Shikhar Insurance

ग्लोबल आइएमई बैंकका कर्मचारीले लुटे ग्राहकको लाखौं पैसा,न्याय खोज्दा ज्यान मार्ने धम्की

बैंक भन्छः गल्ती भएकै हो, पैसा फिर्ता दिइसक्यौं
दिलु कार्की
२०७९ श्रावण २९, आईतवार १५:५४
NIMB
Nabil Bank

काठमाडौं । बैंक भनेको सर्वसाधारको पैसा सुरक्षित राख्ने र आवश्यक पर्दा ऋण सहयोग गर्ने संस्थाको रुपमा हामी सबैले स्वीकारेका हौं । घरमा केही पैसा राख्दा असुरक्षित होला भनेर सर्वसाधारणले २/४ हजार भएपनि बैंकमै जम्मा गर्ने प्रचलन तिव्र गतिमा बढेको छ ।

तर, पछिल्लो समय केही बैंकहरुमा सर्वसाधारणले विस्वास गरेर २/४ हजार गर्दै जम्मा निक्षेप नै असुरक्षित बन्दै गएको छ । त्यसको पछिल्लो उदारहण हो, ग्लोबल आइमई बैंक । बैंकको सिरहाको मिर्चैया शाखाले रक्षकको नाममा भक्षकको व्यवहार गरेको हो । बैंकको उक्त शाखाका कर्मचारीले फर्जी चेक बनाएर ग्राहकको लाखौं निक्षेप लुट्नुका साथै घटना लुकाउने प्रयासमा ग्राहकलाई ज्यान मार्नेसम्मको धम्की दिएको खुलासा भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

बैंकको सिराह मिर्चैया शाखाका प्रबन्धक, टेलर र कार्यलय सहयोगीले ग्राहक रामप्रयाग साहको खाताबाट फर्जी चेक बनाएर ८ लाख १२ हजार रुपैयाँ पैसा हिनामिना गरेका हुन् । सो घटना घटेको ४ महिना बढी भइसक्दा समेत साहले उक्त पैसा फिर्ता पाएका छैनन् भने बैंकले आफ्नै कर्मचारीको दोषी भएको पुष्टी गरेपनि उचित कारवाही गरेको छैन ।

यस्तो छ घटना क्रम पीडितको पक्षबाटः
धनुषा गोदारका रामप्रयाग साहले करिब ८ वर्ष अघि ग्लोबल आइएमई बैंक सिराहको मिर्चैया शाखा खाता खोलेका थिए । साधारण पढलेखसम्म नभएका साह पेसाले टिपर र जेसीबी चालक हुन् । उनी कामको सिलसिलामा इटहरी, राजविराज सिरहा लगायत पुर्वका विभिन्नका ठाँउमा पुग्ने गर्छन् । पढलेख नभएकै कारणले उनले बैंकमा चेक बाहेकका कुनै पनि सुविधा प्रयेग गरेका छैनन् । उनले बैंकलाई विस्वास गरेरै ७/८ वर्षमा ८ लाख बढी पैसा बैंकलाई जिम्मा दिएका हुन् । उनको खातामा पैसा जम्मा भएको वा झिकिएको जानकारी उनलाई फोन मार्फत आउँदैन त्यसको लागि उनी बैंकमै पुगेर मौज्दात निक्षेपको जानकारी लिनु पर्ने हुन्छ ।

तर, उनको कमजोरीको फाइदा उठाउँदै बैंक कर्मचारीले विस्वास घात गर्दै रक्षकको रुपमा भक्षक भएको प्रमाणित गरेको छ । रामप्रयाग साहको खातामा २०७७ चैत ३० गतेसम्म ८ लाख १२ हजार रुपैयाँ मौज्दात थियो ।

बैशाख ४ गते दाजु रामपति साहलाई २ लाख रुपैयाँको चेक भरेर दिए । तर, उनको दाई चेक साट्न बैंक पुग्दा खातामा शुन्य मौज्दात रहेको भन्दै बैंक कर्मचारीले भनेपछि उनले भाईलाई सो बारे फोनमार्फत् खबर गरे । केही समयमै रामप्रयागलाई बैंक शाखाका कार्यलय सहयोगी विजय महासेठको फोन आउँछ । महासेठले खातामा मौज्दात पैसाभन्दा बढीको चेक काटेपछि समस्या भएको भन्दै रामपतिले २ लाखको चेकमा एउटा शुन्य बढी राखेर २० लाख रुपैयाँको चेक काटेको आरोपसम्म लगाए । तर, रामप्रयाग भन्छन्,–‘तपाइको खातामा ८ लाख १२ हजार रुपैयाँ छ तर २० लाखको चेक काटेर हुन्छ भनेर बैंकको पिउनले फोन गरेको थियो । मलाई राम्रोसँग याद छ, अनपढ हुँला तर २ लाखमा कति वटा शुन्य राख्नु पर्छ भन्ने ज्ञान भने छ । मैले २ अंकको पछि ५ वटा शुन्यमात्रै राखेको थिए,’ उनले सिंहदरबारसँग भने ।

बैंकका कार्यलय साहयकले उनलाई चेक साट्न आउने मान्छेलाई भोलीपल्ट बैंक पठाए चेक साटिने जानकारी दिए । साहको दाईलाई भोलीपल्ट बैंक जाँदा २ लाख रुपैयाँ बैंकले दिएको थियो । उनलाई बैंकको कार्यलय साहायकले फोन गरेपछि केही गढबड होला भन्ने मनमा शंका उब्जिन थालेको साह बताउँछन् ।
‘बैंकको पिउनले मेरो नम्बर कसरी पायो ? अनि अरुले कर्मचारीको फोन नआएर पिउनले नै किन फोन गर्यो भनेर त्यही समयमै केही गढबड छ भन्ने शंका लागेको हो, तर मेरो पेसा र व्यवस्तताले गर्दा विस्तृतमा बुझ्न बैंक जाने समय नै भएन ।’

विजय महासेठले साहलाई खातामा मौज्दात पैसा फिक्स्ड डिपोजिटमा राख्न समेत बैखाश ८ गते नै भनेको थियो । तर, फिक्स्ड डिपोजिटमा राखेको पैसा ३ महिना अगावै निकाल्न नमिल्ने जानकारी भएपछि उनले सो गरेनन् ।

‘तपाइको पैसा ८ लाख १२ हजारमा २ लाख निकाल्यो अब ६ लाख १२ हजार छ त्यसलाई फिक्स्ड गर्यो भने ब्याज बढी आउँछ भनेको थियो । आवश्यकता अनुसार मलाई पैसा झिकिरहनु पर्ने हुँदा फिक्स्ड गर्दिन भनेको हुँ, तर पछिल्लो पटक चेक साट्न जाँदा त्यही पिउनले तपाईको पैसा फिक्स्ड भइसक्यो त्यही भएर खातामा देखाउँदैन भन्यो ।’
राम प्रयाग साह बैसाख १७ गते आफै १ लाख रुपैयाँको चेक लिएर साट्न बैंकको शाखामा पुगेका हुन् । तर, सो समय बैंकको टेलरको कर्मचारीले खातामा मौज्दात पैसा नभएको भन्दै उनी रामप्रयाग साह भएको मै शंका समेत गरे ।

‘चेक साट्न जाँदा काउण्टरमा बस्ने कर्मचारीले खातामा पैसा छैन भन्दै तपाई नै हो रामप्रयाग भन्ने व्यक्ति भन्यो, घर कहाँ हो ? के काम गर्नु हुन्छ ? भन्दै सोध्न थाल्यो । मैले आफ्नो बारेमा सबै भनेपछि टेलरमा बस्ने कर्मचारीले मेरो खाताबाट पैसा भिकिएको स्टेटमेन्ट दियो ।’

चैत ३० गते ६ लाख २५ हजार रुपैयाँ, सोही दिन १ लाख ५० हजार रुपैयाँ गरी ७ लाख ७५ हजार रुपैयाँ झिकिएको र बैशाख ४ गते ७ लाख ७५ हजार रुपैयाँ जम्मा गरि कुल ८ लाख ७५ हजार रुपैयाँ सो दिनसम्म मौज्दात रहेको जानकारी टेलरका कर्मचारीले साहलाई दिए ।

‘मैले त बैंकको कर्मचारीलाई तपाइले अर्को व्यक्तिको खाता हेर्दै हुनुन्छ, त्यो मेरो खातामा मैले तपाइले भने जसरी पैसा हालेकै छैन पनि भने । चोरले खाताबाट पैसा झिकेर पहिले नै चलाएको रहेछ, त्यसपछि दाई चेक साट्न गएपछि फेरी पैसा डिपोजिट गरेर २ लाख रुपैयाँ बैशाख ९ गते दाईलाई दिएको रहेछ ।’–उनले भने ।

बैंकले दिएको स्टेटमेन्टअनुसार आफ्नो खाताबाट पैसा झिक्न प्रयोग गरिएको चेक र साहको खल्तीमा भएको चेकको नम्बर मेल नखाने उनी बताउँछन् । आफ्नो खल्तीमा भएको चेक ४२३३४१ नम्बरदेखि ४२३३५० सम्मको भएको तर, चैत ३० गते रामप्रयागको नाममा काटिएको चेक फर्जी भएको बैंकले नै पुष्टी गरेको साह बताउँछन् ।
बैशाख ४ गते रामप्रयाग साहको सक्कली चेकबाट २ लाख रुपैयाँ पैसा झिकिएको छ भने, बैशाख ९ गते २ लाख १० हजार र बैशाख १२ गते ४ लाख रुपैयाँ फर्जी चेक बनाएर पैसा निकालिएको स्टेटमेन्ट बैंकले दिएको थियो ।

बैंकका शाखा प्रबन्धले साहलाई उक्त पैसा परिवारको सदस्यले निकालेको हुनसक्ने भन्दै सोबारे थप निर्योल आफै गर्न भने । तर, उनको घरबाट बैंकको उक्त शाखा कार्यलय १५ सय किलोमिटर टाढा भएको र घर परिवारमा चेक साट्न बैंक आउने सदस्य कोही नभएको उनी बताउँछन् ।
‘छोरा १२ वर्षको मात्रै भयो, श्रीमती बैंकसम्म जाने आँट गर्नसक्ने नै छैन, बुढेस्काल लागि सकेको आमा बुवा यति लामो बाटो आएर चेक साट्ने कुरै भएन । त्यही पनि चेक भनेको म जता जान्छु बोकेर हिड्ने गरेको छु । चेक बुक सकिएपछि अर्को चेक माग गर्ने चेक पनि मसँगै छ ।’

बैंकले उनको गुनासो सुनुवाई नगरी उल्टै आरोप लगाउन थालेपछि राम प्रयागले बैशाख २१ गते पैसा झिकिए र राखिएकोे दिनेका सिसिटिभि फुटेन हेर्न माग गरे । तर, बैंकले उनको मागलाई अस्वीकर गर्दै चोर पत्ता लगाएर पैसा फिर्ता गर्ने आश्वासन दियो ।

‘बैंकले पिउनको मात्रै नाम लिन्छ, लिखित रुपमा पिउनले गरेको हो भनेर लेखेर दिनुभन्दा मान्दैनन् । तर पिउन एक्लैले त यो सबै गर्न सक्दैन भनेर पैसा झिकेको दिनको सीसीटिभी फुटेज हेर्न माग्दा पनि बैंकले दिएन । भने पुरा स्टेटमे्न्ट पनि दिएन । पिउनले नै चोरेको हो पछि फिर्ता हुन्छ भन्दै मेनेजरले मलाई घर जानु भन्यो । तर, मैले मिर्चैया शाखाले नदिएपछि इटहरीको शाशामा गएर स्टेटमेन्ट मागे । उनीहरुले दिएको स्टेमेन्टमा सबै पैसा ‘सेल्फ’ भनेर निकालेको रहेछ ।’

बैंकको आश्वासनमा विस्वास गर्दै घर फकिएका रामप्रयाग साहलाई भोलीपल्ट बिहानै बैंकका कार्यलय सहयोगी विजय महासेठ आधा दर्जन बढी व्यक्तिहको हुल लिएर उनको घरमै पुगे । घर पुगेर ज्यान मार्ने धम्की दिँदै पैसा आफैले झिकेको, समय आएपछि फिर्ता दिने तर, बैंक लगायन प्रहरी प्रसाशनमा उजुरी गरे आफुले जे पनि गर्न सक्ने धम्की दिँदै तोडफेड गरेको साह सुनाउँछन् ।
‘विजय महासेठले अरु ४/५जना व्यत्ति लिएर आएको थियाे । ती व्यक्तिहरुमध्ये एक जनाले यो कुरा बाहिर गएर बिजयले जागिर छोड्नु पर्यो भने तिम्रो ज्यान पनि सुरक्षित रहँदैन, बाच्नु छ भने गुपचुप बस भन्दै घरको भाँडाकुँडा लातले हान्दै फटाउने बाहिर फ्याक्ने गर्न थाल्यो ।’ आफुलाई ज्यान मार्ने धम्की समेत दिन थालेपछि उनी स्थानीय प्रहरी समक्ष गुहार माग्दै पुगेका थिए ।

तर, प्रहरीले बैंकको शाखा आफ्नो क्षेत्रमा नपर्ने भन्दै मिर्चैया कै प्रहरीमा उजुरी दिन भनेको थियो । तर, सोही दिननै बैंकका तत्कालिन शाखा प्रमुख लोकनाथ पौडेलले साहलाई फोन गरेर बैंक बोलायो । शाखा प्रमुख पौडेलले कार्यलय सहयोगी विजय महासेठले फर्जी चेक बनाएर पैसा चलाएको पुष्टी गर्दै महासेठलाई माफी दिन आग्रह गरे ।

‘मेनेजरले बैशाख २२ गते बोलाएर विजयले फर्जी चेक बनाएर पैसा झिकेको रहेछ, चोर पत्ता लाग्यो, उसलाई माफी दिएर आफ्नो पैसा फिर्ता लानुस् भन्न थाले, तर अहिले ३ महिना बितिसक्दा पनि बैंकले पैसा फिर्ता दिएको छैन ।’ आफु अनपढ भएको र आफ्नो पक्षमा बोल्ने व्यक्ति नभएकै कारणले बैंकले पैसा फिर्ता दिन आनाकानी गरेको उनको गुनासो छ ।
‘बैंकले चोर पत्ता लगाएको हो भने चोर कर्मचारीलाई जागिरबाट निकाल्नु पर्ने तर, त्यो विजय महासेठ बैंकमै काम गरिरहेको छ । पुलिस रिपोर्ट गर्छुभन्दा बैंकको मेनेजरले प्रहरीको जाँदा तिम्रो पैसा फिर्ता आउँन समय लाग्छ, आउँछ नै भन्ने पनि छैन्, भोली गएर विजयले रिसिविमा तिम्रो ज्यानै लियो भनेपनि कानुनले ज्यान मार्नेलाई जेलमात्रै हाल्छ । ज्यानै लिदैँनन्, पैसा फिर्ता आउँछ भन्ने पनि ग्यारेन्टि केही छैन । बरु बैंकले नै पैसा फिर्ता गर्छ । भन्दै कुरा मिलाउन भनेको थियो ।’

आफुले ६/७ वर्ष लगाएर टिपर चलाएर जम्मा गरेको पैसा बैंककै कर्मचारीले लुटेर आफुलाई आत्माहत्या गर्ने अवस्थामा पुर्याएको उनको गुनासो छ ।
‘बैंकले प्रहरीको गइस भनेपनि पैसा पाउँदैनस्, ज्यान जोखिममा हुन्छ भन्छ, दुख गरेर कमाएको पैसा फिर्ता लिने अरु बाटो पनि थाहा छैन । बैंकमा राखेको पैसा त सुरक्षित छैन र बैंकमा पैसा राखेर लुटिएकै भारमा मेरो ज्यान सुरक्षित छैन् भने मैले आत्माहत्या गर्नुको विकल्प के होला? न्याय खोज्न मैले के गर्नु पर्ने हो ?’

ग्लोबल आइएमई बैंकको सिराह र्मिचैया शाखामा पटक पटक धाउँदा पनि साहले बैंक कर्मचारीबाटै लुटिएको पैसा आजसम्म फिर्ता पाउन सकेका छैनन् । रामप्रयाग साहको ६ लाख १२ हजार रुपैयाँ ग्लोबल आएमई बैंकका तत्कालिन मिर्चैया शाखा प्रबन्धक लोकनाथ पौडेल, टेलर बिष्णु शर्मा र कार्यलय सहयोगी विजय महासेठको मिलोमतोमा फर्जी चेक बनाएर लुटेका उनको दावी छ ।

‘बैंकले आज गर्छु भोली पैसा फिर्ता दिन्छु भन्दा भन्दै ३ महिना भुलाइसक्यो । कर्मचारीलाई पनि कारवाही गर्छु भन्ने मेनेजरको अहिले सरुवा भएर गाइघाटमा र कार्यलय सहयोगीलाई ताप्लेजुङ्ग सरुवा गरेको रहेछ । अहिले नयाँ मेनेजर सुरेश कुमार श्रेष्ठ आएका छन् । उनले यो विषयमा छानबिन हुन्छ आउनु भनेर एक पटक बोलाएका थिए, मेरो व्यक्तिगत कामले जानु सकिन अहिले वेवास्ता गरिरहेका छन् ।’
बैंकिङ कसुरमा फर्ड गरिएको रकम फिर्ता पीडितलाई दिलाएर कर्मचारीलाई कानुन अनुसार कारवाहीको पाटो खोज्न खोडेर बैंकले कर्मचारीको गल्ती डाकछोप गरिरहेको छ ।

यस्तो छ घटना क्रम पीडकको पक्षबाटः
ग्लोबल आइएमई बैंक प्रदेश नम्बर १ को सिराह जिल्ला मिर्चैया शाखामा गत जेठ १३ गतेसम्म उदरपुर गाईघाटका लोकनाथ पौडेल शाखा प्रवन्धक थिए । हाल उनी गाइघाटमै सरुवा भएर त्यहीको ग्लोबल आइएमई बैंक शाखा प्रबन्धक छन् ।

उनका अनुसार रामप्रयाग साह र बैंकका कार्यलय सहयोगी विजय महासेठ नातामा साला भिजानु हुन् । रामप्रयागको श्रीमती विजयको काकाको छोरी हो । पहिलेदेखि नै विजयले भिजानुको चेक ल्याउने खातामा जम्मा गर्ने लगायतका अन्य बैंकिङ कारोबार गर्थे । भिनाजु साहले् सहज वातावरण हुँदा सालालाई चेक दिएर पैसा भिक्ने र जम्मा गर्ने दिएको हुँदा त्यसैको फाइदा उठाएर विजय महासेठले रामप्रयागको पैसा हिनामिना गरेको बैंकका शाखा प्रवन्धक लोकनाथ पौडेल बताउँछन् ।

‘सहज वातावरण हुँदा भिनाजुको हस्तार कपी गरेको थियो होला, त्यही हस्ताक्षर प्रयोग गरेर मेरो भिनाजुको चेक बनाउनु पर्ने भनेर बनाउन लगाएको रहेछ, त्यो सीएसको पनि गल्ती हो । सम्बन्धि व्यक्ति नभइ चेक बनाइदिनु हुँदैन थियो । सीएस र टेलरको कर्मचारीलाई रामप्रयाग र विजयको सम्बन्धबारे थाहा भएकै हुँदा उनीहरुले चेक दिएका हुन् ।’– ग्लोबल आइएमई बैंक सिराह मिर्चैयाका तत्कालिन शाखा प्रमुख पौडेलले सिंहदरबारसँग भने ।

आफन्त भित्र सहज वातावरणको फाइदा उठाउँदै बैंकको कार्यलय सहयोगी विजय महासेठले आफ्नै भिनाजुको पैसा हिनामिना गरेको उनी स्वीकार गर्छन् । तर, हिनामिना भएको पैसा विजयबाट लिएर रामप्रयागलाई नै फिर्ता दिइसेकेको उनको दावी छ ।

‘विजयले १५ दिन जति पैसा गायब गरेकै हो, तर घटना बाहिर आउने वित्तिकै बैंकले रामप्रयाग र विजयलाई बोलाएर घटनाको टुग्गो लगाएको हो । बैशाख २२ गते नै हामी उहाँकै आफन्तको पसलमा जम्मा भएका थियौं बैंकमात्र नभएर त्यो भेलामा गाँउका पञ्च–भद्रहरु पनि थिए । विजयले घटना बाहिर आउने वित्तिकै खाततामा पुनः ६ लाख १२ हजार जम्मा गरेको रहेछ । रामप्रयागले सोही दिन नै सबै पैसा झिकेर लानु भएको हो ।’

रामप्रयागलाई सालो विजय महासेठको विरुद्धमा निवेदन दिन भन्दा पनि उक्त समय नदिएको हुँदा बैंकले कानुन अनुसार कारवाही गर्न नसकेपनि बैंकको तर्फबाट भने कारवाही गरेको उनको दावी छ ।
‘विजयले साथी लिएर रामप्रयागसँग घरमै गएर सम्झाउन खोज्दा भनाभन हुँदै तोडफोडसम्म भएको रहेछ, हामीले यो विषयमा हेड अफिसमो रिपोर्ट गरेपछि विजयलाई २ महिना निलम्बल गरेको पनि हो । पछि रामप्रयागले लिखित निवेदन नै नदिएपनि ग्रेड घटुवा गरेर ताप्लेजुङ्ग सरुवा गरेको हो । त्यो भन्दा अघि मैले घरपायक सरुवा मागेर गाइघाट आए ।’

रामप्रयाग साहले पैसा फिर्ता नपाएको दावी सरासर झुटो भएको उनको भनाइ छ । पारिवारीक झगडाका कारण बैंकले सानो गल्तीमा पनि ठुलो बदनामी झेल्नु परेको उनले गुनासो गरे । ‘घटना भएको २/३ महिना भयो । यो बीचमा सबै ठिक थियो, अहिले फेरी परिवारमा केही भएरै होला उहाँले मैले न्याय पाइन भन्दै फेरी आउनु भएछ ।’

 

GBIME

प्रतिक्रिया दिनुहोस्