Shikhar Insurance

दुई वर्षमा १४ प्रतिशत सकियो कञ्चनपुर–कमला सडक विस्तार

सिंहदरबार संवाददाता
२०७९ भाद्र २४, शुक्रबार १७:०३
NIMB
Nabil Bank

काठमाडौं । तीन वर्षमा सम्पन्न गर्नुपर्ने कञ्चनपुर–कमला सडकको निर्माण दुई वर्ष सकिँदा झण्डै १४ प्रतिशत सकिएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर–कमला खण्डमा कोभिड र निर्माणस्थल उपलब्ध हुन ढिलाइ हुँदा अपेक्षा गरिएअनुसार काम अघि बढ्न नसकेको हो ।

एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनमा स्तरोन्नति भइरहेको छ । जम्मा ८६ दशमलव ८२ किमी लम्बाइको सडक अधिकांश खण्डमा चार र कतैकतै चार लेनसहित दुई लेन सर्भिस ट्रयाक निर्माण भइरहेको सडक विभागले जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीले निर्माणस्थलमा काम गत वर्ष वर्षापछि सुरु गरेको कञ्चनपुर–कमला सडक योजना (पूर्वी खण्ड)का प्रमुख नीरज शर्माले बताए । उनका अनुसार कोभिडका कारणले बाहिरबाट सामान ल्याउन नसक्दा काममा अवरोध पुगेको थियो । एक वर्ष पहिले आएका चिनियाँहरू भर्खरैमात्रै जान पाएको उनले बताए । मान्छे र सामग्री दुवै आउन र ल्याउन कठिन भएको उनले बताए । उनले भने, कर्मचारीलाई दुई पटकसम्म कोभिड भएकाले र सामान ल्याउन नसकेको काम सरासर हुनसकेको थिएन ।”

चैतमा पेट्रोलियम पदार्थको अभाव भएपछि पुनः काममा अवरोध पुगेको थियो । पहिले गतिमा काम अघि बढाइरहेको भए पनि गत चैतबाट रोकिएको प्रमुख शर्माले बताए। निर्माण कम्पनीले ऊसँग भएको ट्रिपरलगायतका उपकरण पनि फिर्ता गरेको थियो । यो वर्ष दुई फरक निर्वाचन हुँदा त्यसले पनि निर्माणमा बाधा पुगेको उनले बताए । उनले भने, स्थानीय तहको निर्वाचनमा पनि कामदार गएका थिए भने अब चुनावमा पनि कामदार घर जाँदा बाधा पुग्छ ।”

अहिले वर्षाका कारणले पनि काम रोकिएको प्रमुख शर्माले बताए । अब सबै कुरा सहज भएर सरासर काम गर्दा अवधि सकिँदासम्म ५० प्रतिशत सकिने देखिएको उनले बताए। कोभिडका कारण एक वर्ष अवधि थप्नैपर्ने र त्यो अवधिसम्ममा काम सकिने उनले बताए । अवधि सकिँदासम्म पुल र सडक कालोपत्र सकिने उनले बताए । उनले भने, “सडकको चिह्न लगाउनेलगायतका थप काम मर्मत अवधिमा सकिनेछ ।”

सडक निर्माणका क्रममा विभिन्न किसिमका समस्या देखिएकाले पनि निर्माणमा अवरोध पुगेको विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले बताए । मिर्चैया बजारमा नगरपालिकाबाट सञ्चालित ढलको ठेक्काको कारण हालसम्म पनि निर्माणस्थल निर्माण व्यवसायीलाई हस्तान्तरण हुनसकेको छैन । विद्युतीय पोल नयाँ ठाउँमा सार्न बाँकी रहेको उनले बताए । उनले भने, “समस्या समाधानका लागि सडकको अधिकार क्षेत्रमा सबै विद्युत् संरचना र रुख हटाउनका लागि उच्चस्तरीय समन्वय भएर निर्णय हुनुपर्छ ।”

विभागले पूर्व–पश्चिम राजमार्गलाई कतै कस्तो कतै कस्तो नभएर एकै किसिमको डिजाइन गरेर निर्माण अघि बढाएको छ । पहिले फरक खण्डमा फरक डिजाइन भएकामा अहिले एउटै बनाउन लागिएको हो । देशभरका अरु राजमार्ग अन्तर्राष्ट्रिय मापदण्डका आधारमा छैन । यो राजमार्ग भूगोल र सडकको अधिकार क्षेत्रका हिसाबले पनि उपयुक्त रहेको छ । सडक बनाउनासाथ बस्ती बसिहाल्ने र उद्योग खुलिहाल्ने हुँदा एकपटक बनेपछि विस्तार गर्न कठिन हुँदै आएको छ ।

सो योजनाअन्तर्गत नै ५४ पुल निर्माण गर्नुपर्ने छ । आठ अण्डर पास र दुई फ्लाईओभर निर्माण गर्नुपर्ने सडक विभागले जनाएको छ । योजना निर्माणको ठेक्का सन् २०२० को अक्टोबर २९ मा सुरु भएको थियो । यसको अवधि तीन वर्ष अर्थात् सन् २०२३ अक्टोबरसम्म रहेको छ । आयोजनाको लागत १५ अर्ब ६६ करोड रुपैयाँ रहेको छ ।

योजनाको हालसम्म भौतिक प्रगति झण्डै १४ प्रतिशत पुगेको छ । वित्तीय प्रगति आठ दशमलव ८९ प्रतिशत अर्थात् रु दुई अर्ब ५० करोड एक लाख रहेको छ । योजनाअन्तर्गत १६ दशमलव ४९ किमी सडक छ लेन र ७० दशमलव ३३ किमी चार लेनमा निर्माण हुनेछ । चौवन्न वटा पुल दुई लेनको निर्माण हुने योजनाले जनाएको छ ।

गत आवमा योजनामा लक्ष्यअनुसार भौतिक प्रगति शतप्रतिशत र वित्तीय प्रगति ७० प्रतिशत पुगेको विभागले जनाएको छ । पुल र कल्भर्ट गरी ५० वटा सम्पन्न भएको र इम्ब्यान्कमेन्ट ७० दशमलव दुई किमी तयारी भएको छ । योजना पूर्व र पश्चिम खण्ड गरी दुई प्याकेजमा निर्माण अघि बढाइएको छ । पूर्वी खण्डमा हालसम्मको भौतिक प्रगति १३ दशमलव सात प्रतिशत र पश्चिम खण्डतर्फ १४ दशमलव ३२ प्रतिशत रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्