Shikhar Insurance

रेमिट्यान्स निक्षेपः तार्गेट मीट गर्न स्वःघोषणामै उच्च ब्याज दिँदै बैंक, गलत अभ्यास रोक्न राष्ट्र बैंक तात्यो

ग्राहकले डकुमेन्ट पुरा नगरे ब्याजदर घटाउँदै बैंक
दिलु कार्की
२०७९ भाद्र २६, आईतवार १५:४७
NIMB
Nabil Bank

काठमाडौं । पछिल्लो समय अधिकांश बैंकर साथीहरूको गुनासोः ‘राम्रो क्लाइन्ट फलानो बैंकले लग्यो, रेमिट्यान्स डिपोजिट भनेर १३ प्रतिशत ब्याजदर दिन्छु भनेको रहेछ, हाम्रोमा ११.०२ प्रतिशतमा १ वर्षे एफडी गरेको थियो, त्यो पनि चार्ज तिरेरै भएपनि…..विकास बैंकमा गयो ।’

बैंकरहरूको अर्को गुनासोः ‘बैंकले डब्बलको डब्बल स्कीम ल्याएको छ, त्यसमा दिएको ‘तार्गेट मीट’ गराउन भएपनि रेमिट्यान्स स्किम चलाउनु बाध्य छौं ।’ केही बैंकरहरू गुनासो गर्छन् ‘यस्तो स्कीम हाम्रो बैंकमा पनि गरौं भनेर डिपार्टमेन्ट हेडलाई भनेको सीईओ सा,ब नै मान्नु भएन रे ।’ यस्तो गफ गुनासो बैंक तथा वित्तीय संस्थाहरूका कर्मचारीहरूले बनाएका सामाजिक सञ्जालका ग्रुप, भाइबर तथा ह्वाटस एप ग्रुपहरूमा धेरै हुन थालेको छ ।

Citizen Life
Kumar Bank

केही महिनायत अधिकांश बैंकहरूले निक्षेपको खोसातानीमा डब्बलको डब्बल योजना ल्याएर ग्राहक आकर्षित गरिरहेका छन् । यस्ता स्कीम ल्याएर स्वस्फुर्त ग्राहक तान्नेमात्रै होइन, अर्को बैंकको ग्राहक खोस्न स्वघोषित रेमिट्यान्सको समेत साहारा लिने क्रम बैंकहरूमा बढ्दो छ ।

नयाँ आर्थिक वर्ष शुरु भएसँग अधिकांश बैंकहरूले धमाधम मुद्दति निक्षेप योजना सार्वजनिक गरे । जसमा ग्राहकलाई १० गुणासम्म प्रतिफल दिने अफरका योजना बैंकले ल्याएका हुन् । यस्ता अफर ल्याउँदै अधिकांश बैंकले आफ्ना कर्मचारीलाई पद अनुसारको परिमाण तोकेर एकाघर परिवारका सदस्य वा चिनजान साथीभाइबाटै भएपनि निक्षेप ल्याउन तार्गेट दिएको नेपाल वित्तीय कर्मचारी संघका एक सदस्यले बताए ।

बैंकबाट पाएका तार्गेट पुर्याउन भएपनि कर्मचारीहरूले आन्तरिक निक्षेपलाई पनि रेमिट्यान्स निक्षेपको ब्याज दिन थालेको संघका ती सदस्यले बताए । ‘पहिले त बैंकले नै रेमिट्यान्स निक्षेपमा पुरा डकुमेन्ट नखोज्ने हुँदा कर्मचारीले पनि आफ्नो तार्गेट पुर्याउन अर्को बैंकमा एपडी गरेका साथी भाइ–आफन्तको साधारण पैसा आफ्नोमा ल्याएर रेमिट्यान्सको ब्याजदर दिन थालेका हुन्,’ संघका ती सदस्यले सिंहदरबारसँग भने, ‘आन्तरिक पैसालाई रेमिट्यान्स भन्दै बढी ब्याज दिने चलन पहिलेदेखि नै थियो तर, पछिल्लो १/२ महिनायता भने स्कीमको टार्गेट पुरा गर्न पनि स्वःघोषित रेमिट्यान्सले निक्षेपको खोसातानी बढ्दो छ ।’

बैंकहरुले मुद्दती निक्षेपमा पैसा राख्नु अगाडि वैदेशिक रोजगारबाटै प्राप्त पैसा रहेको प्रमाण आवश्यक पर्दा पेश गर्ने लिखित सम्झौता गरी स्वःघोषित रेमिट्यान्स डिपोजिट लिइएको उनको भनाइ छ ।

ब्याजदर नीति
नेपाल राष्ट्र बैंकको ब्याजदर नीति अनुसार बैंक तथा वित्तीय संस्थाले कल निक्षेप बाहेकका ब्याज प्रदान गरिने सबै प्रकारका स्वदेशी मुद्राका निक्षेप खाताहरूमा दिइने अधिकतम र न्यूनतम ब्याजदरबीचको अन्तर ५ प्रतिशत विन्दु भन्दा बढीले फरक पार्न पाइदैन भने, रेमिट्यान्स निक्षेपमा अधिकत ब्याजमा न्यूनतम १ प्रतिशत थप गरेर ब्याजदर निर्धारण गर्नु पर्नेछ । साथै, कल निक्षेपमा साधारण बचतको ५० प्रतिशत कम ब्याजदर तोक्नुपर्ने छ । बैंकहरूले व्यक्तिगत निक्षेपमा सबैभन्दा धेरै र सबैभन्दा थोरै साधारण बचतको ब्याजदर तोक्ने गरेका छन् ।

राष्ट्र बैंकले २०७८ कात्तिक महिनादेखि निक्षेपको ब्याजदरमा १० प्रतिशतको ‘ग्याप’ नीति लिँदै पछिल्लो महिनामा लागू हुने ब्याजदर अघिल्लो महिनाको मसान्तमै प्रकाशित गर्नु पर्ने व्यवस्था गरेको छ । सो निर्देशनको पालना गर्दै बैंकहरूले ब्याजदर निर्धारण गरी प्रकाशित गरिरहेका छन् ।

वाणिज्य बैंकहरूले मुद्दती निक्षेपमा ११.०३ प्रतिशत र साधारण बचतमा ६.०३ प्रतिशत ब्याजदर दिने भनेर साउन महिनामै प्रकाशित गरिसकेका छन् । विकास बैंकहरूले पनि व्यक्तिगत मुद्दतीमा अधिकतम १३ प्रतिशतसम्म ब्याजदर प्रकाशित गरिसकेका छन् ।

राष्ट्र बैंकको निर्देशनअनुसार अधिकतम ब्याजदरमा १ प्रतिशत बढी दिने गरी बैंकहरूले भदौ महिनामा रेमिट्यान्स डिपोजिटलाई १४ प्रतिशतसम्म ब्याजदर दिने घोषणा गरेका छन् । तर, राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशनमा उल्लेख छ ‘वैदेशिक रोजगारीमा रहेका नेपालीको बैंकिङ प्रणालीबाट प्राप्त हुने विप्रेषण रकम बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप राखेमा न्यूनतम १ प्रतिशत बिन्दु थप गरी ब्याजदर प्रदान गर्नु पर्नेछ ।’

अर्थात् बैंकहरूले बैंकिङ च्यानलबाट प्राप्त रेमिट्यान्सलाई मात्र १ प्रतिशतभन्दा बढी ब्याज दिन पाउँछन् । तर, बैंकहरूले आन्तरिक पैसालाई नै रेमिट्यान्स भन्दै ग्राहकलाई नै घोषणा गर्न लगाइ बढी ब्याजदरमा स्वीकार गरेको उदाहरण धेरै छन् ।

ग्लोबल आइएमई बैंकले केही महिनाअघि राप्रपा नेता डा. प्रकाशचन्द्र लोहनीको स्वदेशी पैसा रेमिट्यान्स निक्षेप भनि बढी ब्याजदरमा स्वीकार गरेको थियो । तर, पछि नियामकले डण्डा चलाएपछि फिर्ता गरेको थियो । यो प्रतिनिधि घटना हो ।

नाम चलेकै २/४ वटा वाणिज्य बैंकले साधारण बचतमा पैसा राख्ने निक्षेपकर्तालाई पनि स्वःघोषणाका सम्झौता गर्न लगाएर रेमिट्यान्स खातामा पैसा राख्न लगाएको एक ग्राहकले गुनासो गरे । बैंकले आफ्नो खातामा भएको १०/१५ लाख रुपैयाँ पैसा बढी ब्याज दिने भन्दै अड्काएर राखेको ती ग्राहकको गुनासो हो ।

‘घरायसी प्रयोजनका लागि छुट्याएको खातामा १०/१५ लाख रुपैयाँ थियो, अहिले ६ प्रतिशतमात्रै ब्याज पाइराख्नु भएको छ । १३ प्रतिशत ब्याज पाउने खातामा राखिदिन्छौं बैंक आउनु भनेर बोलायो,’ ती ग्राहकले सिंहदरबारसँग भने, ‘बैंकले एउटा पेपरमा हस्ताक्षर गर्न लगाएको थियो, पछि विदेशबाट पैसा पठाएको कागज पेश गर्नु भनेर म्यासेज गरेको रहेछ । मैले छैन भनेपछि बैंकले अब ९ प्रतिशमात्रै ब्याज दिन्छौं । ६ महिनासम्म तपाईको पैसा लक भएको छ, भिक्ने भए चार्ज लाग्छ भन्छन् ।’ आजभोली बैंकले सोझा ग्राहकलाई झुक्याएर अनुमति बिनै मुद्दती खातामा पैसा सारेर अनावश्यक चार्ज लिएको उनको गुनासो छ ।

रेमिट्यान्स निक्षेपको गलत अभ्यासमा राष्ट्र बैंककाे ‘एक्सन’
एक बैंकले अर्को बैंकको निक्षेप रेमिट्यान्स डिपोजिटको ब्याज दिनेभन्दै खोसेको बैंकरहरूले वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघ, नेपाल राष्ट्र बैंकमा पटक पटक गुनासो गरिहेका छन् ।

राष्ट्र बैंकले रेमिट्यान्स डिपोजिटमा धेरै ब्याजदर दिन रोक लगाउने बाटो छैन् । तर, स्वदेशी निक्षेपलाई रेमिट्यान्स भन्दै बढी ब्याजदर दिएको तथ्य खोज्न शुरु गरिएको नेपाल राष्ट्र बैंकमा डेपुडी गभर्नर बम बहादुर मिश्रले बताए । ‘मासिक प्रकाशित ब्याजदरमा समावेश गरेर बैंकहरूले रेमिट्यान्स निक्षेपमा जति पनि ब्याजदर दिन सक्छन्,’ डेपुटी गभर्नर मिश्रले सिंहदरबासँग भने, ‘तर, आन्तरिक रुपमा प्राप्त निक्षेपलाई पनि रेमिट्यान्स भन्दै बढी ब्याज दिएको गुनासो आइरहेका छन्, तथ्य पत्ता लगाउन सम्बन्धित सुपरिवेक्षण विभागलाई निर्देशन दिएका छौं ।’

राष्ट्र बैंकमा एक बैंकले अर्काे बैंकले रेमिट्यान्सकाे ब्याज दिन्छु भन्दै आफ्नाे ग्राहक र निक्षेप खोसेको गुनासोको संख्या २०/२५ माथि भएको भन्दै उनले  बैंकिङ च्यानलबाट आएको र रेमिट्यान्स नै भएको प्रमाण नपुगी रेमिट्यान्स निक्षेपमा गलत अभ्यास गर्ने बैंकहरू कारवाहीमा पर्ने उनले बताए ।

‘ब्याजदरको सन्दर्भमा बैंकहरू केही भ्वाइलेन्स भएका देखिन्छन्, संस्थागत निक्षेपलाई व्यक्तिगत भन्ने, साधारणलाई रेमिट्यान्स भन्दै बढी ब्याजदर दिएको गुनासो आएका छन् । जथाभावी ब्याजदर तलमाथि गर्ने बैंकलाई कारवाही हुन्छ ।’ उनले भने ।

उनले एउटा स्रोतको निक्षेपलाई अर्कै स्रोतको निक्षेप मानेर स्वीकार गर्ने अभ्यास रोक्न राष्ट्र बैंकले आवश्यक नीति समेत बनाउन अध्ययन शुरु गरेको बताए ।
राष्ट्र बैंकसँग कुन रकम रेमिटेन्सबाट भित्रिएको निक्षेप हो र कुन होइन भनेर जाँच्ने एकिन माध्यम छैन् । राष्ट्र बैंकले ट्रयाक गर्न नसक्ने अवस्थाको फाइदा उठाउँदै बैंक तथा वित्तीय संस्थाहरूले जथाभावी रेमिट्यान्सको रकम भन्दै बढी ब्याज दिईरहेका सानिमा बैंकमा प्रमुख कार्यकारी अधिकृत निश्चल अधिकारी बताउँछन् ।

‘अन्य बैंकका साथीभाइबीच एनबीएमा यसबारे गुनासो बढ्दो छ, हाम्रै बैंकको डिपोजिट पनि अरु बैंकहरूले लगे, सानिमाका केही साथीहरूले अरुले गर्दा हामी किन नगर्ने रेमिट्यान्स निक्षेप भनेर डिपोजिट तानौं भनिरहनु भएको थियो तर मैले मानिन,’ सानिमा बैंकका सीईओ अधिकारीले सिंहदरबासँग भने, ‘यो भनेको राष्ट्र बैंकको कम्प्लाइन्स उल्लंघन गर्ने विषय हो, केही बैंक कम्प्लाइन्समा नबस्दा सबैलाई समस्या भइरहेको छ ।’

रेमिट्यान्स निक्षेपको सन्दर्भमा सानिमा बैंकले पुरा कागजपत्र पेश गरेको पैसालाई मात्रै व्यक्तिगत निक्षेपभन्दा १ प्रतिशत बढी ब्याज दिइरहेको उनले दावी गरे ।
बैंकिङ प्रणालीमा नयाँ स्रोत नभित्रिए पछि बैंकहरूले अर्को बैंकबाट निक्षेप तान्न रेमिट्यान्स निक्षेपको ब्याजदरलाई अस्त्र बनाएका हुन् ।

नियामकको नीति निर्देशनको ‘लुप होल’ खोज्दै बैंकहरूले ग्राहकको स्वःघोषणाकै आधारमा आन्तरिक वा अन्य स्रोतबाट प्राप्त पैसालाई पनि रेमिट्यान्स करार गर्दै बढी ब्याज दिएर निक्षेप खोसातानी गर्न थालेका पनि राष्ट्र बैंकले रोक्न आवश्यक कदम चालिसकेको छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्