Shikhar Insurance

‘लगानीकर्ताकाे हित भए अरुको आफै हुन्छ, सम्बद्ध निकायले विश्वास बढाउँनेमा जोड दिनुस्’ बोर्ड अध्यक्ष

सिंहदरबार संवाददाता
२०७९ श्रावण २०, शुक्रबार १०:२८
NIMB
Nabil Bank

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले धितोपत्र बजारको भविश्य राम्रो बनाउनका लागि लगानीकर्ताहरूको हितमा काम गर्नुपर्ने बताएका छन् । बिहिवार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको पूँजीबजारको बर्तमान अवस्था र आगामी पाँच वर्षको सम्भावन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष हमालले लगानीकर्ताको विश्वास कायम रहे मात्र धितोपत्र बजारको विकास हुने बताएका हुन । लगानीकर्ता छन् र त धितोपत्र बजार छ उनले भने लगानीकर्ताको हित सोच्ने हो भन्दै मात्रै सुरक्षित ठाउँमा पुग्न सकिन्छ ।

धितोपत्र बजारमा समस्या र चुनौति धेरै रहेको उल्लेख गर्दै उनले चुनौतिभित्रनै सम्भावना रहेको बताए । बोर्डमा अध्यक्षको जिम्वेवारी पाएको पाँच महिना पुरा भएको अवस्थामा बजारका सम्बन्धमा यस अघि भएका कमिकमजोरीलाई औल्याउँदै समाधानको बाटो पहिल्याउन अग्रसर रहेको हमालको भनाई छ । बजारमा सन्तुलन कायम गर्न वास्तविक क्षेत्रका कम्पनीहरूलाई मित्र्याउनुपर्ने अहिलेको आवश्यकतालाई औल्याउँदै उनले बुक बिल्डिङ विधिलाई प्रभावकारी रुपमा अघि बढाउँन सरोकारवाला सबैले प्रभावकारी भूमिका खेल्नुपर्ने बताए । बजारको अहिलेको आवश्यकतालाई ध्यानमा राखी क्यापिटल मार्केट इन्टिच्युट यहि वर्ष स्थापना गर्ने लक्ष्य समेत हमालले लिएका छन् । एसएमइ प्लेटफर्म आगामी दुई महिनाभित्र निर्माण गरिसक्ने लक्ष्य पनि हमालको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा आर्थिक अनुसन्धान विभाग प्रमुख डा. प्रकाश कुमार श्रेष्ठले धितोपत्र बजारमा सबैको भन्दा बजारको जोखिमलाई बुझेर लगानी गर्न सक्नेको लगानी हुनुपर्ने बताएका छन् । पछिल्लो समय बजारमा लगानीकर्ताको सहभागीता उत्साहजनक देखिन्छ । यो बजारको लागि राम्रो हो । तर, सबै क्षेत्र सबै मानिसका लागि उपयुक्त नहुन सक्छ । यसर्थ कम्पनी विश्लेषण गर्ने र बजारको जोखिम विश्लेषण गर्न सक्ने लगानीकर्ता मात्र बजारका लागि उपयुक्त हुने तर्क उनले गरे ।

मर्चेण्ट बैंकर एशोसिएसन अफ नेपालका अध्यक्ष मेख बहादुर थापाले धितोपत्र बजार विकासका लागि नयाँ नीतिहरू ल्याउनुको सट्टा पुरानै बजारका लागि आवश्यक नीति कार्यन्यनका लागि सम्बन्धीत सबैले ध्यान दिनुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र स्टक ब्रोकर एशोसिएशन अफ नेपालको तर्फबाट कार्यपत्र प्रस्तुत भएको थियो । नेपाल धितोपत्र बोर्डको तर्फबाट कार्यवहाक उप–कार्यकारी निर्देशक नारायण प्रसाद शर्माले कार्यपत्र प्रस्तुत गरेका थिए भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को तर्फबाट प्रबन्धक निरञ्जन फुयाल र स्टक ब्रोकर एशोसिएशनको तर्फबाट अध्यक्ष सन्तोष मैनालीले कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यपत्र प्रस्तुत गर्दै स्टक ब्रोकर एशोसिएशनका अध्यक्ष सन्तोष मैनालीले ब्रोकरको पूँजी नभई नेटवर्थलाई हेरेर नीति बनाउँनुपर्ने बताए । ब्रोकरको संचरनाका लागि चुक्तापूँजी भन्दा पनि नेटवर्थको धारणा हुनुपर्नेमा जोड दिए ।

उनले अहिले भईरहेको कारोबार मध्ये ७० प्रतिशत उधारो कारोबार हुने र सेटलमेन्टमा ५ रूपैयाँ ब्रोकरबाट उपलब्ध नहुँदा सेटलमेन्ट नभई ब्रोकर कारवाहिमा पर्ने उनले बताए । उधारो कारोबार गर्ने लगानीकर्ताको शेयर बेचेर सेटलमेन्ट गर्न नसकिने धारणा समेत उनले राखे ।

सबैको नजर ब्रोकर कमिशनमा हुने तर व्यवसाय गर्ने नेप्से भन्दा बढी कमिशन नियामक धितोपत्र बोर्डको रहेकोमा कसैको ध्यान नगएको प्रति चिन्ता व्यक्त गरे । दक्षिण एशियामा नेपालको ब्रोकर कमिसन तुलनात्मक रूपमा कम रहेको समेत उनले बताए । त्यस्तै नेप्सेका प्रबन्धक निरञ्जन फुयाँलले धितोपत्र बजारमामा ८० प्रतिशत फाईनान्सियल सेक्टरको सहभागीता रहेको भन्दै वास्तविक क्षेत्रको प्रतिनिधित्व बढाउनुपर्ने बताए । सरकारी लगानीको संस्था हुँदा नेप्सेलाई पफर्मेन्स देखाउन गाह्रो छ । एउटा प्रविधि ढल्यो भने त्यसलाई खरिद गर्ने खरिद नियमावली अनुसार ९ महिना लाग्ने उनले बताए । बजारको आवश्यकता अनुसार अर्को स्टक एक्सचेञ्ज भित्रिनुपर्नेमा समेत उनले जोड दिए ।

नेपाल धितोपत्र बोर्डको तर्फबाट कार्यपत्र प्रस्तुत गर्दै उप–कार्यकारी निर्देशक नारायण प्रसाद शर्माले बजारमा सबै विज्ञ हुनुभन्दा पनि बजारप्रतिको जोखिम र प्रतिफल सम्बन्धी धारणा बनाउनुपर्ने बताए । नियामक निकाय बोर्डलाई जवाफदेहि सहितको स्वायतता हुनुपर्ने धारणा पनि उनले राखे । बजार विकासका लागि नेप्सेकोे कारोबार प्रणाली थप प्रविधियुक्त हुनुपर्ने र क्षमता बढाउनुपर्नेमा समेत उनले जोड दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्