‘घरभरि अशक्त, मनभरि आँधी’

सिंहदरबार संवाददाता
२०७९ भाद्र १, बुधबार १३:१०

बागलुङ । दुःखको चक्र कस्तो हुन्छ ? खगेश्वर उपाध्यायले जति अरू कस्ले झेले होला र ! छोरी शान्तिको बिहे भइसक्यो । घरमा भएका श्रीमती र दुई छोरा अशक्त छन् ।

बौद्धिक अपाङ्गताबाट गु्रजिरहेका उनीहरुको सुसार र लालनपालनको अभिभारा ६७ वर्षीय उपाध्यायको काँधमा छ । विसं २०५६ तिर उनकी श्रीमती जमुना लडेर गम्भीर घाइते भइन्। उपचारले केही वर्ष थामे पनि टाउकाको भित्री चोट बल्झिँदै गएर पछि बौद्धिक अपाङ्गताको स्थितिमा पुर्यायो ।

छोराहरु मित्रप्रसाद र लोकनाथ जन्मजात अशक्त छन् । जेठो छोरा २८ वर्षीय मित्रप्रसादमा छारे रोग पनि छ । छोरी शान्तिमा पनि अपाङ्गता थियो, उसको त बिहेवारी भयो, मलिन स्वरमा उपाध्यायले भने, “छोराहरु केही गर्न सक्दैनन्, श्रीमती पनि सुतेको सुतै हो, धन्न शौचालयसम्म आफैँ जान्छन् ।”

घरधन्दादेखि मेलापातसम्म एक्लै धान्नुपरेको उनले सुनाए । बागलुङ नगरपालिका–११ रायडाँडा, ओखलेका उपाध्यायले गाउँमा कृषि कार्य गरेर परिवारको गुजारा चलाइरहेका छन् । भगवान्ले बाटो लगाएका छन्, इष्टमित्रको बल छ, अरू हाम्रो केही उपाय छैन, उनले भने, सकुञ्जेल परिवार पाल्छु, त्यसपछि के विकल्प रह्यो र ? मेरा दाजुभाइ पनि कोही छैनन् ।”

गाउँको आमा समूहले दिएको ऋणबाट कुटानीपिसानी मिल चलाएपछि उपाध्यायलाई घरको गर्जो टार्न भने केही सहज भएको छ । समूहले उनलाई बिनाब्याज ५० हजार रुपैयाँ ऋण दिएको थियो । २५ हजार रुपैयाँ फर्काए, २५ हजार रुपैयाँ अझै तिर्न बाँकी छ, उनले भने, “मेरो घरको अवस्था हेरेर समूहले ब्याज मिनाहा गरिदिएको हो ।”

उनकोमा भैँसी, बाख्रापालन र खेतीपाती छ । सात बाख्रा पालेको आफूलाई हटाएर गाउँमा एउटा मात्र बाख्रा पाल्नेले सरकारी अनुदान पाएको भन्दै उनले गुनासो पोखे । अपाङ्गता भत्ताबाहेक राज्यका निकायबाट अरू कुनै सहयोग नपाएको उपाध्यायले बताए ।

नगरपालिकाले पूर्ण अशक्त भएका कारण उनकी श्रीमती जुमनालाई‘क वर्ग र छोराहरुलाई अति अशक्ततर्फ ‘ख’ वर्गको अपाङ्गता परिचयपत्र दिएको छ । श्रीमती जमुनामा बहुअपाङ्गता रहेको उपाध्यायले बताए । एकातिर बौद्धिक अर्कातिर शारीरिक अपाङ्गताबाट ६७ वर्षीया जमुना पीडित छिन् । श्रीमती ओछ्यान परेपछि चुल्होचौकोको काम उनले नै सम्हाल्दै आएका छन् । छोराहरुको रेखदेख गर्ने जिम्मा पनि उनिमाथि छ ।

छोराहरु सिधाबाटो भेटाए भने सामान्य हिँड्डुल गर्छन्, घुम्तीमा मोडिनुपर्छ भन्ने पनि थाहा छैन, केही समय विद्यालय पनि पठाएँ, तर अहिले आफ्नै नाम लेख्न जाँदैनन, उपाध्यायले भने, “ठूलो छोरा म यताउति गएँ भने औषधि खान पनि भुल्छ, औषधि छुट्यो भने लडिहाल्छ ।”

केही वर्षअघि अँगेनामा लड्दा मित्रप्रसादको हात जलेको थियो । छ पटकसम्म उपचारका लागि उनलाई पोखरा पुर्याएको उपाध्यायले बताए । वडास्तरीय अपाङ्गता सञ्जालकी अध्यक्ष गुमादेवी गौतमले उपाध्यायको परिवार अप्ठ्यारो स्थितिबाट गुज्रिरहेको बताए ।

बुबालाई तलमाथि केही भइहाले, बिरामी परेर थलिए परिवारको बिचल्ली हुने अवस्था छ, अध्यक्ष गौतमले भने, “वडा, नगरपालिका कसैले पनि उनलाई सहयोग गरेका छैनन्, अपाङ्गता भत्ताले मात्र कति पो थेग्छ र केही वर्षअघिसम्म लक्षित वर्गको कार्यक्रमबाट अपाङ्गता भएका व्यक्तिलाई आयआर्जनमा सहयोग भए पनि अहिले त्यो रोकिएको उनको भनाइ छ ।

छिपिँदो उमेरमा झन्झन् ठूला दुःखले उपाध्यायलाई घेर्दै लगेको छ । न आज ठीकठाक चलिरहेको छ, न भविष्यको टुङ्गो छ । निम्नवर्गीय परिवारमा जन्मनुको नियति, त्यहीँमाथि परिवारका सबै सदस्यमा अपाङ्गता हुनुको पीडा । छिनछिनमा मनमा दुःखको आँधी चले पनि उपाध्यायले हरेस भने खाएका छैनन् । घरको सहारा बन्नुभएको छ ।

सेतै फुलेको कपाल र चाउरिएको चेहेरा लिएर आफ्ना निरुपाय परिवारजनका लागि उनि सङ्घर्षरत छन् । सञ्जालका अनुसार रायडाँडामा मात्र ५० भन्दा बढी अपाङ्गता भएका व्यक्ति छन् । सोही ठाउँकी सीतादेवी सापकोटाको परिवारमा पनि चारजना अशक्त छन् । सीतादेवी, उहाँका श्रीमान् जगन्नाथ र दुई छोरामा शारीरिक अपाङ्गता छ । एक्ली छोरी दुर्गादेवीले घरपरिवार धान्दै आएका छन्।

एउटा छोरा त आश्रममा छन्, अरू तीनै जना घरमै अशक्त भएर बसेका छन्, सबैको सहारा छोरी दुर्गादेवी बनेका छन्, सञ्जालकी अध्यक्ष गौतमले भने, एकै घरका चार–चारजना अशक्त भएर थलिँदा त्यो परिवारको अवस्था कस्तो हुन्छ होला, सोच्दा पनि कहाली लाग्छ ।”

वडाध्यक्ष ज्ञानेन्द्र गौतमले एकाघरमा धेरै जना अशक्त हुँदा परिवारको अवस्था जटिल बनेको बताए । “त्यस्ता परिवारलाई आयआर्जनमा सामान्य सहयोग त भइरहेको छ तर ठ्याक्कै कार्यक्रम दिन सकिएको छैन, उनले भने, “अब व्यावसायिक कृषि र स–साना उद्यममा जोड्नेतिर लाग्छौँ, अपाङ्गता क्षेत्र हाम्रो प्राथमिकतामा छ ।”

उनले उपाध्यायको कुटानीपिसानी मिलमा वडाबाट अनुदान सहयोग दिएको बताए । वडाध्यक्ष गौतमले गाउँमा बस्ने त्यस्ता परिवारको जीवनयापन र दीर्घकालीन व्यवस्थापनमा राज्यले सघाउनुपर्ने धारणा राखे । “कतिपय त अपाङ्गता परिचयपत्र पाउनबाट पनि वञ्चित भइरहेका थिए, उनले भने, हाम्रै पहलमा परिचयपत्र दिलाइएको छ, अहिले मासिक रुपमा जीवन निर्वाह भत्ता आउने अवस्था बनेको छ ।” वडाध्यक्ष गौतमले उपाध्याय र सापकोटा परिवारको अवस्थाले आफूलाई पनि छोएको बताए ।

सोही वडाको धारापानी निवासी शेरबहादुर थापाका पनि दुई छोरीमा बौद्धिक अपाङ्गता छ । २३ वर्षीया छोरी यमुना र १६ वर्षीया रेनुकालाई नगरपालिकाले ‘ख’ वर्गको अपाङ्गता परिचयपत्र दिएको छ । नगरको महिला, बालबालिका तथा समाज कल्याण शाखाका प्रमुख सरस्वतीदेवी रेग्मीले नगरभित्र ५ सय ५० भन्दा बढी अपाङ्गता भएका व्यक्ति रहेको जानकारी दिए ।

उनका अनुसार ‘क’ वर्गको परिचयपत्र पाउने पूर्ण अशक्त व्यक्तिले मासिक ४ हजार र ‘ख’ वर्गका अति अशक्तले २ हजार १ सय रुपैयाँ भत्ता बुझ्छन् । ‘ग र घ’ वर्गमा पर्ने अपाङ्गता भएका व्यक्तिले भने राज्यले दिने अरू सुविधा र सहुलियत मात्र पाउँछन् ।

नगरबाट वार्षिक छुट्टिएको बजेटबाट अपाङ्गता भएका व्यक्तिलाई सहायता सामग्री वितरण गर्छौं, त्योबाहेक अरू विशेष कार्यक्रम पनि ल्याउन जरुरी छ, प्रमुख रेग्मीले भने, “वडा तहबाट पनि अपाङ्गता क्षेत्रमा बजेट छुट्टिने गरेको छ, आवश्यक समन्वय गरेर अब नयाँ योजना बनाउँछौँ ।”

प्रतिक्रिया दिनुहोस्