Shikhar Insurance

७२ प्रतिशत हुलाकी राजमार्ग निर्माणः अबको २ वर्षमा सम्पन्न हुने

सिंहदरबार संवाददाता
२०७९ भाद्र ३०, बिहीबार १७:१४
NIMB
Nabil Bank

काठमाडौं । तराई–मधेसको समृद्धिको आधारका रूपमा हेरिएको हुलाकी राजमार्ग हालसम्म ७२ निर्माण भएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सो राजमार्ग अबको २ वर्षमा सम्पन्न हुने बताइएको छ ।

आयोजनाअन्तर्गत हालसम्म झण्डै ९ सय किलोमिटर सडक कालोपत्र भएकामा अहिले साढे पाँच सय किमीका लागि ठेक्का आह्वान भएर काम अघि बढेको हुलाकी राजमार्ग आयोजना निर्देशनालयले जनाएको छ । चालु आवमा डेढ सय किमी काम काम हुने निर्देशनालयका प्रमुख धर्मेन्द्र झाले जानकारी दिए । पूर्व–पश्चिम सडकमा झण्डै एक सय किमी र उत्तर र दक्षिणतर्फ झण्डै ५० किमी कालोपत्र गर्न बाँकी छ ।

Citizen Life
Kumar Bank
Nepal Life

अहिले काम भइरहेकामा कतिपय ठाउँमा ‘स्ट्रक्चर’कतै ग्राभेल कतै बेस भइसकेको उनले बताए । झापा–मोरङसम्ममा बेस भएको छ र कालोपत्र गर्न बाँकी छ, प्रमुख झाले भने, “बेसको काम भइसकेका ठाउँमा आगामी वर्ष काम सकिनेछ ।”

आयोजनाअन्तर्गत पूर्व–पश्चिम जोड्ने सडकसँगै १० सहायक सडक छन् । समग्र आयोजनाको झण्डै २ सय ५० किमी सडक र पूर्व–पश्चिमको डेढ सय किमी सडक ठेक्का प्रक्रियामा जान बाँकी छ । यी खण्डमा यो वर्ष ठेक्का आह्वानका लागि प्रक्रियामा रहेको र अनुकूल भएपछि प्रक्रिया अघि बढाइने छ भने निकुञ्ज र वन क्षेत्रमा स्वीकृति आएपछि प्रक्रिया अघि बढाउन सकिने उनले बताए ।

चितवन राष्ट्रिय निकुञ्जको नवलपुरबाट सुस्ता पूर्वसम्म, कपिलवस्तु–दाङ–बाँकेसम्मको खण्डमा ठेक्का गर्न बाँकी छ । बाँके र बर्दिया जोड्ने ३१ किमी लामो नेपालगञ्ज–गुलरिया सडक गत बुधबार शिलान्यास भएको थियो । ठेक्का आह्वान गर्न बाँकी खण्डमा प्रक्रियामा जान सकिने प्रमुख झाले बताए । उनले भने, “इआइए र डिपिआर भइसकेको छ । अब ठेक्का अघि बढाइनेछ ।”

ठेक्का आह्वान गर्न बाँकी डेढ सय किमीमा नै वातावरणीय अध्ययन स्वीकृत भएको छ । बहुवर्षीय ठेक्कामा जान स्रोत सुनिश्चित गर्न पनि बाँकी रहेको र त्यसका लागि पनि प्रक्रिया अघि बढाइएको प्रमुख झाले बताए । निकुञ्ज र वन क्षेत्रमा वातावरणीय असर पुग्ने भन्दै निर्माण अघि बढाउन सहमति नभएपछि विगतदेखि नै वन क्षेत्रको विकल्प खोज्न छलफल भएको थियो । अहिले दाङ र बाँकेको कल्याणपुर–रुपडिया–राजपुर जङ्गल क्षेत्र भएकाले वैकल्पिक मार्गका विषयमा छलफल भइरहेको छ ।

सडक र पुल दुवै सम्पन्न हुन अब दुई वर्ष लाग्ने आयोजनाले जनाएको छ । जम्मा २ सय ५० पुल निर्माण गर्नुपर्नेमा हालसम्म एक सय २५ वटा सम्पन्न भएको छ । झण्डै ८०–९० पुल निर्माणाधीन छन् भने अझै पनि ४०–५० पुल ठेक्कामा जान बाँकी छ । विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार भइसकेकाले अब प्रक्रियामा जान सकिने उनले बताए ।

अहिलेको कामको गतिका आधारमा विसं २०८२/८३ सम्ममा सडक र पुल सबै सम्पन्न हुनसक्ने बताइएको छ । विगतका वर्षहरूमा कोभिडका कारण काममा बाधा पुगेकाले पनि अवधि थप भएको प्रमुख झाले जानकारी दिए । आयोजनामा पहिले धेरै रुग्ण पुल रहेकामा अहिले कम भइरहेको छ । रुग्ण पुलका अवधि थप गरेर काम भइरहेको छ । चालु आबमा रुग्ण पुलको निर्माण सकिने तर कन्काई पुल, कान्द्रा, बिरिङ, कमला पुललगायत १० वर्ष पहिले शुरु भएका पुलहरु नै सम्पन्न गर्न बाँकी छ ।

सार्वजनिक खरिद नियमावलीको बाहैँ संसोधनबमोजिम काम हुनसक्ने देखिएको सबै ठेक्काको अवधि असारसम्म थप गरिएको छ । रुग्ण ठेक्कामा यो अवधिमा यति प्रगति गर्नुपर्ने भनी तोकिएको उनले बताउ। “तीन महिना र छ महिनामा यति–यति गरिसक्नुपर्ने भनी निर्धारण गरिएको छ, प्रमुख झाले भने, अवधि असारसम्म भएपनि काम नगर्दा तोड्ने प्रक्रियामा अहिले पनि जान सकिन्छ ।”

विगतमा कतै निर्माण व्यवसायीका कारण, कतै कोभिडका कारण त कतै निर्माण सामग्रीको मूल्य बृद्धि हुँदा काम नगर्ने व्यवासायीको निर्णय (कन्सट्रक्सन होलिडे) का कारण निर्माणमा बाधा पुगेको थियो । विगत वर्षहरुमा कोभिडका कारणले पनि निर्माणमा अवरोध पुगेको थियो । कतिपय स्थानमा निर्माण व्यवसायीले काम नगरेर ढिलाई भएको थियो । ‘कन्सट्रक्सन होलडे को समयमा कतिपयले गरेपनि अन्यले गरेका थिएनन् ।

आयोजनामा गत आबमा सतप्रतिशत प्रगति थियो । १ सय ४६ किमी सडक कालोपत्र गर्ने लक्ष्य रहेकामा १५० किमीमा कालोपत्र भएको थियो । सोह्रवटा पुल निर्मार्ण गर्नुपर्नेमा १४ बटा निर्माण भएको आयोजनाले जनाएको छ । सो आयोजनाले आब २०६५/६६ मा निर्माण शुरु गरेर आव २०७४/७५ मा सम्पन्न गर्ने लक्ष्य लिएको थियो तर पछि त्यसलाई संशोधन गरेर आव २०७९/८० पुर्याइएको थियो ।

राणाकालमा चिठ्ठी आदानप्रदानका लागि प्रयोग हुने भारतीय सीमा नजिकैको सडकलाई नै डेढ दशक पहिले हुलाकी राजमार्ग नामाकरण गरिएको थियो । उक्त राजमार्ग पहिले हुलाकी पुल आयोजनाका रूपमा थियो । पहिले भारत सरकारले सबै सडक अनुदानमा निर्माण गर्ने र पुल सरकारले बनाउने सम्झौता भएको थियो । विसं २०६५/६६ मा भएको समझदारीमा भारतीय प्राविधिक र निर्माण व्यवसायी उताबाट आएर बनाउने उल्लेख थियो । पछि विभिन्न कारणले त्यो ‘मोडालिटीमा’ काम हुन सकेन । भारतीय पक्ष बीचैमा छाडेर फर्किएपछि आव २०७३/७४ मा हुलाकी राजमार्ग आयोजना निर्देशनालय बनेर हुलाकीको पूर्व–पश्चिम सडकसँगसँगै फिडर रोड’अघि बढाइएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्