एक महिनामै बैंकले कमाए १० अर्ब रूपैयाँ, नबिल पहिलो हुँदा बीओके सबैभन्दा कमजाेर

राष्ट्रिय वाणिज्य र ग्लोबल आइएमई बैंक नबिलकाे पछि/पछि
सिंहदरबार संवाददाता
२०७९ भाद्र २८, मंगलवार १५:४५

काठमाडौं । एक महिनामै बैंकहरुले करिब १० अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । चालु आर्थिक वर्षको पहिलो महिना अर्थात् साउनमा बैंक तथा वित्त कम्पनीहरुले कुल ९ अर्ब ९३ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् ।

जसमध्ये वाणिज्य बैंकहरुले ९ अर्ब ३ करोड ८१ लाख, विकास बैंकहरुले ७४ करोड ७३ लाख र वित्त कम्पनीहरुले १३ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । चालु आवको पहिलो महिना वाणिज्य बैंकहरुतर्फ सबैभन्दा बढी नबिल बैंकले, विकास बैंकहरुतर्फ गरिमा विकास बैंकले र वित्त कम्पनीहरुतर्फ गुडबिल फाइनान्सले खुद नाफा कमाएको हो ।

एक महिनामै वाणिज्य बैंकहरुमा सबैभन्दा बढी नबिल बैंकले ८१ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाउँदा सबैभन्दा थोरै बैंक अफ काठमाण्डूले १६ करोड ३० लाख रुपैयाँ नाफा कमाएको छ । सो अवधिमा सबैभन्दा बढी नाफा कमाउने वाणिज्य बैंकहरुको दोस्रो नम्बरको सूचीमा राष्ट्रिय वाणिज्य बैंक ७५ करोड २१ लाख, तेस्रो नम्बरमा ग्लोबल आइएमई बैंक ६७ करोड ३३ लाख रुपैयाँ र चौथो नम्बरमा एनआइसी एशिया बैंकले ४७ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

सञ्चालनमा रहेका २६ वाणिज्य बैंकहरुमध्ये सो अवधिमा ३ वटाले ५० करोड रुपैयाँदेखि ८३ करोड रुपैयाँसम्म, ९ वटाले ३० करोड रुपैयाँदेखि ५० करोड रुपैयाँसम्म, ११ वटाले २० करोडदेखि ३० करोड रुपैयाँसम्म र ३ वटाले २० करोड रुपैयाँभन्दा कम खुद नाफा कमाएका छन् ।

यसैगरी चालु आवको पहिलो महिनामा विकास बैंकहरुले पौने ७५ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । जसमा सबैभन्दा बढी गरिमा विकास बैंकले १५ करोड ७६ लाख रुपैयाँ कमाउँदा सबैभन्दा थोरै साल्पा विकास बैंकले १६ लाख रुपैयाँ खुद नाफा कमाएको हो । सो अवधिमा सबैभन्दा बढी खुद नाफा कमाउने विकास बैंकहरुको दोस्रो नम्बरमा मुक्तिनाथ विकास बैंक १३ करोड ५४ लाख, तेस्रो नम्बरमा ज्योति विकास बैंक ९ करो्ड २४ लाख र चौथो नम्बरमा साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ९ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।

चालु आवको साउन महिनामा वित्त कम्पनीहरुले १४ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाउँदा पहिलोमा गुडबिल फाइनान्सले ५ करोड ९५ लाख, दोस्रोमा सेन्टल फाइनान्सले २ करोड ८७ लाख, तेस्रोमा पोखरा फाइनान्सले १ करोड ३५ लाख र चौथोमा आसीएफसी फाइनान्सले १ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । सो अवधिमा वित्त कम्पनीहरुतर्फ सबैभन्दा थोरै मञ्जुश्री फाइनान्सको खुद नाफा २ लाख रुपैयाँ रहेको तथ्यांकले देखाएको छ ।

(बैंक तथा वित्त कम्पनीहरुकाे खुद नाफा रू. दश लाखमा)

स्रोतः नेपाल राष्ट्र बैंक

प्रतिक्रिया दिनुहोस्