भारुसँगको स्थिर विनिमयदरबारे विश्व बैंकको चासो, ‘अनपेगिङको जोखिम मूल्यांकन गर्नु’

सिंहदरबार संवाददाता
२०७९ आश्विन ५, बुधबार १४:१०

काठमाडौं । विश्व बैंकलाई साक्षी राखेर भारतीय रुपैयाँसँग नेपाली रुपैयाँको स्थिर विनियम दरबारे कुरा उठेको छ । नेपाल आर्थिक संघ र बैंक तथा वित्तीय संस्था परिसंघले विश्व बैंकसँगको सहकार्यमा आयोजीत कार्यक्रममा भारुसँगको स्थिर सटही दरबारे कुरा उठेको हो । वस्तुको मूल्य र आर्थिक विकास सम्बन्धी अन्तरक्रियामा नेपालको अर्थतन्त्र भारतीय अर्थतन्त्रसँग जोडिएकोले भारतीय रुपैयाँसँगको अनपेगिङ गर्दा हुने फाइदा र बेफाइदा विषयमा चर्चा भएको थियो ।

अहिले प्रतिस्पर्धी क्षमता कमजोर भएर निर्यात घटिरहको, वित्तीय घाटा उच्च हुँदै गइरहेको तथा अन्य उदयमान चुनौतीहरूको सामना गर्न कठिन बन्दै गएको सन्दर्भमा अनपेगिङले निम्यताउने संकटका विषयमा पनि गम्भीर छलफल भएको छ । छलफलमा विश्व बैंकका प्रतिनिधीहरुले भारुसँगको स्थिर विनिमय दरबारे कुरा उठाएका हुन् ।

बढेको मुद्रास्फीति, वित्तीय घाटा, विश्वव्यापी वस्तुको मूल्यवृद्धि र नेपालसहित दक्षिण एसियामा यसको प्रभावका विषयमा केन्द्रित थियो । कार्यक्रममा विश्व बैंकले उथलपुथलको समयमा पनि अवसरको सदुपयोग गर्ने वास्तविकतालाई मान्यता दिने खालका सुझाव दिएको छ । दिगो आर्थिक बृद्धिका लागि स्वदेशी उत्पादनमा बृद्धि गर्न, श्रोत परिचालन गरेर लुघ, साना, मध्यम व्यवसाय(एमएसएमई) लाई प्रवद्र्धन गर्न र अनौपचारिक उद्यमलाई औपचारिक अर्थतन्त्रमा ल्याउन आवश्यक रहेको प्रमुख अर्थशास्त्री डा. हान्स टिमरले सुझाव दिए । परिसंघका अध्यक्ष पवनकुमार गोल्यानले विश्व बैंकले नेपाल सरकारलाई दिँदै आएको ऋण र अनुदानलाई बैंक तथा वित्तीय संस्था मार्फत उपलब्ध गराउने हो भने यसले साँच्चिकै तरलताको हिसाबले बजारमा स्थायित्व ल्याउने, बजारमा मूल्य स्थिरता हुने र व्यवसायिक वातावरणमा सुधार हुने धारणा राखे ।

नेपाल आर्थिक संघका कार्यकारी समिति सदस्य तथा राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. पोषराज पाण्डेले व्यापार घाटा, कृषि क्षेत्रको बृद्धि, सामाजिक सुरक्षा संजाल, वित्तीय घाटा लगायतका समस्याहरुको बारेमा चर्चा गरे । विश्व बैंकका प्रमुख अर्थशास्त्री डा. हान्स टिमरले दक्षिण एशियाले, श्रोत साधनको पर्याप्त सदुपयोग गर्ने, विश्वस्तरमा पनि भइरहेको मूल्यवृद्धिको यथार्थलाई बेवास्ता नगरी तत्कालका लागि स्वदेशी उत्पादनमा वृद्धि गरेर परिस्थितिलाई समायोजन गर्नुपर्ने सुझाब दिए ।

डा. टिमरले यस महत्वपूर्ण समयमा हाम्रो जीविकोपार्जनको लागि घरपरिवार लगायत समष्टिगत आर्थिकस्तर र व्यापारको स्तरमा लचिलोपन बढाउन आवश्यक रहेको सुझाव दिए । आयात बढ्दै गएको अवस्थामा पनि नेपालले वैदेशिक स्रोतसाधनमा राम्रो पहुँच राख्ने भएकाले अहिले सोचे जस्तो अवस्था नरहेको भन्दै टिमरले संघीय सरकारका विभिन्न स्थानीय तहमा उपलब्ध स्रोत साधनको प्रभावकारी उपयोग गरी राजस्व परिचालनमा जोड दिनुपर्ने धारणा राखेका थिए । यस्तै, युक्रेन–रसिया युद्ध जस्ता विश्वव्यापी घटनाहरूले इन्धनको मूल्य बृद्धि भएका कारण विश्वव्यापी रुपमा नै खाद्यान्नको मूल्य बढाएको उनले बताएका थिए ।

कार्यक्रममा बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन कुमार गोल्यान, उपाध्यक्ष राजेश उपाध्याय, महासचिव केशव बहादुर रायमाझी, सचिव कुशप्रसाद मल्ली, कार्यकारी समिति सदस्य महेन्द्र कुमार गोयल, प्रतापजंग पाण्डे, प्रा डा. हिरेन्द्र मान प्रधानलगायतको सहभागिता रहेको थियो ।

विश्व बैंकका अन्य महानुभावहरूमा नेपाल, माल्दिभ्स र श्रीलंकाका लागि विश्व बैंकका कन्ट्री म्यानेजर लाडा स्ट्रेलकोवास कार्यक्रममा विश्व बैंक नेपाल कार्यालयका वरिष्ठ अर्थशास्त्री एलिस जे ब्रुक्स, माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि कन्ट्री इकोनोमिस्ट तथा कार्यक्रम प्रमुख डा ते ह्युन ली र विश्व बैंकका अन्य अर्थशास्त्रीहरू सहभागी थिए । नेपाल आर्थिक संघका महासचिव डा. गोपाल तिवारीले साना तथा मझौला उद्योगको दिगो प्रवर्द्धनका लागि संकटको समयमा नयाँ मोडल नै विकास गर्नुपर्ने बताए ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व सदस्यहरु, वरिष्ठ अर्थशास्त्री, त्रिभुवन विश्वविद्यालय, अर्थशास्त्र केन्द्रीय विभागका युवा अर्थशास्त्रीहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्