अर्थमन्त्रीद्वारा ब्याजदरमा हस्तक्षेप, ५ दिनभित्रै दर संशोधन गर्ने गरी कमिटी गठन

सिंहदरबार संवाददाता
२०७९ आश्विन ९, आईतवार १६:५६

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बैंकको ब्याजदर वृद्धिमा हस्तक्षेप गरेका छन् । असोज १ गतेदेखि बैंकले बढाएको ब्याजदरमा निजी क्षेत्रका उद्योगी व्यवसायीहरुले चर्को विरोध गरेपछि अर्थमन्त्री शर्माले सो बारे गर्दै अध्ययन कमिटी गठन गरेका हुन् ।

लामो समयसम्म यथावत राखिएको निक्षेपको ब्याजदर बैंकहरुले असोज १ गतेदेखि लागू हुने गरी १२.१३३ प्रतिशत पुर्याएका छन् । जसले गर्दा कर्जाको ब्याजदरमा असर पर्ने र बैंकले नै बढी ब्याज दिएपछि उद्योगबाट लगानी बाहिरीने भन्दै उद्योगीहरुले पटक/पटक विरोध गर्न थालेपछि बिहिबारदेखि राजधानीमा आयोजित विद्युतीय सवारी साधान मेला “नाडा इभि एक्स्पो २०२२” को उद्घाटन समारोहमा बोल्दै उनले यही साता ब्याजदर बारे छलफल गरेर उचित निर्णय गर्न सचिवलाई निर्देशन दिएको जानकारी दिएका थिए ।

सोही अनुसार आइतबार दिउँसो अर्थमन्त्रालयमा राष्ट्र बैंक, बैंकर्ससंघ, उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कर्मशसँग मन्त्री शर्माले छलफल गरेका थिए । सो छलफलमा मन्त्री शर्माले ७ सदस्य सहितको ब्याजदर अध्ययन कमिटी गठन गरी ५ दिन भित्रै अध्ययन प्रतिवेदन बुझाउन निर्देशन दिएका हुन् । अर्थ मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख बाबुराम सुवेदीको संयोजकत्वमा कमिटि गठन गरेका छन् ।

उक्त कमिटिमा राष्ट्र बैंकबाट १ जना, बैंकर्स संघबाट २ जना, आपूर्ति मन्त्रालयबाट १ जना, एफएनसीसीआई, सीएनआई र चेम्बरबाट १/१ जना र आपूर्ति मन्त्रालयबाट १ जना प्रतिनिधि रहने छन् । भने, अर्थमन्त्रालयको उपसचिव सदस्य सचिव रहने छन् । सो कमिटीको अध्ययन प्रतिवेदनले औल्याएको विषयमा थप छलफल गरी ब्याजदर संशोधनको लागि राष्ट्र बैंकमार्फत् बैंकहरुलाई निर्देशन दिइने अर्थमन्त्रालय स्रोतले सिंहदरबारलाई जानकारी दियो ।

‘मन्त्री ज्युले कमिटीमा सम्बन्धित संस्थाका प्रतिनिधिहरुको नाम पठाउन भनिसक्नु भएको छ, नाम आएसँगै भोलीदेखि नै कमिटीले अध्ययन शुरु गरी यही साता भित्रै ब्याजदर सम्बन्धित व्यवसायीहरुलाई परेको मर्का सम्बोधन हुने सम्भावना छ । ।

आइतबार भएको छलफलमा मनत्री शर्माले बैंकले निक्षेपमै १४/१५ प्रतिशसम्म ब्याज दिए लगानीकर्ताले उद्योगको लगानी झिकेर बैंकमा डिपोजिट राख्ने भन्दै ततकाल घटाउनु पर्ने संकेत गरेका थिए ।

ब्याजदरमा हस्तक्षेप गर्दै अर्थमन्त्री भन्छन्– ‘बैंकमा पैसा राखेर १३% पाए कसले उद्योग खोल्छ ?’

प्रतिक्रिया दिनुहोस्