लघुबीमाका लगानीकर्ता स्टक र ब्रोकर कम्पनीमा, अध्ययनमै दर्जन आवेदन माग्दा शुन्य !

दिलु कार्की
२०७९ आश्विन १०, सोमबार १५:०४

काठमाडौं । गत भदौ १० गते बीमा समितिले ३५ दिने सुचना जारी गर्दै लघुबीमा कम्पनीको लाइसेन्स आवेदन माग गरेको थियो । सो समय सकिन अब ३ दिन मात्रै बाँकी छ । असोज १३ गतेसम्म लाइसेन्सको लागि आवेदन दिन पाइने हो, तर, हालसम्म एउटा पनि आवेदन नपरेको बीमा समितिका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडेलले बताए ।
‘अहिलेसम्म एउटा पनि आवेदन परेको छैन्, यसअघि १२/१३ वटा कम्पनीहरु दर्ता भने भएका थिए,’ समितिका प्रवक्ता पौडेलले सिंहदरबारसँग भने, ‘पुरानो दर्ता खारेज गरी नयाँ आवेदन माग गरेको एक महिना बितिसम्यो तर, पुराना दर्ता गराउनेले पनि चासो समेत देखाएका छैनन् ।’

बीमा समितिले ४ वटा निर्जीवन र ३ वटा जीवन सहित गरी ७ वटा लघुबीमालाई लाइसेन्सको लागि आह्वान गरेको हो । अब बिदाको दिन बाहेक आवेदन दिने समय ३ दिनमात्रै बाँकी छ । तर, अन्तिम दिनसम्म माग गरिएकोभन्दा बढी आवेदन पर्ने सक्ने उनको अनुमान छ ।

‘पहिलेको आवेदन खारेज भएपछि पुराना आवेदकहरुले पनि नयाँ फाइल बनाउनु पर्ने हुन्छ, नयाँलाई अझै बढी काम गर्नु पर्ने हुन्छ,’ उनले थपे, ‘आवेदकहरुले अन्य तयारी गर्दा समय लागेको हो, अन्तिम दिनसम्म मागभन्दा बढी आवेदन पर्छ ।’

समितिले ७५ करोड रुपैयाँ चुक्ता पुँजी तोकि प्रादेशिक स्तरमा केन्द्रीय कार्यालय राख्ने गरी लाइसेन्सको लागि आवेदन दिन भनेको छ । साथै, लघुबीमा कम्पनीको आवेदन दिने लगानीकर्ताले अन्य बीमा कम्पनीको संस्थापक लगानीकर्ता नहुनु पर्ने, लघु जीवन बीमा र निर्जीवन लघुबीमाको लागि छुट्टाछुट्टै आवेदन दिनु पर्ने, लघुबीमा कम्पनी स्थापना गनर्नुको उदेश्य खुलाउनु पर्ने, ग्रामिण क्षेत्रमा न्युन आय भएका समुदायलाई लक्षित गरेर सहुलियतदरमा लघुबीमा सेवा दिनुपर्ने लगायतका शर्त समितिले राखेर आवेदन माग गरेको हो ।

तर, आवेदन माग गरेको ३२ दिन बितिसक्दा समेत हालसम्म एउटा पनि आवेदन परेको छैन ।

के हो लघुबीमा ?
लघुबिमा भनेको न्यून आय भएको वर्गहरुलाई भविष्यमा हुनसक्ने संभावित जोखिमको लागि गरिने बीमा हो । जो न्यून आय, आर्थिक र सामाजिक कारणबाट हुन सक्ने तर जोखिमसँग सामना गर्न नसक्ने छन् ती व्यक्ति वा समुदायलाई लक्षित गरी उनीहरूको जीवन वा सम्पत्तिको सुरक्षा गर्ने बीमालाई नै लघुबीमा भनिन्छ ।

बीमा समितिले गरिब अर्थात न्यून आय भएका वर्गलाई पनि बीमाको पहुँचमा ल्याउन नै लघुबीमा कम्पनीको स्थापना गर्न लागेको हो ।

अन्य बीमा लेखमार्फत् बमिाको दायरामा पर्ने नसकेका वर्ग समुदायलाई लघुबीमाले समेट्ने समितिका प्रवक्ता पौडेल बताउँछन् । न्यून आर्थिक अवस्था भएकाहरुको जीवन र सम्पत्तीको जोखि बहन गर्नको लागि लघुबीमा कार्यक्रम शुरु गरिएको हो ।

तर, सबै प्रकारका व्यवसाय गर्ने कम्पनीहरुले आवश्यकता अनुसार ग्रामीण क्षेत्रमा बसोबास गर्ने र गरिब जनतालाई समेट्न नसकेकै कारणले छुट्टै कम्पनी स्थापना गरी लघुबीमा मार्फत् बीमाको पहुँच सबै नागरिकमा पुर्याउने लक्ष्य गरिएको हो ।

लघुबीमा कम्पनीको अध्ययनमै दर्जन आवेदन तर आव्हान गर्दा अझै कोहि आएनन् 
बीमा समितिले गत वर्षको असार महिनामा छुट्टै लघुबीमा कम्पनीको सम्भावना खोज्न अध्ययन समिति गठन गरेको थियो ।

समितिका निर्देशक सुशिल देव सुवेदीको संयोजकत्वमा गठित सो अध्ययन समितिमा सगरमाथा इन्स्योरेन्सका सिईओ चंकी क्षेत्री र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका सिईओ पोषकराज पौडेल सदस्य रहेका थिए । उक्त अध्ययन समितिले एक महिनाभित्रै नेपालमा छुट्टै लघुबीमा कम्पनी आवश्यक भएको प्रतिवेदन बुझाएको थियो ।

सो कमिटीले न्यून आय भएका र बीमाको दायरा भित्र आउन नसक्ने व्यक्ति समुदायलाई बीमाको दायरामा ल्याउनको लागि छुट्टै लघुबीमा कम्पनी चाहिने निष्कर्श कमिटीले बुझाएको अध्ययन प्रतिवेदनको थियो ।

बजारमा नयाँ लघुबीमा कम्पनी आवश्यक पर्ने र समितिले सोही अनुसारको तयारी गरिहेको संकेत पाउने लगानीकर्ता समुहले समितिमा १३ वटा आवेदन दर्ता गराएका थिए ।
जसमा अभियान लघुबीमा, अन्नपूर्ण लघु बीमा, मुक्तिनाथ लघु बीमा, हब लघु बीमा, उन्नती लघु बीमा, उपकार लघु बीमा, बेस्ट लघु बीमा, लुम्बिनी लघु बीमा, माछापुच्छ्रे लघु बीमा, जेन्युन लघु बीमा, नेश्डो लघु बीमा, साइन रेशुङगां लघु र पायनियर लघु बीमा बीमाको नाममा कम्पनी सञ्चालनमा ल्याउने भन्दै लाइसेन्सका लागि दर्ता भएको समितिले जानकारी दिएको छ ।

उक्त समयमा निर्जीवन लघुबीमा कम्पनीहरुको लागि मात्रै लाइसेन्स माग गरी कम्पनी दर्ता गराएका लगानीकर्ताहरु समेत अहिले समितिले जीवन र निर्जीवन दुबैमा अवसर दिँदा समेत वास्ता नगरि बसेका छन् ।

नयाँ स्टक र ब्रोकरको लाइसेन्स खुल्दा लगानीकर्ता ‘फास्ट रिटर्न’ मा आकर्षित हुँदै
समितिले नयाँ लघुबीमा कम्पनीको चुक्ता पुँजी ७५ करोड रुपैयाँ तोक्दै संरचनामा संस्थापक समूहको कम्तीमा ५१ प्रतिशत र सर्वसाधारणमा ३० प्रतिशत हुनु पर्ने व्यवस्था गरेको छ । कर्मचारीलाई चुक्ता पुँजीको ५ प्रतिशतसम्म छुट्याउनु पर्ने समेत लघुबीमा निर्देशिकामा उल्लेख छ ।

समितिले तोकेअनुसारको लगानी लघुबीमा कम्पनीमा गर्न लगानीकर्ताहरु इच्छुक नदेखिएको महालक्ष्मी लाइफ इन्स्योरेन्सका कार्यकारी अधिकृत (सीइओ) रमेश कुमार भट्टराई बताउँछन् ।

‘सेयर बजार घटअहिले संकटको अवस्था भएर पनि लगानीकर्ता पाउनै मुस्किल छ, त्यही माथि सेबोनले नयाँ स्टक र ब्रोकरको लाइसेन्स खुलाएको छ । यसले गर्दा लघुबीमालाई थिच्यो,’ सीइओ भट्टराईले सिंहदरबारसँग भने, ‘लगानीको अवसर बढेपछि लगानीकर्ताले चाँडो रिर्टन आउने ठाँउ नै हेर्छ, लघुबीमामा रिर्टन लिनु ५ वर्ष कुनुपर्छ भने ब्रोकरमा तुरुन्तै बिक्री गरी रिर्टन पाइन्छ ।’

त्यसैले केही समय अघिसम्म लघुबीमा लगानी गर्न चाहने लगानीकर्ताहरु नयाँ स्टक र ब्रोकर कम्पनीमा लगानी गर्न इच्छुक भएको उनको भनाइ छ ।
साथै, पछिल्लो समय बजारमा तरलतता अभाव हुँदा बैंकले कर्जा बन्द गरेर र सेयर बजार समेत घटेको हुँदा लगानी गर्ने प्रयाप्त पैसा नहुँदा पनि लघुबीमा कम्पनीमा लगानी गर्छु भन्दै लाइसेन्स माग्न आउने घटेको उनले बताए ।

‘ठुलो लगानी गर्ने भने बैंकबाट कर्जा लिएर, सेयर बिक्री गरेर वा घर जग्गा बिक्री गरेर नै हो तर अहिले बैंकले पनि कर्जा रोकेको छ भने सेयर बजार घट्दो अवस्थामा र घर जग्गा बिक्री हुने समस्या छ,’ उनले थपे, ‘लगानी गर्न पैसा आउने बाटो नै बन्द भएपछि नयाँ कम्पनी स्थापना गर्नका लागि लगानीकर्ता पाउन गाह्रो नै छ । त्यसैले अहिलेसम्म फाइल दर्ता गराउने भन्ने केही निर्णय गर्न सकिएको छैन् । केही दिन बाँकी नै छ, साथीभाईमा कस्तो सहमति जुट्छ हेरौं ।’

उल्लेखित समस्याहरुसँगै लगानीकर्ताले आफ्नो लगानी स्टक र ब्रोकरमै लगाउन चाहेको हुँदा लघुबीमा कम्पनी खोल्न अहिले पुँजीको अभाव भएको उनले सुनाए ।

समितिले प्रस्तावकलाई लघु जीवन बीमा वा लघु निर्जीवन बीमा व्यवसाय गर्ने गरी छुट्टाछुटै आवेदन दिनु पर्ने उल्लेख गरेको छ । सोही अनुसारको फाइल तयारी गरी दर्ता गर्ने तयारीमा समितिकै पुर्व कार्यकारी निर्देशक श्रीमान कार्की पनि छन् ।

उनले अभियान लघुबीमा कम्पनी र हिम शिखर जीवन लघुबीमा कम्पनी सञ्चालनमा ल्याउने तयारीका साथ आवेदन दिन लागेका हुन् । तर, पछिल्लो समय बजारमा लगानी गर्न इच्छुकहरु घट्दै गएको हुँदा कम्पनीमा संस्थापक लगानीकर्ता जुटाउन समस्या भइरहेको उनले बताए ।

‘फाइल तयार गर्दै छौँ, जीवन निर्जीवन दुवैको लागि आवेदन दिन्छौँ, तर, बजारमा तरलता अभाव र अन्य क्षेत्रमा पनि लगानीको अवसर खुलेको कारण लघुबीमा कम्पनीमा लगानीकर्ता सहजै जुटाउन समस्या छ,’ समितिका पुर्वकार्यकारी निर्देशक कार्कीले सिंहदरबारसँग भने, ‘अहिले सेयर बजार घटेको छ, भएको सेयर बेचेर अन्त लगानी गर्छु भन्ने स्थिति छैन ।’

यद्धपी, लघुबीमा व्यवसाय न्यूय आम्दानी आउने व्यवसाय भएको कारणले गर्दा पनि लगानीकर्ता आकर्षित हुन नसकेको उनको भनाइ छ ।

सरकारले थोरै प्रिमियम राखेर धेरै सुविधा दिएर लघुबीमाका प्रोडक्टहरु ल्याउन भनेको हुँदा पनि थोरै आम्दानी हुने व्यवसायमा लगानीकर्ता आकर्षित नभएको उनले बताए ।
‘लघुबीमा भनेको नाफामा भन्दा सेवामा बढी केन्द्रित व्यवसाय हो, प्रिमियममै कम भएपछि आम्दानी नै कम हुने भएको हुँदा बढी नाफा आउने व्यवसायमा लगानीकर्ता आकर्षित भएको हुन सक्छन् ।’

बीमाको दायराभन्दा बाहिर रहेका न्यून आय भएका व्यक्तिहरुलाई लघुबीमाको माध्यमबाट बीमाको दायरामा ल्याउन यो काम अघि बढाइएको हो ।

 

प्रतिक्रिया दिनुहोस्