Shikhar Insurance

पुँजीकोष अनुपात नपुग्दा लक्ष्मी, माछापुच्छ्रे र एनआइसी एशिया बैंकले लाभांश वितरण गर्न नपाउने

बैंककाे कसरत जारी
दिलु कार्की
२०७९ कार्तिक २४, बिहीबार १८:२७
NIMB
Nabil Bank

काठमाडौं । गत आर्थिक वर्षको मुनाफाबाट हालसम्म ८ वटा वाणिज्य बैंकले सेयरधनीलाई लाभांश वितरणको घोषणा गरिसकेका छन् । भने, सिटिजन्स बैंक र कुमारी बैंकले घोषित लाभांश राष्ट्र बैंकको स्वीकृति पाएर साधारणसभाबाट पारित गराइ सेयरधनीलाई वितरण समेत गरिसकेका छन् ।

गत आवको मुनाफाबाट अब १८ वटा वाणिज्य बैंकले लाभांश घोषणा गर्न बाँकी छ । तर, यी मध्ये ३ वटा वाणिज्य बैंकले भने गत आवको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्न नपाउने भएका छन् । तोकिएको पुँजीकोष अनुपात कायम नगर्दा राष्ट्र बैंकले लक्ष्मी बैंक, माछापुच्छ्रे बैंक र एनआइसी एशिया बैंकलाई गत आवको नाफाबाट लाभांश वितरणमा रोक गर्न लगाएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

सञ्चित मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्नको लागि राष्ट्र बैंकमा प्रारम्भिक वित्तीय विवरण पेश गर्नु पर्ने हुन्छ । राष्ट्र बैंकले प्रारम्भिक वित्तीय विवरण पाश गरेपछि सोही आधारमा बैंक संचालक समितिको बैठकले सो आवको सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गर्छ । हालसम्म राष्ट्र बैंकमा यी नै ३ बैंकबाहेक सबै वाणिज्य बैंकले प्रारम्भिक वित्तीय विवरण पेश गरिसकेका छन् ।

यसरी वित्तीय विवरण पेश गर्ने वाणिज्य बैंकहरुमध्ये ८ वटाको वित्तीय विवरण पास भइसकेको छ भने १२ वटाको वित्तीय विवरण अर्को सातासम्म पास हुन सक्ने राष्ट्र बैंक वाणिज्य बैंक सुपरिवेक्षणका एक अधिकारीले बताए । तर, लक्ष्मी बैंक र माछापुच्छ्रे र एनआइसी एशिया बैंकको भने वित्तीय विवरण गत आवको कुनै एक महिनामा तोकिएको पुँजी कोष अनुपात कायम नभएकै कारणले पास नभएको ती अधिकारीले सिंहदरबारलाई बताए ।

‘यी बैंकले वित्तीय विवरण पेश भने गरेका छैननु तर, गत आवको मुनाफाबाट यी बैंकहरुले लाभांश वितरण नपाउने नै हुन्, ब्यालेन्ससीट र लाभांश स्वीकृतिको लागि आएपछि विभागले टिप्पणी उठाएर लाभांश रोक्काको लागि गभर्नर सा’बबाट स्वीकृत गराएपछि सम्बन्धित बैंकलाई पत्र पठाइन्छ,’–ती अधिकारीले भने ।

पुँजीकोष अनुपातको प्रावधान

केन्द्रीय बैंकद्वारा जारी पुँजी पर्याप्तता फ्रेमवर्क २०१५ अनुसार प्राथमिक पुँजीको ८.५ प्रतिशत र पुरक पुँजी गरेर न्यूनतम ११ प्रतिशत पुँजीकोष पुग्नुपर्ने हुन्छ ।

राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार प्राथमिक पुँजी कोषभित्र न्यूनतम साझा इक्विटी ४.५ प्रतिशत, पुँजी संरक्षण बफर २.५ प्रतिशत हुनुपर्छ । न्यूनतम साझा (टायर १) पुँजी अनुपात पुँजी संरक्षण बफर बाहेक ६ प्रतिशत र बफरसहित ८.५ प्रतिशत हुनुपर्छ । जसलाई प्राथमिक पुँजीकोष अनुपात पनि भनिन्छ ।

लाभांश वितरण रोक्का हुने बैंकको पुँजीकोष अनुपात

बैंक तथा वित्तीय संस्थाले तोकिएको पुँजीकोष अनुपात आर्थिक वर्षको कुनै एक महिनामा कायम नगरेमा सो आवको मुनाफाबाट लगानीकर्तालाई लाभांश वितरण गर्न नपाउने व्यवस्था छ ।

एनआइसी एशिया बैंकले अघिल्लो आर्थिक वर्षमा तोकिएको पुँजीकोष अनुपात कायम नगर्दा गत आवमा लाभांश वितरण गर्न पाएको थिएन भने गत आवको पहिलो त्रैमासिकमा ७.३० र दोश्रो त्रैमासमा समेत बैंकको प्राथमिक पुँजीकोष ७.८० प्रतिशतमात्रै कायम थियो । जसका कारण बैंकले गत आवको मुनाफाबाट चालु आवमा पनि लाभांश वितरण गर्न नपाउने भएको हो ।

गत आवमा तोकिएको पुँजीकोष अनुपात कायम नगर्दा लाभांश वितरण रोक्का हुने बैंकहरुको सूचीमा एनआइसी एशियासँगै लक्ष्मी र माछापुच्छ्रे बैंक पनि परेका छन् । माछापुच्छे्र बैंकले गत आवको असोज र पुसमसान्तमा र लक्ष्मी बैंकले भदौ मसान्तमा तोकिएको प्राथमिक पुँजीकोष अनुपात कायम गर्न सकेका थिएनन् । लक्ष्मी बैंकको भदौ मसान्तमा प्राथमिक पुँजीकोष अनुपात ८.४८ प्रतिशत र माछापुच्छ्रे बैंकको ८.८१ प्रतिशत कायम थियो ।

सोही अनुसार यी बैंकहरुलाई गत आवको मुनाफाबाट लाभांश वितरणमा रोक लगाइएको राष्ट्र बैंक वाणिज्य बैंक सुपरिवेक्षण विभागका एक अधिकारीले बताए ।

‘माछापुच्छ्रे र एनआइसीले गत आवको असोज, पुस र लक्ष्मीले भदौमा प्राथमिक पुँजीकोष अनुपात कायम गरेका थिएनन्,’ राष्ट्र बैंकका ती अधिकारीले सिंहदरबारसँग भने, ‘सोही कारण यी बैंकहरुले गत आवको नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्न पाउँदैनन् ।’

तोकिएको कम्प्लायन्स पुरा नगर्ने बैंकलाई राष्ट्र बैंकले ऐन नीति निर्देशनमा उल्लेख भएअनुसार कारवाहीको दायरामा ल्याउने उनको भनाइ छ ।

‘यो आव भरी यी बैंकले तोकिएको पुँजीकोष अनुपात कायम गरेमात्रै आगामी आवमा चालु आवसँगै रोक्का भएको आवको मुनाफाबाट लाभांश वितरण गर्न पाउँछन्,’ उनले भने, ‘यी ३ बैंकसँगै अन्य वाणिज्य बैंकहरुले पनि चालु आवमा अहिलेसम्म यस्तो अनुपात कायम गरिहेका छन्, अर्को वर्ष एनआइसीले ३ आवको र लक्ष्मी र माछापुच्छ्रेले एकै पटक २ आवको लाभांश वितरण गर्न पाउने सम्भावना छ ।’

बैंक तथा वित्तीय संस्थाले वासलातको आकार ठूलो बनाउँदा पुँजीको आकार पनि सोही अनुसार वृद्धि गर्दै जानु पर्ने उनको भनाइ छ । सो नगर्दा लगानीकर्ताहरुको स्वामित्व र अपनत्व घट्दा संस्थामा मात्रै नभएर बैंकिङ प्रणालीमै समस्या आउने जोखिमलाई रोक्न राष्ट्र बैंकले उल्लेखित व्यवस्था गरेको उनको भनाइ छ ।

लाभांश खुला गराउन बैंकको कसरत
एनआइसी एशिया, माछापुच्छ्रे र लक्ष्मी बैंकले व्यवसाय बढाएपनि सोही अनुसारको पुँजी कायम नगरेपछि राष्ट्र बैंकले पुँजी थप गरेरमात्रै लाभांश वितरण गर्न भनेको हो । तर, लक्ष्मी बैंक र माछापुच्छ्रे बैंकले भने राष्ट्र बैंकमा आफुले तोकिएको पुँजीकोष अनुपात कायम गरेको भन्दै लाभांश वितरण गर्न पाउनुपर्ने अडान राखिरहेका छन् ।

माछापुच्छ्रे बैंकले राष्ट्र बैंक समक्ष पहिले पेश गरिएको तथ्यांक ‘रिभाइभ’ को लागि पटक पटक आग्रह गरिसकेको छ । तर, राष्ट्र बैंकबाट भने त्यसको सकारात्मक प्रतिकृया नआएको बैंकका कार्यकारी अधिकृत सन्तोष कोइराला बताउँछन् ।

‘गत आवको असोज र पुसमा प्रकाशित वित्तीय विवरणमा बैंकको पुँजीकोष अनुपात नपुगेको विवरण प्रकाशित भएको थियो । तर, रिपोटिङमा जानुपर्ने एनएलए लगायतका कुराहरु मिस भएकाे कारणले प्राथमिक पुँजीकोष अनुपात ८.५ प्नितशत नपुगेको रहेछ, पछि मिलाएर सोही अनुसार राष्ट्र बैंकमा पठाएका थियौं,’ बैंकका सीइओ कोइरालाले सिंहदरबारसँग भने, ‘केही कुरामा राष्ट्र बैंक सहमत नै भएपनि गत वर्ष एनआइसी एशियालाई रोकेको हुँदा हामीलाई पनि समस्या हुने संकेत दिइसक्नु भएको छ ।’

गत आवको असोज मसान्तमा माछापुच्छ्रे बैंकको प्राथमिक पुँजीको कोष अनुपात ८.०२ प्रतिशत र पुष महिनामा ८.०९ प्रतिशत कायम थियो । तर, बैंकले वित्तीय तथ्यांकलाई पुनः सीए टिम राखेर गणना गरी समायोजन गरेर राष्ट्र बैंकमा तथ्यांक पेश गरेको उनले बताए ।

‘के, के सुचांक थपघट गर्न छुटेछ र राख्दा पुग्यो भनेर उल्लेख गरी राष्ट्र बैंकमा पठाएका थियौं,’ उनले थपे, ‘असोजमा ५६ पैसाले थप भएको थियो भने पुसको ८.०९ प्रतिशतबाट ८.७१ प्रतिशत पुगेको थियो, सोही अनुसार राष्ट्र बैंकमा रिपोटिङ गरेका छौं ।’

राष्ट्र बैंकले गत आवमा पुँजीकोष अनुपात ८.५० प्रतिशत कायम गरेकै कारण देखाएर लाभांश वितरणमा रोक लगाए सो निर्णयलाई बैंकले आत्मसाथ गर्दै आगामी आवमा लगानीकर्तालाई एकैपटक २ वर्षको लाभांश वितरण गर्न बैंकले मेहनत गर्ने उनको भनाइ छ ।

यता लक्ष्मी बैंकले पनि गत आवको सञ्चित मुनाफाबाट लगानीकर्तालाई लाभांश वितरण गर्नका लागि राष्ट्र बैंकमा आवश्यक कागजात र वित्तीय विवरण पेश गरिएको  बैंकका कम्पनी सचिव पियुषराज अर्यालले बताए । पुँजीकोष अनुपातमा लक्ष्मी बैंक र राष्ट्र बैंकको गणनामा केही तालमेल नमिल्दा समस्या आएको उनको भनाई छ ।

‘भदौ महिनामा लक्ष्मी बैंकले ८.५१ प्रतिशत प्राथमिक पुँजीकोष अनुपात कायम गरेको विवरण राष्ट्र बैंक पठाएको थियो तर, राष्ट्र बैंकले आफ्नो गणनामा बैंकको सो महिना ८.४८ प्रतिशत मात्रै प्राथमिक पुँजीकोष अनुपात कायम भए भन्ने कुरा आयो,’ कम्पनी सचिव अर्यालले सिंहदरबारसँग भने, ‘राष्ट्र बैंकमा पहिला तथ्यांक पठाउँदा थपघट गर्नुपर्ने कतिपय कुरा नगरि पठाइएको रहेछ तथ्यांक करेक्सन गरेर लक्ष्मीको ८.५१ प्रतिशत नै हो भनेर पठाइसकेका छौं । ’

राष्ट्र बैंकलाई पछिल्लो पटक पठाइएको तथ्यांक मुल्यांकन गरी सोही आधारमा निर्णय गर्न आग्रह बैंकले गरेको उनको भनाइ छ ।

गत आवको मुनाफामा एनआइसी, लक्ष्मी र माछापुच्छ्रे बैंकको लाभांश क्षमता

गत आवको असार मसान्त एनआइसी एशिया बैंकले २ अर्ब २४ करोड ४६ लाख रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको थियो । सो अवधिसम्म बैंकको चुक्ता पुँजी ११ अर्ब ५६ करोड रुपैयाँ कायम हुँदा गत आवको मुनाफाबाट बैंकले लगानीकर्तालाई १९.४३ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राखेको छ । तर, गत आवको असोज मसान्तमा बैंकको प्राथमिक पुँजीकोष अनुपात ७.३० प्रतिशत र पुस मसान्तमा ७.८० प्रतिशत कायम हुँदा राष्ट्र बैंकले लाभांश वितरणमा रोक लगाएको हो ।

यस्तै, माछापुच्छ्रे बैंकले गत आवको असार मसान्तसम्म १ अर्ब ३२ करोड रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको थियो । सो अवधिसम्म बैंकको चुक्ता पुँजी १० अर्ब २५ करोड रुपैयाँ कायम हुँदा बैंकले गत आवको मुनाफाबाट लगानीकर्तालाई १२.९५ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्छ । तर, बैंकले सो आवको असोजमा ८.०५ प्रतिशत र पुसमा ८.०९ प्रतिशत प्राथमिक पुँजीकोष कायम गर्दा राष्ट्र बैंकले लाभांश रोक लगाएको हो ।

साथै, लक्ष्मी बैंकको पनि गत आवको भदौमा प्राथमिक पुँजीकोष ८.४८ प्रशिततका कायम गरेको भन्दै लाभांश वितरणमा प्रक्रिया स्थगित गरिएको छ । बैंकले गत आवको असार मसान्तसम्म १ अर्ब २५ करोड रुपैयाँ वितरण योग्य नाफा कमाएको थियो । सो अवधिमा बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड रुपैयाँ कायम रहँदा बैंकले गत आवको मुनाफाबाट लगानीकर्तालाई १०.८७ प्रतिशत लाभांश वितरणको क्षमता राख्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्