Shikhar Insurance

विदेशी लगानीमा पूर्ण कर छुट, हरेक वर्ष लगानी सम्मेलनः लौरो अभियान

सिंहदरबार संवाददाता
२०७९ कार्तिक २१, सोमबार ०९:२१
NIMB
Nabil Bank

काठमाडौं । मङ्सिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि हाम्रो नेपाली पार्टीले प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । ललितपुरमा एक औपचारिक कार्यक्रमका बीच उक्त दलले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो । नेपाली राजनीतिको परम्परागत मानक भत्काउन र वैकल्पिक शक्तिका रुपमा आफूलाई स्थापित गर्ने उद्देश्य हाम्रो नेपाली पार्टीको प्रतिबद्धतापत्रमा उल्लेख छ । ‘लौरो अभियान’ सञ्चालन गरिरहेको उक्त पार्टीले आफ्नो राजनैतिक दर्शन र सिद्धान्त नेपालवाद रहनेसमेत उल्लेख गरेको छ ।

प्रतिबद्धतापत्रमा केही महत्वाकांक्षी कार्यक्रमसमेत राखिएका छन् । सातवटै प्रदेशमा हिमाल, पहाड, तराई जोडेर सातवटा चक्रपथ निर्माण गर्ने कार्यक्रमलाई राष्ट्रिय योजनाका रुपमा राखिएको छ । सबै जिल्लामा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनको अवधारणासहित दीर्घकालीन योजना बनाएर जाने पनि उल्लेख गरिएको छ । स्वास्थ्य, शिक्षा र बिमा निःशुल्क गर्ने नीति हाम्रो नेपाली पार्टीले लिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

आन्तरिक उत्पादन बढाएर आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि ‘नुनदेखि सुनसम्म र सियो देखि रकेट’सम्म नेपालमै उत्पादन गरिने प्रतिबद्धतापत्रमा उल्लेख छ । हरेक वडामा कृषि उपज तथा जडीबुटी सङ्कलन केन्द्र स्थापना गर्ने र नेपालका एक सय ६२ वटा फलाम खानी तथा एक सय ४७ वटा तामा, सुन तथा युरोनियम खानीको सदुपयोग गरिने पनि प्रतिवद्धतापत्रमा जनाइएको छ । युवा तथा खेलकुदलाई लक्षित गरी सबै प्रदेशमा क्रिकेट र फुटबल रङ्गशाला बनाउने योजना उक्त पार्टीको छ ।

राष्ट्रिय गौरव आयोजनाका रुपमा लुम्बिनीलाई विश्व शान्ति क्षेत्र स्थापना गर्ने, कैलाशपर्वतबाट स्वर्गद्वारी, स्वर्गद्वारीबाट सगरमाथा र सगरमाथाबाट कञ्चनजङ्घासम्म पदमार्ग स्थापना गर्ने जनाइएको छ । स्पेस कानुन निर्माण गरी नेपालमै स्टाटेलाइट, रकेट तथा ड्रोन बनाउने र ब्लक चेनलगायत अत्याधुनिक प्रविधिलाई वैधानिकता दिने पनि प्रतिबद्धतापत्रमा उल्लेख छ । विदेशी लगानीका लागि पूर्ण कर छुट नीति बनाउने तथा हरेक वर्ष लगानी सम्मेलन गर्ने जनाइएको छ ।

मौलिक पहिचान र धार्मिक स्वतन्त्रतासहितको नेपाल राज्य, प्रत्यक्ष निर्वाचित शासन पद्धति, सांसदबिहीन कार्यपालिका, गुणस्तरीय शिक्षा र स्वास्थ्य, सामाजिक सुरक्षासहितको उन्नतशील राज्य, उत्पादनमूलक अर्थतन्त्र, आत्मनिर्भर राष्ट्रका लागि कृषिजस्ता योजना उक्त दलले राखेको छ ।रासस

GBIME

प्रतिक्रिया दिनुहोस्