Shikhar Insurance

असोज २४ र २५ गते नेपालमै पहिलोपटक ग्रिन हाइड्रोजन समिट हुने

सिंहदरबार संवाददाता
२०७९ आश्विन १३, बिहीबार १५:३७
NIMB
Nabil Bank

काठमाडौं । जलवायु परिवर्तनको असर न्यूनीकरण तथा आर्थिक समृद्धि हासिल गर्न स्वच्छ ऊर्जा क्षेत्र र दिगो जलवायु अनुकुलका पूर्वाधारमा लगानी अभिवृद्धि गर्ने उद्देश्यका साथ असोज अन्तिम साता नेपालमै पहिलो पटक ‘नेपाल ग्रीन हाइड्रोजन समिट (एनजीएचएस) आयोजना हुने भएको छ । राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले असोज २४ र २५ गते तदनुसार अक्टुबर १० र ११ मा हरित हाइड्रोजन सम्बन्धी बृहत सम्मेलन आयोजना गर्न लागिएको जनाएको छ ।

एमआईटी ग्रुप फाउण्डेसन, ग्लोबल एनआरएन फाउन्डेसन, नेपाल सरकार अर्थ मन्त्रालय र नेपाल सरकार, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले संयुक्त रूपमा नेपाल ग्रीन हाइड्रोजन समीटको आयोजना गर्न लागेका हुन । ताहाचलस्थित होटल सोल्टी काठमाण्डौमा आयोजना हुने सम्मेलनको मुख्य नारा ‘नेपाल हरित हाइड्रोजन सम्मेलन ः पग्लिदै गरेका हिमालका लागि एन्टिडोट’ रहेको छ । हरित हाइड्रोजनको उत्पादन, भण्डारण र वितरण क्षमताको अध्ययनमा टेवा पुर्याउने लक्ष्य सम्मेलनले लिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

पत्रकार सम्मेलनमा एमआईटी ग्रुप फाउन्डेसनका अध्यक्ष एव एनआरएनका पूर्व अध्यक्ष शेष घलेले विश्वमै वातावरणीय र आर्थिक रुपले बलियो विकल्पका रुपमा देखा परेको हाईड्रोजन उत्पादनलाई नेपालमा पनि सम्भाव्य बनाउने बहस गर्न समिट आयोजना गरिएको जानकारी दिए । “हरित हाईड्रोजन उत्पादनमा सरकारले अब प्रष्ट भिजन बनाएर निजी क्षेत्रलाई पनि अग्रसर बन्ने वातावरण बनाउनु पर्छ,” उनले भने, “ दातृ निकाय, निजी क्षेत्र पनि अब नेपालमा हाइड्रोजन उत्पादन सम्भाव्य वनाउने तर्फ अग्रसर हुनुपर्छ ।”

ग्लोबल एनआरएन फाउण्डेसनकी संस्थापक सदस्य जमुना घलेले सम्मेलनमा हाइड्रोजन उत्पादनका सन्दर्भमा अन्तरराष्ट्रिय अनुभव हालसम्मको ज्ञान र प्रविधि नेपालमा गर्नुपर्ने नीतिगत तथा अन्य व्यवस्थाका विषयमा गम्भिर मन्थन हुने जानकारी दिइन । “जलस्रोतको अपार सम्भावनालाई हाइड्रोजन उत्पादनमा पनि उपयोग गरी वातावरण, जनस्वास्थ्य, निर्यात व्यापारको सुधारका लागि पनि उपयोगमा ल्याउन सवै सरोकारवाला लाग्न जरुरी छ,” उनले भनिन ।
त्यस्तै विन्ड पावर नेपालका प्रमुख कार्यकारी अधिकृत कुसल गुरुङले सम्मेलनमा नेपालका उद्योग क्षेत्रका उच्च तथा प्रतिष्ठित व्यक्तित्व, विभिन्न मन्त्रालय र सरकारी कार्यालयका प्रतिनिधि, नेपाल विकास साझेदार, बहुपक्षीय अन्तर्राष्ट्रिय समुदाय, संयुक्त राष्ट्रसंघीय एजेन्सी, विदेशी दुतावास, अन्तराष्ट्रिय विज्ञ र हरित हाइड्रोजन प्रविधिमा काम गरिरहेका प्रमुख कम्पनीका प्रतिनिधिहरुको सहभागिता रहने जानकारी दिइन । ग्लोबल एनआरएन फाउन्डेसनकी संस्थापक सदस्य जानकी गुरुङले सम्मेलनले नेपालमा हरित हाइड्रोजनको उत्पादन र जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र हाइड्रोजनको के कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा बहस, विश्लेषण गर्ने बताइन ।

नेपालमा यसअघि यस्तो सम्मेलन भएको छैन । त्यस अर्थमा यो हरित हाइड्रोजन सम्बन्धी पहिलो सम्मेलन हो । योसँगै नेपालमा पर्यावरणीय रुपमा दिगो हरित हाइड्रोजन अर्थतन्त्रको विकास गरी उर्जा र खाद्य सुरक्षाको सुनिश्चितता बढाउने लक्ष्य सम्मेलनको छ । सम्मेलनमा नेपालमा हरित हाइड्रोजनको उत्पादन, भण्डारण र वितरण क्षमताको अध्ययन, हरित एमोनियाबाट रासायनिक मल उत्पादनको सम्भावना र क्षमताको बारेमा विश्लेषण गर्ने उदेश्य छ । त्यस्तै अन्तराष्ट्रिय वक्ताहरूले हरित हाइड्रोजन उत्पादनका लागि लाग्ने लागत, प्रयोग हुने प्रविधि र ग्लोबल टे«न्डको बारेमा जानकारी पनि दिनु हुनेछ । हरित हाइड्रोजन र युरिया उत्पादनमा ठूलो मात्रामा निजी लगानी आकर्षित गर्ने पनि सम्मेलनको उदेश्य रहेको गुरुङले बताइन ।

पत्रकार सम्मेलनमा दिगो विकास लक्ष्यहरू हासिल गर्न मद्दत गर्ने, हरित तथा जलवायु मैत्री हरित हाइड्रोजन योजनालाई प्राथमिकतामा राख्ने उर्जाको सहज प्रसारण सम्बन्धी नीतिको रोडम्याप तयार गर्न नेपाल सरकारलाई सघाउने पनि सम्मेलनको उदेश्य रहेको जानकारी गराइयो ।

जलवायु परिवर्तनको असर न्यूनीकरण तथा आर्थिक वृद्धि हासिल गर्नका लागि स्वच्छ ऊर्जा क्षेत्र र दिगो जलवायु अनुकुल पूर्वाधारमा लगानी गर्नुपर्ने विषयमा विश्वव्यापी रुपमा छलफल भइरहेको सन्दर्भमा हरित हाइड्रोजन सम्मेलनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा आयोजकको छ । त्यसैगरी नेपालले पर्यावरणीय समस्याहरुको दीर्घकालीन समाधानका लागि नवीनतम उपायहरु पत्ता लगाउन पनि सम्मेलनले महत्वपुर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ । सम्मेलनले जल विद्युतको प्रयोग गरी हरित हाइड्रोजनको उत्पादन र उत्पादित हाइड्रोजनलाई अमोनिया उत्पादनमा प्रयोग गर्ने र यस बाहेक हाइड्रोजनलाई अरु कुन क्षेत्रमा प्रयोग गर्न सकिन्छ भन्ने विषयलाई केन्द्रमा राखेको छ । यस सम्बन्धी नीति सुधारका लागि इनोभेटिभ वित्तिय मोडालिटी, वैदेशिक प्रत्यक्ष लगानी, निजी क्षेत्रको थप संलग्नता, प्रविधिको प्रयोग र नीति निर्माणका लागि बलियो आधार निर्माण गर्न पनि सम्मेलनले उल्लेखनीय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्