होमस्टेले फेरिएको जीवन

सिंहदरबार संवाददाता
२०७९ भाद्र २३, बिहीबार १३:५०

मध्यविन्दु । नवलपरासी पूर्वको कावासोती नगरपालिका–१५ बाघखोरमा रहेको हमार गाउँ दिगो पर्यटन सहकारीमा पुग्दा धनमाया महतो कम्प्युटरमा बचतको तथ्याङ्क राख्न व्यस्त थिइन् । बिहान १० देखि साँझको चार बजेसम्म सहकारीको व्यवस्थापकको भूमिकामा व्यस्त उनि बाघखोरका महिलाको नेतृत्व गर्छिन् । अमलटारी मध्यवर्ती सामुदायिक होमस्टेमा ३१ घर सञ्चालनमा छन्, जसमध्येको छ नम्बर होमस्टे उनकै हुन् । साँझ र बिहानको समयमा पाहुनालाई खाना खुवाउन र स्वागतमा व्यस्त हुने महतोलार्ई काममा उनका श्रीमान्ले सघाउछन् ।

करिब १३ वर्षअघि नवलपुरकै बेल्डिहाबाट विवाह गरेर बाघखोर आएकी धनमायालाई पहिले त्यस गाउँमा बस्नै मन लाग्दैनथ्यो । चार वर्ष मलेसिया बसेर नेपाल फर्किएका बेला धनमायासँग विवाह बन्धनमा बाँधिएका श्रीमान्ले विवाहको एक महिनामा उनलाई घरमै छोडेर धन कमाउन परदेश लागे । नयाँ ठाउँ, नयाँ परिवेशमा उनलाई दिन बिताउन कठिन हुने गर्दथ्यो । कहिल्यै मेलापात नहिँडेकी धनमायालाई खेतबारीमा काम गर्न बानी पार्न निकै समय लाग्यो । तेह्र वर्षअघिका ती दिन सम्झँदा उनलाई त्यस्तो दुःख नि गरेकी रहेछु, सायद दुःख पछिको सुख भनेको यही होला भन्ने महसुस हुन्छ ।

बिहान नौ बजेदेखि साँझ सात बजेसम्म एक घण्टाको २५ को दरमा मेलामा हिँडेका दिनले महतोलाई आजभोलि झस्काइरहन्छ । घरमा जेठी बुहारी भएको र देवर पढ्दै गरेको हुँदा खर्च जुटाउन कठिन रहेको समय सम्झँदै उनले भनिन्, बाघखोर गाउँका सबै पुरुष कमाउन विदेश जाने र महिला मेलापात गरेर घरखर्च टार्नुपर्ने अवस्था थियो ।” अगाडि भएको कम्प्युटरमा टाइप गर्दै धनमायाले थपिन्, “मेला जानु र जङ्गल गएर दाउरा ल्याएर बेच्नु वा प्रयोग गर्नुको यहाँ अरु विकल्प केही थिएन ।”

“स्नातक पास गरेर विवाह गरे पनि मेला नगई हुँदैनथ्यो, गाउँको परिवेश त्यस्तै, जताततै फोहोर, बाटो राम्रो थिएन । होमस्टेको सुरुआत गरिएपछि सबैतिर विस्तारै विकास भयो, धनमायाले विगत सुनाए । विसं २०७० देखि गाउँमा होमस्टे सञ्चालनमा आएपछि उहाँको जीवनले पनि फड्को मार्यो ।

धनमाया भन्छिन्, अहिले घरमा पेय पदार्थको डिलर राखेकी छु । श्रीमान्ले पसल हेर्नुहुन्छ म दिनभर सहकारीमा व्यस्त हुन्छु । जब होमस्टेमा पाहुना आउँछन् बिहान र साँझको समयमा परिवार मिलेर काम गर्छौं । गाउँमा भएका किराना पसलदेखि त्यहाँ भएको ३१ होमस्टेमा पर्यटकलाई आवश्यक पेय पदार्थ(जुस) उनको डिलरबाट नै बिक्री हुने गर्दछ । होमस्टे र सहकारीबाट मात्रै मासिक ६० हजार रुपैयाँ कमाइ हुने उनले बताए ।

होमस्टे सञ्चालन गरेपछि व्यक्तित्व र आर्थिक विकासमा परिवर्तन आएको उनको भनाइ छ । धनमाया एक पात्र मात्रै हुन् । गाउँमा भएका ३१ घर होमस्टेका सबै महिलाको व्यक्तित्वमा विकास भएको स्वयं महिला नै बताउँछन् । गाउँमा होमस्टेमा महिला आबद्ध भएपछि विदेशमा भएका पुरुष घर फर्किएका छन् । थारु समुदायको बाक्लो बस्ती रहेको नवलपुरको कावासोती–१५ का थारु समुदायका महिला कोही होमस्टेमा त कोही होटल व्यवसायमा आबद्ध छन् ।

वन र वन्यजन्तुको संरक्षण गर्दै पर्यटकलाई आकर्षण गर्ने केन्द्रको रुपमा मात्र होइन यस होमस्टेले थारु संस्कृतिलाई पनि जोगाउँदै आएको छ । यो थारु महिलाको आर्थिक रुपान्तरणको आधार बनेको छ । गाउँमा होमस्टे सञ्चालनमा आएपछि महिलाको नेतृत्व र व्यक्तित्वमा परिवर्तन आएको अमलटारी मध्यवर्ती होमस्टेका सहव्यवस्थापक पिङकी महतोले बताए ।

आफ्नो संस्कृति र वेषभूषाको संरक्षण गर्दा, पर्यटन विकाससँगै सामाजिक, आर्थिक विकासमा टेवा पुग्ने देखेपछि कावासोती १५ नम्बर वडाको गोडारका महिला मिलेर २०७५ सालमा थारु सांस्कृतिक अतिथिगृह सञ्चालन ल्याएका हुन् । करिब १० वर्षदेखि साहारा महिला बचत समूहमा मासिक १ सयको बचत गर्दै आएका २९ महिला मिलेर थारु सांस्कृतिक अतिथिगृह सञ्चालनमा ल्याएका हुन् ।

कावासोती नगरपालिका–१५ र १७ लाई पर्यटकीय क्षेत्रको रुपमा अगाडि बढाउँदैछ भन्ने थाहा पाएर नै व्यवसायतर्फ लागेको थारु सांस्कृतिक अतिथि सचिव विनु महतोले बताइन् । सधैँ कति दाउरा घाँस मात्रै गर्ने हो, आफू बस्ने ठाउँलाई पर्यटकीय क्षेत्र बनाउने कुरा भएको समयमा हामीले केही गर्न सकेनौँ भने कहिल्यै गर्न सकिँदैन भन्ने सोचको विकासले नै अगाडि बढेको सचिव महतोले बताइन् ।

साहारा महिला बचत समूहमा आबद्ध २९ महिलामध्ये २६ जनाको २ लाख रुपैयाँका दरले र तीन जनाको १ लाखका दरले गरी ५५ लाखको लगानीमा अतिथिगृह सञ्चालन गरिएको हो । विनु यसको लगानीकर्ता हुन् भने कर्मचारीको रुपमा पनि उनि काम गर्दै आएकी छिन्। दुई बिघा जग्गा भाडामा लिई सञ्चालनमा ल्याइएको थारु सस्कृतिक अतिथि गृहमा थारु समुदायको परम्परागत संस्कृति झल्कने पाँच आवासीय घर र सांस्कृतिक भवन छन् ।

महिला समूहमा बसेर वनजङ्गलको संरक्षण गर्दैगर्दा अब आत्मनिर्भर हुनुपर्छ भन्ने सोचले आज आफूहरु व्यवसायी हुन पुगेको त्यहाँ आबद्ध महिला बताउँछन् । व्यवस्थापक विनु भन्छिन्, पहिले गृहिणी थिए कसैले वास्ता गर्दैनथे अहिले सबैजनाले कार्यक्रममा बोलाउछन्, आफूमा पनि जिम्मेवारी बढेपछि काम गर्ने शैलीमा परिवर्तन आएको छ ।”

पहिले आफू गृहिणी मात्रै भएर बस्दाका दिन सम्झँदै विनु भन्छिन्, पहिले घरको काम मात्रै कामजस्तो हुने थियो तर अहिले जिम्मेवारी पाएपछि सोहीअनुसार आफूमा नेतृत्व र व्यक्तित्वमा विकास भएको महसुस भएको छ ।” जिल्लामा अहिले १४ होमस्टे छन् । यसबाट थारु, बोटे, दराइ, कुमाल, मगर र गुरुङ समुदायका महिलाको नेतृत्व र क्षमतामा विकास भएको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्