन् ।

सिद्धलेक गाउँपालिका–४ की चमेली मगरले आफ्नो बारी बेचेर ऋण तिर्दा पनि घरमा ताला लगाइदिन्छु भन्दै लघुवित्त संस्थाका व्यक्ति आएर ज्यादती गरेपछि मर्नु कि बाँच्नुभएको बताउँछन् ।

लघुवित्तबाट लिएको ऋण २ रोपनी १२ आना जग्गा बेचेर ऋण तिर्नु बाध्य बनाइएको उनको गुनासो छ । चमेली मगर मुक्तिनाथ, छिमेकी, साधना डिप्रोस, निर्धन, गणपतिलगायत लघुवित्तिको समूहमा पालैपालो बसेकी थिइन् । लघुवित्तमा बस्न थालेपछि तनाव हुँदै आएको पिडा उनी पोख्छिन् ।

‘सुरुमा आएर समूहमा बसेपछि गरिबलाई फाइदा पुग्छ भने र एक एक गरी समूहमा सहभागी गराउन कर्मचारी आए,’ पीडित चमेली मगरले भनिन्, ‘त्यसपछि उनीहरुले ऋण दिने भन्न थाले थोरै ऋण लिएर काम गर्नसकिने भएकोले राम्रै होला भनेर ऋण लिइयो । भनेको मितिमा ऋण तिर्न खोज्दा श्रीमान बिरामी परेर उपचारमा रकम खर्च भयो ।’ ऋण तिर्न नसकेपछि प्राय दिन दिनै लघुवित्तका मान्छे आएर मानसिक र आर्थिक रुपमा दुव्र्यवहार गरेको चमेलीको गुनासो छ ।

सिद्धलेक गाउँपालिका बुङचुङकी सीतादेवी शाहीको अवस्था पनि उस्तै छ । छिमेकी, साधना लघुवित्तमा आवद्ध भएर ऋण लिएपछि साँवा र व्याजका लागि रकम बुझाउनका साथै भैसी र बाख्रा बिक्री गरेर तिर्दासमेत नसकेपछि दुई रोपनी जग्गा बेच्नुपरेको शाहीले बताइन् ।

गाईबस्तु बेचेर पनि ऋण तिर्दा पनि चुक्ता नभएपछि घरबाहिर मानिस निकालेर ताला लगाइएकोले परिवार नै विस्थापित भएको सोही स्थानका लीला विकले बताए । नीलकण्ठ नगरपालिका– ९ मा साइला श्रेष्ठसहित दुई जनाको घरमा डिप्रोस लघुवित्तले ताला लगाएपछि परिवार विस्थापित भएको छ ।

पीडितमाथिको ज्यादती बन्द गर्नुपर्ने, लघुवित्तको ऋण मिनाहा गर्नुपर्ने, सरकारले बिना ब्याजको ऋण उपलब्ध गराउनुपर्ने, यस्ता वित्तीय संस्था खारेज गर्नुपर्ने, आवश्यकता र क्षमताको आधारमा ऋण दिनुपर्ने भन्दै संर्घष समितिको माग छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्