‘अहिले धान गोडमेल गरिरहेका हुन्थ्यौँ’, कुचेखोलामा आएको बाढीले सर्वस्व लुट्यो

सिंहदरबार संवाददाता
२०७९ भाद्र २१, मंगलवार १८:१६

बझाङ । खप्तडछान्ना गाउँपालिका–१ डाँडागाउँकी तुलसीदेवी जोशीलाई आजकाल पौवा स्कुलभन्दा उता जानै मन लाग्दैन । घरको छेउमा सानो करेसाबारीमै उनको दैनिकी बित्छ । खेतबारी केही नभएपछि उनको दैनिकी घरको आँगनमै बित्न थालेको हो । पौवाभन्दा पर जान खोज्दा उनी आफैँ बेचैन हुन्छिन् । अहिले त उनलाई पौवासमेत नगएको वर्ष दिन हुन लाग्यो ।

पौवाको डाँडाबाट कुचेखोला पुग्न १० मिनेट लाग्छ । पौवा पुग्ने वित्तिकै सम्पूर्ण कुचेखोलाको दृश्य देखिन्छ । कुचेखोलाको त्यो दृश्य तुलसीदेवीको मनमा नमेटिने दाग बनेको छ । गत वर्ष आएको अविरल वर्षाका कारण कुचेखोलामा आएको बाढीले तुलसीदेवीको छानोसहित सर्वस्व लुट्यो । राति खाना खाएर श्रीमान् मदन जोशीसहित सुतेका जोशी दम्पतीले मध्यराति नै भाग्नुपरेको थियो । भाग्न खोज्दा बाढीकै चपेटामा परेर सख्त घाइतेसमेत भएका थिए उनीहरू । बिहान झिसमिसेमा त हेर्दाहेर्दै छानोसहित गोठमा बाँधेका चौपायासमेत नदेखिने गरी बाढीले निल्यो ।

जोशी दम्पतीको मात्रै कुचेखोलामा २८ बोरा धान फल्ने खेत थियो । नजिकै एउटा घर, गोठभरि वस्तुभाउसहित कुचेखोलाको जिउलोको छेउमा राम्रै चल्दै थियो उनीहरूको दिनचर्या । तर, उनीहरूको व्यस्त दैनिकी लामो समय भने टिकेन । गत वर्ष कात्तिक २ गते आएको बाढीले क्षणभरमै बगर बनायो । अहिले उनीहरूसँग खेत तथा वस्तुको नाममा शून्य छ । भदौको महिना कुचेखोलामा गोडमेल गर्ने देउडा गाउँदै गोडमेल गरिरहेका हुन्थे ।

“अहिले हामी खेतमा गोडमेल गरिरहेका हुन्थ्यौँ, खेतभरि खेताला गाउँदै गोडमेल गरिरहेका हुन्थे । निकै रमाइलो हुन्थ्यो । अहिले रहर लाग्छ तर, खेतीपाती केही छैन, उनले दुःखेसो पोखिन् ।

डाँडागाउँकी सत्यदेवी जोशीको समस्या पनि तुलसीदेवीको जस्तै छ । असोजको अन्तिमतिर बाली भित्र्याउने चटारो चलेको बेला आधा धानसहित खेत बाढीले निल्यो । असोज ३० गते पणिमु (पालैपालो एक अर्काको काम गर्नु) गरेर बाली काटेका थियौँ, सत्यदेवीले भनिन्, “धान काटेर सुकाएका ३/४ बोरा धान घर लग्यौँ । बाँकी रात परेको हुँदा ३/४ बोरा धान भोलि लिने भन्दै खेतको छेउतिर त्रिपालले छोपेकी थिएँ । भोलिपल्ट झरी आयो । पर्सि जाँदा धान मात्रै होइन खेतसमेत बगर बनिसकेको रहेछ ।”

अहिले सत्यदेवीको पनि कुचेखोला जिउलोमा जान बाटो बन्द जस्तै भएको छ ।“एउटै खेत थियो । त्यसैबाट वर्षभरि गुजारा गर्नुपथ्र्यो । अब त त्यो पनि रहेन । अहिले ऋण जोहो गर्दै किनेर खाइरहेका छौँ, उनले भनिन् । पौवाको डाँडामा गएर गोडमेल गर्ने समय सम्झिँदै टोलाउँछिन् र भन्छिन्, “अबको १० पुस्तापछि पनि कुचेखोलाको अनुहार फर्किंदैन होला । त्यो सुन्दर जिउलो अब सम्झनामा मात्रै सीमित रह्यो । खेतमा व्यवसाय गर्ने सपना पनि अधुरै रह्यो ।”

डाँडागाउँमा तुलसीदेवी र सत्यदेवीको जस्तै समस्या सबै गाउँलेको छ । खप्तडछान्ना गाउँपालिका–१ का वडाध्यक्ष देवीभक्त जोशीको पनि कुचेखोला जिउलोमा १० रोपनी खेत थियो । गत वर्षको बाढीपछि उनको परिवारलाई आवतजावतमा कुचेखोला बाधक बनेको छ ।

देवीभक्तको परिवारले खेतमा तरकारी खेती गर्ने सोच बनाएका थियो । वर्षभरिमा उब्जनी भएको धान तथा गहुँभन्दा व्यावसायिकरूपमा तरकारी खेती गर्ने सोच थियो तर त्यो सोचमै सीमित रह्यो, उनि भनिछन्, “करिब ३ सय बोरा धान फल्ने कुचेखोलामा अहिले बगर मात्रै छ ।”

गत वर्ष दर्जनौँ चौपाया, दर्जनभन्दा बढी साना गोठ, बिघौँ खेतीयोग्य जमिन तथा जङ्गलको भाग क्षणभरमै कुचेखोलाले बगर बनाएको थियो । कुचेखोलामा मात्रै होइन, खप्तडछान्ना गाउँपालिकाका विभिन्न स्थानमा गत वर्ष आएको बाढीले करोडौँको क्षति भएको थियो । गडरायदेखि ऐरगाउँसम्म बाढीले वितण्डा मच्चाउँदा करोडौँको भौतिक क्षति भएको थियो भने सयौँ परिवार घरबारविहीन भएका थिए ।

बाढीमा छ जनाले ज्यान गुमाएका थिए । गाउँपालिकाका अनुसार गाउँपालिकाभरि मात्रै करिब ९९ करोड रूपैयाँ बराबरको भौतिक सम्पति नोक्सान भएको थियो । घर, खेतीयोग्य जमिन, कुलो नहर, विद्यालय, सडक, बाटोघाटो, पुल, खानेपानी गरी करोडौँको क्षति भएको गाउँपालिकाका सूचना अधिकारी ऐनबहादुर रोकायाले बताए ।

गत वर्ष बाढीको चपेटामा परेका परिवार तथा नोक्सान भएका भौतिक संरचनाको निर्माणका लागि गाउँपालिकाले सहयोग गर्ने गाउँपालिका अध्यक्ष उत्तमबहादुर रोकायाले बताए । अघिल्लो पटक पालिकाले सहयोग गर्ने घोषणा गरेको थियो । तर, पैसा थिएन । यो पटक भने पीडितका लागि र केही आवासका लागि केही रकम छुट्याइएको छ । त्यही कार्यान्वयन गर्छौँ । उनहरूको समस्या पनि समाधान हुन्छ ।”

अध्यक्ष रोकायाले छान्नामा भएको क्षतिबारे सरकारका विभिन्न निकायको पनि ध्यानाकर्षण गरिएको बताए । उनले भने, “यो सबै क्षतिलाई पहिल्यैकै अवस्थामा पुर्याउन र स्थानान्तरण गर्नका लागि गाउँपालिकाको बजेटले पुग्दैन । त्यसका लागि गृहमन्त्रीसहित सबैको ध्यानाकर्षण गरेका छौँ । उनिहरूले आश्वासन दिएका छन् । हामी पनि त्यसको ताकेता गरिरहेका छौँ ।”

प्रतिक्रिया दिनुहोस्