Shikhar Insurance

नगर र सङ्घीय सरकारसँगको साझेदारीका योजना पूरा नहुँदै सकिए

सिंहदरबार संवाददाता
२०७९ भाद्र २४, शुक्रबार १४:३३
NIMB
Nabil Bank

बलेवा । बागलुङ नगरपालिका–१ मालढुङ्गाबाट प्रसिद्ध बलेवा कालभैरव मन्दिरमा पुग्न १३ किलोमिटर सडक यात्रा गर्नुपर्छ । मालढुङ्गाबाट केही पर पुगेपछि बागलुङ कुश्मीशेरा सडकको साढे चार किलोमिटर दूरी कालोपत्र गरिएको छ । यो सडक ६ वर्ष पहिले सडक विभागले कालोपत्र गरेको हो । अहिले सडक ठाउँठाउँमा फाटेको छ, जीर्ण भइसकेको छ ।

बागलुङ नगरपालिका–१३ पाग्जाबाट उकालो लागेपछि झण्डै एक किलोमिटर सडक कालोपत्र छ । त्यसपछि सुरु हुन्छ कष्टकर यात्रा । कच्ची सडक, त्यसमाथि सधैँ सडकमा पानी जम्ने, हिउँद वर्षाको हिलो र खाडल पार गरेर पुगिन्थ्यो भैरवस्थान । यो दुरावस्थाबाट पार पाउन बागलुङ नगरपालिकाले विसं २०७६ मा जलुकेनीबाट प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्य भैरवस्थानसम्मको सडक कालोपत्रको योजना बनाएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

नगर एक्लैले ठूलो लगानी गर्न नसक्ने भएकाले सङ्घीय सरकारसँगको साझेदारीमा यो सडक कालोपत्रको योजना बनेको हो । सङ्घीय सरकारले ल्याएको समपूरक कोष कार्यक्रमअन्तर्गत बागलुङमा पहिलोपटक साझेदारीमा कालोपत्रको काम थालिएको सडक हो यो ।

दुई वर्षसम्म सङ्घीय सरकारको ६० प्रतिशत र बागलुङ नगरपालिकाको ४० प्रतिशत लगानी गरी ८ करोड ५० लाख रुपैयाँ खर्चिएको यो सडकको तीन दशमलव तीन किलोमिटर भू–भागमात्रै कालोपत्र भएको छ । कहिले बाढी पहिराको प्रकोप त कहिले कोरोना महामारी छिचोलेर गत असारमा कालोपत्रको काम सकिएको हो ।

भैरवस्थान पुग्ने सडक सहज बनाउन थालिएको योजनामा दुई वर्ष मात्रै काम भएर सकियो । यो सडकको बाँकी खण्ड पुरानै अवस्थामा छ । जिल्लामै पहिलोपटक समपूरक कोषबाट थालनी भएको सडक पूरा नहुँदा भैरवस्थान पुग्ने यात्रुले सास्ती खेप्नुपरेको बागलुङ नगरपालिका–१२ का निवर्तमान वडाध्यक्ष गुरुदत्त पाठक बताउछन् ।

समपूरक कोषको बजेट दुई वर्षभन्दा धेरै एउटै योजनामा राख्न नमिल्ने भएकाले यो सडक आधाजति बनेपछि बाँकी काम रोकिएको हो । “समपूरकको बजेट हाल्न नमिल्ने हो भने नगर, प्रदेश र सङ्घ सरकारले अन्य स्रोतहरू खोज्नुपर्छ, तर सडक कतै कालो कतै हिलो भएर पर्यटक भैरवस्थान पुग्दैनन्, पाठक भन्छन्, बागलुङको गरिमा हो भैरवस्थान, त्यहाँ बाटो पुर्याउँदा सबै बागलुङवासीलाई फाइदा हुन्छ ।”

चालु आर्थिक वर्षमा बागलुङ नगरपालिकाले १ करोड ८० लाख खर्चेर बागलुङ बजारबाट भकुण्डे जाने सडकका लागि समपूरक कोषको रकम माग गरेको थियो । तर बागलुङ नगरपालिका–३ अदालत चौपारी हुँदै तित्याङ र भकुण्डे जाने सडक एसियाली विकास बैंकको लागनीमा स्तरोन्नति हुने भएपछि यो योजनासमेत कार्यान्वयन हुनसकेको छैन ।

“भैरवस्थान जाने सडकका लागि हामीले विकल्पको खोजी गर्छौँ, जसरी पनि क्रमागत रूपमा त्यो सडक स्तरोन्नति गर्ने हो” बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले भने, भकुण्डे जाने सडक एडिबीले बनाउने भएपछि त्यहाँको बजेट हामी रकमान्तर गरेर अन्यत्रै काम गर्छौँ ।”पहिलोपटक समपूरक कोषबाट सुरुआत भएको सडक नै एक चौथाइ बनेर काम रोकिँदा सर्वसाधारणमा संशय पैदा भएको छ । सबै सडक कालोपत्र हुन्छ भनेर काम थालेका थिए, बीचबाट काम थालेर यता न उता बनाएर छोडेका छन् । अमलाचौरकै स्थानीय सरोज शर्मा भन्छन्, आशा गरेर बस्यो, निरास बनाउँछन् सधौँ ।”

समपूरक कोषबाट प्राप्त हुने बजेटमा जैमिनी नगरपालिकाले थालेको पहिलो सडकको पनि अवस्था उस्तै छ । जैमिनीले विसं २०७६ मा नै कालीगण्डकी करिडोरबाट पालिका मुकाम कुश्मीशेरा बजारसम्मको तीन किलोमिटर सडक स्तरोन्नति र कालोपत्रको काम थालेको थियो । वहुबर्षे कार्यक्रम बनाएर तीन वर्षमा ७ करोड रुपैयाँभन्दा बढी खर्चेको यो सडकमा एक किलोमिटर खण्डमात्रै कालोपत्र भएको छ । बाँकी खण्डमा पूर्वाधारका काम मात्रै भएको इञ्जीनियर विवेक सापकोटाले बताए । भूगोलका कारण हामीले संरचनामा बढी समय र पैसा खर्चिनुपर्यो, सापकोटाले भने,“तीन वर्षभन्दा धेरै समपूरक कोषबाट एउटै योजनामा बजेट आएन, बाँकी काम नगरले अन्य योजना बनाएर पूरा गर्नेछ ।”

पालिका मुकाम कुश्मिशेरा बजारबाट प्रसिद्ध जैमिनीधाम क्षेत्रलाई जोड्ने कालीगण्डकी करिडोरसँग यो सडक जोडेर बजारलाई दक्षिण बागलुङको व्यापारिक केन्द्र बनाउने योजना थियो । बाँकी रहेको दुई किलोमिटर सडक समेत कालोपत्र हुँदा व्यापार व्यवसाय, धार्मिक पर्यटनदेखि जैमिनी नगरपालिकाका अधिकांश वडालाई कालीगण्डकी किनारका घाटमा पुग्नसमेत सहज हुन्छ ।

जैमिनीमा समपूरक कोषसँग साझेदारीमा चलेको अर्को योजना भने पूरा भएको छ । नगरपालिकाले साझेदारीमा वडा नं ६ अर्जेवाको प्रशासनिक भवन निर्माण गरेको हो । चालु आर्थिक वर्षमा समपूरक कोषसँगको सझेदारीमा वडा नं ४ सर्कुवाबाट माइथान जाने सडक र प्रदेश समपूरक कोषबाट वडा नं ७ चौरबाट बाँव जाने सडक स्तरोन्नति गर्ने योजना नगरपालिकाले बनाएको सापकोटाले बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्