Shikhar Insurance

बाँकी जीवन आर्थिक क्रान्तिका लागि समर्पण गर्छु : अध्यक्ष दाहाल

सिंहदरबार संवाददाता
२०७९ भाद्र २६, आईतवार १६:५३
NIMB
Nabil Bank

काठमाडौं । नेकपा (माओावदी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक परिवर्तनका लागि लामो सङ्घर्ष गरेको स्मरण गर्दै अबको बाँकी जीवन राजनीतिक स्थायित्व, शान्ति, विकास र समृद्धिका लागि लगाउने बताएका छन् ।

बागमती प्रदेशको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, राष्ट्रिय युवा परिषद् र विशाल मिडिया ग्रुपको संयुक्त आयोजनामा आज काठमाडौंमा भएको युवा उद्यमशीलता सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष दाहालले मुलुकको स्थायित्व, विकास र समृद्धिको वातावरण तयार पारे विदेशिएका युवा आफैँ फर्किएर आउने विश्वास व्यक्त गरे ।

Citizen Life
Kumar Bank
Nepal Life

अध्यक्ष दाहालले लामो सङ्घर्षका साथ राजनीतिक परिवर्तनमा होमिँदै जीवनको उत्तरार्धतिर आइसकेकाले स्मरण गर्दै भने, अब बाँकी जीवन आर्थिक क्रान्तिका लागि समर्पण गर्ने मेरो अठोट हो, उद्योगमैत्री ऐन कानुन, बनाउने, विदेशमा रहेका युवाका आर्जित सीप र पुँजीलाई नेपालमा लगानी गर्नसक्ने बनाउने सोच छ ।”

अध्यक्ष दाहालले भने, “आजको स्थिति हेर्दा १० वर्षमा मुलुकलाई विकासको गतिमा अघि बढाउन सम्भव छ ।” त्यसकाल लागि युवाको जागरुकता आवश्यक भएको उनले बताए । अध्यक्ष दाहालले थपे, “हाम्रो भरोसा तपाईं युवा नै हो, तपाईहरू भविश्य होइन वर्तमान हो, अठोट गर्नुभयो भने देशलाई नयाँ र आर्थिकरूपले गतिशिल बनाउन सक्नुहुन्छ ।””

नेपाललाई आत्मनिर्भर अर्थतन्त्रका रुपमा विकास गर्न सकिने प्रशस्त सम्भावना भएको पनि उनले बताए । उनले प्राकृतिक स्रोतसाधनको प्रचुर सम्भावना रहेको तर राजनीतिक वातावरण र उनीहरूको दृढ इच्छाशक्ति, सही भिजन, योजना र कार्यक्रमको अभाव रहेको बताए ।

भौगोलिक अवस्थाका आधारमा नेपालमा डिजिटल पूर्वाधार विकासको सम्भावना अधिक रहेकाले उक्त अवसर र सम्भावना नगुमाउन युवालाई आह्वान गरे । उनले अहिले पनि सबैभन्दा विकास गर्न सकिने महत्वपूर्ण क्षेत्र भनेको कृषि नै भएको बताउँदै कृषिमा आत्मनिर्भर र कृषिमा आधारित उद्योग स्थापनाको आवश्यकता औँल्याए।

अध्यक्ष दाहालले भने , विगतमा खाद्यान्नमा निर्यात गर्ने हाम्रो मुलुक आर्थिक स्थितिमा पछाडि जानु चुनौतीपूर्ण अवस्था हो । उनले जलविद्युत्, पर्यटन तथा जडीबुटी र खनिजको विकास गर्ने कुरा हुँदाहुँदै पनि कृषिमा आधारित उद्योग दीगो र दीर्घकालीन हुने बताए ।

दुई नम्बरी धन्दाबाट सम्पत्ति कमाउने प्रवृत्ति समाजमा रहने र त्यो प्रवृत्ति हावी हुने खतरा रहेको जिकिर गर्दै अध्यक्ष दाहालले सम्पत्ति कसरी कमाउने र कसरी खर्च गर्ने कुरा महत्वको नभएको तर समाजलाई कसरी अघि बढाउने भन्ने कुरा महत्वपूर्ण रहेको बताए ।

उनले युवालाई कुनै उद्योग स्थापना गरेर छिट्टै पैसा कमाउने सपना नदेख्न आग्रह गरे । पैसा कमाउनका लागि धैर्यता लिन सुझाव दिए। काम ढिलो होस्, तर दीर्घ होस्, रातारात धनी हुनुपर्छ भनेर सुरु गरेको व्यवसाय तत्काल त्याग्नु हुन्न, उनले युवालाई सुझावात्मकरुपमा भने । अध्यक्ष दाहालले आफ्नो बाल्यकाल स्मरण गर्दै खान नपुगेर कास्कीबाट चितवन झरेको मान्छे दुईपटक प्रधानमन्त्री नै भइसकेको भनी युवालाई उत्प्रेरणा जगाए ।

उनले आफूले युद्धको नेतृत्व लिँदै द्वन्द्वलाई शान्तिमा रुपान्तरण गर्न तथा समावेश संविधान निर्माणका लागिसमेत नेतृत्वदायी भूमिका लिन पाएको सुनाए । राम्रो योजनाका साथ काम गर्नसके सफल हुने पनि बताए ।

नयाँ राजनीतिक सोचको आवश्यकता छः मन्त्री गहतराज

सम्मेलनमा युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले मुलुकको आर्थिक विकासका लागि नयाँ राजनीतिक सोचको आवश्यकता रहेको बताएका छन् । मन्त्री गहतराजले शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद लगायत क्षेत्रका सम्भावना भएको क्षेत्र रहेको तर त्यसका लागि नयाँ राजनीतिक सोचका साथै भिजनेवल नेतृत्वको हातमा राजनीतिक प्रणाली जानुपर्नेमा जोड दिए।

उनले युवालाई मुलुकको समृद्धि र विकासका लागि जोड्नुपर्ने आवश्यकता औँल्याए। मुलकुका प्रचुर सम्भावना रहेको प्राकृतिक स्रोत र साधनलाई सही ढङ्गले सदुपयोग गर्ने नयाँ सोचको आवश्यकता भएको र त्यो युवाबाटै सम्भव रहेको मन्त्री गहतराजको भनाइ थियो । उनले मुलुकको जमिन र पानीको सही सदुपयोग हुनु जरुरी छ भने ।

सम्मेलनमा बैंक तथा वित्तीय संस्था परिसङ्घका अध्यक्ष पवन गोल्यानले अब कृषिको विकासँगै आर्थिक क्रान्ति आवश्यक रहेको बताए । उद्योगी गोल्यानले युवा उद्यमीले नै त्यसको नेतृत्व गर्नुपर्ने बताए । उनले नेपालमा कृषि उत्पादनको ठूलो सम्भावना रहेको बताउँदै कृषिमा लाग्न युवालाई आग्रह गरेका छन् । उनले कृषिको बजारीकरणमा समस्या परे युवासँग आफू पनि हातेमालो गर्न तयार रहेको बताए ।

नेपालमा व्यवसाय गर्दा त्यसमा असफल भइयो भन्दैमा उक्त व्यवसाय छाडेर जान नहुने उल्लेख गर्दै उनले कडा परिश्रम गरे सफलतामा पुग्न सकिने अनुभव सुनाए । गोल्यानले नेपालमा मह, जडीबुटी र अचारलगायतको उत्पादन गरेर त्यसलाई ब्राण्ड बेच्न पनि आग्रह गरे ।

सम्मेलनका संयोजक विशाल मिडिया ग्रुपका प्रमुख कार्यकारी अधिकृत विशाल गैरेले अबको आन्दोलन शान्ति, स्थायित्व र आर्थिक विकास भएको बताए ।

संयोजक गैरेले अबको निर्वाचनमा जुन दल उक्त मुद्दालाई लिएर अघि बढ्छ त्यही दलले युवाको मत पाउने पनि बताए । उनले युवा उद्यमी बनेर देशको अर्थतन्त्रमा बदलाब दिन चाहने युवाका लागि राजनीतिक नेतृत्वको सहयोगको खाँचो रहेको औँल्याए । उनले मुलुकमा युवामैत्री र उद्योगमैत्री नीति र कानुनको खाँचो रहेको सुनाए ।

राष्ट्रिय युवापरिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले सगरमाथा, लुम्बिनी र पशुपतिनाथलाई शिरमा राखेर कृषि, ऊर्जा, पर्यटन र औद्योगिक क्रान्तिको तिर चलाउनसके विकास र समृद्धिको खिर खान समय नलाग्ने बताए । उनले हरेक वर्ष ६ लाख युवा विदेश पलायन भइरहेका सन्दर्भमा उनीहरूलाई मुलुकभित्रै स्वरोजगार बनाउँदै राष्ट्रिय निर्माणको अभियानका लाग्नसके मुलुकमा आर्थिक विकासको गति अघि बढाउन समय नलाग्ने उल्लेख गरे। जारी सम्मेलनमा ५५ जिल्लाका युवा उद्यमी र उद्यमी बन्न चाहने युवाको सहभागिता रहेको छ । सम्मेलनमा आर्थिक विकासका विभिन्न विषयमा समूहगत छलफल जारी छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्