‘समाजवादीहरुको उद्धरण रटेर समाजवाद आउँदैन’

सिंहदरबार संवाददाता
२०७९ भाद्र ७, मंगलवार १४:१४

काठमाडौं । नेपालका समाजवादी चिन्तकको खोजी गर्दा विपी कोइराला र प्रदीप गिरीको नाम मुख्य रुपमा आउँछ । तर, प्रदीप गिरीले विपीको समाजवादमा के भने ? एसियाली समाजवाद सङ्गठनको जन्मदाता जयप्रकाश नारायण र लोहियाको समाजवादका बारेमा के भने? गान्धीका बारेमा के भने? यी सबैबाट पाएको निष्कर्षलाई गिरीले कसरी अनुशरण गरिरहेका थिए ? र अब नेपालले समाजवादको ढाँचा कस्तो भने ? यसमा बहस चलाउनुपर्ने भएको छ ।

गिरीले आफू समाजवादलाई स्थापित गर्न राजनीतिमा आएको बताएका थिए । उनले समाजवादलाई व्यावहारिक प्रयोगमा ल्याउन आश्रमसमेत खोले । गान्धी, लोहिया र जयप्रकाश नारायणको प्रभावमा परेर आश्रम खोल्न अग्रसर भएको धेरैपटक गिरी स्वयंले बताएका छन् ।

गिरीमा समाजवादको भोक जगाउने काम विपी कोइराला, जयप्रकाश नारायण र लोहियाले गरेका थिए । गिरी भन्ने गर्थे, ‘समाजवादको प्रचारप्रसार गर्नका लागि सन् १९५० मा बेलायतमा सोसियल इन्टरनेशनल स्थापना गरिएको थियो । यसमा विश्वका सोसियल डेमोक्रेटिक पार्टीहरु, प्रजातान्त्रिक पार्टीहरु सामेल हुँदै गएका थिए ।’ यसले ३ जुन १९५१ मा आफ्नो सम्मेलन गरेर एउटा घोषणापत्र जारी गरेको थियो । अहिले सोसियल इन्टरनेशनलमा विश्वका झन्डै एक सय ५० पार्टी सदस्य छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा यस सोसियल इन्टरनेशनलका उपाध्यक्षहरुमध्ये हुन् ।

सिङ्गो एसियामा समाजवादलाई कार्यान्वयन गर्ने ढाँचाहरुको तयारी हुने क्रम थियो । भारतमा गान्धीले अङ्ग्रेज गएर हुँदैन, उनीहरुको पद्धतिमा जानुपर्दछ भनेका थिए । भारतमा लोहिया र जयप्रकाश एकातिर र गान्धी अर्कोतिर थिए । विपी कोइराला र गिरीले भने, “सुरुआती अवस्थामा लोहिया र जयप्रकाश नारायणतर्फ ढल्केका थिए। भारतमा कांग्रेस सोसियल पार्टीको गठन भयो । भारतको कांग्रेस सोसियल पार्टीमा विपी कोइराला सामेल भए । विपी कोइरालाले आफ्नो डायरीमा किटेर लेखेका छन्, ‘म सबैभन्दा ज्यादा सम्मान आचार्य नरेन्द्रदेवलाई गर्दछु । जयप्रकाश पनि मेरो मित्र हो ।’

आचार्य नरेन्द्रदेव माक्र्सवादी थिए । जयप्रकाशसमेत आफूलाई माक्र्सवादी भन्थे । त्यसैको प्रभावमा विपीले आखिरी दिनसम्म ‘म माक्र्सवादी हो’ भनिराखे । विपीको भनाइ थियो ‘म माक्र्सलाई त मान्दछु तर लेलिनलाई मान्दिन । लेलिन थोरबहुत ठिकै थियो होला तर स्टालिनलाई त मान्दै मान्दिन ।’ विपीको यस तर्कमा प्रदीप गिरी शत्प्रतिशत सहमत थिए ।

गान्धीको मृत्युपछि जयप्रकाश नारायण सोह्रै आना गान्धीवादी भए । गान्धीजीको जीवनकालभरि उनले गान्धीको विरोध गरे । तिम्रो बाटो ठीक छैन भने । तर के भयो भगवान् जाने । पछि उनले भन्न थाले, “गान्धीजीको बाटो नै ठीक हो । राजनीतिमा हिंसा हुन्छ । हत्या हुन्छ । बैर हुन्छ । झगडा हुन्छ । यसमा लाग्नु हुँदैन ।” “घृणा गर्नु हुँदैन, प्रेम गर्नु पर्दछ ।”

जयप्रकाशले म सत्ताको राजनीति गर्दिनँ भने । उनले सत्ताको मात्र होइन, म दलको राजनीति पनि गर्दिनँ भने । उनले सन् १९५४ मा आफूले स्थापना गरेको पार्टीबाट, जुन पार्टीको उनि सर्वोच्च नेता बने, त्यसको सदस्यबाट समेत राजीनामा गरे । यी सबै कुरा नजिकबाट बुझेका गिरीले पनि सत्ताको राजनीति नगर्ने सङ्कल्प गरे । उनले राजनीतिमा हिंसा हत्या हुन्छ यसमा बैर गर्नु हुँदैन भनेर नेपालमा दसवर्षे जनयुद्ध गरेका माओवादीहरुसँग कहिल्यै वैरभाव राखेनन् । जयप्रकाशले जसरी गान्धीको समर्थन गरे, गिरीले पनि त्यसैगरी नेपालमा गान्धीको प्रशंसामा दर्जनौँ लेख लेखे र त्यत्तिकै मात्रामा गोष्ठी, छलफलहरु चलाए ।

जयप्रकाश नारायणले पार्टीको पद त्याग गर्दा विपी कोइराला नेपालमा गृहमन्त्री पदबाट राजीनामा गरेका थिए। कोइराला पार्टी निर्माणको काममा लागेका थिए । जयप्रकाश नारायणको दल त्यागलाई कोइरालाले उपहासको दृष्टिकोणले हेरेका थिए । सिङ्गो कोइराला परिवारले दल त्याग वा पद छोड्ने कुरालाई अहिले पनि उपहासकै रुपमा लिन्छ । विपीले उपहास गरेको कुरा त भोला चटर्जीलाई लेखेको चिट्ठीमा पाइन्छ । तर, प्रदीप गिरीले यस मामलामा विपीलाई नपछ्याएर जयप्रकाश नारायणलाई पछ्याएका थिए। गिरीले मन्त्री, प्रधानमन्त्री या राष्ट्रपतिको पदका लागि कहिल्यै चाहना गरेनन् । विपीले राष्ट्रियताको मामिलामा राजा र मेरो घाँटी एकसाथ छ भनेर राष्ट्रिय मेलमिलाप नीति लिएको गिरीलाई मन परेको थिएन । त्यसैले गिरीले विपीको दसवटा सबल पक्षको कुरा गर्दा कतै न कतैबाट एउटा दुर्वल पक्ष घुसाइहाल्ने गर्थे।

उमेर छिप्पिँदै गएपछि जयप्रकाश नारायण जनताबाट पनि सिक्नुपर्ने कुरा धेरै छ भन्दै जनताको समीपमा गएर आश्रमसमेत खोलेका थिए । जुन आश्रममा जयप्रकाशकै निमन्त्रणामा गिरी र शैलजा आचार्यसँगै गएका थिए । त्यसबेला गिरी र शैलजालाई लिनका लागि हात्ती पठाइदिने कुरा थियो । तर हात्ती नआएपछि दुवैजना एउटा नदी तरेर जानु परेको थियो । नदी तर्ने क्रममा शैलजाको चप्पल टुटेकाले उक्त चप्पल गिरीले बोकेर लगिदिएको प्रसङ्ग गिरीले आश्रममै रोमान्टिक पाराले सुनाएका थिए । यसले यी दुई बीचको मित्रतासमेत राधा र कृष्णको जस्तै रहको सुन्नेहरुले अनुभूति गर्दथे । यही सिकाइले नै प्रदीप गिरीले पनि आश्रम खोलेर गाउँलेहरुसँग सम्पर्क बढाएका थिए।

एसियाका समाजवादीहरुले एउटा एसियाली समाजवादी सङ्गठन खोल्नुपर्दछ भनेर सोच राखेका थिए । त्यस सिलसिलामा विपीले नेपाली क्रान्तिको तयारी गर्दा जयप्रकाश र लोहियाले कोइरालालाई एकपटक बर्मा पुगेर आउन अनुरोध गरे । विपी पहिले बर्मा गए । भारतीय समाजवादी पार्टीको अर्थात् जयप्रकाश लोहियाको दूत बनेर गए । त्यसरी दूत बनेर जाँदा कोइरालाको बर्माका समाजवादीहरुसँग परिचय भयो । दूत बन्नुको तात्पर्य के थियो भने विपी नेपालका नेता थिए । त्यहाँ कार्यक्रम थियो–एसियाली समाजवादी सम्मेलन गर्ने । त्यही निउँ पारेर विपीले ‘हामी नेपालमा क्रान्ति गर्न खोज्दैछौँ, भोलि भैपरी आउँदा तपाइँहरुले के गर्नुहुन्छ ।’ भन्ने प्रश्न गरे। त्यतिबेला बर्मामा बर्मेली जनताको सरकार बनिसकेको थियो । यस घटनाले लोहिया, जयप्रकाश र विपी एक साथ नेपाल र भारतमा समाजवाद ल्याउन चाहनुहुन्थ्यो भन्ने प्रमाणित हुन्छ । राजसंस्थाको दबदबा बढी भएको तथा भारतको जवाहरलाल नेहरु र इन्दिरा गान्धीको सरकारले विपी कोइराला लोहिया र जप्रकाशसँग मिलेको देखेर नेपालका राजा महेन्द्रलाई उकासेर दिनसम्म दुःख दिए ।

एसियामा नयाँ किसिमले समाजवादको जग बसिरहेको बेला नेपालका समाजवादी नेता विपी कोइराला आफ्नो सत्ता सङ्घर्षमा व्यस्त थिए । मौलिक कुरा सोच्ने उनलाई फुर्सद भएन र भन्न थाले, पहिले प्रजातन्त्र ल्याउँ त्यसपछि समाजवाद ल्याउँला । यता नेपालमा प्रजातन्त्र आयो उता भारतमा समाजवादी आन्दोलन छिन्नभिन्न भयो । भारतको सोसियल पार्टी दुई भागमा बाँडियो । एउटा बन्यो प्रजा सोसलिष्ट पार्टी जसमा जयप्रकाश नारायण थिए । अर्को बन्यो लोहियाले नेतृत्व गरेको सोसलिष्ट पार्टी ।

दुवैको झगडा देखेर विपी कोइरालासमेत खिन्न भए । विपीको सहानुभूति जयप्रकाश नारायणतिर थियो र लोहियाको विरोधी अशोक मेहतालाई साथ दिए। यसबाट विपी लोहिया विरोधी देखिए । यता विपी जेल परे । झन्डै आठ वर्ष जेल बसेर विपी बाहिर निस्किँदा भारतमा समाजवादी आन्दोलन कहीँ थिएन । जयप्रकाश नारायण थिए तर उहाँ राजनीतिबाट टाढी सकेका थिए । स्वयम् विपी अत्यन्त अप्ठेरो परिस्थितिमा नेपालबाट निस्किएका थिए । विकट परिस्थितिको सामना गरिरहेका विपी र भारतीय समाजवादीका निम्ति सिद्धान्त गौण भएर गएको थियो । जयप्रकाश कट्टर गान्धीवादी भइसकेका थिए । लोहियाको मृत्यु भइसकेको थियो ।

त्योभन्दा पनि ठूलो कुरा विश्वको परिवेश बदलिएको थियो । विपीले पढेको जमानाको लेखेको जमानाको विश्व थिएन । त्यसपछि अगाडि के गर्ने भन्ने प्रश्न एसियाको अगाडि आएको थियो । विपी कोइराला एसियाली समाजवादी आन्दोलनमा सहभागी भए । उनको बौद्धिक विलक्षणता, उनको तारुण्य, उनको बलिदान गर्ने क्षमता, उनको साहसिकताले नेपाल बाहिरका मानिसलाई पनि मन्त्रमुग्ध गरेर राखेको थियो ।

एकसय वर्षपछि १९६९ मा गान्धीको जन्म शताब्दी बनारसमा मनाइयो । विपी कोइरालाका अग्रज मित्र जयप्रकाश नारायणले गान्धी विद्या संस्थान स्थापित गरेका थिए । गान्धी विद्या संस्थानको त्यस परिसरमा विपीले २ अक्टुवर १९६९ मा गान्धीका बारेमा भाषण दिँदै भनेका थिए, ‘तेस्रो विश्वको विकासका बारेमा गान्धीको कुनै उपयोगिता छैन । खासगरेर नेपाल जस्तो तानाशाही मुलुकमा गान्धीको कुनै प्रासंगिकता छैन ।’ विपीले सोही भाषणमा भनेका थिए, “हतियार बन्द क्रान्तिले मात्रै राजालाई शिक्षा दिन सक्छ ।” विपीको यही विचारसँगै नेपाली कांग्रेस सशस्त्र आन्दोलनमा गएको थियो जुन प्रदीप गिरीले मन पराएका थिए । गिरीले एक प्रसङ्गमा भनेका थिए, ‘जब कांग्रेस सशस्त्र आन्दोलनमा जान लागेपछि दिक्क लागेर म स्वामी विवेकानन्दको आश्रमतर्फ लागेँ ।’ गिरी र विपी कोइरालाबीच यहाँ पनि विमति भएको थियो ।

त्यसैले विपीले आफ्नो समाजवादको चिन्तनलाई प्रयोगमा ल्याउन पाएन । प्रदीप गिरीले पनि मौका पाएन । लोहिया र जयप्रकाशको अनुयायी भएकाले गिरीलाई भारतको सत्तापक्षले कहिल्यै सहयोग गरेन र त्यसको आडमा गिरीजाप्रसाद कोइरालाले समेत राजनीतिबाट लखेट्ने प्रयास गरी नै रहे । गिरीले आफ्नो राजनीतिक भविष्य सुरक्षित गर्नमा नै धेरै वर्ष खेर फाल्नुपर्यो । पछिल्लो समय नेपाली कांग्रेसमा शेरबहादुर देउवा पार्टी अध्यक्ष र प्रधानमन्त्री भएपछि गिरीले अलि कति राजनीतिमा इच्छाअनुसार तङ्ग्रिने अवसर पाएका हुन् । तर त्यसबेलासम्म समय कम बाँकी रहेको थियो । राम्रो काम गर्नेलाई दैवले छिटै चुँडेर लान्छ भने

जस्तै यही भदौ ४ गते शनिबार राति ९ बजेर ३६ मिनेटमा उनको आत्माले शरीर त्याग्यो । उनको आत्मा अमर छ । गिरीका अनुयायीहरुले उहाँको नाममा प्रदीप गिरी इन्स्टिच्युट खोलेर समाजवादको नेपाल सुहाउदो ढाँचा बनाउने र गिरीले दिन खोजेको समाजवादको विचारलाई व्यवहारमा लागू गराउने प्रयत्न गर्नु पर्दछ ।

नेपालमा केही यस्ता व्यक्ति पनि छन्, जसले अङ्ग्रेजीका दुई चार सैद्धान्तिक पुस्तक पढेको भरमा आफूलाई राजनीतिक पण्डित ठान्दछन् । तर उनीहरुले त्यो पुस्तकको राजनीतिलाई व्यवहारमा उतार्न सकेका हुँदैनन् । जबसम्म जनताले सिद्धान्तलाई व्यवहारमा स्वीकार गर्दैनन्, तबसम्म त्यो असफल नै हुन्छ भन्ने प्रदीप गिरीले भन्ने गर्नुहुन्थ्यो ।

लोहिया र जयप्रकाशले गाउँ घुमेर ‘राज्यले बनाएको विकासको मोडल एकातिर छ, नागरिकको आवश्यकता अर्कोतिर भइरहेको छ’ भन्ने पत्ता लगाएका थिए । प्रदीप गिरीले समेत पछिल्लो चरणमा आश्रमको माध्यमबाट छिमेकी गाउँहरु घुमेर उनीहरुको आवश्यकता र केन्द्रबाट सरकारले थोपरेको विकासका मोडलहरुमा धेरै फरक देखे । यो फरक नहटाएसम्म विकास सम्भव छैन भन्ने उहाँलाई लाग्यो । संसद्मा यस विषयमा अर्थमन्त्रीहरुको योजना बनाउने योग्यतामा उनले प्रश्न उठाए । उता सुरुमा गान्धी केही पनि होइनन् भन्ने विपी कोइराला अन्तिमतिर आएर ‘मनुष्य नै सब कुछ हुन, विकास भनेको राजनीतिक प्रक्रिया हो’ भन्न थाले । कोइरालाले मानिसलाई विकासमा सामिल नगर्दासम्म विकास हुँदैन भन्न थाले । यसलाई गिरीले मुक्तकण्ठले प्रशंसा गरेका थिए ।

गिरीको तर्कमा विपीले समाजवादका बुँदाबुँदालाई व्याख्या गरेको पाइँदैन । गिरीले एउटा परिवारमा के के चाहिन्छ भनेर मात्र समाजवादको पूर्ण व्याख्या हुँदैन भने । तर विपीले जे जति सोच दिएका थिए, त्यसलाई आधार मानेर अहिले नयाँ परिवेशअनुसार त्यसमा रुपान्तरण गर्दै अनुशरण गर्नुपर्ने कुरा प्रदीप गिरीले जोड दिएका थिए । उनकै शैलीमा डा शेखर कोइराला, स्वयम् नेपाली कांग्रेसका पार्टी अध्यक्ष शेरबहादुर देउवाले समेत बेलाबखत यो विषय उठाउने गरेका छन् ।

प्रदीप गिरीले दिएका प्रत्येक भाषण र लेखहरुमा समाजवादको ढाँचामा राख्नु पर्ने केही न केही वाक्यहरु छन् । यसलाई एकीकृत गरेर एउटा सिङ्गो ढाँचा बनाउन सकिन्छ । हिम्मत गरेर भन्नुपर्दा प्रदीप गिरीले अनौपचारिक छलफलमा हामीलाई भनेजस्तै ‘गान्धीको उद्धरण दोहो¥याएर, विपीको उद्धरण दोहो¥याएर हामी कहीँ पुग्दैनौँ ।’ अब पनि कांग्रेसका दस्तावेजमा दूध बाँड्ने कुरा लेखेर युवा पुस्तालाई रटाइरहनु हुन्न । हामी आत्माबाट बोल्दैनौँ । हामी सोचेको कुरा बोल्दैनौँ । हामी थोत्रा साक्षीहरु पल्टाउँछौ । साँच्चै भन्ने हो भने हिन्दू पण्डितले ‘यत्रम् तत्रम्’ भनेजस्तै हाम्रो राजनीति चलिरहेको छ । ‘समाजवादीको उद्धरण रटेर समाजवाद आउनै सक्दैन’ यो भनाइ प्रदीप गिरीको हो ।

गिरीले दुई वर्षअघि बस्तीपुर आश्रममा लेखकलाई भनेका थिए, ‘जसरी भारतमा इन्दिरा गान्धीका विरुद्ध गरिने आन्दोलनको नेतृत्व गर्न जयप्रकाश नारायणलाई भनियो र उनि तयार पनि भए । त्यसैगरी म पनि सत्तामा नजाने सर्तमा आवश्यक परे नयाँ आन्दोलनको नेतृत्व लिन तयार छु ।’ राजनीति छोडेर आश्रम बसेका जयप्रकाश जसरी आन्दोलनको नेतृत्व गर्न अग्रसर भए, त्यस्तै अनुशरण गरेर प्रयोग गर्नका लागि गिरी इच्छुक थियो।

अहिले गिरी त छैनन् तर उनका अनुयायीहरुले नेपाली माटो सुहाउँदो समाजवादका लागि एकपटक आन्दोलन गर्न आवश्यक छ । गिरीले नेपालमा एकै किसिमको समाजवाद लागू गरे असफल हुन्छ । उनि मधेसमा एक किसिमको हिमाली क्षेत्रमा एक किसिमको, कर्णालीमा एक किसिमको र उपत्यकामा अर्को किसिमको समाजवादका ढाँचाहरु लागू गर्नु पर्दछ भन्थे। अब विपी कोइराला र प्रदीप गिरीका अनुयायीहरुले दुवै दार्शनिकहरुको विचारलाई ‘फ्युजन’ गरी नेपाली समाजवादको नयाँ ढाँचा तयार गर्नु पर्दछ । यसमा भुइँ मान्छेको आवश्यकता र चाहनालाई प्राथमिकता दिनु पर्दछ । यसो गरियो भने विपी कोइराला र प्रदीप गिरीप्रति न्याय गरिएको ठहरिने छ ।

प्रतिक्रिया दिनुहोस्