महासंघको चुनावी अस्त्र बन्दै ‘ब्याजदर आन्दोलन’, बहुरङ्गी रुप देखाउँदै वरिष्ठका उम्मेदवार

दिलु कार्की
२०७९ कार्तिक १८, शुक्रबार १७:५७

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले असुलेको ब्याजदर र सेवा शुल्क सम्बन्धी बिषय यतिबेला नेपाल उद्योग बाणिज्य महासंघको चुनावी अस्त्र बन्न पुगेको छ । महासंघको आगामी साधारण सभाबाट बरिष्ठ उपाध्यक्ष बन्ने दौडमा रहेका सबै जसो आकांक्षीहरु ब्याजदर आन्दोलनलाई चुनावी एजेण्डा बनाउन तल्लिन छन् ।

बरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने बिधानको व्यवस्था अनुसार हालका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल अब स्वतः अध्यक्ष बन्दैछन् । आगामी साधारण सभाबाट बरिष्ठ उपाध्यक्ष बनेर अध्यक्ष पद सुनिश्चित गर्न लागिपरेका सबै उम्मेदवारहरु यतिबेला बैंकको ब्याजदर र सेवा शुल्क सम्बन्धी मुद्धालाई चुनावी अस्त्र बनाउन लागिपरेका छन् ।

महासंघको आगामी साधारण सभाबाट बरिष्ठ उपाध्यक्ष बन्ने दौडमा हालका उपाध्यक्षत्रय दिनेश श्रेष्ठ, अञ्जन श्रेष्ठ र रामचन्द्र संघाई लागिपरेका छन् । उनीहरुसँगै निवर्तमान उपाध्यक्ष उमेश श्रेष्ठ पनि बरिष्ठ उपाध्यक्षको दौडमा छन् ।

बरिष्ठ उपाध्यक्षको दौडमा रहेका तीनै उपाध्यक्षहरु यतिबेला सडकमा छन् । माइतीघरमा आयोजीत सांकेतिक बिरोध जुलुशको नेतृत्व जिल्ला नगर उपाध्यक्ष श्रेष्ठले गरेका थिए भने बस्तुगत र एसोसियट उपाध्यक्ष अञ्जन श्रेष्ठ र रामचन्द्र सघाई पनि सहभागी थिए ।

ब्याजदर वृद्धिलगायत विभिन्न कारणले उद्योग व्यवसायको लागत बढेको भन्दै उद्योगी व्यवसायीहरुले सम्बन्धित निकायको ध्यानाकर्षणका लागि माइतीघर मण्डलामा प्रदर्शन गरेको नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठले बताए ।

“बैंकको ब्याजदर वृद्धि उद्योगी व्यवसायीले खप्नै नसक्ने अवस्था भयो । सरकार र सम्बन्धित निकायको ध्यानाकर्षणका लागि विरोध कार्यक्रम गरेका हौँ”, उपाध्यक्ष श्रेष्ठले भने, “समस्यामा परेका उद्योगी व्यवसायी स्वतःस्फूर्तरुपमा विरोध कार्यक्रममा आएका छन् । सम्बन्धित निकायको ध्यानाकर्षण हुन्छ भन्ने आशा छ ।”

उनले आफुहरु कसैको बिरोधमा नभएको तर गरिखान पाउनुपर्ने बताए । अन्यथा देशैभर उठेको आन्दोलन अझै कडा बन्दै जाने चेतावनी पनि दिए । अर्थतन्त्रमा ७० प्रतिशत योगदान रहेको निजी क्षेत्र हतोत्साहित हुने उनले बताएका छन् ।
उद्योगलाई एकल ब्याजदरमा र व्यवसायीलाई एक दुई प्रतिशत थपेर ऋण दिनुपर्नेमा पनि जोड दिए ।

महासंघका अर्का उपाध्यक्ष अञ्जन श्रेष्ठले पनि प्रिमियम लगातार वृद्धि गरेर बैंकहरुले उद्यमी व्यवसायीमाथि अन्याय गरिरहेको आरोप लगाए । हिजो शुन्य दरमा ऋण दिने बैंकहरुले यतिबेला पाँच सात प्रतिशत प्रिमियम लिन थाल्नु आपक्ति जनक भएको बताए । राष्ट्र बैंकले प्रिमियम दर नियन्त्रण गर्नुपर्ने र महासंघले भने जस्तो २ प्रतिशत भन्दा बढी प्रिमियम लिन नपाउने व्यवस्था गर्नुपर्ने धारणा राखेका छन् ।
बैंक सुरक्षित रहनुपर्ने तर बैंक मात्रै बाच्ने कुरा ठिक नभएको बताए । बढ्दो ब्याजदर र प्रिमियम दरबारे राष्ट्र बैंकले नीतिगत हस्तक्षेप गर्नुपर्ने उनको भनाई छ । अहिलेको ब्याजदरमा उद्योग व्यवसाय चल्नै नसक्ने उनको दावी छ ।

साङ्केतिक विरोध कार्यक्रममा विभिन्न प्रदेश तथा जिल्ला सङ्घ, वस्तुगत सङ्घ सहभागी थिए । उनीहरुले ‘बैंक हामीलाई प्यारो छ, ब्याजदर वृद्धिले हामीलाई गाह्रो छ’ ‘ब्याजदर चर्को भो, गरिखान गाह्रो भो’, ‘उद्योग व्यापार नबचे अर्थतन्त्र बच्दैन’, बैंकिङ आतंक बन्द गर जस्ता नारा लेखिएका ब्यानर बोकेका थिए ।

‘बैंकहरुलाई ब्याजदर तोक्न, प्रिमियम लिनका लागि नियामक नेपाल राष्ट्र बैंकले नै छुट दिएको हो, सरकार पनि यसमा मौन बसेको देखिन्छ, बैंकहरु पनि दोषी छन् । अहिले लगानी गर्न पैसा छैन भने पुरानो ऋणमा ब्याजदर किन बढाएको ? मैले बर्ष अघि, २० वर्ष अघि लिएको ऋण हो, त्यसमा ब्याजदर किन बढाउने ?’ महासंघका निवर्तमान उपाध्यक्ष उमेश श्रेष्ठले जुलुशमा प्रतिक्रिया दिँदै भनेका थिए ।

बैंकमाथि व्यवसायीका आरोप
आन्दोलन गरिरहेका व्यवसायी र उनीहरुका नेताहरुले बैंकहरु माथि केहि गम्भिर आरोपहरु लगाएका छन् । त्यस्तै, नेपाल राष्ट्र बैंक, अर्थमन्त्री र सरकारको नेतृत्व प्रति पनि उनीहरु आक्रोशित छन् ।

अर्थतन्त्रमा आन्तरिक र बाह्य कारणले असर पारिरहेकाले तरलता व्यवस्थापनमा समस्या, ब्याजदरमा स्थायित्व, बाह्य क्षेत्र व्यवस्थापन र मूल्य स्थिरताका लागि राष्ट्र बैंकले पहल गर्नुपर्ने उद्योगी व्यवसायीको माग छ ।
उनीहरुले सबै भन्दा चर्काे स्वरले बिरोध गरेको विषय हो, चालु पुँजी कर्जा सम्बन्धी निर्देशिका । व्यवसायीले चालू पूँजी निर्देशिकामा भएको संशोधन कुनै हालतमा कार्यान्वयन गर्न नहुने बटम लाइन बनाएका छन् । त्यस बाहेक कर्जाको साँवाब्याज भुक्तानीका लागि थप समय पाउनुपर्ने, कर्जा–निक्षेप अनुपात (सिडी रेसियो) संशोधनबारे विस्तृत अध्ययन गर्नुपर्ने उनीहरुको माग छ ।

व्यवसायीहरुले बैंकको ब्याजदर एक अंकमा कायम हुनुपर्नेे र सेवा शुल्क घटाउनुपर्ने आवाज पनि बुलन्द पारेका छन् । अर्थतन्त्रमा योगदान दिने अधिकांश क्षेत्र संकटमा परेका बेला बैंकहरुको नाफामा भने कुनै प्रभाव नपरेको उनीहरु बताउँछन् ।

आक्रामक शेखर आएनन्, चन्द्र ढकाललाई ढुक्क
बैंकको ब्याजदर, सेवा शुल्क र चालु पुँजी कर्जाबारे आक्रामक अभिव्यक्ति दिईरहेका महासंघ अध्यक्ष शेखर गोल्छा भने शुक्रबार बिरोध प्रदर्शनमा देखिएनन् । बैंक तथा वित्तीय संस्थामा उल्लेख्य लगानी नगरेका गोल्छा सुरुदेखि नै ब्याजदरबारे व्यवसायीका पक्षमा उभिँदै आएका छन् ।

उता, महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल भने ढुक्कसँग बसेका छन् । महासंघको आगामी कार्यकालका लागि अध्यक्ष पद सुरक्षित गरेर बसेका ढकाल देशकै ठूलो दावी गर्ने ग्लोबल आइएमई बैंकका अध्यक्ष छन् । उनी न बैंकहरुका पक्षमा खुलेर अभिव्यक्ति दिईरहेका छन् न त व्यवसायीहरुकै पक्षमा नै देखिन्छन् । उनले सधै सरकार-निजी क्षेत्र मिल्नुपर्ने, बैंक र व्यवसायी सँगै हुनुपर्ने भन्दै मध्यमार्गी धारणा राख्दै आएका छन् ।

रामचन्द्रको दोहोरो भूमिका
महासंघको एसोसियट उपाध्यक्ष रहेका रामचन्द्र संघाईको भूमिका भने दोहोरो देखिन्छ । संघाई व्यवसायीको आन्दोलनमा समर्थन जनाउन सडकमा आएका छन् । तर उनी सञ्चालक रहेको एनआईसी एसिया बैंक नै ब्याजदर र सेवा शुल्कबारे आलोचना खेप्नेहरुको शिर्ष सूचिमा पर्छ । उनी भने आगामी निर्वाचनमा बरिष्ठ उपाध्यक्षमा प्रतिष्पर्धा गर्नुपर्ने भएकाले व्यवसायीसँगै सडकमा देखिए ।

चर्काे भाषणमा प्रतिष्पर्धा
बरिष्ठ उपाध्यक्षको दौडमा रहेका चारै जनाले व्यवसायीहरुका पक्षमा चर्का भाषण गरिरहेका छन् । उनीहरु बैंकको नाफामाथि कडा र चोटिलो प्रहार गर्ने प्रतिष्पर्धामा छन् । जति कडा बोल्यो त्यति आफ्नो पक्षमा माहोल बन्ने आँकलनसहित चार जना आकांक्षीले बैंक विरुद्ध आफुलाई उभ्याईरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्