Shikhar Insurance

नारायणगढ–मुग्लिन सडकखण्ड : क्षतिपूर्ति नदिँदा पुल निर्माणमा ढिलाइ

सिंहदरबार संवाददाता
२०७९ कार्तिक १७, बिहीबार १२:१७
NIMB
Nabil Bank

भरतपुर । घरटहराको क्षतिपूर्ति नदिँदा नारायणगढ–मुग्लिन सडकखण्डका पुल निर्माणमा ढिलाइ भएको छ । सडकखण्डमा निर्माणाधीन १५ पुलमध्ये नौवटा पुल छेउमा रहेका घरटहराको क्षतिपूर्ति नदिँदा निर्माणमा ढिलाइ भएको हो ।

पुल छेउका घरटहरा भत्काउन नपाउँदा निर्माण कम्पनीले काम गर्न पाएका छैनन् । नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख किरण कार्कीका अनुसार पुलसँग जोडिएका २६ घरटहराको क्षतिपूर्ति सरकारले उपलब्ध गराउनुपर्नेछ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको मुआब्जा निर्धारण समितिले नापजाँच र मूल्याङ्कनको काम गरेर सिफारिस गरिसकेको कार्कीले बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

“सडकखण्डमा पर्ने पुल आसपासका घरको ५० हजारदेखि ७ लाखसम्म क्षतिपूर्ति दिनुपर्ने छ, उनले भने, १ करोड २५ लाख माग गरेका छौँ ।”उनले गतवर्ष क्षतिपूर्तिको रकम विनियोजन नहुँदा समयमै पुल निर्माण सम्पन्न गर्न नसकिएको बताए ।

“यस वर्ष जसरी पनि क्षतिपूर्तिको रकम व्यवस्थापन गर्नुपर्ने छ, त्यसका लागि विभाग र मन्त्रालय धाइरहेका छौँ, कार्कीले भने । तिहारअघि भौतिक तथा पूर्वाधार मन्त्रालयका सचिव र सडक विभागका महानिर्देशकले समेत स्थलगत निरीक्षण गरेको भन्दै यस वर्ष क्षतिपूर्तिको रकम विनियोजन हुनेमा आशावादी रहेको उनले बताए ।

“कतिपय स्थानको छेउछाउमा घरटहरा भए पनि बिचमा काम गरिरहेका छौँ, कार्कीले भने, स्थानीयसँग आपसी सहमति गरेर भए पनि काम गरेका छौँ । स्थानीयले क्षतिपूर्तिका लागि दैनिक अनुरोध गर्ने गरेको उनले बताए । मुग्लिनबाट नारायणगढतर्फ जाने पहिलो पुलमा जग खन्ने बित्तिकै घरटहरा भत्किने भएका कारण क्षतिपूर्ति नदिँदासम्म काम सुरु गर्न नसकिएको कार्कीले बताए । नाम्सी, रिद्धीखोला, खहरे, खोर, लामोबालुवा, भोर्ले र सिमलताल पुलका छेउमा रहेका घरटहरालाई क्षतिपूर्ति दिनुपर्ने प्रमुख कार्कीको भनाइ छ ।

विश्व बैंकको ऋण सहयोगमा निर्माणाधिन १५ पुलमध्ये चालु आर्थिक वर्षभित्र १२ वटाको निर्माण सकिने आयोजनाले जनाएको छ । निर्माण पूरा भएका पुल नजिकै सडकमा जोडिएका घरटहरालाई दिने क्षतिपूर्ति भने ऋण सहयोगमा परेको छैन। उक्त क्षतिपूर्ति सरकारले दिनुपर्ने छ । सरकारले त्यसका लागि बजेट निकासा गरेको छैन। आयोजनाका अनुसार यसै आर्थिक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी तिहारपछि पुल निर्माण धमाधम भइरहेका छन् ।

आयोजना प्रमुख कार्कीले १५ मध्ये १२ पुल यसै आर्थिक वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने बताए । १९ पुलमध्ये चारवटा यसअघि नै निर्माण सम्पन्न भइसकेको उनले जानकारी दिए । पछिल्लोपटक १५ पुल निर्माणका लागि दुई प्याकेजमा ठेक्का आह्वान गरेर काम सुरु गरिएको हो । उनले पाँच पुल निर्माणको काम अन्तिम चरणमा रहेको र घरटहराको क्षतिपूर्ति दिलाउन सके तीन महिनाभित्र सात पुल निर्माण सम्पन्न हुने बताए।

तीमध्ये पहिलो प्याकेजको ४५ र दोस्रो प्याकेजको ८२ प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ । समग्रमा १५ पुल निर्माणको काम ६० प्रतिशत सकिएको छ । सडकखण्डअन्तर्गतका पुललाई दुई भागमा विभाजन गरेर ठेक्का लगाइएको हो । प्याकेज–१ मा इच्छाकामना गाउँपालिकाको मुग्लिनबाट रिग्दीखोलासम्मका पुल छन् । जसमा खहरे, चिसेन्जी, तुइन, काली, टोपे, न्याम्सी र रिद्धीखोला गरी सात पुल छन् ।

प्याकेज–२ मा भरतपुर महानगरपालिकाअन्तर्गत सिमलतालबाट जुगेडीसम्मका पुल पर्छन् । जुगेडी, खहरे, खोर, लामोबालुवा, भोर्ले, डुम्रे, सिमलताल र सेतीदोभान खोला गरी आठ पुल छन् । यो प्याकेजअन्तर्गत जुगेडीबाहेक अन्य पुलको ९० प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ ।

कार्कीका अनुसार प्याकेज–१ का सातवटा पुल चार सय ४२ मिटर लामा छन् भने प्याकेज–२ का आठ पुल ३ सय ८१ मिटर लामा छन् । पुलको गाडी गुड्ने ठाउँ ७.५ मिटर फराकिलो हुनेछ । दुवैपट्टि १.५ मिटर फराकिला फुटपाथ र २५ सेन्टिमिटर रेलिङका लागि छुट्याइएको छ । ठेकेदार कम्पनीलाई नक्साङ्कनसहित ठेक्का दिइएकाले कूल खर्चमा १० प्रतिशत तलमाथि हुनसक्ने आयोजनाले जनाएको छ ।

दुवै ठेक्का एउटै कम्पनीको रहेको छ । पन्ध्र पुलका लागि २०७६ चैत १० गते ठेकेदार कम्पनीसँग सम्झौता भएको थियो । सम्झौताको ३३ महिनामा काम सम्पन्न गर्ने गरी अनक कन्स्ट्रक्सन’ले ठेक्का लिएको थियो तर सम्झौताको म्याद सकिन दुई महिनामात्रै बाँकी छ । एक वर्ष म्याद थप गर्ने आयोजनाको तयारी छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्