Shikhar Insurance

उद्यमशीलताको सोच हुने विश्वविद्यालयका विद्यार्थीले अवसर पाउने

सिंहदरबार संवाददाता
२०७९ श्रावण १९, बिहीबार १७:४८
NIMB
Nabil Bank

काठमाडौं । विश्वविद्यालय तहमा अध्ययनरत विद्यार्थीसँग उद्यमशीलताको सोच छ तर पुँजीको अभावमा त्यसलाई कार्यान्वयन गर्न नसक्नेलाई अवसर दिइने भएको छ ।

विश्वविद्यालय तहका विद्यार्थीबाट उद्यमशीलताको सोचको प्रतिस्पर्धा गराई छानिएकालाई लगानीको वातावरण बनाउन लागिएको हो । ‘कलेज आइडिया हन्ट २०२२’ का लागि अनलाइन आवेदन खुला गरिएको आइडिया स्टुडियोले आज आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

Citizen Life
Kumar Bank
Nepal Life

पत्रकार सम्मेलनमा आइडिया स्टुडियोका कार्यकारी अध्यक्ष डा छिरिङ लामाले स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तहमा अध्ययनरत विद्यार्थीले प्रतियोगिताका लागि अनलाइन माध्यमबाट उद्यमशीलताको सोच प्रस्तुत गरेर प्रतिस्पर्धामा सहभागी हुनसक्ने जानकारी दिए । आइडिया स्टुडियोले सन् २०१४ देखि यस्तो प्रतिस्पर्धा गर्दै आएको छ ।

प्रतिस्पर्धामा सहभागी भएर जित्नेले उद्यमशीलताका माध्यमबाट २०० जनासम्मलाई रोजगारी दिएको उदाहरण पनि कार्यक्रममा उनले प्रस्तुत गरे । यो कार्यक्रमका लागि आइडिया स्टुडियाले राष्टिय युवा परिषद्, विश्ववन्यजन्तु कोष, त्रिभुवन विश्वविद्यालयलगायत निकायसँग सहकार्य गर्दै आएको छ ।

कार्यक्रममा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले १६ देखि ४० वर्षबीचको युवा उमेरका जनसङ्ख्या ४० प्रतिशतभन्दा बढी रहेकाले युवालाई उद्यमशीलतामा आकर्षित गरी स्वदेशमै राख्ने नीतिअनुसार सहकार्य भइरहेको बताए । हाल देशमा १० प्रतिशत युवाले मात्र रोजगारी पाउने गरेका छन् । बाँकी युवा विदेश जाँदा रचनात्मक काममा जनशक्तिको अभाव हुने गरेको छ ।

त्रिभुवन विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्टका उपनिर्देशक डा गङ्गाराम विश्वकर्माले शिक्षा सिद्धान्तमा आधारित हुँदा विद्यार्थीले प्रायोगिक र व्यावहारिक ज्ञान पाउन नसकेको बताए । शिक्षालाई अनुसन्धान र व्यावहारिक ज्ञानमा पनि जोड्नुपर्ने उनका भनाइ थिए ।

यसअघि उद्यमशीलताको उत्कृष्ट सोच अघि सारी विजेता बन्न सफल उत्पला क्राफ्ट्सकी संस्थापक डोल्मा शेर्पाले एक जनाको सोचले के हुन्छ र भनेर नबसी अघि बढे सफलता पाउन सकिने अनुभव सुनाए । विगतमा यस्तै प्रतियोगितामा विजयी भएकी विजेता अंशु प्रधानले अहिले बेत बाँसबाट बन्ने उद्योगका माध्यमबाट राम्रो आयआर्जन गर्न सफल भएको जानकारी गराए ।

कार्यक्रममा विश्व वन्यजन्तु कोषका देशीय प्रतिनिधि डा घनश्याम गुरुङले अब उद्योग व्यवसाय सञ्चालन एवं विकास निर्माणका काम गर्दा वातावरण मैत्री हुने गरी काम गर्नुपर्नेमा जोड दिए । सन् २०१४ देखि सुरु भएको यो कार्यक्रममा हालसम्म २०० कलेजका २ हजार ५०० विद्यार्थीले करिब ८०० उद्यमशीलताको सोच प्रस्तुत गरेको जानकारी पनि कार्यक्रममा गराइएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्