३ करोड २९ लाख लागतमा जडीबुटी प्रशोधन केन्द्र निर्माण, निर्माण कार्य अन्तिम चरणमा,

सिंहदरबार संवाददाता
२०७९ कार्तिक २९, मंगलवार १२:१९

जाजरकोट । भेरी नगरपालिका–१ को धल्दामा जडीबुटी प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा पुगेको छ । २०७८ जेठ ११ गते तत्कालीन वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले शिलान्यास गरेको उक्त भवनको काम अन्तिम चरणमा पुगेको हो ।

भेरी करिडोरको बीचमा पर्ने भेरी नगरपालिका-१ कालेगाउँ धल्दामा निर्माण भइहेको प्रशोधन केन्द्रले यहाँका सर्वसाधारणलाई लाभान्वित बनाएको बारेकोट गाउँपालिका–२ का कालीबहादुर नेपालीले बताए ।

सरकारी स्वमित्वको यो प्रशोधन केन्द्रले यहाँका धेरै सर्वसाधारणलाई रोजगारी दिनुका साथै भेरी करिडोर हुँदै जिल्ला बाहिर जाने जडीबुटी जिल्लाभित्र नै प्रशोधन भएर बाहिर जाने अपेक्षा लिइएको छ । डोल्पा, जाजरकोट र रुकुमपश्चिमका व्यापारी अहिले यहाँ प्रशोधन नहुँदा लुम्बिनी प्रदेशको नेपालगञ्जमा लिने गरेका छन् ।

३ करोड २९ लाखको लागतमा उक्त भवन निर्माण हुन लागेको हो । भवन निर्माणलगत्तै अन्य उपकरण ल्याएर जडानको काम सुरु गरिने जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीले जनाएको छ ।

सरकारी स्वमित्वमा रहेको यो केन्द्रले जाजरकोटका साथै जुम्लालाई समेत सहयोग पुग्नेछ । जाजरकोट–जुम्ला सुरुङमार्ग निर्माण हुनबित्तिकै जाजरकोट हुँदै कर्णालीका सर्वसाधारण देशका विभिन्न ठाउँमा जाने बाटोसमेत खुल्ने छ ।

अहिले रहेको जुम्ला, कालीकोट, दैलेख हुँदै सुर्खेत जाने सडकभन्दा जाजरकोट भएर सुर्खेत नेपालगञ्ज जानका लागि सात घण्टा बाटो छोटो हुने गर्दछ । कर्णालीको सबैभन्दा बढी जडीबुटी डोल्पा, जुम्लालगायतका साविकको कर्णालीमा बढी पाइने गर्दछ ।

डोल्पा र रुकुमपश्चिममा उत्पादन भएको जडीबुटीसमेत भेरी करिडोर हुँदै यहाँ ल्याउन सजिलो हुने गर्दछ । भेरी करिडोर नेपाल–भारतको सिमाना जमुनाहबाट सुरु भएर चीनको तिब्बतसम्मा जोडिने गर्दछ । त्रिदेशीय सडकका रूपमा लिइने भेरी करिडोरको जाजरकोटबाट स्तरोन्नति अहिले सुरु भएको छ । स्तरोन्नति सकिएपछि सबैभन्दा बढी जडीबुटी व्यापारीका साथै आर्थिक उर्पाजनका रूपमा स्थानीयवासीलाई पनि पर्नेछ । धल्दा रुकुमपश्चिम, सल्यान र डोल्पाको बीचमा भागमा पर्दछ ।

प्रशोधन केन्द्र बनेपछि सङ्कलित जडीबुटी प्रशोधन भई आयआर्जनमा प्रत्यक्ष फाइदा पुग्ने देखिएको छ । तीन जिल्लामा अमला, रिठ्ठा, काउलोको पात, चुत्रोको बोक्रा, पावन काउलो निकासी भएको छ।

यस्तै रातो च्याउ, अल्लो, टिमुर, काँकडसिङ्गो, लोक्ता, कटुकी, सुगन्धवाल, चिराइतो र काउलो, बोझो, कुरिलो, गुच्ची च्याउ, पदमचाल, तिल्याइलो, विषजरा, यार्सागुम्बु र भृङ्गीराज देशका अन्य स्थानका साथै चीन र भारत निकासी हुँदै आएको छ । चिराइतो, पदमचाल, कटुकी, वनलसुन, सतुवा, सुनाखरी, सेतकचिनी, लोक्ता, अल्लो, सिटमुर, रिठ्ठाको सङ्कलन तथा निकासी भएको छ । प्रशोधन केन्द्रमार्फत् वार्षिक रु १० करोडको व्यापार हुने अनुमान गरिएको छ

प्रतिक्रिया दिनुहोस्