‘सबै डिम्याट होल्डर दोस्रो बजारमा जान खोज्दा विकृति भित्रियो, अब रोक्नुपर्छ’

२ करोडका लघुवित्त सूचिकृत भैसके, २ अर्ब कर्जा लिने कम्पनी अझै जाँदैनन्
डा.प्रकाश कुमार श्रेष्ठ
२०७९ श्रावण २०, शुक्रबार २१:०४

पुँजी बजारको वर्तमान अवस्था हेर्दा हामी धेरै माथि गएका छौं । विगतमा धेरै प्रगती भएका छन् भने भोलीका दिनमा सेयर बजारमा हामी धेरै अगाडी बढ्न सक्छौं । त्यसमा कुनै शंका नै छैन । तर, अझै हामी सिकाइ कै अवस्थामा छौं ।

पुँजी बजार सम्बन्धि केही अर्थशास्त्रीय दृष्टिकोण

‘फाइनान्सियल इकोनोमिकमा २ वटा मार्केट स्टक्चर हुन्छ । मुख्य भनेको फाइनान्सियल इन्टरमिडीयसन (वित्तीय मध्यस्थता) को काम गर्ने हो । बचतकर्तालाई लगानीकर्तासँग जोडेर बचतकर्ताको पैसा लगानीकर्तासम्म पुर्याउनको लागि २ वटा मार्केट स्टक्चर हुन्छ । एउटा बैंकमा आधारित हुन्छ भने अर्को पुँजी बजारमा आधारित हुन्छ ।

बैंकमा आधारितः जसमा बैंकले निक्षेपकर्तासँग निक्षेप संकलन गरी ऋणीलाई कर्जा दिएर वित्तीय मध्यस्थताको काम गर्छन् । नेपालमा बैंकिङ कारोबारको सुरुवात वि.स १९९७ देखि सुरु भएर विकास हुँदै आएको छ । त्यसलाई राष्ट्र बैंकले लिड गरिरहेको छ । राष्ट्र बैंकले २०१३ सालमा स्थापना भएपछि त्यसको प्रमोट गर्नको लागि ध्यान दिँदै नियमन गरिरहेको छ ।

पुँजी बजारमा आधारितः वित्तीय मध्यस्थताको अर्को विकल्प भनेको पुँजी बजार हो । त्यो वास्तवमा ‘मार्केट बेस फाइनान्सियल स्ट्रक्चर’ हो । बैंकमा नगइ कसैलाई लगानी गर्न पैसा आवश्यक परेमा त्यहाँबाट लिन सकिन्छ । यसको प्रक्रिया भनेको विभिन्न वित्तीय उपकरणहरु पुँजी बजारमार्फत् बिक्री गरी लगानीकर्ताले पुँजी संकलन गर्छ र आवश्यक अन्य क्षेत्रमा लगानी गर्न सक्छ । पछिल्लो समय पुँजी बजारमा मानिसहरुको जुन उत्साह छ, त्यो तथ्यांकले पुष्टी गरिरहेको छ । ५२ लाख मान्छेले डिम्याट खाता खोलेका छन् । जसमध्ये १४/१५ लाख लगानीकर्ता सक्रिय रुपमै पुँजी बजारमा सहभागी भइरहेका छन् । यो उत्साहजनक सहभागीता र चासो नै ‘मार्केट बेस्ड सिस्टम’ हो ।

मार्केट बेस्ड फाइनान्सियल सिस्टम र बैंक बेस्ड सिस्टमको इन्टरलिंकसँगै अल्टरनेटिभ हुन्छन् । बैंकबाट नपाएको खण्डमा मार्केटमा जान सक्ने अवसरहरु मार्केटले त्यो विकल्पको रुपमा दिन्छ । यो दुबै फाइनान्सियल स्ट्रक्चरको विकास भयो भने लगानीकर्ताले अवसर पाउँछन् । कहाँबाट स्रोत संकलन गर्नेे भन्ने विकल्प सहितको अवसर लगानीकर्ताले पाउँछन् । त्यो राम्रो पक्ष हो ।

उदाहरणको लागि तरलता अभावमा बैंकहरुले कर्जा दिन सकिरहेका छैनन् । कर्जाको ब्याजदर पनि महंगो छ । अहिले पछिल्लो समयमा केही हाइड्रोपावर र माइक्रोफाइनान्सहरुले आइपीओ जारी गरिरहेको छन् । जुन त्यो ओभर सस्क्राइभ भएका छन् । यसरी पब्लिकबाट आएको पैसामा त ब्याज तिर्नु पर्दैन नि । कतै न कतै त पैसा रहेको हुन्छ । हाम्रो निजी क्षेत्रले त्यसलाई उपभोग गर्न सकिरहेका छैनन् ।

कहिले ३०/३५ वटा संस्था नेप्सेमा सुचीकृत भएका छन् । त्यसमा अधिकंश वित्तीय क्षेत्रमा संस्थाहरु छन् । रियल सेक्टरका छैनन्, उनीहरुले त्यो अवसरलाई प्रयोग गरेको छैन । जहिले पनि बैंकबाट पाइएन भन्यो, ब्याजदर महंगो भयो भन्यो, बैंकसँग झगडा गरिरह्यो । बैंकको विकल्पको रुपमा पुँजी बजारमा ५२ लाख डिम्याट लिएर ‘म’ लगानी गर्न तयार छु भनेर बसेका छन् । उहाँहरुलाई १० कित्ता सेयर पाउनलाई चिठ्ठा पर्नुपर्छ । पुँजी बजारमा त्यस्तो उत्साह छ । त्यसको सदुपयोग गरेर २ करोड रुपैयाँको माइक्रोफाइनान्सले साधारण सेयर जारी गरेर नेप्सेमा सुचीकृत भइरहेका छन् । तर, २ अर्ब रुपैयाँ बढी बैंकबाट कर्जा चलाउने निजी कम्पनीहरु पुँजी बजारमा आउन सकिरहेका छैनन् । बैंकले नै कर्जा दिएन भनेर बैंकसँगै झगडा गरेर बसेको छन् ।

यदि मार्केट बेस्ड फाइनान्सियल इकोनोमिकको विकास हुने हो र पुँजी बजार आधारित हुने हो भने बैंकको लागि त उच्च प्रतिस्पर्धा सिर्जना हुन्छ । बैंक आफैमा पनि कम्पिटेटिभ (प्रतिस्पर्धात्मक) हुनुपर्छ । बैंकको सेवा, दररेट, खर्च लगायत प्रतिस्पर्धी हुनु पर्ने हुन्छ । मार्केट बेस फाइनान्सियल इकोनोमिको विकास हुँदा बैंकलाइ पनि चुनौती थप हुन्छ । उसको आत्मविस्वास घट्छ । त्यसैले लगानीकर्ताहरुको लागि दुबै किसिमको सम्भावित मार्केट विकास गर्नु पर्छ । लगानीकर्ताहरुले विकल्प पाउँछन् ।

बैंकमा जाँदैमा सबैले कर्जा पाउँदैनन्, कर्जा पाउने भनेको पुराना ऋणीहरुले नै हो । नयाँ फार्महरु गयो भने बैंकले पत्याउँदैनन् । त्यस्तो कम्पनीले पुँजी बजारको प्रयोग गर्यो भने धेरै अवसरहरु पाउँछन् । अहिले प्राइभेट इक्यिुटी मात्र छ । अन्य प्रकारको फण्डिङको पनि अध्ययन गरिने कुरा छ । पुँजी बजारमा गयो भने नयाँ कम्पनीहरुले पनि रिस्क सेयरिङ गर्न सक्छ ।

पुँजी बजारमा प्राथमिक र दोस्रो बजारको कुुरा छन् । प्राथमिक बजारबाट साधारण सेयर अर्थात् आइपीओ जारी हुन्छ । प्राथमिक बजारमा पहिलो पटक पुँजी बजारमा आउँने कम्पनीले स्रोत परिचालन गर्छ । त्यसमा सबै लगानीकर्ताको पहुँच हुनु पर्छ । पुँजी बजारका ५२ लाख डिम्याट खातावालाको लागि राम्रो पक्ष हो । प्राथमिक बजारमा थोरै पुँजी लगानी गरेर धेरै स्रोत संकलन गर्न सक्ने अवसर हो । त्यो अवसर र पहुँच सबैलाई हुनै पर्छ ।

पुँजी बजारको दास्रो बजारमा कारोबार गराउने विषय भनेको व्यवसायीक पक्ष हो । दोस्रो बजारमा समय दिएर पेसा नै त्यही बनाएर बिहानदेखि साँझसम्म समय दिएर व्यवसाय गर्ने लगानीकर्ता भने धेरै हुनुहुँदैन । त्यस्ता मान्छे भनेको थोरै नै भएको राम्रो हुन्छ ।

अहिले त कृषि व्यवसाय गर्ने किसान पनि सबै काम छोडर दोस्रो बजारमा आउँने, ठेक्का पट्टा गर्ने निर्माण व्यवसायी पनि छोडेर सेकेन्डरी मार्केटमै आउने, कर्मचारीहरु आफ्नो अफिसको काम छोडेर सेकेन्डरी मार्केटमै आउने हो भने अर्थ व्यवसायको अरु काममा अवरोध सिर्जना हुन्छ ।

रियल इकोनोमि भनेको पुँजी बजार नभएर उत्पादन हुने अन्य क्षेत्र हो । अहिले पुँजी बजारमा प्राथमिक बजारभन्दा दोस्रो बजारमा बढी केन्द्रित भएको देखिन्छ । ५२ लाख सबै मान्छेले बिजनेस नै दोस्रो बजारमै गर्नु पर्छ भन्ने धारणा पनि विकास भएको पाइन्छ । यो त्यति उपयुक्त होइन । किनभने एउटा आफ्नो पोर्टफोलियो ब्यालेन्स गर्न आइपीओमा सेयर हाल्नको लागि डिपोजिट राख्ने विषय ठिकै हो । तर सबै जना बिहानदेखि साँझसम्म कहिले बढ्छ भन्दै किन्ने र बेच्ने, कति खेर कमाउन सकिन्छ भन्नेमा ध्यान दिन थाल्यो भने अर्थतन्त्रमा अन्य गतिविधि प्रभावित हुन्छन् । त्यसैले हामीले पुँजी बजारको विकास र विस्तार गर्दै जाँदा यसलाई सन्तुलनमा राख्नुपनि जान्नु पर्छ ।

पुँजी बजारमा प्रत्येक व्यक्तिको पहुँच प्राथमिक बजारमा हुनु पर्छ । तर, प्राथमिक बजारका सबै लगानीकर्ता दोस्रो बजारमा पनि आउँनु पर्छ भन्ने धारणा राखेर काम गर्नु हुँदैन । अहिले दोस्रो बजार व्यवसाय जस्तो हुँदै जाँदा त्यसले विकृत ल्याउने जोखिम बढेको छ ।

 

दोस्रो बजारमा आउँने लगानीकर्ता भनेको जोखिम मुल्यांकन गर्न सक्ने हुनु पर्छ । कम्पनी बुझ्न सक्ने हुनुपर्छ । दोस्रो बजारमा आउँनको लागि धेरै कुरा बुझेरमात्रै आउँनु पर्छ । अहिले नेपालको पुँजी बजारमा ‘न्युज ट्रेडिङ’ भइरहेको हुन्छ । समचार आएकै भरमा धारण बनाएर सेयर बजारमा कारोबार गर्ने लगानीकर्ता धेरै हुन्छन् । यो नेपालमा मात्रै नभएर विश्वव्यापी रुपमा नै भइरहेको हुन्छ ।

रातभरी सुतेर भोलीपल्ट उठ्दा सेयर बजार तलमाथि भइरहेको हुन्छ । ओभर नाइट फण्डामेन्टल त परिवर्तन भएको हुँदैन तर सेयर मार्केट घण्टा घण्टामै परिवर्तन भइरहेको हुन्छ ।

पुँजी बजार उच्च अस्थिर र गतिशिल प्रकारको बजार हो । त्यसैले अन्य पेसा व्यवसायमा आवद्ध भएका सामान्य मानिसले काम गर्ने कि सेयर बजार कुन समयमा घटबढ भयो भनेर हेर्ने हो ? अहिलेका कर्मचारीहरु कार्यालयमा बसेर आफ्नो मुख्य काम नै छोडेर सेयर बजार बढ्दा रमाएर र घट्दा चिन्ता गरेर बसिरहेका हुन्छन् । सर्जनले सर्जरी गर्ने कि सेयर बजारमा कम्पनीहरुको मुल्य घटबढ भएको हेरेर बस्ने ?

पुँजी बजार विकास त हुनु पर्छ तर यस्तो प्रवृतिले धेरै नै विकास हुन थालेको भान हुन्छ । पुँजी बजारमा धेरै बैंक तथा वित्तीय संस्थाहरु भएको कारणले पनि हामीसँग बैंकको बारेमा के हुन्छ भन्दै सोध्ने गर्छन् । नियमक निकायम भएको कारणले धेरै कुरा भन्न मिल्दैन । त्यही पनि केही कुरा पाइन्छ कि भनेर सोधिरहेका हुन्छन् । यस्तो विषयमा सोध्ने भनेको धेरै जसो, कर्मचारीहरु, निर्माण व्यवसायीहरु, शिक्षक, डाक्टरहरु लगायत अन्य पेसा व्यवसायमा आवद्धहरुले सोधिरहेका हुन्छन् ।

यसले पनि हाम्रो वास्तविक जीवन भनेको पुँजी बजार नै हो कि भन्ने भान हुँदै गएको छ । मेहनत गर्यो, समय दिन सक्यो भने पैसा करोडौं कमाउन सकिने रहेछ । अहिले धेरै जसो गृहणीहरु पनि लाग्नु भएको छ ।

सेयर बजार त आफ्नो कारणले भन्दा पनि अन्य विभिन्न कारणले चलेको छ । कतिपय मानिसले यहाँ नाफा गर्नुभयो होला त कतिपयलाई समस्या पनि परेको होला । समर्गमा हेर्ने हो भने सेयर बजार भनेको प्राथमिक बजारमा मुल्यांकन सिर्जना गर्ने हो भने दास्रो बजारमा मुल्यांकन आदन प्रदान गर्ने हो । पुँजी बजारको विकासु अन्तै मोडिएको हो जस्तो मैले व्यक्ति गतरुपमा महशुुस गरेको छु । तर, यो पुँजी परिचालनको लागि भने धेरै महत्वपुर्ण क्षेत्र भने हो । यसले बैंकिङ क्षेत्रलाई चुनौती सिर्जना गर्नु पर्छ ।

अहिले बैंकले डिबेञ्चर नै साढे १० प्रतिशत ब्याजदरमा बिक्री गरिरहेको छ । उसले त्यसमा ‘इन्टर मिडियसन कस्ट’ जोड्नु पर्छ । त्यसलाई जोडेर गरेर ऋण दिने हो त्यो भनेको १४/१५ प्रतिशत घटी ऋण दिन सक्दैन तर ऋणीले आफै डिबेञ्चर निकाल्ने हो भने साढे १०/११ प्रतिशत ब्याजदरमा पैसा परिचालन गर्ने सक्थ्योे होला । तर यस विषयमा पुँजी बजारको अभ्यास के छ ? त्यो मेरो जानकारीमा भएन । यद्दपी आर्थिक दृष्टिकोणबाट हेर्दा विकल्प देखिन्छ ।

यहाँ अर्बौ ऋण लिने ठुला कम्पनीहरु छन् । उनीहरुले १६/१७ प्रतिशत महंगो ब्याजदरमा बैंकबाट ऋण लिएका हुन्छन् । उनीहरु पुँजी बजारमा जानु भयो भने आर्थिक लागत घट्छ । तर उनीहरु गइराख्नु भएको छैन । यस्तो अवसरको उनीहरुले सदुपयोग गर्नु भएको छैन । सम्बन्धित निकाय र लगानीकर्ताहरु हामी दिन तयार छौँ लिन आइजभन्दा पनि रियल सेक्टरका प्राइभेट कम्पनीहरु पुँजी बजारमा आउन सक्नु भएको छैन ।

वित्तीय साक्षरताको विषय पनि यहाँ उठेको थियो । बैंकमा निक्षेप राख्नु सजिलो हुन्छ । निक्षेप राख्न जाँदा जे गर्नु पर्ने सबै बैंकले नै गर्छ । निक्षेप राखेपछि चेक काट्ने र एटीएम चलाउन जाने भयो, अरु धेरै जान्नु पर्दैन । सेयर बजारमा अलि बढी बुझ्नु पर्ने हुन्छ । प्राविधिक पक्षहरुको बारेमा जानकार हुनुपर्छ ।

राष्ट्र बैंकले पनि वित्तीय साक्षरताको लागि कार्यक्रमहरु गरिरहेको छ भने, वित्तीय साक्षरता सम्बन्धि सर्वे पनि गरेका छौं । केही समयपछि त्यो सर्वेको रिपोर्ट सार्वजनिक हुन्छ । राष्ट्र बैंकले प्रदेश र जिल्लाअनुसार नै वित्तीय साक्षरता सम्बन्धि सर्वे गरेको हो । त्यसको रिपोर्ट आएपछि कुन जिल्लामा वित्तीय साक्षरताको अवस्था कस्तो छ भनेर थाहा हुन्छ ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.प्रकाश कुमार श्रेष्ठले नेपाल आर्थिक पत्रकार स‌घ (नाफिज) ले आयाेजना गरेकाे ‘पूँजीबजारको वर्तमान अवस्था र आगामी पाँच वर्षको सम्भावना’ विषयक अन्तरक्रिया राखेकाे विचारकाे सम्पादित अंश

प्रतिक्रिया दिनुहोस्