पशु प्राविधिक बाख्रा पालनमा

सिंहदरबार संवाददाता
२०७९ भाद्र ३०, बिहीबार १३:५३

गलकोट । नेपालमा विशेष गरी कृषि तथा पशुपालन विषयको अध्ययन गर्नेले सो अनुसारको पेशा अपनाएको नगन्य मात्रमा भेटिन्छ ।

कृषि तथा पशुको ज्ञान विना नै फर्म सञ्चालन गर्दा किसानले विभिन्न रोग तथा प्रकोपका कारण करोडौँको नोक्सानीसमेत झेल्नुपरेको छ । कृषि तथा पशु अध्ययन गरेकाले कृषि पेशा अपनाउनुभन्दा जागिर नै खानु पर्दछ भन्ने प्रचलनसमेत व्याप्त भए पनि बागलुङ नगरपालिका–११ रायडाँडाका चिरञ्जीवी केसीले पशु प्राविधिकको जागिर छोडेर बाख्रा फर्ममा लगानी विस्तार गर्दै आएका छन् ।

सात वर्षसम्म पशु प्राविधिकका रुपमा जागिर खाएका उनको अहिले आफ्नै बाख्रा फार्म छ । केसीको रायडाँडा बोयर बाख्रा तथा बहुउदेश्यीय कृषि फार्ममा अहिले १०० बाख्रा, बोका र पाठा छन् । उनले उत्पादन गरेको बोयर जातको बोका तथा बाख्रा मासुका लागिभन्दा बढी नश्ल सुधारका लागि महङ्गो मूल्य तिरेर अन्य कृषकले लैजाने गरेका छन् ।

आफैँ पशु प्राविधिक भएर बाख्रा फार्म चलाउँदा पशुमा आउने समस्या समाधान आफैँ गर्न सकिने भएकाले बाख्रापालनमा लगानी विस्तार गर्दै आएको केसीको भनाइ छ ।

“रायडाँडा बाख्रा पालनका लागि उपयुक्त हावापानी भएको स्थान हो, परम्परागत खयर जातको बाख्रालाई मैले विस्तारै कोयर जातमा विकशित गरेको हुँ” उनि भन्छन्, “२०७५ सालमा अष्ट्रेलियाबाट ५ लाखमा १ बोका र १ बाख्रा खरिद गरेर ल्याएपछि व्यावसायिकरुपले वाख्रापालन थालेको हुँ, अहिले मेरो फार्ममा ५२ वटा माउ बाख्रा छन्, मङ्सिर पुससम्म फार्ममा १५० बोका बाख्रा पुग्छन्, मैले उत्पादन गरेको बोका तथा बाख्रा मासुका लागिभन्दा पनि नश्ल सुधारको लागि बिक्री हुने गरेको छ ।”

अहिले कृतिम गर्भाधानका लागि अष्ट्रेलियाली र अफ्रिकाका दुई वटा बोयर जागतका बोका छन् । कृतिम गर्भाधान र नश्ल सुधारले मासु उत्पादनसमेतमा उल्लेख्य वृद्धि हुने गरेको छ, नौ महिनामा स्थानीय जातको बोकाको ३० केजी मासु उत्पादन हुन्छ भने बोयर जातको बोकाको सोही अवधिमा ४० केजी मासु उत्पादन हुन्छ” केसी भन्छन् “अहिले उत्पादन भएका बोयर बोका र बाख्रा नश्ल सुधारको लागि लैजाने गरेका छन्, नश्ल सुधारका लागि निकै महङ्गोमा विक्री हुने गरेको छ ।”त्यसैलाई मासुमा विक्री गर्दा निकै घाटा हुन्छ । उनका अनुसार दुई वर्ष नश्ल सुधारका लागि बिक्री भयो, अहिले आर्थिक सङ्कटका कारण नयाँ फार्म नखोल्दा नश्ल सुधारका लागि बोका र बाख्रा बिक्री घटेको छ, मासुका लागि भने बजारको अभाव छैन ।”

गत वर्ष १६० केजीको बोयरजातको अष्ट्रेलियन बोकालाई ४ लाख रुपैयाँमा विक्री गरेको केसीको भनाइ छ । अहिले केसीको फार्ममा ५२ वटा बाख्रा व्याउनका लागि तयारी अवस्थामा रहेको र कात्तिकसम्म १५० बाख्रा पुग्नेछन् । यही दशैँको मुखमा ३० वटा बोका बाख्रा विक्रीसमेत भइसक्ने उनि बताउछन् ।

२२ लाख रुपैयाँ खर्चेर आधुनिक खोर निर्माण गरेका केसीको बोयर बाख्रा फर्ममा मात्रै १ करोड बराबरको लगानी छ । उनि हालसम्म कमाएको रकम फर्ममै खर्च गरेको बताउछन् । “सुरुमा नश्ल सुधारका लागि बिक्री हुँदा निकै कमाइ भयो, मैले घर खर्च कटाएर पूरै रकम फार्ममा लगाउँदा अहिले १ करोड रुपैयाँ भन्दाबढी लगानी भइसक्यो”केसी भन्छन्, “वार्षिक १२ लाखसम्म कमाइ भएपनि फार्म खर्च घटाउदा ६ लाख रुपैयाँसम्म वार्षिक नाफा भइरहेको छ तर घर खर्च घटाएर अरु नाफा फर्ममै लगानी गरेको छु ।”

फार्मअनुसारको अनुदान नपाए पनि हालसम्म जम्मा १ लाख ५० हजार रुपैयाँ मात्रै अनुदान पाएको बताएका उनि आफ्नो फार्म मासु उत्पादनभन्दा पनि नश्ल सुधारका लागि बोका बाख्रा उत्पादनमा बढी जोड दिएको छु भन्छन्।

३६ वर्षीय केसीले जिटिए अध्ययन पश्चात् छ वर्षसम्म जागिर समेत खाएका थिए । पछि आफ्नो ज्ञानअनुसारको व्यवसाय आवश्यक रहेको भन्दै जागिर छोडेर बाख्रा पालन गर्दै आएका हुन्। आफ्नो र भाडाको गरी ४७ रोपनी जग्गामा उन्नत जातको घाँस लगाएका उनले एक भैंसी र एक गाईसमेत पालेका छन् ।

व्यावसायिक मौरीपालनसमेत गरेका केसीले मौरीमा फैलिएको प्रकोपका कारण फार्म नै रित्तिएकामा पुनः अहिले छ घारबाट मौरीपालन थालेका छन् ।

उनको आफ्नो १५ रोपनी र भाडाको ३२ रोपनी जग्गामा उन्नतजातका घाँस, किम्बु र राइखन्युलगायत घाँस लगाइएको छ । “पशुमा विभिन्न रोगको समस्या हुन्छ, भनेको समयमा प्राविधिक नआउदा ठूलो नोक्सानी समेत हुन्छ तर आफैले पढेको पेशा गर्दा समस्या भएन”उनि भन्छन् “नेपालमा पढाइअनुसारको जागिर खाने चलन बढी भएपनि पढेअनुसारको पशुपालन गर्ने नगन्य मात्रमा रहेको पाइयो ।”

बाख्रा फार्मबाट निस्केको मल अहिले सामान्य मूल्यमा बिक्री गरेको बताएका फार्म सञ्चालक केसीले जैविक मल उत्पादन गर्ने लक्ष्य लिएका छन् । उनि बाख्रा, भैंसी र पातपतिङ्गर मिलाएर जैविक मल उत्पादनको लागि प्रविधि भित्र्याउन थालिएको जानकारी दिन्छन् ।

प्रतिक्रिया दिनुहोस्