Shikhar Insurance

भक्ततपुर–धुलिखेल सडक ६ लेन बनाउने काम सुरु, साँगामा सुरुङ !

सिंहदरबार संवाददाता
२०७९ श्रावण १८, बुधबार १६:३१
NIMB
Nabil Bank

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार गर्न प्रक्रिया थालिएको छ । यसका लागि सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) थालेको छ ।

आयोजनाले डिपीआरसँगै सडकको डिजाइनसमेत गरिरहेको जनाएको छ । उसले डिपीआर र सडकको डिजाइनको काम सम्पन्न भएलगत्तै बोलपत्रको तयारी गर्ने भएको हो । आयोजनाले सूर्यविनायक–धुलिखेल सडक विस्तारका लागि यही साउन पहिलो साता राजमार्ग छेउछाउमा सडक मापदण्डभित्रका संरचना हटाउन ३५ दिने सार्वजनिक सूचना जारी गरिसकेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

सूर्यविनायक–धुलिखेल सडक विस्तारका लागि ‘कन्सल्ट्यान्ट हायर’ गरी डिपिआर थालिएको आयोजनाका डिभिजन इञ्जिनियर शम्भुप्रसाद आचार्यले जानकारी दिए । “सडकको डिजाइनको काम भइरहेको छ, डिपिआर र डिजाइनको काम सकेलगत्तै बोलपत्रको प्रक्रियामा जानेछौँ”, उनले भने । उनका अनुसार सूर्यविनायक–धुलिखेल सडक विस्तारका लागि चालु आर्थिक वर्षमा ७० करोड बजेट विनियोजन भएको छ । सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजना बहुवर्षीय हो ।

छ लेनको डिजाइन हुने उक्त सडक निर्माणको काम सरकारले गर्ने भएको हो । सडक विभागले केही वर्षदेखि धुलिखेलदेखि बनेपाहुँदै भक्तपुरसम्म सडकको चाप बढिरहहेकाले उक्त सडकखण्ड विस्तारका लागि यसअघि नै प्रक्रिया थालेको थियो । उक्त सडक विस्तारका लागि सकेसम्म लगानीकर्ता खोजिने, नभए सरकार आफैंले निर्माण गर्ने जनाउँदै आइएको थियो । उक्त सडकखण्ड विस्तारमा केही वर्षदेखि चासो देखाउँदै आएको जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले नगर्ने बताइसकेको छ ।

“बोलपत्र आह्वानपछि जाइकाले चासो दिए मात्रै हो, उसले सूर्यविनायक–धुलिखेल सडक विस्तारको काम नगर्ने बताइसकेको छ” उनले भने । उक्त सडक करिब १६ किलोमिटर दूरीको छ । यसमध्ये काभ्रेमा १० र भक्तपुरमा छ किलोमिटर लम्बाइको पर्दछ । विस्तारका क्रममा निर्माण हुने छ लेनमध्ये सवारी साधनका लागि चार र दुई लेन सर्भिस् लेन हुने छ भने छ स्थानमा आकाशे पुल, चार स्थानमा पुल र एउटा कल्भर्ट निर्माण हुने जनाइएको छ । भक्तपुर र काभ्रेको सीमाक्षेत्र साँगामा प्रस्तावित एक दशमलब २९ किलोमिटर सुरुङमार्ग निर्माण गर्ने–नगर्नेबारेसमेत छलफल भइरहेकोसमेत जनाइएको छ ।

सुरुङमार्ग निर्माण गर्दा निकै खर्चिलो हुने भएकाले लगभग नबन्ने देखिएको डिभिजन इञ्जिनीयर आचार्यले बताए । उनका अनुसार दुई लेनको सुरुङमार्गमा सडकको चौडाइ साढे तीन मिटरको हुनुपर्ने छ । आयोजनाका लागि प्रारम्भिक अध्ययनबाट करिब सात अर्बको बोलपत्र लाग्नसक्नेछ ।

जाइकाले नै सूर्यविनायक–धुलिखेल सडक विस्तारबारे सन् २०१८ मा अध्ययन सकेर प्रारम्भिक डिजाइन पेस गर्दै सरकारको बजेटमा डिजाइन अनुसारको कामगर्न नसक्ने जनाएको थियो । त्यसबेला सरकारसँग आयोजनाको बजेटमा सुरुङमार्गको योजना हटाएर पनि लागत कम गर्न अनुरोध गर्दै जाइकाले तारतम्य नमिलेको आरोप लगाउँदै हात झिकेको बताइन्छ । त्यसयता सरकारले आफैं निर्माण गर्ने जनाउँदै आएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्