Shikhar Insurance

ज्येष्ठ नागरिकलाई घरमै उपचार, सरकारले १ लाख बराबरको औषधि खर्च व्यहोर्ने

सिंहदरबार संवाददाता
२०७९ कार्तिक १७, बिहीबार १४:५०
NIMB
Nabil Bank

खजुरा । गत असार २७ गते अहेव मनोजकुमार कैराती ज्येष्ठ नागरिक अनोखा यादवलाई उपचार गर्नका लागि नेपालगञ्जमा डा विनोद थापा कहाँ पर्चा काट्दै थिए । भिलोरपुरुवाका ८५ वर्षीय यादवको तिघ्राको समस्या बल्झिएपछि अहेब कैराती उपचारमा खटिएका थिए । ज्येष्ठ नागरिक यादवलाई घरबाटै गाउँपालिकाको एम्बुलेन्समा राखेर नेपालगञ्ज लगिएको थियो । गाउँपालिकाले नै उपचार गरिदिने भएपछि अहेव कैराती त्यसका लागि खटिएका थिए ।

गाउँपालिकाले यादवलाई यसअघि पनि नेपालगञ्जमा ल्याएर उपचार गरेको थियो । चैत्र महिनामा होलियाको पिप्रहवा भन्दा पारीपट्टी भारतमा लाग्ने शुक (जानकी) बजारमा जाने क्रममा यादवलाई मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट घाइते भएका ज्येष्ठनागरिक यादव पालिकाको सम्पर्कमा आएपछि उनको उपचार सबै पालिकाले गर्दै आएको छ । यादवको शिवशक्ति फार्मेसीमा उपचार गरिएको थियो । फेरि दुखाई बल्झिएपछि अहेव कैरातीले डा. विनोद थापाकहाँ पु्र्याएका हुन्। अहेव कैराती भन्छन्, थाईमा चोट लागेको छ । पहिला शिवशक्तिमा उपचार गर्यौ । फेरि दुखाई बल्झिएपछि डा. विनोद थापालाई देखाएको छु ।’’

Citizen Life
Kumar Bank
Nepal Life

गाउँपालिकामा ज्येष्ठ नागरिकसँग गाउँपालिका अध्यक्ष कार्यक्रम’सञ्चालन भएपछि ज्येष्ठनागरिकले घरमै उपचार सेवा पाएका छन् । पालिकामा ७० वर्षभन्दा माथिका ज्येष्ठनागरिकलाई कुनै समस्या भएमा स्वास्थ्यकर्मी घरमै पुग्छन् । स्वास्थ्य जाँच गर्छन् । घरमा उपचार सम्भव नभए पालिकाको स्वास्थ्य संस्थामा ल्याउँछन् । त्यहाँबाट पनि उपचार सम्भव नभए सुविधा सम्पन्न तथा विशेषज्ञ सेवाका लागि नेपालगञ्जका ठूला अस्पतालमा ल्याएर उपचार गराइन्छ ।

गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीसँग जोडिएको यो कार्यक्रमबाट ज्येष्ठ नागरिकले राम्रो लाभ लिएका छन् । गत वर्ष फाल्गुनदेखि यो कार्यक्रम लागू गरिएको हो । चैत्रदेखि कोरोनाको लहर शुरु भएकाले बीचमा केही महिना धेरैले लाभ लिन सकेका छैनन् । घरघरमा पुगेर स्वास्थ्यकर्मीले प्रचार–प्रसार गरिरहेका छन् । गाउँटोलमा प्रचारप्रसार हुँदै गएको छ । पालिकाले गत आर्थिक वर्ष २०७८/७९ को बजेटमा यो कार्यक्रमका लागि ३० लाख छुट्याइएको थियो ।

प्रदेश सरकारले ८४ वर्ष माथिकालाई घरघरमा सेवा दिने नीति लिएको छ । डुडुवा गाउँपालिकाले ७० वर्ष माथिलाई लक्षित गरेर यो कार्यक्रम सुरु गरेको थियो । विस्तारै ७० वर्ष हुँदै ६० वर्षसम्मकाले यो सेवा लिन थालेका छन् । बेतहनी स्वास्थ्यचौकीका जनस्वास्थ्य निरीक्षक हेमन्त शर्माले ज्येष्ठनागरिकले बिरामी छु भनेर फोन गरेपछि घरमै स्वास्थ्यकर्मीको टोली पुग्ने बताए । स्वास्थ्यकर्मीलाई फोन गरे पनि हुन्छ । गाउँपालिकाका अध्यक्षलाई फोन गरे पनि हुन्छ । जहाँ फोन गरे पनि ज्येष्ठ नागरिक बिरामी छन् भन्ने थाहा पाएपछि स्वास्थ्यकर्मीको टोली घरमै पुग्छ, जनस्वास्थ्य निरीक्षक शर्माले भने, “पहिला घरमै जाँच गर्छौं । त्यहाँ सम्भव नभए स्वास्थ्य संस्थामा ल्याउँछौँ । यहाँबाट पनि नभए नेपालगञ्जको ठूला अस्पतालमा पुर्याउँछौँ । बिरामीलाई उपचार गरेरै घरमा लगेर छोडिदिन्छौँ ।”

पिप्रहवाका ७५ वर्षीय सुहारा तेली बिरामी रहेको कुरा पालिका अध्यक्ष नरेन्द्र चौधरीमार्फत स्वास्थ्यकर्मीले थाहा पाए । तेलीको गोरुले हानेर तिघ्राको हड्डी भाँचिएको रहेछ । भेरी अस्पतालमा ल्याएर उनको निशुल्क अप्रेसन गरेको अहेव कैरातीले बताए । पिप्रहवाका ७६ वर्षीय धारा पासीको कम्मरमा समस्या भएपछि १८ दिन बढी भेरी अस्पतालमा उपचार गरियो । बाबागाउँका केशव अहिरलाई पटकपटक नेपालगञ्जमा ल्याएर उपचार गरिएको छ ।

पालिकामा एउटा एम्बुलेन्स सधैं तयारी अवस्थामा रहने गर्दछ । ज्येष्ठ नागरिक, सुत्केरी, गर्भवती वा अन्य बिरामीलाई ल्याउन र लैजान एउटाले नभ्याउने भएपछि पालिकाले अर्को एम्बुलेन्स खरिद गरेको छ । खरिद गरिएको नयाँ एम्बुलेन्स ज्येष्ठ नागरिकलाई ल्याउन र लैजान मात्रै प्रयोग गर्ने रणनीति बनाइएको छ ।

ज्येष्ठ नागरिकको बीमा

गाउँपालिकाले ज्येष्ठ नागरिकको बीमा गराइरहेको छ । पालिकाका स्वास्थ्य शाखाका प्रमुख धनबहादुर बुढाले अहिलेसम्म १ हजार २ सय ५६ जनाको बीमा भइसकेको जानकारी दिए । बीमा गरेपछि सरकारले १ सय ५० किसिमका औषधि निःशुल्क दिन्छ । १ सय ५० वटाको नेपाल सरकारअन्तर्गतको लिष्ट नपरेको औषधि पालिकाले किनिदिन्छ । सरकारले १ लाख बराबरको औषधि व्यहोर्ने बताएको छ । १ लाखभन्दा बढी खर्च आएमा त्यसलाई पालिकाले व्यहोर्ने गर्दछ । बीमा सुविधाबाट बञ्चित भएकाको उपचार खर्च पनि पालिकाले नै व्यहोर्दै आएको छ ।

पालिकाले स्वास्थ्य सेवालाई विस्तार गर्दै अघि बढेको छ । बेतहनी, कम्दी र हिरमिनियामा तीन वटा निशुल्क ल्याब (प्रयोगशाला) छन् । वनकट्टीमा राख्ने तयारी गरिएको छ । ल्याबमा रगत, दिसा, पिसाव, खकार, मुटु, किड्नी, कलेजो, सुगर, थाइराइडलगायत सबै जाँच हुन्छ । बाहिर यी सबै जाँच्दा तीन हजार बढी खर्च लाग्छ । यहाँ सबै निःशुल्क गरिएको छ । पालिकामा पाँच वटा स्वास्थ्य चौकी रहेको छ । होलिया, बेतहनी, वनकट्टी, कम्दी र हिरमिनियामा स्वास्थ्य चौकी छन् । वडा नं ४ को शाहपुरुवामा आधारभूत स्वास्थ्य केन्द्र रहेको छ । स्वास्थ्य सेवाको पहुँचबाट बाहिर रहेका समुदायका लागि होलियाको कुडुवा र कम्दीको डलैपुरमा सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरिएको छ ।

डुडुवा गाउँपालिकामा ४० हजार ७ सय ४ जना जनसङ्ख्या रहेको छ । स्वास्थ्य संस्थामा दैनिक ५० देखि १ सय ५० जनासम्म उपचार गराउन आउँछन् । एक वर्षमा २५ हजार बढीले सेवा लिने जनस्वास्थ्य निरीक्षक शर्माले बताए । साउनदेखि असारसम्म ९ हजार २ सय ४२ जनाले उपचार सेवा लिएका छन् । कोरोनाले यो वर्ष असर परेको देखिन्छ । पालिकामा बेतहनी, वनकट्टी, कम्दी र हिरमिनियामा प्रसूति केन्द्र रहेका छन् । यहाँबाट चौबिसै घण्टा सेवा दिइन्छ ।

कुपोषण हटाउन पालिकाले काम गरिरहेको छ । बच्चाको तौल, उचाइ र पाखुराको नाप लिने गर्दछ । कुपोषित बालकलाई निःशुल्क खाने औषधि दिइन्छ । पालिकामा भएन भने भेरी अस्पतालको पोषण उपचार केन्द्रमा रिफर गरेर उपचार गर्छ । यो वर्ष १५ जना बच्चाले सेवा लिएका छन् । त्यसमा चार जनालाई रिफर गरिएको थियो । कोभिडको बिरामीलाई पालिकाले सक्दो स्याहारसुसार गर्यो । २ सय ७४ जना सङ्क्रमित भए, २६ जना आइसोलेशनमा बसे र ४ जनाको मृत्यु भएको थियो । पिसिआर, एन्टिजेन निशुल्क जाँच गरिएको थियो । जनस्वास्थ्य निरीक्षक शर्माले ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार, प्रयोगशाला, कोभिडलाई सबै निःशुल्क, एम्बुलेन्स निःशुल्क सेवा दिएको बताए । उनका अनुसार, गर्भवती/सुत्केरीका लागि एम्बुलेन्समा ५० प्रतिशत र अन्य बिरामीलाई ३० प्रतिशत छुट दिइएको छ ।

पालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि स्वास्थ्यमा करिब २ करोड रुपैयाँ छुट्याएको थियो । घरघरमा स्वास्थ्य कार्यक्रम, आमा सुरक्षा कार्यक्रम, ल्याब स्थापना र सञ्चालन, बेतहनीमा इमर्जेन्सी स्वास्थ्य सेवा सञ्चालन रहेका छन् । ज्येष्ठ नागरिकसँग गाउँपालिका अध्यक्ष कार्यक्रमलाई निरन्तरता दिइएको छ । यो वर्ष पालिकाको अहिलेसम्म गाउँसभा नभएकाले यो वर्षको कार्यक्रम प्रभावित बनेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए ।

बाँकेमा ज्येष्ठ नागरिकलाई विशेष फोकस गरेर डुडुवा गाउँपालिकाले मात्रै कार्यक्रम सञ्चालन गरेको छ । गत वर्ष डुडुवाले स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्य गरेपछि जिल्लामा भएको मूल्याङ्कनमा पहिलो स्थान हासिल गरेर उत्कृष्ट भएको थियो । उमेर चढ्दै गएपछि जो कोही बिरामी हुन्छन् । आर्थिक अवस्थाले उपचार गर्न सम्भव नहुन सक्छ । पालिकाले ज्येष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम सञ्चालन गरेर ज्येष्ठ नागरिकलाई ठूलो सम्मान गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्