Shikhar Insurance

राहदानी बनाउनेको भीड बढेसँगै राहदानी हात पर्न तीन महिना पर्खिनुपर्ने बाध्यता

सिंहदरबार संवाददाता
२०७९ भाद्र २४, शुक्रबार १३:२६
NIMB
Nabil Bank

नवलपरासीपूर्व । मध्यविन्दु–१५ का गोविन्द महतोले आवेदन दिएको करिब तीन महिनापछि राहदानी हातमा परेको बताए । गत असार १७ मा फारम भरेका उनको बायोमेट्रिक गर्ने पालो ४७ दिनपछि मात्रै आयो । उनले भने, बायोमेट्रिकको एक महिनापछि मात्रै राहदानी हात पर्यो । पूर्वी नवलपरासीमा राहदानी बनाउन तीन महिना पर्खिनुपर्ने बाध्यता छ ।

त्यसैगरी कावासोती–१२ की निशा लम्सालले गत साउन १८ गते फारम भरेर टोकन लिएकी थिइन् । उनले बायोमेट्रिक गर्न ५१ दिनपछि अर्थात् असोज ७ मा मात्र पालो पाएको बताइन् ।

Citizen Life
Kumar Bank
Nepal Life

सरकारले विद्युतीय राहदानी अनिवार्य गरेपछि राहदानी बनाउन आउनेको सङ्ख्या बढेको र यसका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेकाले राहदानी बनाउन लामो समय लागेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खिमराज भुसालले बताए । राहदानी बनाउन आउनेको भीड बढेसँगै जिल्ला प्रशासन कार्यालयले टोकन सिस्टम सुरु गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी भुसालका अनुसार राहदानीका लागि एक दिनमा अधिकतम एक सय जनाको मात्र बायोमेट्रिक गर्न सकिन्छ । पर्याप्त कर्मचारी र बायोमेट्रिक गर्ने मेसिनको कमीले मुस्किलले एक सय जनासम्मको बायोमेट्रिक हुने गरेको हो । बायोमेट्रिक गरेपछि पनि राहदानी सेवाग्राहीको हातमा पर्न थप करिब एक महिना लाग्ने भुसालले बताए ।

कोभिड–१९ सुरु भएपछि रोकिएको विदेश भ्रमण पुनः सुरु भएपछि राहदानी बनाउने बढेका भुसालले बताए । भुसालका अनुसार राहदानी बनाउन आउनेहरूमा धेरै युवा छन् । त्यसमा पनि वैदेशिक रोजगार र उच्च शिक्षाका लागि विदेश जानेबाट राहदानीका लागि धेरै आवेदन आउने गरेको छ ।

गएको आवभन्दा चालु आवको सुरुआतदेखि नै राहदानी बनाउनेको सङ्ख्या ह्वात्तै बढेको छ । भुसालका अनुसार गत आव २०७८/७९ मा ९ हजार ६ सय ७५ जनाले राहदानी बनाएकामा चालु आवको पहिलो महिना साउनमा २ हजार ६ सय ८४ ले राहदानीका लागि फारम भरेका छन् ।

यसैबीच राहदानीबाट मात्र जिल्लामा गत एक वर्षमा ५ करोड भन्दाबढी राजस्व सङ्कलन भएको छ । गत आव २०७८/७९ मा जिल्ला प्रशासन कार्यालयले राहदानीबाट ५ करोड १ लाख ३८ हजार ५ सय रुपैयाँ राजस्व सङ्कलन गरेको जिल्ला प्रसासन कार्यालय नवलपुरका सूचना अधिकारी भुसालले बताए। यो अवधिमा सात हजार ४ सय ५ जनाले साधरण राहदानी र १ हजार ४ सय ७६ ले विद्युतीय राहदानी बनाएका भुसालले बताए ।

भुसालका अनुसार आव २०७७/७८ मा २ करोड ३४ लाख ३५ हजार, आव २०७६/७७ मा २ करोड ४७ लाख ६७ हजार ५ सय र आव २०७५/७६ मा ३ करोड ३८ लाख ८७ हजार ५ सय रपैयाँ राजस्व सङ्कलन भएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्