पुसभित्रै बागलुङ बजारवासीलाई शुद्ध खानेपानी

सिंहदरबार संवाददाता
२०७९ भाद्र २९, बुधबार १७:१०

गलकोट । बागलुङ बजारवासीले पुसभित्रै शुद्ध खानेपानी पाउने भएका छन् । बर्खाको समयमा बागलुङ बजारमा अशुद्ध मात्रै नभएर धमिलो दूषित पानी वितरण भइरहँदा यहाँका नागरिकहरु खानेपानी वितरणको जिम्मा पाएको बागलुङ नगर खानेपानी तथा उपभोक्ता संस्थाप्रति आक्रोशित छन् ।

अहिले बागलुङ बजारमा मागको आधा मात्रै पानी बागलुङको काठेखोला गाउँपालिकास्थित रेश र लेखानी खोलाबाट ल्याइँदै आएको छ । तर टाढाबाट पानी ल्याउँदा पहिराका कारण पानीको वितरणसमेत अनियमित हुने र बर्खाको समयमा हप्तौँसम्म बागलुङ बजारमा खानेपानी वितरण नहुँदा हरेक वर्ष खानेपानीको हाहाकार हुँदै आएको छ ।

अहिले वितरण भइरहेको खानेपानीको प्रशोधन गृह छैन । सोही कारण सोझै मुहानको पानी वितरण गर्दा पानीमा कोलिफर्म भेटिरहने परीक्षणका क्रममा पाइएको छ ।

खानेपानीको समस्या देखिँदै आएपछि बागलुङ जिल्लाकै ठूलो लिफ्ट आयोजना २०७५ असारदेखि निर्माण थालिएको हो । आयोजनाले बजारमुनि रहेको काठेखोलाको पानी लिफ्टमार्फत रातमाटामा तानेर शुद्धिकरण गरेर वितरण गर्नेछ ।

बागलुङ नगर खानेपानीको नयाँ लिफ्ट आयोजना सम्पन्न सँगै शुद्धिकरण गरेको पानी वितरणको तयारीमा नगर खानेपानी छ । पुस महिनामा परीक्षणको पानी बागलुङ बजारमा पुर्याउने निर्माण व्यवसायीको लक्ष्य रहेको छ ।

अहिले पूर्वाधारको काम सम्पन्न भइसकेको र मोटर जडानका लागि विद्युतीकरण गर्ने काम भइरहेको निर्माण व्यवसायीका तर्फका इन्जिनियर विक्रम अधिकारीले बताए ।

“थप गरेको म्याद माघ मसान्तसम्म मात्रै छ, अबको काम प्राविधिक र पानीको पाइपलाइन विस्तारको तयारी छ भने विद्युत्का लागि ट्रान्सफर्मर आइसकेको र विद्युत् लाइनसमेत विस्तारको काम भइरहेको छ,”उनले भने, “बाँकी सामग्री मोटर मात्रै हो, मोटर जोड्न कात्तिकसम्म समय लाग्ला, त्यसपछि पानी तान्ने प्रक्रियामा जान्छौँ ।”

मोटर सञ्चालनलाई ६ सय ३० केभिएको ट्रान्सफर्मरसमेत आइसकेको छ । काठेखोलाको पानी शुद्धिकरण गरेर लिफ्टमार्फत बागलुङ बजार ल्याउने आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । निर्माण व्यवसायीको भनाइमा आयोजनाको प्रगति ८५ प्रतिशत पूरा भएको छ ।

खानेपानीको समस्या भएपछि बागलुङ बजारका उपभोक्ताले खानेपानी ल्याउनका लागि उपल्लाचौरको अम्बोट, तित्याङ र सुलडाँडा पुग्ने गरेका छन् । अधिकतम प्रयास गर्दासमेत बजारवासीलाई वितरण गरेको पानीमा केही सुधार आए पनि शुद्धिकरण नै गरेको पानी नयाँ आयोजना सम्पन्न नहुँदासम्म खुवाउन समस्या हुने बागलुङ नगर खानेपानी तथा उपभोक्ता संस्थाका प्रबन्धक हिमालप्रसाद शर्माले जानकारी दिए ।

नगरपालिका–३ काठेखोलामा निर्माणाधीन खानेपानी आयोजनाको काम निर्माण सुरु भएको चार वर्षमा बल्ल अन्तिम चरणमा पुगेको हो । नगरपालिकामा चौबिसै घण्टा शुद्ध खानेपानी वितरण गर्ने उद्देश्यले खानेपानी तथा ढल व्यवस्थापन विभाग र स्थानीय साझेदारीमा चार वर्षअघि आयोजना सुरु भएको थियो ।

दुई वर्षमा सम्पन्न गर्ने गरी २०७५ असार ३१ गते ३२ करोड २५ लाख रुपैयाँ लागतमा कन्काई जयमाता जेबीले ठेक्का सम्झौता गरी निर्माण थालेको थियो । कोरोना र आयोजना निर्माण स्थलमा भौगोलिक बनावट कमजोर भएका कारण निर्माणमा ढिलाइ भएको निर्माण व्यवसायीको भनाइ छ ।

काठेखोलाको पानी पाँचवटा समवेयलमार्फत आयोजना स्थलमा खानेपानी सङ्कलन र प्रशोधनपश्चात् बजार माथिको खानेपानी रातमाटा पुर्याइनेछ । बजारमा काठेखोला गाउँपालिकाको रेश, भूदी र रिठेखोलाको पानी वितरण हुँदै आएको छ ।

बजारमा खानेपानीको माग प्रतिसेकेन्ड ४० लिटर रहेकामा पानी नपर्दा प्रतिसेकेन्ड ३० लिटर मात्रै खानेपानी आपूर्ति हुँदै आएको छ । आयोजनाको निर्माण सम्पन्न भएपछि प्रतिसेकेन्ड ७० लिटर खानेपानी आपूर्ति हुने बताइएको छ । डिभिजन खानेपानी कार्यालय, बागलुङ नगरपालिका र नगर खानेपानी उपभोक्ता संस्थाको सहलगानीमा लिफ्ट आयोजना निर्माण थालिएको हो ।

प्रतिक्रिया दिनुहोस्