बाढी प्रभावित क्षेत्रमा दीर्घकालीन समाधान आवश्यक, पिडीतलाई ५० हजारदेखि २ लाख सम्म नगद सहयोग

सिंहदरबार संवाददाता
२०७९ आश्विन ६, बिहीबार १८:३२

भजनी । बाँसको चोयाले बारेर माटोले पोतेका कच्ची घर । बाढीले भत्काएका घरका भित्ता । हिलाम्मे घरका आँगन । बाढी पसेपछि हिलाम्मे भएका घरमा गहुँको भुसले ओभानो बनाएर जीवन कटाउनुपर्ने बाढी पीडितको बाध्यता ।

कैलालीको भजनी नगरपालिका–८ गोरचौराका सन्तराम चौधरीको जनजीवन यस्तै छ । घरको आगनमा बस्न सक्ने अवस्था छैन । कच्ची माटोले बनाएका घर बाढीले छियाछिया बनाएको छ । घरभित्र बाढीसँगै आएको लेदो सुकेको छैन । घरका कोठा सुक्खा बनाउन, चौपायालाई खुवाउनका लागि राखेको गहुँको भुसले घर ओभानो बनाउने प्रयास गरिएको छ ।

तीन रात खुल्ला आकाशमुनि बिताएर घर फर्किएका छौँ । घरको अवस्था तपाईले देखिहाल्नुभयो ।”सन्तरामले भने, “खुला आकाशको असुरक्षित बसाइँ । निकै अप्ठ्यारो भयो । घरमा भएपछि आफ्नो सुरक्षा र घरको सुरक्षा होला भनेर पनि घर फर्किनुपर्यो ।”

सन्तरामजस्तै सयौँ घरको अवस्था उस्तै छ । घरका आँगन कसैका सुख्खा छैनन् । घर वरिपरि हिलाम्मे छ । आवतजावतमा निकै समस्या छ । घरभित्र पनि सुरक्षित हुने वातावरण छैन । घर सुक्खा बनाउनको लागि स्थानीयले हर प्रयास गर्दै आएका छन् । “किरा फट्याङ्ग्राको जोखिम छ । काठका घरमा बस्दा कतैबाट किरा फट्याङ्ग्राको आक्रमण हुन्छ कि भन्ने त्रासले रातदिन सताइरहन्छ ।”भजनी नगरपालिका–८ कि सम्झना विकले भनिन्, आफुभन्दा पनि बालबालिकालाई सुरक्षित राख्न कठिन भएको छ । खानलाई अन्न छैन । पिउनलाई पानी । बालबालिका छैन भने मान्दैनन् ।”

भजनी नगरपालिका–८ कि पवित्रा चौधरी भदौ ३१ गते राति एकाएक घर छोडेर नजिकैको कृष्ण धोज चन्द माविमा पुगेकी थिइन् । लुगाबाहेक सबै छोडेर ज्यान जोगाउन विद्यालय पुगेकी पवित्रा तीन दिनपछि घर फर्किइन् । घरको कुरुप अवस्था देख्दा उनिलाई निकै चिन्ता भएको छ । घरमा रहेको अन्नपात, लत्ताकपडा सबै भिजेर खत्तम भएपछि भिजेको अन्नपात सुकाउन उनिलाई निकै समस्या भएको छ । “अन्नपात सबै भिजेर खत्तम भएको छ । सुकाउनको लागि न त त्रिपाल छ न त सुक्खा ठाउँ ।”उनले भनिन्, “भिजेको धान, गहुँ उम्रन थालिसकेको छ । लत्ताकपडा सबै हिलाम्मे छन् । आँगनमा आवतजावत गर्न सकिने अवस्था छैन । घरभित्र सहजरुपमा बस्न सक्ने स्थिति छैन ।”

बाढीका कारण घरमा पानी पस्दा अधिकांशको घरमा भएको अन्नपात बगेको छ । बचेको अन्नपात पनि उम्रन थाएको छ । सुकाउनको लागि कपडा छैन । आगन ओभानो छैन । भजनी नगरपालिका–८ की रामकृष्णी चौधरीले बाढीका कारण श्रीमान् गुनाउनुपर्यो । असोज १ गतेको बाढीमा बेपत्ता भएका रामकृष्णीका ६० वर्षीय कालुराम डगौंरा थारुको दुई दिनपछि शव भेटिएको थियो । श्रीमान्को बाढीले ज्यान लिएपछि आफूहरु पनि बाढीबाट सुरक्षित नरहेको रामकृष्णीले बताए । जुन कुराको त्रास वर्षौंदेखि मनमा थियो, आज हाम्रा लागि त्यहीँ भयो ।”उनले भने, “भोलि अरुलाई पनि हुनसक्छ । बर्सातको समय भजनीका लागि निकै कष्टकर हुन्छ । यो सबैलाई थाहा छ तर समाधान कतैबाट हुँदैन ।”

सयौँ बिघा धानबाली नष्ट

भजनीमा बाढी, डुबान र कटानका कारण सयौँ बिघा क्षेत्रफलमा लगाएको धानबाली नष्ट भएको छ । चारैतिरबाट नदीले घेरिएको भजनीमा नदीको कटान र डुबानका कारण सयौँ बिघा नष्ट भएको छ । विशेष गरी कान्द्रा, काँढा र पथरैया नदीका कारण नढी क्षति भएको स्थानीय गणेश बोहराले बताए ।

धानबाली नगरपालिकाले धानबालीमा भएको क्षतिको विवरण सङ्कलनको काम सुरु गरेको छ । नगरपालिकाका कृषि शाखाका प्रमुख हरिलाल जोशीका अनुसार वडा नं ३, ५, ७ र ८ का अधिकांश क्षेत्रमा लगाएको धानबाली पूर्णरुपमा नष्ट भएको छ । कतिपय ठाउँमा डुबानका कारण धान कुहिएको छ भने कतिपय ठाउँमा बाढीसँगै आएको लेदोले धान पुरेको छ ।”कृषि शाखा प्रमुख जोशीले भने, “यकिन तथ्याङ्क आएको छैन । तथ्याङ्क सङ्कलनको काम भएपछि मात्रै कति क्षति भएको छ भन्न सकिन्छ । मोटामोटी हेर्दा ५० प्रतिशत धानबालीमा क्षति भएको छ ।”

विद्यालयमा क्षति

विद्यालयमा बाढी पसेपछि असोज १ गतेदेखि भजनीका अधिकांश विद्यालय बन्द भए । केही विद्यालयमा स्थानीयले आश्रय लिएर बसेका कारण पनि विद्यालय सञ्चालनमा आउनसकेका छैनन् । बाढीका कारण विद्यालयको पहिलो तलामा माटो पसेका कारण त्यसको सरसफाइको काम भइरहेको छ भने कतिपय विद्यालय बाढीको छुटकारा पाउन सकेका छैनन् । विद्यालयमा बाढीका कारण ठूलो क्षति भएको नगरपालिकाका शिक्षा अधिकृत पङ्खबहादुर शाहले बताए । उनले कतिपय विद्यालयका हाजिर रजिष्ट्ररदेखि कम्प्युटरमा समेत क्षति भएको बताएका छन् ।

प्रधानाध्यापकको बैठक बोलाउने तयारी गरेका छौँ । त्यसपछि कुन विद्यालयका कति क्षति भएको छ त्यसको वास्तविक तथ्याङ्क आउने छ ।”शिक्षा अधिकृत शाहले भने, “केही विद्यालय अझै सञ्चालनमा आउन सकेका छैनन् । ती विद्यालयलाई सञ्चालनमा ल्याउन विकल्प खोज्ने काम पनि भइरहेको छ ।”बाढीका कारण जनजीवन अस्तव्यस्त हुँदा त्यसको असर बालबालिकामा समेत परेको उल्लेख गर्दै शिक्षा अधिकृत शाहले सञ्चालन भएका विद्यालयमा पनि विद्यार्थीको उपस्थितिमा कमि आएको बताएका छन् ।

स्वास्थ्यमा विशेष सावधानी

नगरपालिकाले बाढीका कारण विस्थापित भएका नागरिकमा सङ्क्रामक रोगको प्रकोप फैलिन सक्ने भन्दै विशेष सावधानी अपनाएको छ । विस्थापित भएका नागरिकलाई स्वस्थ्य चेकजाँचलाई निरन्तरता दिएको छ । स्वस्थ्य सामग्रीका साथै स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखिएको स्वस्थ्य शाखाका प्रमुख कैलाश चौधरी बताउछन् ।

“बाढीका कारण हावापानीमा पूरा परिवर्तन भएको हुन्छ । अहिले डेङ्गुको सङ्क्रमण फैलिँदो अवस्थामा छ । त्यसको विशेष सावधानीमा नगरपालिका छ । स्वास्थ्य शाखा प्रमुख चौधरीले भने, “डेङ्गु परीक्षणका लागि कीटको अभाव छ । खरिदको प्रक्रिया अगाडि बढाएका छौँ ।”उनले पिउने पानीका कारण रोग फैलिन सक्ने जोखिम रहेको बताए । शुद्ध खानेपानीमा नागरिकको पहुँच नभएका कारण हाते नल्काको पानी पिउँदा स्वस्थ्य समस्या देखिन सक्ने बताए ।

मृतकका परिवारलाई नगद सहयोग

सरकारले बाढीका कारण ज्यान गुमाएका भजनीका दुई परिवारलाई नगद रुपैयाँ हस्तान्तरण गरिएको छ । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा रणबहादुर रावलले नगरपालिकाको वडा नं ८ का ६० वर्षीय कालुराम चौधरी र वडा नं ९ का २५ वर्षीय विनोद राजीको परिवारलाई जनही २ लाखका दरले नगद सहयोग गरिएको हो । मन्त्री रावलले प्राकृतिक विपत्तिबाट मृत्यु भएका परिवारलाई जनही १ लाख २० हजार नगद सहयोग गर्ने निर्णय भएको बताए । उनले पूर्णरुपमा घरबारविहीन परिवारलाई ५० हजार नगद सहयोगको निर्णयसमेत भएको बताए ।

दीर्घकालीन समाधान खोज्दै नगरपालिका

बर्सेनि स्थानीय नागरिक बाढी र डुबानको समस्या झेल्दै आएको भन्दै प्रदेश र सङ्घीय सरकारलाई दीर्घकालीन नदी नियन्त्रणमा सहयोग गर्न नगरपालिकाले अपिल गरेको छ । नगरपालिकाका नगर प्रमुख केवल चौधरीले नदी नियन्त्रणका लागि काम नभएसम्म भजनीका नागरिकले बाढी र डुबानको समस्याबाट छुटकारा पाउन नसक्ने बताए ।

“भजनी डुबानको मुख्य कारण कान्द्रा, काँढा र पथरैया नदी हुन र अर्को कारण भारतक कैलाश बाध पनि हो ।” नगर प्रमुख चौधरीले भने, नदीमा पानीको सतह बढेपछि भारतले कैलाश बाधका ढोका बन्द गरेपछि भजनी डुबानमा पर्ने गरेको छ । यसको समाधानका लागि सङ्घीय सरकारले गम्भीरताका साथ लिनुपर्छ ।”

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा रणबहादुर रावलले भजनीको दीर्घकालीन समाधानका लागि तीनै तहको सरकरको समन्वय हुन आवश्यक रहेको बताए । बाढी प्रभावित क्षेत्रको अनुगमनका क्रममा सङ्घीय सरकारले बढी जिम्मेवारी लिनुपर्ने बताउँदै प्रदेशले गर्ने कामका लागि आफूले मातहतका मन्त्रालयसँग समन्वय गर्ने बताएका छन् । “हामीले देख्दै, सुन्दै र समाचार माध्यममा पढ्दै पनि आएका छौँ, भजनीको अवस्था बर्सेनि कस्तो हुन्छ भन्ने कुरा ।”मन्त्री रावलले भने, सानोतिनो योजनाले भजनीलाई बाढी र डुबानको जोखिमबाट बचाउन सकिँदैन । त्यसका लागि तिनै तहको सरकार सकारात्मक भएर समन्वय र सहयोग हुन आवश्यक छ ।”

प्रतिक्रिया दिनुहोस्