Shikhar Insurance

बालकृष्ण श्रेष्ठः समृद्ध चन्द्रपुरको सपना देखिरहने जुझारु युवा

सिंहदरबार संवाददाता
२०७९ कार्तिक २३, बुधबार १६:१८
NIMB
Nabil Bank

चन्द्रपुर । रौतहट जिल्ला खासगरी समृद्ध चन्द्रपुरको सपना देखिरहने र आफ्नै जीवनमा पनि व्यवहारिक प्रयोग गरिरहेका युवा हुन् बालकृष्ण श्रेष्ठ । उनै बालकृष्ण श्रेष्ठ मंसिर ४ गते हुन लागेको निर्वाचनमा नेकपा (एकीकृत समाववादी) का तर्फबाट कलम चिन्ह लिएर रौतहट क्षेत्र नम्बर ४ (क) मा प्रदेश सभा सदस्यका लागि चुनावी मैदानमा उत्रिएका छन् । चुनावी मैदानमा उत्रिएका अन्य प्रतिष्पर्धीहरु भन्दा उनी निकै अब्बल उम्मेदवारको रुपमा प्रष्टै देखिएका छन् ।

को हुन् बालकृष्ण श्रेष्ठ ?
२०३६ सालमा चन्द्रनिगाहपुरमा जन्मिएका बालकृष्ण तत्कालीन अवस्थामा चन्द्रनिगाहपुर क्षेत्रका चिरपरिचित व्यक्तित्व दीर्घबहादुर श्रेष्ठ (हरिपुरे जेठा) का माइला छोरा हुन् । बालकृष्णका बुबाले त्यतिबेला करीब २ सयवटा गाई पालेका थिए । ती गाई चराउन लमाहाको जंगलमा लाग्थे । बालकृष्णसँग गाई चराउन गएको, हलो जोतेको अनुभव पनि छ । त्यसकारण उनले स्थानीय किसान र श्रमिकका दुःखसुखलाई राम्रैसँग बुझेका र आफैंले भोगेका पनि छन् । उनले २०५२ सालमा स्थानीय जनज्योति माध्यमिक विद्यालयबाट एसएलसी उत्तीण गरेका हुन् । शिक्षाको कुरा गर्दा उनले समाजशास्त्रमा स्नातकोत्तर उत्तीर्ण गरेका छन् । स्कूल जीवनदेखि नै हक्की स्वभाव भएका उनी साथीहरु कोही कसैले थिचोमिचो गर्न खोजे प्रतिवादमा उत्री हाल्थे । सानैदेखि पढाईमा अब्बल थिए । पार्टीगत आबद्धताः बालकृष्ण २०५२ सालदेखि नै राजनीतिमा आबद्ध हुँदै आएको व्यक्ति हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

स्कूल पढ्दा २०५२ सालदेखिनै अनेरास्वबियुको सदस्य भएका उनी २०५९ सालमा जिल्ला अध्यक्ष भई विधार्थीहरुको हकहितका पक्षमा आवाज उठाएका थिए । तत्कालीन नेकपा (एमाले) को नगर सदस्य र विभिन्न भातृ संगठनमा रहेर क्रियाशील रहँदै २०७० सालदेखि २ कार्यकाल युवा संघ नेपालको रौतहट जिल्ला अध्यक्ष भएर काम गरेका थिए । उनले २०५६ सालमा पार्टीको संगठित सदस्यता पाएका थिए । २०७० सालदेखि २०७४ सालसम्म जिल्ला खेलकुद विकास समितिको अध्यक्षका रुपमा राजनीतिक नियुक्ति पाए र जिल्लाको खेलकुद क्षेत्रको विकासका लागि कार्य गरे । उनै बालकृष्ण हाल नेकपा (एकीकृत समाजवादी) को जिल्ला सदस्य, युवा फाँट इन्चार्ज, जनजाति महासंघको केन्द्रीय सदस्य र जिल्ला इन्चार्जको रुपमा पार्टी अभियानमा निरन्तर सक्रियतापूर्वक क्रियाशील छन् ।

सामाजिक संघसंस्थामा आबद्धताः
बालकृष्ण चन्द्रनिगापुर सिटी जेसिजका संस्थापक अध्यक्ष हुन् । स्थानीय युवाहरु मिलेर सामाजिक कार्य गर्नका लागि चन्द्रनिगाहपुर सिटी जेसिज स्थापना भयो । उनी सन् २०१४–२०१५ को अध्यक्ष भए । जनज्योति बहुमुखी क्याम्पस सञ्चालन समितिको सदस्य रहेका उनी नूनथर क्षेत्र विकास समितिको सदस्य, नेवाः देय दबुको रौतहट जिल्ला अध्यक्षसहित अन्य विभिन्न सामाजिक क्षेत्रमा सक्रिय छन् । उनी कम्प्युटर एशोसियनशन अफ नेपाल (क्यान) को रौतहट जिल्ला अध्यक्ष र मधेस प्रदेश अध्यक्षका रुपमा पनि सक्रिय रहे । २०५५ सालमा कोलगेट पाल्मोलिभ नेपाल हेटौंडामा कार्यरत रहँदा मजदुर संगठन जिफण्टमा आबद्ध रहँदै मजदुरका हकहितका पक्षमा आवाज उठाउने कार्यको नेतृत्व गरेका थिए ।

हाल जनज्योति बहुमुखी क्याम्पस सञ्चालक समितिको सदस्यमा रहँदा क्याम्पसलाई आर्थिक रुपमा सवल बनाउन र गुणस्तरीय शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाको रुपमा अघि बढाउन पनि उत्तिकै महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् ।

पेशा/व्यवसायः
मूलतः राजनीतिमा सक्रिय रहेका उनी विभिन्न पेशा व्यवसायमा आबद्ध रहे । २०५९ सालमा चन्द्रनिगाहपुरमा कम्प्युटर इन्स्टिच्यूट स्थापना गरी १२ वर्षसम्म सञ्चालन गरे । शैक्षिक संस्थामा जागिर खाए र हाल चन्द्रनिगाहपुरमै अटो व्यवसाय गरिरहेका छन् । राजनीति पेश नभएर सेवा हो, त्यसकारण राजनीति गर्नेहरु कुनै न कुनै व्यवसायमा आबद्ध हुनु पर्ने उनको धारणा छ । त्यसकारण उनले आफ्ना छोरालाई समेत चन्द्रनिगाहपुरमा आफैंले शुरु गरेको अटो व्यवसायमा आबद्ध गराएका छन् ।
जे भन्छन्, त्यही गर्छन्ः
बालकृष्ण श्रेष्ठले पेशा र रोजगारीको शिलशिलामा काठमाडौं र हेटौंडा पनि केही समय बिताए । तर, उनी अरुको ठाउँमा रमाएर बस्न सकेनन्, आफ्नै ठाउँ चन्द्रपुर क्षेत्रमा केही गर्नु पर्छ भन्ने हुटहुटीले उनलाई चन्द्रपुर क्षेत्रमै तानेको छ । उनी यस क्षेत्रमा प्राविधिक शिक्षा अघि बढाउनु पर्ने पक्षमा छन्, स्वरोजगारी विकास गर्नु उनको मुख्य ध्येय हो । त्यसैकारण तत्कालीन अवस्थामा कम्प्युटर इन्स्टिच्यूट चलाए, शैक्षिक संघसंस्थामा जोडिए र खेलकुदलाई समेत अघि बढाउन जिल्ला खेलकुद विकास समितिको अध्यक्ष भई कार्य गरे । स्कूले जीवनमा उनी कुशल फुटबल खेलाडी पनि थिए । आफैं पनि एउटा खेलाडी भएका नाताले खेलाडीहरुको दुःख र मर्म बुझेका छन्÷भोगेका छन् । हाम्रै समुदायका धेरै व्यक्तिहरु यस्ता छन्, आफ्नो सन्तानलाई शिक्षा दिक्षा दिएर वा पढाईको शिलशिला विदेश पठाउँछन् र उतै ‘सेटल’ गराएका छन् । तर बालकृष्णले आफ्ना छोरालाई चन्द्रपुरमै ल्याएर आफूले शुरु गरेको पेशामा आबद्ध गराएका छन् ।

महिला सशक्तिकरणका सवालमा पनि उनी संवेदनशील छन् । उनले आफ्नी श्रीमतिलाई सौन्दर्य पेशामा आबद्ध गराएर स्थापित व्यवसायीका रुपमा उभ्याउन सहयोगीको भूमिका निर्वाह गरेका छन् । आफ्ना साथीभाईहरु, अग्रज अभिभावक आमाबुवाहरु, विधार्थी, युवा, महिला दिदीबहिनीहरुसँग हाँसेर बोल्ने, अत्यन्तै मिलनसार स्वभाव भएका बालकृष्ण आफ्नो पार्टीका नेता कार्यकर्ताहरु मात्र नभएर अन्य पार्टीका नेताकार्यकर्ता, बुद्धिजीवी र समाजसेवीहरुलाई समेत प्रभावित पार्न सक्ने क्षमता पनि राख्छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्